मकवानपुर । मकवानपुर जिल्लास्तरीय अन्तरपालिका फुटबल प्रतियोगिताको उपाधी हेटौंडा उपमहानगरपालिकाले जितेको छ । दोस्रो संस्करणको जिल्लास्तरीय अन्तरपालिका फुटबल अन्तरगत शनिबार हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा मकवानपुरगढी गाउँपालिकालाई ४–० गोलअन्तरले हराउँदै हेटौंडाले उपाधी जितेको हो ।
हेटौंडाको जितमा विनोद घलान, लक्ष्मण बिडारी, सामेल सुनार र प्रितम स्याङ्बोले १/१ गोल गरे । जितसँगै हेटौंडा उपमहानगरपालिका टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गढी गाउँपालिका टिमले १ लाख रुपैयाँमा चित्त बुझाएका छन् ।
शनिबार भएको फाइनल खेलको म्यान अफ द म्याच तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत हेटौंडाका सामेल सुनार घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । बिधागत उत्कृष्टमा गोलरक्षक हेटौंडाका गोपी बर्तौला, डिफेन्डर धिरज भ्लोन, मिडफिल्डर प्रितम स्याङ्बो, फरवाड सागर कटुवाल र प्रशिक्षक विजयलाल श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको विधागत उत्कृष्ट सबै हेटौंडा उपमहानगरका घोषित भएका छन् ।
हेटौंडाले भीमफेदी गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । गढीले बागमती गाउँपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । हेटौंडा साविक उपविजेता समेत हो ।
मकवानपुर । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।
प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको हो ।
आजै बिहान केन्द्र सरकारले समेत राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गर्दै जनही तीन लाख दिने घोषणा गरेको थियो ।
बिहीबार आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आजबाट अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता सुरु भएको छ । हेटौंडा–४, परिजातपथस्थित कभर्ड हल सुरु प्रतियोगितामा २५ जिल्लाका करिब १ सय ५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता छ ।
प्रतियोगितामा खेलाडीहरुको तर्फबाट मकवानपुरका सोहन राई र निर्णायकहरुको तर्फबाट इन्द्र बहादुर श्रेष्ठले सपथ लिए । प्रतियोगितामा १७ बर्षदेखि २१ बर्ष उमेरसम्मका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मकवानपुरका तीन जना पुरुष र एक जना महिला खेलाडी सहभागी छन् । पुरुषतर्फ ४८, ५७ र ६३ केजी तौल समुहमा र महिलातर्फ ५० केजी तौल समुहमा मकवानपुरका खेलाडी सहभागी छन् । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता चैत्र ४ गतेसम्म चल्नेछ ।

मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सुरु प्रतियोगिताको मंगलबार बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गरिन् । कार्यक्रममा बोल्नुहुँदै मन्त्री मोक्तानले खेलले राष्ट्रलाई चिनाउने र व्यक्ति स्वच्छ बनाउने बताइन् । बागमती प्रदेश सरकारले खेल क्षेत्रमा सहयोग गरिरहेको उनले बताइन् । उनले प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मानजनक उपस्थिति भएर अनुशासित भएर खेल्न आग्रह समेत गरिन् । यस्तै जिल्ला बक्सिङ संघ मकवानपुरका अध्यक्ष दीपेश जोशीले नयाँ पुस्ताका युवाहरुलाई बक्सिङतर्फ अगाडि बढाउने प्रयासले प्रतियोगिता आयोजना गरेको बताइन् । उनले प्रतियोगितालाई निरन्तरता दिन प्रदेश सरकार तयार रहेको बताइन् ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरी बहादुर महत, हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देल, ५ नम्बर वडाध्यक्ष सुशील घिमिरे, ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गी लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर ।मकवानपुरको हेटौंडामा भोलि मंगलबारबाट हुने अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ ।
नेपालमै पहिलो पटक हेटौंडामा नोभिस बक्सिङ प्रतियोगिता हुन लागेको हो । नबप्रवेशीहरूलाई मात्रै सहभागी गराई उनीहरू क्षमता प्रदर्शन गर्ने र खेल जीवनको खाका कोर्ने आधार तय गर्न यो प्रतियोगिता गर्न लागिएको जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले बताए ।
हेटौंडा उपमहानगरपालिका ४ परिजातपथस्थित कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष जोशीले प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिए ।
मकवानपुर जिल्ला बक्सिङ संघ र वागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने प्रतियोगिताको वाग्मती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा २३ जिल्लाबाट ३७ वटा क्लबका १ सय ७८ जना खेलाडीहरु सहभागी हुने अध्यक्ष जोशीले बताए ।
जसमा २८ जना महिला खेलाडी रहनेछन् । प्रतियोगितामा १७ वर्षदेखि २१ वर्ष उमेरसम्मका खेलाडीले सहभागिता जनाउने छन् ।
नोभिस प्रतियोगिता सहभागी खेलाडीको पहिलो औपचारिक प्रतिस्पर्धाको रुपमा रहनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्ने अध्यक्ष जोशीले जानकारी गराए । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मकवानपुरका ७ जना खेलाडीले सहभागिता जनाउनेछन् । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र बेष्ट लुजरलाई ३ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । राम्रो खेल्दा–खेल्दै पनि हारेका एक जना बेष्ट लुजरलाई पुरस्कृत गरिने अध्यक्ष जोशीले बताए । प्रतियोगिता हरेक वर्ष आयोजना गरिने बताइएको छ ।
जिल्ला बक्सिङ संघका उपाध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेले वडाको तर्फबाट प्रत्येक दिन खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ उपलब्ध गराउने बताए।
बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका घिमिरेले मकवानपुरका २३ जना खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलमा मेडल जितेको जानकारी दिएका थिए । मेडल जित्न सफल खेलाडीहरुलाई प्रतियोगितामा सम्मान गरिनेछ ।
मकवानपुर । आगामी चैत ४ गतेदेखि हेटौंडामा दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेल तालिका सार्वजनिक गर्दै मकवानपुर अन्तरपालिका फुटबल प्रतियोगिताको जानकारी गराएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर –५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको चैत ४ गते हुने उद्घाटन खेल कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । चैत ५ गते आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजनाले जनाएको छ । मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगितामा प्रवेश नि:शुल्क गराइने बताइएको छ ।