मकवानपुर । मकवानपुर जिल्लामा आगामी पुसको पहिलो साता खेलकुद महोत्सव हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव हुने भएको हो ।
आयोजकले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने आयोजक खेलकुद विकास समितिले जानकारी दिएको हो ।
आयोजकले महोत्सवको लागि हेटौंडा उपमहानगरपालिकाबाट अनुमति प्राप्त गरिसकेको समिति अध्यक्ष वेष खड्गीले बताए । महोत्सवका लागि आवश्यक शान्ति सुरक्षाको जिल्ला प्रशासन कार्यालयबाट सहयोग प्राप्त हुनेछ ।
मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता आयोजना हुने छ । खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्लास्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिनेछ । महोत्वसमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्णरुपमा निषेध गरिने खड्गीले बताए ।
महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । महोत्सवमा विशेष आकर्षणको रुपमा उसु (राष्ट्रिय महिला र पुरुष) भलिबल (राष्ट्रिय महिला) कबड्डी (प्रदेश स्तरीय आमन्त्रित, महिला र पुरुष) कराँते (जिल्लास्तरीय महिला र पुरुष) फुलकन्ट्याक्ट कराँते (जिल्ला स्तरीय महिला र पुरुष) एथ्लेटिक्स (जिल्ला विद्यालय स्तरीय) आर्चरी (खेल प्रदर्शन) रेस्लिङ (आमन्त्रित राष्ट्रिय) कुस्ती (आमन्त्रित अन्तर्राष्ट्रिय प्रदर्शन) व्याडमिन्टन रहने खड्गीले बताए ।
मकवानपुर । मेची–महाकाली साइकल यात्राको लागि हेटौंडाका साइकलप्रेमी ११ जना सहित १३ जनाको शुक्रबार झापाको सीमावर्ती बजार मेचीनगर प्रस्थान गरेका छन् । हेटौंडाबाट शुक्रबार बिहान झापाको काकडभिट्टा प्रस्थान गरेको साइकलयात्रा टोलीले शनिबार कोजाग्रत पूर्णिमाको दिन बिहान ८ बजे मेचीनगरस्थित नेपाल–भारत सीमानाकाको मेची पुलबाट साइकलयात्रा सुरु गर्ने भ्रमण टोलीका लक्ष्मीचरण श्रेष्ठले जानकारी दिए ।
साइकल यात्रा टोलीमा हेटौंडाका ११ जना र बुटवलका २ जना रहेका छन् । स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने सकारात्मक सन्देशको लागि हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा साइकल यात्रा हुनेछ भने सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा यात्रा हुन लागेको हो ।
टोलीमा श्रेष्ठसहित, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, विकास बानियाँ, सीता श्रेष्ठ, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल) रहेका छन् । साइकलयात्रामा सहभागी सदस्यमध्ये श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गर्दैछन् । ब्यक्तिगत खर्चमा मेची महाकाली साइकलयात्रा गर्न लागिएकाे हाे ।
चेतनाथ आचार्य साइकलयात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुन् । आगामी दिनमा निर्माण गरिने यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ,अपाङमैत्री लेन समावेस गर्न सोसाइटीले सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।
२०५४ साल माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेची–महाकाली यात्रा गरेका थिए । भिजिट नेपाल वर्ष १९९८ को अवसरमा हेटौंडाको शहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि ब्यक्तिगत खर्चमा उनीहरुले साइकलयात्रा गरेका थिए । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकलयात्रा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गरेका थिए ।
२५ वर्षअघिको पूर्वपश्चिम राजमार्गको अवस्था र बर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियर सहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने यात्राका सदस्य तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य बताउँछन् ।

मकवानपुर । नेपालले यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई १९ रनले हराउँदै नेपालले उपाधी जितेकाे हाे । उपाधी जीतसँगै नेपाल यूएई यू-१९ एसिया कपकाे लागि छनौट भएकाे छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १ सय ९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १ सय ७८ रनमात्रै बनायाे । टस जितेर पहिले ब्याटिङ राेजेकाे खेलकाे पहिलाे पारीमा नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रनको लक्ष्य युएईलाई दिएको थियो ।
तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो । नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो ।
यूएईको पारीमा भने वर्षा भयो । २ ओभरमै वर्षा भएपछि प्रभावित भएको खेल केही समयमा पुन: सुरु भयो । तर, फेरि ११ ओभरमा वर्षा भएपछि प्रभावित भएको खेललाई २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।
च्याम्पियन बनेको नेपालसँगै यूएई यू-१९ एसिया कपमा छनोट भइसकेका छन् । तेस्रो भएको जापान पनि एसिया कपमा छनोट भएको छ । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।
मकवानपुर । मनहरीमा जारी जेसीज कप फुटबल प्रतियाेगितामा केदारेश्वर युवा क्लब र बागमती प्रदेश प्रहरी गण फाइनल प्रवेश गरेकाे छ । सोमबार भएको सेमिफाइनल खेलमा मनहरी–९ रजैयास्थित केदाश्वर क्लबले सिमपानी एफसी मनहरीलाई र पुलिसले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै प्रथम चैनपुर जेसीज कप प्रतियोगिताको फाइनलमा स्थान बनाएका हुन ।
साेमबारकाे पहिलो सेमिफाइनलमा रजैयाले सिमपानीलाई १–० गोल अन्तरले हराएको थियाे । यस्तै दोस्रो खेलमा प्रहरीले सयपत्री एफसीलाई टाइब्रेकरमा हराएको हो । टाइब्रेकरमा पुलिसको ४ खेलाडीकाे प्रहारले गाेलपोष्टकाे जाली चुमेकाे थियाे । सयपत्रीको २ खेलाडी मात्र गोल गर्न सफल भए । आउँदो बुधबार फाइनल खेल हुने आयोजक जेसीआई चैनपुर प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिएका छन् ।
१६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ र उपविजेताले २५ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताको फाइनलकै दिन जेसीज सप्ताहको समापन समेत हुनेछ । फुटबल खेलको विकाससँगै खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि चैनपुर जेसीजले खुला फुटबल प्रतियोगिता आयोजना गरेको अधिकारीले बताए ।
मकवानपुर । ‘हेटौंडा साइकल रन’ दोश्रो सस्करण २०८० को उपाधी आशिष थापा मगरले हात पारेका छन् । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार भएकाे रन प्रतियाेगितामा सहभागीलाई पछि पार्दै उपाधी हेटौंडा–६ का आशिषले हात पारेका हुन् ।
प्रथम भएका आशिषले नगद ५० हजार रुपियाँ प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौंडा–६ का हरेराम राई द्वितीय ह्ँदा, हेटौंडा–२ का विबै सिं मोक्तान तृतीय स्थान बनाउन सफल भए । यसैगरी हेटौंडा–४ का राजिव ठाकुर र प्रदिप थापाले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । साइकल रनमा द्वितीय भएका राईले ३० हजार, तृतिय भएका मोक्तानले २० हजार हात पारेका छन् । प्रतियोगितामा ठाकुर र थापाले प्रोत्साहन पुरस्कार स्वरुप ५/५ हजार रुपियाँ हात पारेका आयाेजकले जनाएकाे छ ।
यसैगरी प्रतियोगितामा सहभागी भएका महिलाहरुलाई प्रोत्साहन स्वरुप २/२ हजार रुपियाँ पुरस्कार प्रदान गरिएकाे थियाे । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साईकल रन कान्तिलोकपथ हुँदै शिवम सिमेन्ट रोड, हेटौंडा–फापरवारी सडक हुँदै नागश्वती, कमाने, गर्दोही हुँदै हुप्रचौरमा आइपुगेको थियो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र हेटौंडा उपमहानगरपलिकाका नगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै समन्वय समितिका प्रमुख घलानले स्वास्थ्थका लागि साईकल यात्रा उपयोगी रहेकाले दैनिक जिवनमा बिलासिताका साधन छोडेर साईकल यात्रामा जोड दिन जरुरी रहेको बताए । उनले उपमहानगरले थालेको अभियानलाई सार्थक बनाउँन नगरवासीको सहयोग आवश्यक रहेको भन्दै नियमित साईकल यात्राले मानव जिवनमा फाईदा पुग्ने बताए ।
उपमहानगरपालिकाले गत बर्षबाट प्रतियोगिताको सुरुवात गरेको हो । उपमहानगरले नगरवासीलाई साईकलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्य अनुसार प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएकाे छ ।