मकवानपुर । मकवानपुरकाे हेटौँडामा जारी कृष्णप्रसाद दाहाल स्मृति मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएकाे छ । हेटौडा ६ स्थित गौरीटार रंगशालामा जारी प्रतियाेगिताकाे उपाधिका लागि निर्मल माध्यमिक विद्यालय र चन्द्रोदय माध्यमिक विद्यालय भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइलमा निर्मल मावि बस्तिपुरले गोरक्षेश्वर मावि हेटौँडा १८ फुर्केचौरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यस्तै चन्द्रोदय मावि हेटौँडा ८ र जनजागृति मावि हेटौँडा १५ बिच भएको खेल ट्राइब्रेकरमा टुङ्गो लागेको थियो । प्रतिस्पर्धा पूर्ण खेलमा दुवै टिमले खेलको निर्धारित समयमा बराबरी १–१ गोल गरेपछि खेल ट्राइब्रेकर धकेलिएकाे थियाे । ट्राइब्रेकरमा चन्द्रोदय माविले ४–२ ले जनजागृति माविलाई हराएकाे आयाेजकले जनाएकाे छ ।
जिल्ला फुटबल संघकाे आयाेजनामा भएकाे प्रतियोगिताको उपाधिका लागि शनिबार फाइनल खेल हुने छ । प्रतियाेगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार शिल्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्ने छन् भने फुटबल प्रतियोगितामा २९ विद्यालयको सहभागिता रहेको आयाेजकले जनाएकाे छ ।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा हुँदै आएको प्रतियोगितामा लागि यस वर्षबाट अष्ट्रेलियमा बस्दै आएका हेटौँडा २ निवासी रोशनप्रसाद दाहालले प्रतियोगिताको प्रायोजन गरेका हुन् । दाहालले आफ्ना पिता कृष्णप्रसाद दाहालको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्ने गरी प्रायोजन गरेकाे बताइएकाे छ । फुटबल संघकाे तर्फबाट जिल्ला अध्यक्ष टीकाराम लामा र दाहाल बिच ५ वर्षका लागि प्रतियाेगिता प्रायोजन गर्ने गरी सम्झौता भएकाे छ ।
प्रायोजनवापत दाहालले प्रत्येक वर्ष एक लाख रुपियाँ दिने र सो रकममा प्रत्येक दुई वर्षमा २० प्रतिशतका दरले वृद्धि हुने सहमति भएको छ । दाहाल अष्ट्रेलियाको मेलबर्नस्थित रोयल वेस्टर्न क्लबका अध्यक्षसमेत हुन् ।
मकवानपुर । चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा मंगलबारबाट मनहरी गाउँपालिकामा जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
मंगलबारको उद्घाटन खेलमा सिमपानी एफसी र हाँडीखोला यूथ क्लवले विजयी सुरुवात गरेका छन् । सिमपानीले मनहरी ४ फुटबल टिमलाई २–० ले बिजयी गराउन सिमपानीका लागि दुवै गोल राहुल थापा मगरले गरे । उनी नै खेलको म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा हाँडीखोलाले खरंगा एफसीलाई १–० ले हरायो । पहिलो हाफको अतिरिक्त समयमा विशाल प्रजाले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच अभिषेक राई भए ।
जारी प्रतियोगितामा बुधबार बागमती प्रदेश प्रहरी गण हेटौंडा र रियल स्टार युवा क्लवको बीचमा खेल हुनेछ ।कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २५ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित ट्रफीको व्यवस्था रहेको आयोजकले जनाएको छ ।
चैनपुर जेसीजले मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको अध्यक्ष गणेश अधिकारीले बताए ।
प्रतियोगिताको उद्घाटन मनहरी गाउँपालिकाका कार्यबाहक अध्यक्ष शिवप्रसाद खनालले गरेका थिए । चैनपुर जेसीजका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता एवम् कार्यक्रम संयोजक प्रमोद अधिकारीको संयोजकत्वमा भएको उद्घाटन समारोहमा मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदी, जेसीआई हेटौंडाका अध्यक्ष श्रवणकुमार बर्तौला, चैनपुर जेसीजका श्रीकृष्ण ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मनहरी ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङ, ३ नम्बरका कार्यबाहक अध्यक्ष हिराबहादुर प्रजा, ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, कांग्रेस जिल्ला सदस्य नुरज पौडेल, मनहरी सभापति प्रकाश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति सञ्जिव पाठक, कांग्रेस मनहरी ८ नम्बर वडा सभापति भीमसेन लामा, बसामाडी जेसीजका अध्यक्ष जनक भण्डारी, हेटौंडा लेडी जेसीजका अध्यक्ष डिलमाया घर्ती, मकवानपुरगढी प्रस्तावितका अध्यक्ष पुष्पराज पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । आगामी असोज २९ गतेबाट सुरु हुने प्रतियोगिताको जानकारी गढी स्टार स्पोर्टस् क्लबले मंगलबार दिएको हो । क्लबले सूचना जारी गर्दै छैटौँ सस्करणको प्रतियोगिताको जानकारी दिएको हो ।
क्लब अध्यक्ष राजु दुलालले खेल र खेलाडीको क्षमता विकास तथा पहिचान गर्ने उद्देश्यसहित फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार, उपविजेता टिमले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद प्राप्त गर्ने प्रतियोगिताको संयोजक तथा सचिव विदुर हुँमागाईले जानकारी दिए ।
प्रतियोगिता मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा सञ्चालन हुनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १८ वटा टोलीको सहभागिता रहने अनुमान छ ।
प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् भने खेल लिग कम अकआउट विधिबाट खेलाइनेछ । बिजयादशमी तथा शुभदिपावलीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान गरेको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा साइकल रन प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका र मकवानपुर जिल्ला साईक्लिङ्ग संघको आयोजनामा दोस्रो संस्करणको साइकल रन प्रतियोगिता हुने भएको हो । असोज २७ गते शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको जिल्ला साईक्लिङ्ग संघले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रोत्साहन पुरस्कार स्वरुप दुई जनालाई १०–१० हजार रुपैयाँ प्रदान गरिने मकवानपुर जिल्ला साइक्लिङ संघले जनाएको छ ।
२५ किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा १६ वर्ष पूरा भई ६० वर्ष उमेरसम्मकाले भाग लिन पाउने छन् । यस्तै प्रतियोगितामा मकवानपुर जिल्लाका स्थायीवासी नेपाली नागरिकले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।
मकवानपुर । चैनपुर जेसीज (प्रस्तावित) को आयोजना आज मंगलबारबाट जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
चाडपर्वको अवसरमा जेसीजले खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । युवाहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना आदानप्रदान एवम् खेलकुदको विकासका निम्ति प्रतियोगिता गर्न लागिएको चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।
१६ टिम सहभागी प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरेको छ । पहिलो दिन दुई खेल हुनेछ । पहिलो खेल सिमपानी युवा क्लव र मनहरी ४ नम्बर वडा फुटबल टिम बिच हुदैछ । दोस्रो खेलमा खरंगा एफसी र हाँडीखोला यूथ क्लव खेल्नेछन ।
प्रत्येक दिन दुई/दुई खेल हुने प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता जनाउने भएका छन्’जेसीजका अध्यक्ष अधिकारीले भने, ‘सबै तयारी पूरा भएको प्रतियोगितालाई सभ्य र भव्य बनाउने छौं ।’ राक्सिराङमा सञ्चालन गर्ने योजना रहेको फुटबल प्रतियोगिता वर्षाका कारण हाँडीखोलामै गर्न लागेको आयोजकले बताएको छ ।
मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित लामिटारको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २५ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक चैनपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।
विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा करिब साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।