मकवानपुर । हेटौंडामा थ्रेसर पल्टदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा धान काट्ने थ्रेसर पल्टिदा त्यसमा सवार १ जानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जानकारी दिएकाे हाे । थ्रेसरमा सवार ४ जना मध्ये अन्य ३ जना घाईते भएका प्रहरीले बताएकाे छ ।
पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको प्र ०२–०३–००१ त १०३ नम्बर को धान काट्ने थ्रेसर अनियंत्रित भई सडक छेउमा पल्टिएको थियाे ।
मकवानपुर । राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरले चियापान कार्यक्रम गरेकाे छ । नेपालीहरूकाे महान चाड बडादशैं लगायतका चाडपर्वहरूको अवसर पारेर महासंघले चियापान कार्यक्रम आयोजना गरेकाे हाे ।
चियापान कार्यक्रम बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश कमीटी ईन्चार्ज डोरमणी पौडेलकाे प्रमुख आतिथ्यतामा भएकाे हाे । कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका ईन्चार्ज आशाकाजी श्रेष्ठ, कलाकारहरु रविन्द्र चेपाङ, पेमा थापा, पम्फा मगर, घनश्याम ढकाल, किसु थापा, चन्द्रा देवी लामा, अनिल लामाले गायनकला प्रस्तुत गरेका थिए । त्यस्तै रचनात्मक प्रस्तुति तर्फ ह्याग्रीव आचार्य, छवि अनित्य लगायत अन्य कलाकारको प्रस्तुति रहेको थियो।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य तथा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष बद्री लम्साल, उपाध्यक्ष गोपाल श्रेष्ठ, सचिव एकलाल श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिवालय सदस्य नवीन सिग्देल, सचिवालय सदस्य फुर्वा दोर्जे लामा, नेकपा एमाले जिल्ला कमिटी सदस्य सुनिल मुक्तान लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यसैगरी राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय प्रतिनिधि धर्म लामा, मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य रमिला घलान, जिल्ला खेलकुद महासंघका अध्यक्ष सबिन मुक्तान, नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाही, अखिल फोर्स मकवानपुरका प्रमुख मनिष मान श्रेष्ठ, मकवानपुरका वरीष्ठ संङ्गीत्कार परमेन्द्र महर्जन, साहित्यकार काल ज्यामी र राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका सहईन्चार्ज मेम्वर लो लगायतको सहभागिता रहेकाे थियाे
कार्यक्रम रास्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजु राम राउतको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका सचिव रेश्मी कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रास्ट्रिय जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य मसान उपासकले सन्चालन गरेका हुन् ।

भवानी तिमल्सिना न्यौपाने
१.
गरेर पुजा अर्चना नवरात्रको नौ दिन वडादशैंमा
हटुन् क्लेश सारा आउन् मनमा विचार नवीन वडादशैंमा
सबैलाई दशै दशै बनोस् दसा नबनोस् छावोस् हर्ष उमंग
नबनोस् कोहि कसैको पनि मुहार मलिन वडादशैंमा ।
२.
बोकेर कमेरो दलेपछि घरमा रङ्ग दशै आए झै हुन्थ्यो
लागाउँदा नयाँ नाना परिन्थ्यो दङ्ग दशै आएझैँ हुन्थ्यो
ठुला देखि साना सम्म आशिर्वाद र जमरा लिइ
टीका थाप्दा हजुरबुबासँग दशै आए झै हुन्थ्यो ।
हेटौँडा- ५ मकवानपुर

मिना पौडेल
पैसा हुनेले नै मीठो खान्छ राम्रो लाउँछ दसैं आउँदा
रमाइलो गर्छ जुवा तास खेल्न धाउँछ दसैं आउँदा
पैसा र आफन्त नहुनेलाई चाड पर्व नआएकै जाती
हेर्नुहोस् दुखीलाई भने दुःख नै आउँछ दसैं आउँदा।।
निकासी, बाक्सा, असम भारत

रस्मी भट्ट
दशैं कसैलाई खुशी ,कसैलाई दशा नबनोस्
कसैलाई चोट र ऑशु ,कसैलाई मजा नबनोस्
चाड पर्व आफ्नो सामर्थ्य अनुसार मनाउनुपर्छ
मनाउने निहुॅमा ,आडम्वरी र भद्धा नबनोस् ।
गाेरखा हाल अमेरिका

वृन्दा ढुंगाना
वर्ष दिनमा एकचोटी जमिन छोड्नु रे भन्छन्
परम्परा मान्दै पिङ सङ्ग नाता जोड्नु रे भन्छन्
केटाकेटीहरु जस्तै रमाइलो गर्ने रहर जागेर आउँदा
दु:ख पीडा बिर्सिँदै पर्वमा मन मोड्नु रे भन्छन्।
काठमाडाैं

मात्रिका घिमिरे
१.
चाडबाडमा हौसिएर कोही पनि, ह्वात्तै जाग्नु हुदैन
अरुको देखासिकीमा धेरै , फूर्किएर लाग्नु हुदैन
ढोल बजाई आउँछ दशैं,ऋण बोकाई जान्छ भन्छन्
घिउ खानलाई कसैसँग, ऋण पनि धेरै माग्नु हुदैन ।
२.
छोराछोरी विदेशमा छन्, आमा बुवा रुँदै गर्छन्
कहिले आउलान् भन्दै बाटो, हेर्दै प्यासी हुँदै गर्छन्
धेरै दशैं आउछन् जान्छन्, परदेशीको पत्तो हुन्न
कति बर्ष पर्खी बस्दै, आँशुले मुख धुँदै गर्छन् ।
काठमाडाैं

रुकु धिताल न्यौपाने
नआउन् फर्किएर ती बिताएका तिता कहरहरु यही कामना
हाँसो खुसीले जगमगाउन अबका पहरहरु यही कामना
नवदुर्गाको कृपादृष्टिले रोग शोक , पीडा मुक्तहोस् घरघरमा
बडादशैंको शुभकामना भन्दै मुस्काउन् रहरहरु यही कामना ।
काठमाडाैं
मकवानपुर । यो वर्षको मनसुन बाहिरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ। महाशाखाले मंगलबार प्रकाशित गरेकाे बुलेटिनमा समेत देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेकाे जनाएकाेले पनि यस वर्षकाे मनसुन बाहिरिएकाे जनाउँछ ।
यो वर्ष औषतभन्दा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो। औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ। गएको शुक्रबार नेपालका केही क्षेत्रबाट बाहिरिन शुरू गरेको मनसुन सोमबार पूर्णरुपमा बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको थियो। यस वर्षको मनसुनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ। यो वर्ष मनसुनका चार महिना (जेठदेखि असोज) मा सबभन्दा बढी पोखरामा वर्षा भएको छ।
पोखरा विमानस्थल क्षेत्रमा चार महिनामा सरदर ३०६४ मिमि वर्षा हुन्छ, यो पटक ४२७० मिमि वर्षा भएको छ । यस वर्ष मनसुनमा सबभन्दा कम वर्षा कर्णालीको उत्तर पूर्वी क्षेत्रमा भएको छ। मुस्ताङमा सरदर १५८.५ मिमि वर्षा हुने भए पनि यो वर्ष ४ सय ३० मिमि वर्षा रेकर्ड भएको छ।
मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन खसी तथा खाद्यान्न सहयोग गरिएकाे छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ र राक्सिराङ गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दशैं मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन् ।
कारागारमा राक्सिराङ गाउँपालिकाका मात्रै ४१ जना रहेकाले पालिकाले आफ्नै खर्चमा दशैंमा खाद्यान्न लगायतका सामग्री वितरण गर्दै आएको छ । कारागारमा रहेकाहरुलाई प्रदेशसभा सदस्य बानियाँले व्यक्तिगत ६० हजार रुपैंया प्रदान गरेका छन् । सामाजिक एवं मानवीय भावनाको आधारमा कारागारमा रहेका कैदीबन्दीको दशैं सुखद बनाउन सहयोग गरेको बानियाँले बताए ।
जीउने आधार र विकल्प नभएर गाँजा खेती गर्नुपर्ने अवस्थाका व्यक्तिहरु जेलमा रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाको केही व्यक्ति कारागारमा रहँदा दशैं खल्लो नहोस् भनेर केही राहत दिएको उनले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष निर्मला हिम्डुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, नेताहरु रञ्जन कालाखेती, विदुर थापा लगायतको उपस्थिति रहेको थियो ।
भीमफेदी कारागारमा लागूऔषध मुद्दामा मकवानपुरको हेटौंडा उपमहानगरका ४४, राक्सिराङका ४१, कैलाशका १४, बकैयाका ३, भीमफेदीका ३, मनहरीका १६ र थाहानगरपालिकाका २ जना गरी १ सय २३ जनाले जेल जीवन बिताईरहेका छन् ।