मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष नवीन सिग्देलले विकासमा जनताको सहभागिता र अपनत्व हुनुपर्ने बताएका छन्। शनिबार टोल विकास संस्थासँग विकास निर्माणका समीक्षा तथा योजना तर्जुमा सम्बन्धी सुझाब संकलन गर्न आयोजना गरिएकाे छलफलमा उनले यस्तो बताएका हुन् ।
हेटौंडा ४ स्थित पशुपति मन्दिरकाे हलमा ९ वटा टोल विकास संस्थाका अध्यक्ष तथा सदस्यहरुसँग भएकाे छलफलमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा–संस्कृतिको प्रवर्द्धन, वातावरण संरक्षण र सामाजिक अभियान क्षेत्रमा प्राथमिकताका साथ वडाले कार्य गरिरहेको अध्यक्ष सिग्देलले जानकारी दिए। उनले ४ नं. वडा नगरको मुटु भएकाले नगरमै प्रतिनिधिमूलक कार्य अगाडि बढाउन वडा अग्रसर भएको बताए।
कार्यक्रममा सहभागीहरूले वडा कार्यालयले गरेको कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै अबकाे विकासमा शहरीकरणसँगै वातावरण, सरसफाइ, शिक्षा, आधारभूत स्वास्थ्य, सचेतना मूलक कार्यक्रमलगायतका थप कार्यहरू अगाडि बढाउन सुझाव दिएका छन्। उनीहरूले विकासलाई चौतर्फी रूपमा अगाडि बढाउन साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
वडा सदस्य गीता त्रिपाठीको अध्यक्षतामा भएकाे छलफल कार्यक्रममा समाजसेवी प्रदीप कोइराला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, टोल विकास संस्थाका अध्यक्षहरू नीरु अर्याल सुवेदी (गर्दोही), शान्ति बराल (लक्ष्मी), गणेश श्रेष्ठ (चिल्ड्रेन पार्क), गंगा अर्याल (चिसापानी), राजु अर्याल (हरियाली), सुदर्शन ढकाल (प्रतिभानगर), स्वेता कोइराला (प्रजातान्त्रिक), आशा विष्ट (वीरेन्द्रनगर) र सुन्दर न्यौपाने (श्रद्धानगर) लगायत टोलबासीहरूको उपस्थिति रहेको थियो।
अन्य टोल विकास संस्थाहरूको भेला वैशाख २९ गते सोमबार हुने बताइएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । शैक्षिक सम्मेलन बैशाख २७ गते शनिबार (बाट) बाट ३ दिनसम्म सञ्चालन हुने छ ।
‘दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ हुने सम्मेलनको विषयमा शुक्रबार क्याम्पसले पत्रकार भेटघाट गरी जानकारी दिएकाे हाे । देश तथा विदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुने सम्मेलनमा केही प्रतिनिधि र विज्ञहरु अनलाईनमार्फत नै सहभागी हुने क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले जनाकारी दिए ।
सम्मेलनमा देशभरबाट करिव ५७ वटा अनुसन्धान कार्यपत्र प्रस्तुत गरिने छ भने भारत, थाइल्याण्ड, जापान लगायतका देशकाे छुट्टाछुट्टै प्रस्तुति हुनेछ । यसैगरी अनलाइन मार्फत मलेसियन राजदुतबाट सम्बाेधन हुने कार्यक्रम रहेकाे उनले बताए । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गर्ने कार्यक्रम रहेकाे उनले बताए ।
सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन, अनुसन्धानको प्रस्तुती रहनेछ भने स्थानीयस्तरमा दीगो विकासका लक्ष्यहरुलाई समायोजन गर्ने, युवा विद्यार्थीहरुको सक्षमता अभिवृद्धि गर्ने, दीगो विकासका लक्ष्य हासिल गर्न युवा विद्यार्थीको भूमिका बढाउने सम्मेलनले लक्ष्य लिइएको क्याम्पस प्रमुख सिलवालले जानकारी दिए । उद्घाटनको कार्यक्रम हेटौंडाको एभोकाडो होटलमा हुने तथा अन्य कार्यक्रम क्याम्पस परिसरमै हुने बताइएकाे छ ।
मकवानपुर क्याम्पसले यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । विश्वविद्यालय अनुदान आयोग, हेटौंडा उपमहानगरपालिकासहित अन्य निकायसँग साझेदारी रहने सम्मेलनकाे अनुमानित लागि २० लाख रुपैंया खर्च हुने आयोजकले जनाएकाे छ ।
मकवानपुर। सातौं शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।
मकवानपुरको हेटौंडा – ६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले पाखा लगाउदै एपीएफले उपाधि कब्जा गरेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मि कुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाईन । पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् । पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्कियो भने सुष्मा तामाङको प्रहार बाहिरियो ।
उपाधि संगै एपीएफले पाँच लाख सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपबिजेता बनेको पुलिसले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
फाइनल खेलको प्लेयर अफ दि म्याच एपीएफकी गोलरक्षक अन्जना राना मगर घोषित हुँदै नगद १० हजार प्राप्त गरिन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् । उनले वीरगंजविरुद्धको खेलमा ५ गोल र संकटाविरुद्धको खेलमा गोल गरेकी थिइन् । उनलाई बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बांनियाले स्कुटर प्रदान गरेका थिए ।
एपिएफका क्रमशः उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए । यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् । विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मंगलबार भएको सेमिफाइनल खेलमा जित निकाल्दै दुवै विभागीय टोलीले फाइनल भिडन्त पक्का गरेका थिए। प्रतियोगिताको सेमिफाइनलमा पुलिसले चितवन जिल्ला फुटबल टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो भने । संकटा क्लबलाई हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको थियो ।
सातौं संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप अन्तरगत १९ बैशाखबाट महिलातर्फकाे गोल्डकप सुरु भएकाे हाे । प्रतियोगिताकाे छैटौं संस्करणसम्म पुरुषतर्फ मात्रै हुँदै आएकाेमा सातौं संस्करण महिलातर्फका टिम बीच प्रतिस्पर्धा हुने गरी गोल्डकप आयोजना गरिएकाे हाे ।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा १९ बैशाखबाट सुरु भएकाे प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लब गरी तीनवटा विभागीय महिला टिमसहित मकवानपुर हेटौंडाकाे रिगल रिसोर्ट एन्फा महिला टिम मकवानपुर, बीरगन्ज युथ एकेडेमीकाे महिला टिम र नवजनजागृति युवा क्लब सिमरा बाराको महिला टिम, रौतहट र चितवन जिल्लाको महिला टिम गरी ८ बटा टिमकाे सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको हेटौडा सामुदायिक आँखा अस्पतालमा महिला बिरामीले अब महिनावारी प्याडको सुविधा पाउने भएका छन् ।
अस्पतालमा आउने महिला बिरामीहरुको लागि लक्षित गर्दै प्याड भेन्डिग मेसिन जडान गरिएको छ । युक्ति फाउण्डेशन काठमाडौंले अस्पतालमा यो मिसेन सहयोग गरेको हो । बिहीबारबाट अस्पतालमा आउने बिरामीले सेवा पाउने अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठले बताए । संरक्षक श्रेष्ठ सहित अस्पताल प्रमख डा. सुनिल थकालीलाई फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले मेसिन हस्तान्तरण गरेका हुन् । “अब अस्पतालमा आउने महिला बिरामीहरु महिनावारी भएमा सेनिटरी प्याड किन्न बजारमा जानु पर्दैन” श्रेष्ठले भने ।
मेसिनमा आवश्यक सेनेटरी प्याड पञ्चसिद्धि फाउण्डेशनबाट सहयोग गर्नेछ । युक्ति फाउण्डेशनको तर्फबाट पेमा डोल्मा लामाले विदेशमा महिला दिदी बिहिनीहरुलाई महिनावारीको समयमा पर्न सक्ने समस्याको लागि विभिन्न स्थानमा यस्तो मेसिन हुने गरेको र नेपालमा पनि आफ्नो दिदी बिहीनीहरुलाई पर्न सक्ने समस्याको हल गर्न मेसिन विभिन्न स्थानमा डोनेशन गर्ने गरेको बताइन् । हेटौडा सामुदायिक आँखा अस्पतालमा सहयोग गर्न पाउँदा आफू गौरवान्वित भएको उनले बताइन् ।
मकवानपुर । नेकपा माओवादी केन्द्र पार्टीकाे हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा प्रदीप अर्याल चयन भएका छन् । माओवादी केन्द्रकाे बुधबार बसेको बैठकले अर्यालको अध्यक्षतामा सर्वसम्मत ७५ सदस्यीय नगर कमिटी चयन गरेको हाे ।
यसैगरी माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको उपाध्यक्षमा गुणराज घिमिरे (शंकर), शोनी गुरुङ र लवराज ठकुरी चयन भएका छन् । सचिवमा तारादेवी मोक्तान, सहसचिवमा चमेलीमाया सिंजाली, कोषाध्यक्षमा गोकुल वैज्यु चयन भए । २ वर्ष कार्यकाल रहने नवनिर्वाचित कमिटीले १६ जना सदस्य मनोनित गर्नेछ ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विजय गौतम, केन्द्रीय सदस्य कुमारी मोक्तान, केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछाने, बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेमबहादुर पुलामी, प्रदेश कमिटी सचिवालय सदस्य ललितबहादुर घलान, सर्केश घलान, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिनको उपस्थिति रहेको थियो ।