मकवानपुर । प्रहरी दिवस २०७८ काे अवसरमा हेटाैंडामा रक्तदान गरिएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा ६६ औं प्रहरी दिवस २०७८ अवसर पारी रक्तदान कार्यक्रम गरिएकाे हाे ।
असाेज १५ गते विहीबार नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।
नेपाल प्रहरी स्थापनाको अवसर पारी हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले समेत बिभिन्न कार्यक्रमहरु आयाेजना गरदै आएकाे छ । प्रहरी दिवसकै अवसरमा प्रदेश प्रहरी कार्यालय हेटौंडाले खेलकुदका विभिन्न गतिविधि, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
आगामी असोज २० गते ६६ औं प्रहरी दिवस २०७८ मनाईदै छ ।

मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध वीनरेक्सहित हेटाैडामा १ जना पक्राउ गरेकाे छ । प्रहरीले हेटौंडा–५ का २५ बर्षीय सोम बहादुर थोकरलाई वीनरेक्स ४८ बोत्तलसहित विहीबार पक्राउ गरेको छ ।
विहीबार हेटौंडा–१५ स्थित रातोमाटे हुँदै हेटौंडा बजारतर्फ आइरहेको ना २४ प २२१० नम्बरको मोटरसाइकलमा सवार थोकरले वीनरेक्स बिक्रि बितरण गर्ने ल्याईरहेको छ भन्ने सूचना प्रहरीले पाएकाे थियाे । सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरीले टोलीले थोकरलाई हेटौंडा–४ स्थित चिल्ड्रेन पार्कबाट वीनरेक्स १ सय मिलिटिर लेखिएको ४८ बोतलसहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
थोकरलाई पक्राउ पछी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटाैडामा असोज १६ गते शनिबार मुटुरोग सम्बन्धि निःशुल्क शिविर हुने भएकाे छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनमा हेटौंडा अस्पतालमा मुटुरोग सम्बन्धि निःशुल्क शिविर हुने भएको हाे ।
शहिद गगांलाल राष्ट्रिय हृदयकेन्द्र,बासबारी काठमाडौंका मुटु रोग विशेषज्ञ सहित ७ जना डाक्टर र ४ जना प्राबिधिक सहित ११ जनाको टिमले मुटुरोग सम्बन्धी शिविरमा सहजिकरण गर्ने भएका छन् । शिविरमा करिब पाँच सय जनालाई उपचार गर्ने प्रतिष्ठानले जनाएकाे छ ।
शिविरमा मुटुरोगको परीक्षणसंगै ल्याबमा परीक्षण, औषधि समेत निःशुल्क उपलब्ध गराइने बताइएकाे छ ।

मकवानपुर । वडा प्रहरी कार्यालयकाे आयाेजनामा हेटाैडमा नागरिक सुनुवाई कार्यक्रम भएकाे छ । हेटौंडा-१० बसपार्कमा वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमको गरिएको हो।
सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा-१० बसपार्कमा विहीबार प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रमको आयोजन गरिएको हो। सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा-१० बसपार्कका अध्यक्ष प्रदिप कँडेलको सभाध्यक्षतामा सम्पन्न नागरिक सुनुवाई कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले वडा प्रहरी कार्यालयले हालसम्म गरेको कार्य विवरण प्रस्तुत गरेका थिए भने मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले नागरिकबाट आएको पश्नको र चाडवाड लक्षित सार्वजनिक तथा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा हेटौंडा-२ का वडासदस्य महेश्वरमान श्रेष्ठ,हेटौंडा-१० का वडासदस्य साधना श्रेष्ठ, हेटौंडा-४ का वडासदस्य राजेन्द्र कुमार वस्ताकोटी, आदर्श टोल विकास संस्थाका अध्यक्ष शान्ता गजुरेल,अधिकारकर्मी शर्मिला श्रेष्ठ,सविन भट्टाचार्य लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका र नेपाल खेलकुद सस्था (नेपाल स्पोर्टस अर्गानाइजेशन) बीच फुटबल एकेडेमी सञ्चालन गर्न भएको २५ लाखको सम्झौता रद्द भएकाे छ । हेटाैडा उपमहानगरपालिका र संस्थाका अध्यक्ष गणेश थापासँग असोज १२ गते फुटबल एकेडेमी तथा खेलाडी प्रशिक्षण सञ्चालन गर्न गरेको सम्झौता रद्द भएकाे हाे ।
हेटौंडा उपमहानगरले २५ लाखको सम्झौता नेपाल स्पोर्टस अर्गनाइजेशसँग असाेज १२ गते मंगलबार गरेको थियो । हेटाैडा उपमहानगरपालिकाले फुटबलको विकासका लागि भन्दै २५ लाख रुपैयाँ दिने सम्झौता गरेको थियो । तर बिहीबार हेटौंडा उपमहानगरले एक प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुखस्त स्तरीय निर्णयबाट सो सम्झौता रद्द भएको जानकारी गराएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष हुँदा थापाले पदको दुरुपयोेग तथा आर्थिक अनियमितताको आरोपमा दोषी ठह¥याउँदै विश्व फुटबल महासंघ (फिफा) फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिवन्ध लगाएको थियाे । फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी फिफाले प्रतिबन्ध लगाएको व्यक्तिसँग स्थानीय सरकारले सम्झौता गर्नु उचित नभएको भन्दै सम्झौता रद्द गरिएका बताइएकाे छ ।