मकवानपुर । मकवानपुरकाे हेटौंडामा आयोजना भएकाे उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हेटौंडा–१९ र महिलातर्फ हेटौंडा–१२ ले हात पारेकाे छ ।
सोमबार भएकाे फाइनल खेलमा पुरुषतर्फ हेटौंडा–१९ ले हेटौंडा–१२ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । यसै गरी महिलातर्फ हेटौंडा–१२ ले हेटौंडा–९ लाई ४–१ को सेटमा पराजित गर्दै उपाधि हात पार्यो ।
उपाधि विजेतासँगै पुरुष तथा महिला दुबै टिमले ७५/७५ हजार रुपैयाँसहित हात पारे । सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएकाे पुरुष तथा महिला टिमले ५०/५० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताकाे पुरुषतर्फ हेटौंडा -१९ का सर्वोत्कृष्ट खेलाडी धिरज लो उत्कृष्ट डिफेण्डर हेम उप्रेती, उत्कृष्ट सेटर दिनेश तामाङ, उत्कृष्ट ब्लकर विशेष थापा मगर घोषित भए । दीयमान खेलाडी हेटौंडा–१२ का विवेक पराजुली घोषित हुँदा उत्कृष्ट प्रशिक्षक हेटौंडा–१९ का सुवास सुवेदी घोषित भए ।
यस्तै महिलातर्फ प्रतियोगिता हेटौंडा–१२ बाट सर्वोत्कृष्ट खेलाडी प्रितज्ञा माझी घोषित हुँदा उत्कृष्ट स्पाइकर हेटौंडा–५ की सजिना नगरकोटी, उत्कृष्ट सेटर हेटौंडा–९ की दिशारा पुलामी, उत्कृष्ट डिफेन्डर हेटौंडा–९ कै आयुषा सिंह, उदीयमान खेलाडी हेटौंडा–१२ की प्रशंसा भोम्जन घोषित भए । उत्कृष्ट प्रशिक्षक हेटौंडा–१२ का विवेक रुम्बा घोषित भए ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ४ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा महिला तर्फ वडा नम्बर ५, ९ ११ १२ १७ र १९ काे सहभागिता रहेकाे थियाे । यसैगरी पुरुष तर्फ वडा नम्बर ४, ५, ६, ७, ११, १२, १७ र १९ काे टोलीकाे सहभागीता रहेकाे थियाे ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा १२ बैशाखबाट सुरु प्रतियोगिताकाे समापन कार्यक्रम केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको हाे ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलकुद देशकाे सान भएकाेले पर्याप्त बजेट छुट्याउन पहल गर्ने बताएका छन् । कांग्रेस थाहा नगरपालिका ९ नम्बर वडाको आयोजना भएकाे शालिकराम मानन्धर र तेजबहादुर केसी स्मृति प्रथम जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको समापनमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिताकाे समापनमा नेता बानियाँले भलिबल, फुटबललगायतका खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारमार्फत प्रयाप्त बजेट विनियोजन गर्न पहल गरिने उनले प्रतिवद्धता जनाए । ‘खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानीयदेखि संघीय सरकारले ध्यान दिनुपर्छ’ उनले भने ‘खेलाडीको क्षमता अभिवृद्धिका साथै उनीहरुको मनोबल बढाउँदै स्थानीयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन सक्ने बनाउनु पर्छ ।’
नेपाली कांग्रेसले स्थापनाकालदेखि नै मानवतासँग जोडिनुका साथै सामाजिक कामहरु गरिरहेका बताउँदै खेलकुद क्षेत्रमार्फत शारीरिक तथा मानसिक तन्दुरुस्तीका कामहरुमा पनि ध्यान दिइरहेको बानियाँले बताए । गणतन्त्रमा समावेशी विकासका लागि खेल क्षेत्रको विकास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
प्रतियोगिताको उपाधि हेटौंडाको छहारी युवा समाजले प्राप्त गरेको छ । फाइनल खेलमा आयोजक कांग्रेस थाहा ९ लाई पराजित गर्दै समाजले उपाधि हात पारेको हो । छहारी युवा समाजले ७५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता आयोजक टिमले ४५ हजारका साथै तेस्रो हुने सोल्टु युवा क्लवले ३० हजार र सान्त्वना हुने डाँडाबास युवा क्लवले ५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
वैशाख ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ९ वटा टिमको सहभागिता रहेको थियो । नेपाली कांग्रेस थाहा ९ का उपसभापति बुद्धबहादुर बलामीको अध्यक्षतामा कार्यक्रम भएको हाे ।
मकवानपुर। मकवानपुरकाे हेटौंडामा रहेकाे गौरीटार रंगशालाकाे फुटबल मैदान तयार भएकाे छ । रंगशाला निर्माणकाे शिलान्यास भएकाे १७ वर्ष पछि रंगशालाकाे फुटबल मैदानकाे बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले फुटबल मैदानकाे उद्घाटन गरे ।
फुटबल मैदानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकास र व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकता दिदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । सरकारले खेलकुद क्षेत्रबाट पनि राजस्व सङ्कलन गर्ने गरी संरचनाहरूको व्यवस्थापनमा अघि बढेको उनले बताए ।
उनका अनुसार खेलाडीहरूको प्रोत्साहन र विकासमा सरकारले नयाँ ढङ्गका कार्यक्रम अघि बढाउने तयारी गरेको छ । सरकारको बजेटलाई आय आर्जनमा जोड्न र रोजगारी तथा उत्पादन योग्य क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए । उनले उत्पादनमा केन्द्रित गरेर बजेट कार्यक्रम तयार गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद विकास मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनमा जोडेर अघि बढाउनु पर्ने बताए । खेल पर्यटनको माध्यमबाट अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा समेट्ने सक्ने भएकाले प्रदेश सरकार त्यसतर्फ अग्रसर हुनुपर्ने उनले बताए । ‘साहसिक खेलहरूको सम्भाव्यता अध्ययन गरेर पूर्वाधार निर्माणमा जोड दिनसके पर्यटकहरूको आगमन र बसाइको दर बढाउन सकिन्छ’, उनले भने ।
२०७४ बाट प्रदेश सरकार अन्तर्गतकाे योजनाकाे रुपमा उक्त रङ्गशाला निर्माण हुँदै आएकाे थियाे । निर्माणका काम व्यवस्थित गरी उद्घाटन गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले बताए । अघिल्लो कार्यकालमा मैदान तयार भए पनि पूर्वाधार निर्माणको काममा भएका केही कमजोरी सुधार गरिएकाे उनले जानकारी दिए ।
हाल रङ्गशालाको रनिङ ट्र्याक, मैदान, फ्याराफिटमा कुर्सी जडान तथा पर्खाल निर्माण गर्नको लागी २० करोड ४६ लाख ७४ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्कामार्फत काम गरिएको उनले बताए । साबिकको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङबाट गौरीटारको फुटबल मैदानको उक्त योजना कार्यान्वयनका लागि २०७८ वैशाख १४ गते १३ करोड ३८ लाख ६५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनले बताए ।
निर्माण कम्पनीले २०८१ पुस २९ मा काम सम्पन्न गर्नुपर्ने गरी काम अघि बढाइ रङ्गशालाको प्याराफिटमा २ हजार ४०० थान कुर्सी जडान गरिएको छ भने रनिङ ट्राकमा वेस कोर्स र १०५.६८ मिटरको खेल मैदानमा पानी निकासको स्वचालित सिस्टम जडान गरिएको उनको भनाई छ ।
२८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रङ्गशालाको शिलान्यास गरेका थिए । केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रङ्गशाला निर्माणको कार्यले गति लिन सकेको थिएन ।
हाल गौरीटार रङ्गशालामा पौडी पोखरी र क्रिकेट रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । सदस्य सचिव लामाका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रङ्गशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणको लागि ९ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालेको थियो ।
रङ्गशालामा पहिलो चरणमा ६०० भन्दा बढी दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङ लगायतका संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।
केन्द्रीय खेलकुद प्रतिष्ठानको रुपमा झण्डै १५ वर्षअघि शिलान्यास गरिएको हेटौंडाको गौरीटार रंगशालामा १६ माघ २०८१ मा शहीद स्मृति गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन भएकाे थियाे । २०३८ सालमा हेटौंडाकाे गौरीटार रंगशालामा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता भएकाे थियाे । साेही समय गौरीटारमा अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने घोषणा समेत गरिएको बताइन्छ ।
प्रथम अन्तरनगर खेलकुद भएकाे ४३ वर्ष पछि बुधबार रंगशालाकाे फुटबल मैदानको उद्घाटन भएकाे छ । चार दशकदेखि अलपत्र रहेको रंगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएकाे छ । बागमती प्रदेश सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइरहेको गौरीटार रंगशाला काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालापछि दोस्रो ठूलो फूटबल मैदान हुने बागमती प्रदेश खेलकूद परिषद्ले जनाएकाे छ ।
२३ बिघा क्षेत्रफलमा रहेको रंगशाला निर्माणमा करीब पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान छ। विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण रंगशालाकाे भौतिक पूर्वाधार निर्माणको काम प्रभावित भएको थियाे । साेही कारण समेत निर्माणमा ढिलाई भएकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ७ जिल्लाका ४१ जनालाई भलिबलकाे आधारभूत रेफ्री तालिम दिइएकाे छ । २ बैशाखबाट सुरु आधारभुत रेफ्री तालिमकाे शनिबार समापन गरिएको हो ।
मकवानपुर जिल्ला भलिबल संघले आयोजना गरेको ५ दिने तालिममा जिल्लास्तरीय खेलमा सहभागी भएका ४१ जनाको सहभागिता रहेको मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्त सिटौलाले बताए । उनका अनुसार तालिममा ७ जिल्लाका ४१ जना पुरुष र ७ जना महिलाकाे सहभागिता रहेकाे थियाे । तालिममा बागमती प्रदेशका दोलखा, रामेछप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर तथा बारा, रुकुम पश्चिम र बैतडी जिल्लाका सहभागिता रहेका थिए ।
प्रत्येकले ५ हजार रुपैयाँ शुल्क बुझाएर तालिममा सहभागी भएकाे संघले जनाएकाे छ । हेटौंडा–४, हुप्रचौरमा भएको तालिमकाे राष्ट्रिय रेफ्री विजय वादे सहितले सहजीकरण गरेका थिए । जिल्लास्तरीय भलिबल खेलमा अन्य जिल्लाका रेफ्री ल्याउनु पर्ने समस्यालाई अन्त्य गर्न र भलिबलको नयाँ नियम खेलाडी र प्रशिक्षकहरुलाई जानकारी गराउन तालिम आयोजना गरिएको अध्यक्ष सिटौलाले बताए ।
मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्त कुमार सिटौलाको सभाध्यक्षता तथा बागमती खेलकुद परिषदका सदस्य सचिव दिपक लामाको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम भएकाे हाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भलिबलकाे आधारभूत रेफ्री तालिम हुने भएकाे छ ।
मकवानपुर जिल्ला भलिबल संघले उक्त तालिम दिने भएको हाे । २ वैशाख २०८२ बाट सुरु हुने तालिम ५ दिन संचालन हुने आयोजकले जनाएकाे छ । तालिममा सहभागी हुन कम्तिमा जिल्लास्तरीय खेलमा सहभागी भएको हुनुपर्ने मकवानपुर जिल्ला भलिबल संघले जनाएकाे छ ।
तालिममा सहभागी हुन प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क लाग्ने छ । तालिममा ३५ देखि ४० जना सहभागी गराइने संघ अध्यक्ष वसन्त सिटौलाले जानकारी दिए । हेटौंडा–४, हुप्रचौरमा हुने तालिमकाे राष्ट्रिय रेफ्री विजय वादेसहित ७ जनाकाे टोलीले सहजीकरण गर्ने छन् ।
जिल्लास्तरीय भलिबल खेलमा अन्य जिल्लाका रेफ्री ल्याउनु पर्ने समस्यालाई अन्त्य गर्न र भलिबलको नयाँ नियम खेलाडी र प्रशिक्षकहरुलाई जानकारी गराउन तालिम आयोजना गरिएको अध्यक्ष सिटौलाले बताए ।