मकवानपुर । हेटाैंडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमूना र अग्रणी वडा बनाउन लागि परेकाे बताएका छन् । वडा कार्यालयबाट गरेकाे कार्यकाे समीक्षा र आगामी याेजनाकाे लागि सुझाव संकलन भेलामा उनले यस्तो बताएका हुन् ।
वडाध्यक्ष सिग्देलले भाैतिक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, भाषा साँस्कृतिकाे विकास, विभिन्न सामाजिक अभियान सञ्चालन गरि वडालाई चाैतर्फी विकास गर्न अग्रसर रहेकाे बताए । ‘टाेलबासीहरूले दिनु भएकाे सुझावलाई आगामी कार्ययाेजनामा समावेश गरि समस्याहरू प्राथमिकताकाे आधारमा समाधान गर्दै जाने प्रतिबद्वता व्यक्त गर्दछु’ उनले भने ।
हेटाैंडा र बागमती प्रदेशकाे राजधानीकाे मध्ये भाग र घनाबस्ती रहेकाे वडा भएकाेले सफा, उज्यालाे, हरियाली र सुरक्षित सुविधा सम्पन्न वडाकाे रूपमा विकास गरिरहेकाे उनले भेलामा जानकारी दिएका थिए । भेला सहभागी टाेल विकास संस्था, विभिन्न सामाजिक संस्था र विभिन्न क्षेत्रका अगुवाहरूले वडा कार्यालय मार्फत हालसम्म भएकाे कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै अबकाे विकासमा शहरीकरणसँगै वातावरण, सरसफाइ, शिक्षा, आधारभूत स्वास्थ्य, सचेतना मूलक कार्यक्रमलगायतका थप कार्यहरू अगाडि बढाउन सुझाव दिएका छन्। उनीहरूले विकासलाई चौतर्फी रूपमा अगाडि बढाउन साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
२६ वटा टाेल विकास संस्था रहेकाे वडामा २७ बैशाखमा एक चरण र २९ बैशाखमा दुई चरणमा वडाका विकास निर्माण लगायतका कार्य तथा योजनाका सम्बन्धमा टोल विकास संस्था र सरोकारवालाहरुसँग छलफल गरेकाे हाे ।
भेला वडा सदस्य गीता त्रिपाठीकाे अध्यक्षतामा भएकाे थियाे । भेलामा टाेल विकास संस्था वडा समन्वय समिति अध्यक्ष राजेन्द्र बस्ताकाेटी, वडा सचिव रामप्रसाद गुरागाईं, श्रमिक माविका प्रअ तथा शैक्षिक सुधार गुणस्तर समितिका संयाेजक श्रीराम दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन ५ जेठका लागि आह्वान गरिएकाे छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ५ जेठका लागि प्रदेश सभाकाे बजेट अधिवेशन समेत भनिने वर्षे अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सरकारको सिफारिसमा उनले ५ जेठ बिहान ११ बजेका लागि बैठक आह्वान गरेकाे प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता देवेन्द्र सापकाेटाले जानकारी दिए । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सोह्रौं अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सरकारको बैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । बागमती प्रदेश सभाले एक सूचना प्रकाशित गरी बैठक आव्हान भएकाे मितिमा प्रदेश सभाका सबै सदस्यहरुलाई उपस्थितिका लागि अनुराेध समेत गरेकाे छ ।
यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन गत २० चैतमा अन्त्य गरिएको थियो । प्रदेशसभाको बैठक गत २६ माघदेखि बस्न सकेको छैन् । गत १९ र र २० गतेकालागि बाेलाइएकाे बैठक समेत सत्तापक्ष र प्रतिपक्षकाे विवादकाे कारण संचालन हुन सकेन् ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नीति निर्माण र नेतृत्व तहमा युवाको उपस्थितिले देशको विकासले गति लिने बताएका छन् । आइतबारबाट हेटौंडामा सुरु भएको प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।
युवाहरूका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न नसक्ने उनले बताए । ‘शासकीय संरचनामा युवाहरू उपस्थित अनिवार्य गर्नुपर्छ’ उनले भने । देश निर्माण तथा सङ्घीय संरचना संस्थागत गर्न युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । ‘देश विकासको नीति निर्माण र नेतृत्व तहमा युवाहरूको उपस्थिति कति छ ? भन्ने प्रश्न मुख्य सवाल हो ।
‘नीति निर्माण तहमा युवाको सहभागिता र संलग्नता गौण छ । नेतृत्व तहमा युवाहरू पुग्न कठिन भइरहेको देखिन्छ’ उनले भने । प्रदेशको समग्र विकासमा युवा शक्तिको सहभागिता, संलग्नता, सहकार्य र साझेदारी अपरिहार्य रहेको उनले बताए । प्रदेश सरकारले आगामी वर्षको बजेट र कार्यक्रमले युवाहरूको सहभागिता, सशक्तिकरण र साझेदारीलाई प्राथमिकतामा राख्ने उनले बताए ।
युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्नु र युवा पलायन रोक्नु गम्भीर चुनौती बनेको उनले बताए । कृषि क्षेत्रमा युवा शक्तिलाई आकर्षित गर्न सिप विकास तालिम, बिउ पुँजी, प्रविधि हस्तान्तरण र व्याज अनुदान दिने कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताए ।राम्रो शिक्षाको नाममा युवा विद्यार्थीहरू बिदेसिने ट्रेन्ड अझ डरलाग्दो देखिएको उनको भनाई छ ।
‘पढाइकै नाममा बिदेशिनु भनेकाे उच्च शिक्षा लगत्तै रोजगारीको ग्यारेन्टीकाे लागि हाे’ उनले भने ‘उक्त विषयलाई प्रदेश सरकारले गम्भीरता पूर्वक लिएको छ ।’ प्रदेशका युवाहरू सूचना प्रविधि (आइटी) क्षेत्रमा सक्रिय रहेको र सूचना प्रविधिलाई युवाको रोजगारी र उद्यमशीलतासँग गाँस्ने रणनीति अवलम्बन गरेको उनले बताए । उनका अनुसार युवा मैत्री नीति नियम र कार्यक्रमका विषयमा सरकार तत्पर रहेको छ । युवाहरूको आवश्यकता र मागका विषयमा सरकार बजेट निर्माणमा अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पाैडेलले युवाको परिभाषा उमेरले नभई सक्रियता र गतिशीलताका आधारमा निर्धारण हुने बताए । युवाहरूमा रचनात्मक र सकारात्मक सोच हुन जरुरी रहेको उनले बताए । मुलुक परिवर्तनमा युवाहरूमा सोच र सकारात्मकताका साथ स्रोत साधनको प्रयोग गर्न सामर्थ्य हुनुपर्ने बताए । नेपाललाई कङ्गाल बनाउने गरी बिचौलियाहरू सक्रिय भएको उनको भनाई छ ।
प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा लक्षित कार्यक्रम ल्याउनु पर्ने बताए । युवाहरूका विषयहरूलाई सिप र खेलकुदमा जोडेर अघि बढाउनुपर्ने उनले बताए । ‘पछिल्लो पटक विभिन्न दुर्व्यसनका कारण युवाहरूको अवस्था कमजोर बनिरहेको छ’ उनले भने ‘युवाहरूको समस्या निराकरणका लागि खेलकुद क्षेत्रका गतिविधिमा संलग्न गराउन योजनाबद्ध कार्यक्रम ल्याउनु जरुरी छ ।’
बागमती प्रदेश युवा परिषद्को आयोजनामा आइतबारबाट हेटौंडामा ३ दिने युवा सम्मेलन सुरू भएको हाे । सम्मेलनमा शिक्षा, सीप तथा नीतिगत संवाद हुनेछ । सम्मेलनमा डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा, सिप, सृजना, दिगो विकासमा जलवायु परिवर्तन, युवामा सीपमूलक तालिमको आवश्यकता, प्राथमिकता, नीति नेतृत्व र युवा संलग्नता, मुख्यमन्त्रीसँग युवा विषयक छलफल गरिने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।
सम्मेलनमा देशका सातै प्रदेशका युवाको समेत सहभागिता रहेको छ । युवा सम्मेलन सुरू हुनु अगाडि हेटौँडाको बुद्धचोकबाट खैजेडी भजन, झाँकी सहितको र्याली निकालिएको थियो ।
मकवानपुर । नेपाल खेलकुद महासंघ मकवानपुरकाे अध्यक्षमा रूपा ढुङ्गाना चयन भएकी छिन् । महासंघकाे शनिबार हेटौंडामा भएको चाैथाे जिल्ला अधिवेशनले ढुङ्गाना अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
नेकपा एमाले निकट महासंघकाे अधिवेशनले ढुङ्गानाकाे नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । महासंघ उपाध्यक्षमा सङ्ग्राम बल लामा र धन कुमार मुक्तान, सचिवमा विवेकानन्द न्याैपाने , सहसचिवमा मदन कुमार बल र काेषाध्यक्षमा बिमल विक चयन गरेको छ । यसैगरी सदस्यहरुमा कृति थापा, विमल घलान, ढुङ्गाना कुमार मुक्तान र लिल तामाङलाई चयन गरेको छ ।
अधिवेशनमा अन्नपूर्णपोस्टमा कार्यरत पत्रकार सरोज पौडेल र तेक्वान्दो खेलमा अन्तरास्ट्रिय निर्णायक कोष उतिर्ण गरेका विमल बहादुर बिश्वकर्मालाई सम्मान समेत गरेको छ ।
महासंघको केन्द्रिय महासचिव धरम बहादुर लामाको प्रमुख अतिथ्यतामा भएको अधिवेशनमा नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज रामेश्वर राना, नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, महासंघ केन्द्रिय सचिव प्रभु नारायण शिवाकोटी, हेटौंडा उपमहानगरपालिका ११ नं. वडाध्यक्ष जुना दाहाल, महासंघ केन्द्रिय सचिवालय सदस्य सानू लामा, महासंघ प्रदेश कमिटी सह- संयोजक जेन श्रेष्ठ, युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटी, महासंघ जिल्ला कमिटीका निवर्तमान अध्यक्ष सविन मोक्तान लगायतको अतिथ्यता रहेको थियो।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा २८ बैशाख (आज) बाट प्रदेश युवा सम्मेलन हुँदैछ । ३० बैशाखसम्म हुने प्रदेश युवा सम्मेलनमा नीति निर्माण, सिप तथा उद्यम र प्रविधिमा युवाहरूको भूमिका र अवस्थाका विषयमा छलफल गरिने छ ।
प्रदेश युवा परिषद्ले आयोजना गर्ने तस्राे सम्मेलनमा बागमती प्रदेशसहित अन्य प्रदेशका ३०० बढी युवाको प्रत्यक्ष सहभागिता रहने परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले बताए । बागमती प्रदेश सहित अन्य प्रदेशबाट युवाहरूको सहभागिता रहने गरी कार्यक्रम तयारी गरिएको उनले बताए ।
सम्मेलनमा प्रदेशका ५० स्थानीय तहबाट युवा उद्यमीहरूको सहभागिता रहने छ भने सम्मेलनमा सहभागिताका लागि प्रदेश युवा परिषद् गठन भएका सुदूरपश्चिम र लुम्बिनी प्रदेशबाट ५/५ जना र परिषद् गठन नभएका प्रदेशबाट सामाजिक विकास मन्त्रालयको सिफारिसमा १०/१० जना युवाहरूलाई सहभागी गराइने भएकाे छ । यी बाहेक अनलाइन मार्फत १५० जना सहभागी छनौट गरिएको चौलागाईंले जानकारी दिए ।
सम्मेलनले प्रदेश स्तरमा युवाको नीति संवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उनले बताए । परिषद्ले २०७८ मा गरेको सर्वेक्षणमा युवाले नीति संवादको प्लेटफर्मको आवश्यकता महसुस गरेकाेले त्यसैकाे आधारमा युवा सम्मेलनको अवधारणा ल्याइएको चौलागाईं बताउँछन् ।
‘तेस्रो शृङ्खलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनमा ७ प्रदेशका युवाहरू सहभागी बन्ने वातावरण निर्माण भएको छ । प्रत्यक्ष रूपमा ३०० बढी युवाहरू समेटिए पनि राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जाल र परिषद्को वेबसाइट मार्फत डिजिटल माध्यमबाट युवालाई सम्मेलनमा सहभागी गराउने योजना बनाइएको छ’ उनले भने ।
सम्मेलनमा कृषिमा नवप्रवर्तन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरूसँग प्यानल छलफल र कार्यशाला गोष्ठी हुने उनको भनाई छ । सम्मेलनमा सहभागीहरूलाई नेपालकै पहिलो सुरुङ मार्ग रहेको चुरियामाई मन्दिरको अवलोकन भ्रमण र हाइकिङ साथै युवामा सकारात्मक सोच विकासका लागि प्रतिभा र कला प्रदर्शनी गरिने उनले बताए ।
बागमती सरकारले वार्षिक नीति तथा कार्यक्रममा युवा सम्मेलन समेटी बजेट विनियोजन गर्दै आएको छ। परिषद्का अनुसार अघिल्ला दुई आर्थिक वर्षमा १० हजार ५ सयभन्दा बढी युवाले विभिन्न सीप तालिम प्राप्त गरेका छन् भने चार सय ५ जना युवाले आफ्नै उद्यम सुरु गरिसकेका छन्। युवाको नीति संवाद र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित सम्मेलन प्रदेशको युवा विकासकाे यात्रामा एक महत्वपूर्ण पाइला हुने उनले बताए ।
सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषि उद्यम लगायत विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको समेत उनले बताए । सम्मेलनको उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेसभुसा, सांस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजा सहित रयाली गरिनेछ भने सम्मेलन पश्चात् घोषणापत्र समेत जारी गरिने छ ।