मकवानपुर । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र वडाको खेलकुद समितिको संयुक्त आयोजनामा नगर कप भलिबल प्रतियोगिता हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १४ मा हुने नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा पुरुष भलिबल प्रतियोगिता हुनेछ भने वडा नम्बर १४ मा महिला भलिबल हुनेछ । वडा नम्बर १२ मा हुने पुरुष भलिबल प्रतियोगिता यही माघ २९ गते सुरु भई फागुन १ गते सकिनेछ । वडा नम्बर १४ मा हुने महिला भलिबल प्रतियोगिताको मिति भने तय गरिएको छैन । बुधबार प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा बसेको बैठकले वडास्थित खेलकुद समितिसँग सहकार्य गरी संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो । प्रतियोगिता आयोजनाका लागि उपमहानगरपालिकाले दुई लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।
नगर कप प्रतियोगिता भएकोले नगरको वडा वडामै पुगेर कार्यक्रम आयोजना गर्दा भलिबल खेलमा युवा पुस्ताको रुचि बढाउन सकिने अपेक्षासहित इच्छुक वडास“ग सहकार्यको प्रयास भएको प्रतिष्ठानका अध्यक्ष्ँ प्रताप विष्टले बताए । साविक विजेता १२ नम्बर वडाले पुरुष भलिबल प्रतियोगितामा सहकार्य गर्न इच्छा देखाएको र महिला भलिबलका लागि १४ नम्बर वडाले इच्छा देखाएअनुसार यो वर्षलाई ती दुई वडासँग सहकार्य गर्ने निश्चित भएको विष्टले जानकारी दिए । आगामी वर्षदेखि उपाधि विजेता वडालाई नै सहकार्यका लागि प्रेरित गर्दै लैजाने विष्टले बताए ।
गत वर्ष पुरुष भलिबलको उपाधि १२ नम्बर वडाले जितेको थियो भने महिला भलिबलको उपाधि १९ नम्बर वडाले जितेको थियो । महिला र पुरुष दुवै विधामा पुरस्कार राशी समान हुने बताइएकाे छ।नगर कप भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ५० हजार र ३० हजार रुपैयाँ रहेको छ । सेमीफाइनलमा पराजित हुने टिमलाई १० हजार रुपैयाँ पाउनेछ ।
मकवानपुर । बागमती प्रदेश स्तरीय रेफ्री कोर्स सोमबारबाट हेटौंडामा सुरू भएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यक्रमको उद्घाटन गरेर रेफ्री तालिम सुरू गरेकाे हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बागमती प्रदेशका ३६ जनालाई रेफ्रीको लागि चौंथो तह(आधारभुत) तालिम सुरु भएको हो ।
सात दिन चल्ने तालिममा फुटबल खेलाउँदा हुने मैदानको विषय, खेलाडी र रेफ्री भूमिकाको विषयमा साेमबार सिकाईएको थियाे । यस्तै मंगलबार खेल समय, खेल सुरु हुने समय र समापन गर्ने विषयमा शारिरिक र सैद्धान्तिक विषयकाे प्रशिक्षण रहेको आयाेजकले जनाएकाे छ । यस्तै खेल अवधीमा खेलाडीहरुको गतिविधि, बल भित्र बाहिरको शैली, अफसाईड,फ्रि कि, पेनाल्टी र कार्डहरुको प्रयोगबारेमा मैदानमा सिकाईने फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले बताए ।
तालिमको उद्घाटन गदैै शेर्पाले नेपालको फुटबल क्षेत्रमा रेफ्रीहरुको माग बढ्दै गएको बताएका थिए । उनले रेफ्रीहरु निष्पक्ष, क्षमतावानको प्रतिक भएकोले त्यहि अनुसार तालिम र तयारी गर्न आग्रह गरेका थिए ।
यस्तै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामा, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, नेपाल महिला राष्ट्रिय फुटबल टिमकी पुर्व कप्तान तथा वरिष्ठ प्रहरी उपरिक्षक मिरा चौधरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको उपस्थिती रहेको थियो । कार्यक्रम फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको थियो ।
मकवानपुर । माघ १६ गते शुक्रबारबाट पहिलाे ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा हुन लागेको विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।
माघ १६ गते शहिद दिवसको दिनबाट सुरु हुने खेल २३ गते फाइनल खेल हुने छ । प्रतियोगितामा आयोजक एफसी विजय यूथ र मकवानपुर ११ सहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको आयोजक एफसी विजय यूथका अध्यक्ष सुदिप राजबाहकले बताए । प्रतियोगिताको उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज बीएफसी भरतपुरको बीचमा हुने आयोजकले जनाएको छ ।
वन विज्ञान अध्ययान संस्थानको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबका अध्यक्ष राजबाहकले बताए । प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने कार्यक्रम संयोजक राजेश भेटवालले जानकारी दिए ।
विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितालाई भिडोल लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।
माघ २३ गतेबाट हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा हुने भनिएको उक्त गोल्डकप विद्यार्थीको परीक्षाका कारण १६ गतेबाट गर्नु परेको आयोजक विजय युथ क्लबले जनाएको छ ।
मकवानपुर/हेटौंडाको हुप्रचौरमा भएको छैटौं हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखराले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा बगरभाइले सानो गौचरण काठमाडौलाई १-० अन्तरमा पराजित गरेको हो । खेलको दोस्रो हाफको ४० औं मिनेटमा मनोज गुरुङले गरेको गोल नै बगरभाइलाई उपाधि चुम्ने निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच बगरभाइका नरेश श्रेष्ठ घोषित भए ।
विजेता र उपविजेता टिमलाई हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत र बागमती प्रदेश प्रहरी प्रमुख बसन्त लामाले नगद, शिल्ड र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगितामा विजेता बगरभाइ खलक पोखराले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गरेका थिए भने उपविजेता सानो गौचरण काठमाडौंले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गरेका थिए ।

खेलमा उत्कृष्ट मिडफिल्डर बगरभाइका राजकुमार केसी, उत्कृष्ट फरवर्ड बगरभाइका मनोज गुरुङ, उत्कृष्ट डिफेन्स सानो गौचरणका चुन बहादुर थापा, उत्कृष्ट गोलकिपर बगरभाइका दिलिप क्षेत्री उत्कृष्ट समुह कोच बगरभाइका अन्जन देवकोटा, उत्कृष्ट खेलाडी बगरभाइका इश्वर गुरुङ चन्द घोषित भएका थिए । उनीहरुलाई जनही ५ हजार पुरस्कार प्रदान गरीएको थियो । बगरभाइ खलक पाचौं हेटौंडा भेट्रान्स कपको समेत विजेता समुह हो ।
मकवानपुर । हेटौंडाको हुप्रचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा बौद्ध, चाहविल, भनिमण्डल र सानो गौचरण भेट्रान्स विजयी भएका छन् ।
मंगलबार भएको पहिलो खेलमा बौद्ध भेट्रान्स काठमाडौले एविसी भेट्रान्स पोखरालाई १–० गोल अन्तरले पराजित गरेको हो । बौद्ध भेट्रान्सको तर्फबाट खेलको ३० औ मिनेटमा पासाङ्ग लामाले गरेको गोलनै निर्णायक गोल बन्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच पासाङ्ग लामा भएका थिए ।
दोस्रो खेलमा अभिषेक चर्च नवलपरासी र चाहविल भेट्रान्स काठमाडौं बिचको खेलमा चाहविल भेट्रान्स काठमाडौले अभिषेक चर्च नवलपरासी लाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको १० औ मिनेटमा अजब श्रेष्ठले गरेको गोल नै चाहविल भेट्रान्स काठमाडौका लागी निर्णायक बनेको थियो भने चावहिलकै राजेश शाही म्यान अफ द म्याच भएका थिए ।
त्यस्तै तेस्रो खेलमा एक्स भेट्रान्स पोखरा र भनिमण्डल भेट्रान्स काठमाडौंबीचको खेलमा भनिमण्डल काठमाडौ २–० गोल अन्तरले विजयी भएको छ । भनिमण्डल भेट्रान्स काठमान्डौका लागी शुक्र तामाङले चौथो मिनेटमा र डम्वर बिक्रम शाहले १५ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शुक्र तामाङ भएका थिए ।
त्यस्तै चौथो तथा अन्तिम खेल अन्तर्गत सानो गौचरण काठमाडौं र मोरङ भेट्रान्सबीच खेलमा सानो गौचरण काठमाडाैंले मोरङ भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच नरेश श्रेष्ठ भएका थिए । सानो गौचरणका लागी ३८ औं मिनेटमा नितिन गुरङ र ३९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गरेका थिए ।
माघ ७ गते बुधबार बगरभाई खलक पोखरा र हाम्रो वीरगञ्ज भेट्रान्सबीच पहिलो खेल हुने र दोस्रो खेल हेटौंडा भेट्रान्स सुपर र सिमरा भेट्रान्स बीच हुने आयोजकले जनाएको छ । भोली नै क्वाटर फाइनलका खेलहरु सञ्चालन गरिने कार्यक्रम संयोजक कविन साँगामीले बताए ।
नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको माघ १० गते फाईनल खेल हुनेछ । प्रतियोगितामा विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन ।