मकवानपुर । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी मकवानपुरकाे सयाेजकमा गणेश रसाईली चयन भएका छन् । असाेज २ गते शनिबार हेटौंडामा भएको पार्टी भेलाले रसाईलीकाे संयोजकमा १६ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।
बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका संयोजक राजकुमार हिङ्गमाङ र केन्द्रिय सदस्य तथा बैज्ञानिक समाजवादी महिला विभाग संगठनकी संयोजक धनकमारी सुनारको उपस्थितीमा पार्टीको जिल्ला कमिटि गठन गरिएको हो ।
बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य समेत रहेका रसाईली लामो समय एमाले राजनीतिमा बिताएका मकवानपुरमा पुराना कम्युनिष्ट नेता हुन । यसैगरी पार्टी जिल्ला कमिटि सचिवमा यदु कुमार विश्वकर्मा सदस्यहरुमा रामहरी ढकाल, दिल बहादुर खाती, सन्तमान सुनार, रामेश्वर विश्वकर्मा, रुपेश विश्वकर्मा, संजिव चौलागाई, सुरज सुनार, हरीशरण नेपाली, संजय खाती, जानुका खाती, रविन्द्र विश्वकर्मा, सुनी खाती र श्रृजना विश्वकर्मा चयन भएका छन् ।
सरस्वती पौडेल ‘सरु’
१.
खाटा बसिसकेको घाउको खिल सुनिएको देख्दा
तिम्रो मन, मुटु अनि त्यो दिल सुनिएको देख्दा
तिमिले नभने पनि अनुमान लगाँउन सक्छु मैले पनि
तिम्रा ती गाला अनि आँखाको डिल सुनिएको देख्दा ।
२.
हिजो त्यहीँ गाउँमा भोटको तिर लगाएर आउनु भो,
जित्नु भो अनि ठाटले ठाडो सिर लगाएर आउनु भो!
बलात्कृत भएर घटनास्थलमै मारिएको बैनिको गाउँमा,
बालदिवसको सभामा नेताज्यु अबिर लगाएर आउनु भो।
३.
मलाई किन?अन्त र आदि उस्तै उस्तै लाग्छ अचेल,
देख्छु, बादी अनि प्रतिबादी उस्तै उस्तै लाग्छ अचेल!
छिन मै दागबत्ती झोसेर पलमै खरानी बनाइदिन्छ दिल,
यो चिन्ताको ओछ्यान र समाधी उस्तै उस्तै लाग्छ अचेल।
४.
सपनाको ब्यापार गरि सारा चाहना थमायौ,
नजरबन्दी पार्यौ अनि जेलखाना थमायौ!!
स्थायी नियुक्ति दिएँ भन्थ्यौ मुटुको दरबन्दीमा,
एकाएक आज के भो?सरुवाको रमाना थमायौ ।
५.
दु:ख सुख गरेर पनि थमाएको मन सम्झनु पर्छ छोरा,
प्रत्येक सगर चढ्नु अधि आमाको स्तन सम्झनु पर्छ छोरा!
आफ्ना सपनाहरु बन्धक राखेर तिम्रो चहानाहरु पूरा गरे
सर्टिफिकेट धितो राख्दा बाबाको जिवन सम्झनु पर्छ छोरा ।
६.
जसको सरकार आए पनि बिकास गर्ने चाल भएन,
सरकार मेरो घरमा पकाउने चामल दाल भएन।
अस्ति भर्खरको बाढीले घर गोठ सबै बगाइदियो मेरो,
छोराछोरी चउरमै सुत्दैछन ओत लाउने पाल भएन।।।
भरतपुर -५, चितवन
पुरूषोत्तम पन्त
१.
उत्तर दिनु होस प्रश्न सोध्दै गरौला
पैसा दिनु होस सामान जोख्दै गरौला
लोकतन्त्रको सुन्दर पक्ष यहि रहेछ
सजाय दिनु होस गल्ती खोज्दै गरौला ।
२.
धेरै समय भए छ हाम्रो भेटघाट नभएको
एक आपसमा कुरा साटासाट नभएको
ब्यस्त भएर हो कि बोल्न मन नलागेर हो
फोनमा कुरा मेसेन्जरमा च्याट नभएको ।
३.
निस्पट्ट सुनसान रात किन आउँछ
एकान्तमा तिम्रो याद दिन आउँछ
मन्का ईच्छा चाहना मन्मै मरिसके
बाँकी एक मुठी सास लिन आउँछ ।
४.
पत्थरमा खोपेर तिम्रो चित्र बनाएको छु
मन बचन कर्मले पवित्र बनाएको छु
धड्कन रहिन्जेल सजाउनका लागि
जमिनमा होईन दिल भित्र बनाएको छु ।
५.
साँझमा जुनको उज्यालो सँगै आउँला
बिगतलाई भुलेर बर्तमान मा रमाउँला
आज कै भेट्ने अन्तिम किन नहोस् तर
जिन्दगी भर सम्झने गरि माया लाउँला ।
चिती लमजुङ
मकवानपुर । नेपाली चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएकाे छ । ओएसआर डिजिटलले सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ काे चलचित्रकाे एउटा राष्ट्रभक्ति गीत हो। दशैकाे घटनस्थापनको दिन असोज २१गते डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको हाे।
मनोज पण्डितको शब्द रहेको गीतमा हरि लम्सालले स्वर र संगीत भरेका छन्। पण्डित चलचित्र एकका निर्देशक पनि हुन्। चलचित्र ‘एक’ मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नका विरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा हो।
प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्। गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्।
सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्। कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने भएको छ।
यो चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन्।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सिमाना जोडिएका र विवादित ठाउँहरूमा छायांकन गरिएको यो गीतमा चलचित्रका नायक विशाल पोखरेल आफैले अभिनय गरेका छन् । मधेसलाई अलग बनाउने अभियानका साथ राजनीतिमा आएका सिके रावतको घरमै पनि यो गीतका केही दृश्यहरू छायांकन गरिएको छ।
‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय ख्याती प्राप्त गुप्तचर संस्थाहरूजस्तै नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’ (सि.ए.आई)को परिकल्पना पनि यो फिल्ममा गरिएका छन्। फिल्ममा सिएआई एउटा गुप्तचर संस्था हुन्छ। राष्ट्रका यी चिन्ताहरूलाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन्। खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ।
कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन्। यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्।
विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८ ÷७९ को बितेका दुई महिना साउन र भदौमा मात्र १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेटमार्फत चालू आर्थिक वर्षमा कुल १० खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन हुने लक्ष्य राखेका छन् । सरकारले दुई महिनामा कर राजस्वअन्तर्गत १ खर्ब ४८ अर्ब तथा गैरकर राजस्वअन्तर्गत २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले भदौ महिनामा मात्र ७५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, गत साउन महिनामा ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
संवैधानिक बन्देजको अवस्थामा राजस्व मात्र उठाउन पाउने तर सरकारी खर्च गर्न नपाउने अवस्था उत्पन्न भएपछि महालेखा नियन्त्रको कार्यालयले बजेट शून्यताको गाँठो फुकाइदिएको थियो । महालेखाले बजेट शून्यताको गाँठो फुकाएसँगै सरकारले गत बुधबार दिनभर हतारमा सरकारी कोषबाट एक दिनमै झन्डै १५ अर्ब रुपैयाँ खर्च गरेको थियो । सो रकम चालू खर्चतर्फको हो ।
बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएपछि हतारमा सरकारले कर्मचारीलाई भदौ महिनाको तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न एक दिनमै यतिधेरै रकम खर्च गरेको महालेखाले जनाएको छ । संसद्मा जारी सरकार र प्रतिपक्षी दलको किचलोको चपेटामा चालू आर्थिक वर्षको बजेट परेर मुलुकको इतिहासमै पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ ।
बिहीबारबाट बजेट खर्च नै नहुने अवस्था आउने बुझेर त्यसअघि गत बुधबार एकदिनमै सरकारले झन्डै १५ अर्ब रुपैयाँ खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको थियो । यसरी खर्च भएको रकममध्ये चालू खर्चमा ८ अर्ब ७० करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६ अर्ब रुपैयाँ खर्च भएको थियो ।
यो अवधिमा पुँजीगत खर्च भने जम्मा १६ करोड रुपैयाँ मात्र भएको महालेखाको तथ्यांकमा उल्लेख छ । अब संसद्को अर्को बैठक आगामी ४ असोजमा बोलाइएको छ । यो अवधिमा सरकारले बजेट खर्च गर्न पाउँदैन । चालू आवको बितेका दुई महिनामा उच्च आयात देखिएको कारण सरकारले लिएको लक्ष्यअनुसार राजस्व संकलन दर पूरा भएको जनाइएको छ । गत दुई महिनाको राजस्व वृद्धिदरको विश्लेषण गर्दै अर्थमन्त्री शर्माले तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत १५ जेठमा राखेको भन्दा राजस्वको लक्ष्य बढाएका छन् । चालू आर्थिक वर्षको बितेका दुई महिनामा सरकारले चालूतर्फ ५८ अर्ब रुपैयाँ खर्च गरेको छ ।
यसैगरी, २ अर्ब ६ करोड रुपैयाँ विकास खर्च तथा वित्तीय व्यवस्थातर्फ २८ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले चालू आवका लागि विनियोजित बजेट समयमा पास गर्न नसकेपछि गत बुधबार रातिदेखि नै सरकारमाथि खर्च गर्न नपाउने संवैधानिक बन्देज लागेको छ । यस्तो अवस्थामा पनि हाल सरकारले राजस्व संकलन गर्न भने पाउने व्यवस्था वर्तमान संविधानमा उल्लेख छ ।
गत १५ जेठमा अध्यादेशबाट आएको बजेट निष्क्रिय हुने समय नजिकिँदै गर्दा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सो विधेयक संसद्बाट पास भएपछि मात्र सरकारले बजेट खर्च गर्न सक्ने बाटो खुल्छ । प्रतिस्थापन विधेयक पनि पास नहुने अवस्था आएमा भने सरकारले अर्को विकल्प खोज्नुपर्ने हुन्छ । यसअघि बुधबार नै महालेखा नियन्त्रक कार्यालयले संसद्मा प्रतिस्थापन विधेयक जानुअघि रोकेको सरकारी भुक्तानी फुकुवा गरेको जानकारी गराएको थियो ।
महालेखा नियन्त्रक कार्यालयले गत २४ भदौबाट लागू हुनेगरी तीन दिनका लागि अनिवार्य दायित्वबाहेकका सबै भुक्तानी रोक्न भनेको थियो । यसरी रोकिएको भुक्तानी फुकुवा भएसँगै गत बुधबार एकै दिन झन्डै १५ अर्ब रुपैयाँ खर्च भएको हो । यसरी चालू खर्चमा भएको अधिकांश रकम तलब भत्तामा खर्च हुन्छ ।
सामान्यतया सरकारले तलव भत्ता महिनाको २८÷२९ गते नै कर्मचारीको खातामा पठाउने हुँदा संसद्मा भइरहेको पछिल्लो अवरोधले कर्मचारीको भदौ महिनाको तलब प्राप्तिमा भने खासै समस्या नपर्ने सरकारमा रहेकाहरूको दाबी छ । महालेखा नियन्त्रको कार्यालयले गत बुधबार एक पत्र जारी गर्दै सबै प्रकारका भुक्तानी फुकुवा गरेको थियो । महालेखाले चालू आव २०७८÷७९ को बजेट निकासा फुकुवा सम्बन्धमा भन्दै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै प्रदेश लेखा नियन्त्रण कार्यालय, सबै प्रदेश लेखा एकाइ कार्यालयलाई पत्र पठाएको थियो । राजधानी दैनिकमा प्रकाशित समाचार साभार गरिएकाे ।