मकवानपुर । नेकपा (एकीकृत समावादी) को केन्द्रीय कमिटीमा मकवानपुरका ४ नेता समेटिएका छन् ।
नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा मकवानपुरबाट केदार न्यौपाने, विरोध खतिवडा, ललित बस्नेत र मुनु सिग्देल केन्द्रीय कमिटीमा समेटिएका हुन् । हालै बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले मकवानपुरका चारै नेतालाई विभिन्न जिम्मेवारी समेत दिएकाे छ ।
न्यौपानेलाई पार्टी उपाध्यक्ष एवम् बागमती प्रदेश इञ्चार्जकाे जिम्मेवारी दिइएकाे छ भने प्रतिनिधि सभा सदस्य समेत रहेका खतिवडा स्थायी कमिटी सदस्य भएका छन् । पार्टी सरकारमा सहभागी भए खतिवडा यसपटक मन्त्री हुने समेत पक्कापक्की भएकाे बताइएकाे छ । एमालेको मजदुर संगठनका प्रभावशाली नेता तथा एमालेका पूर्व केन्द्रीय सदस्य ललित बस्नेत एकीकृत समाजवादीमा पोलिट ब्युरो सदस्य भएका छन् । उनलाई मकवानपुर इञ्चार्जको भूमिका पनि दिइएको छ ।
यस्तै, एमाले मकवानपुर अध्यक्ष रहनु भएका मुनु सिग्देल एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा मकवानपुर सहइञ्चार्ज हुन भने बागमती प्रदेश सभामा एकीकृत समाजवादीको प्रमुख सचेतक पनि रहेकी छिन् ।
मकवानपुर ।मकवानपुर प्रहरीले सुन व्यवसायीलाई अपहरण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । असोज १० गते आइतबार बिहान ९ बजेकाे समयमा हेटौंडा–१० बासुदेव मार्गमा जे.एस. सुनचाँदी पसल सञ्चालन गर्दै आएका अन्दाजी ४० बर्षीय जितेन्द्र बिश्वकर्मालाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ घर भई सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिश्वकर्मालाई अपहरण गरेकाे आराेपमा हेटौंडा–१० का ३९ बर्षीय बिनोदलाल श्रेष्ठ, ३० बर्षीय अनिल लामा, हेटौंडा–५ का ३२ बर्षीय बुद्ध लामा र हेटौंडा–२ का २७ बर्षीय आदेश लामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
बा २० च ८९६० नम्बरको सेतो कारमा आएका अपरिचित व्यक्तिहरुले विश्वकर्मालाई अपहरण गरी लगेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ समूहको कार्यालय अगाडीबाट उनीहरुलाई असाेज १० गते आइतबार विहान ११ः४० बजेकाे समयमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।
अपहरणमा परेका विश्वकर्मालाई अपहरणुक्त गरी उक्त कार्यमा संलग्न रहेका ४ जना माथी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी जनाएको छ ।
मकवानपुर । मुटुमा समस्या देखिए पछी बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । मुटुको समस्या रहेका प्रदेश प्रमुख शर्माको अस्पतालमा उपचार जारी रहेको उनको सचिवालयले जनाएको छ ।
प्रमुख शर्माको अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्या भई उपचाररत प्रमुख शर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ४ गतेबाट गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको थियो । उपचारका क्रममा प्रदेश प्रमुखको स्वास्थ्य अवस्था थप जटिल बन्न पुगेपछि उनलाई उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको हाे ।
शर्माको उपचारमा संलग्न डाक्टरको सल्लाहमा उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको स्वकीय उपसचिव पारशमणि फुँयालले जानकारी दिए । फुयालका अनुसार प्रमुख शर्माको डा.सूर्य देवकोटाको टिमले उपचार गरिरहेकाे छ ।
मकवानपुर । नेकपा (एकीकृत समावादी) पार्टी मकवानपुरले सचिवालय र विभाग गठन गरेको छ । आइतबार बसेको पार्टीको पहिलो जिल्ला कमिटी बैठकले पार्टीकाे कामलाई चुस्तदुरुस्त बनाउन पदाधिकारीसहितको सचिवालय गठन गरेको हो ।
अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल, उपसचिव जीवन लामा, कार्यालय सचिव तिलक अधिकारीसहित सदस्यहरु रहेको ४९ सदस्यीय सचिवालय गठन गरेको पार्टीले जनाएकाे छ ।
यस्तै, पार्टीको प्रचार विभाग प्रमुखमा रामकुमार एलन र आर्थिक विभाग प्रमुखमा टीपी रुपाखेतीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यसैबीच नेकपा (एकीकृत समावादी) मकवानपुरले असोज २५ गते बडादशैँ, दीपावली, नेपाल सम्वत् अवसर पारेर हेटौँडा शुभकामना आदानप्रदान तथा चियापान गर्ने भएको छ ।
असाेज ९ गते आइतबार हेटौँडामा बसेको पार्टीको पहिलो बैठकले नेपालीहरुकाे चाड बडादशैँ लगायतका मुख्य पर्वकाे अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान गर्ने निर्णय गरेको हो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षता एवम् पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
मकवानपुर । नेपाली कांग्रेस बागमती गाउँपालिकाको सभापतिमा फणिन्द्र तिमल्सिना निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट तिमल्सिना निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी दिल्ली प्रसाद घोरासाइनीलाई १४ मतले पराजित गरेका हुन् ।
सभापति तिमल्सिनाले कूल खसेको १ सय ५१ मत मध्ये ७५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी घोरासाइनीले ६१ मत प्राप्त गरेका थिए । १ मत भने बदर भएको र केही मतदाता निर्वाचन प्रक्रियामा सहभागि नभएको मतदान अधिकृत राजेश प्रसाद घिमिरेले जानकारी दिए ।
त्यसैगरी उपसभापतिमा जगतबहादुर लामा र मंगललाल वाइवा तथा सचिवमा सुदिप पाख्रिन र सिरित कुमार राई निर्वाचित भएको जनाइएको छ । सहसचिवमा भानु सोराली मगर र बीरबहादुर थोकर सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै कुल ५१ सदस्यीय गाउँ समितिका लागि शनिबार भएको निर्वाचन कार्यक्रमबाट तिमल्सिनाको नेतृत्वमा ४५ सदस्य चयन भएका छन् । बाँकीलाई कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने जनाइएको छ ।