शाेभा शाह थापा
मौका छोपी छोपी गरीब लुट्ने साउको युग हो यो ।
बाबू मार्ने छोरा र छोरी लुट्ने बाउको युग हो यो ।
बिक्दैन अचेल यहाँ खुकुरी खुर्पा कुनै हतियार,
विश्वासघातको छुराले पाउने घाउको युग हो यो ।
जसको छ रुपैयाँ पैसा उसकै चल्छ ऐसा तैसा
कसले गन्छ चानचुन डलर भाउको युग हो यो ।
बन्नु छैन विद्वान मलाई गर्नु छैन पि एच डी
माल हेरी हेरी गोटी चाल्ने दाउको युग हो यो ।
अधर्मी भए सन्तान जन्मिदैंन श्रवण कुमार
वृद्धाआश्रम गई रुँदै बस्ने माउको युग हो यो।
पार्वती भट्ट
१.
अनाैठाे युद्ध चलिरहेछ, आफैँ भित्र अरु के भनुँ
बुझी नसक्नुका हुँदा रहेछन् ,चरित्र अरु के भनुँ
उदास रङ्गमञ्च अनि व्यङ्ग्य कथानक बाेकेकाे
जिन्दगी भइदियाे, नचल्ने चलचित्र अरु के भनुँ ।
२.
अलिकति रिस राग अनि, अलिकति डाहा हुनुपर्छ
घृणाका पहाड भित्र पनि, अलिकति आहा हुनुपर्छ
हेर ! अरु जेजस्तो भए पनि फरक पर्दैन जिन्दगीमा
प्रेम चाहिन्छ हर कसैलाई पनि, यत्ति थाहा हुनुपर्छ ।
३.
प्रेमकाे कुनै साँध – सिमाना, देश र घर हुँदैन
दृष्टि समान हुन्छ, विषमता देख्ने नजर हुँदैन
यत्ति बुझिदिए पुग्छ, प्रेमकाे बजार थाप्नेहरुले
साँचाे प्रेमकाे कुनै माेलताेल हुँदैन, दर हुँदैन ।
डडेल्धुरा हाल इमाडाेल, ललितपुर
मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्ट हेटौंडामा सम्मानीत भएका छन् । सचेत नागरिक युवा समुह हेटाैडा र सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी उपकेन्द्रले संयुक्त रुपमा मकवानपुरे फुटबल खेलाडी विष्टलाई सम्मान गरेको हो ।
१३ औं साफ च्याम्पियनसिप फुटबबल प्रतियोगितामा नेपाललाई फाइनलमा पु¥याउन उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अन्जनलाई सम्मान गरिएको हो । अन्जनले साफकाे फाइनल खेल खेल्न नपाएपनि समुह चरणको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई साफ च्याम्पियनशिपको फाइनलमा पु¥याएका थिए । अन्जनले देशलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको र मकवानपुरे नागरिक हौं भन्न गर्व अनुभव भएको सचेत नागरिक युवा समुहका अध्यक्ष शिव नारायण श्रेष्ठले बताए ।
कार्यक्रममा अन्जन विष्टका बुवा राजु विष्टलाई समेत सम्मान गरिएको थियो । यस्तै साफ फुटबलमा सहभागी नेपाली राष्ट्रिय टिमका अर्का मकवानपुरे खेलाडी सुनिल बललाई समेत सम्मान गर्ने बताइएकाे छ । शुक्रबारकाे सम्मान कार्यक्रममा सुनिल काठमाडौं रहेका कारण उनलाई अर्को पटक सम्मान गरिने सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी उपकेन्द्र हेटौंडाका अध्यक्ष प्रदिप कंडेलले जानकारी दिए ।
मकवानपुर । सडक मर्मत गर्न उपमहानगरपालिकाकाे ध्यानाकर्षण गराइएकाे छ । सचेत नागरिक युवा समुहले हेटौंडा उपमहानगरपालिकालाई हेटाैडाकाे पारिजातपथ मर्मत गर्न ध्यानाकर्षण पत्र बुझाएको छ ।
हेटौंडा–४ परिजात पथ सडकखण्डमा रहेको खाल्डाहरु मर्मत गर्न भन्दै शुक्रबार हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामालाई ध्यानाकर्षण पत्र बुझाइएको हो । सचेत नागरिक युवा समुह हेटौंडाका अध्यक्ष शिवनारायण श्रेष्ठसहितकाे टोलीले परिजातपथकाे कर्भड हल देखि सितल महल चोकसम्मकाे सडकका खाल्डो मर्मत गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपालीहरुको महान चाड तिहार, छठ र ल्होसार जस्ता मुख्य चाडपर्वहरु नजिकिदै गर्दा यस सडक खण्डमा सवारी साधनहरुको चाप बढ्ने र सडक बिग्रिएका कारण दुर्घटना हुन सक्ने भन्दै ध्यानाकर्षण बुझाएको सचेत नागरिक युवा समुह हेटौंडाका श्रेष्ठ बताए ।

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सदस्य अर्जुन दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नेकपा एकीकृत समाजवादी पार्टी लोकतन्त्र र संविधानको रक्षाको लागि सदैव प्रतिवद्ध रहेको बताए ।
‘नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाहरु अवसरभन्दा माथि उठ्नु भएको छ । त्यसकारण म प्रभावित भएँ ।’ उनले भने । उनले आफु कांग्रेसमा रहँदा पनि देश जनता र पार्टीप्रति इमान्दार भएको बताउँदै अब नेकपा एकीकृत समाजवादीमार्फत् जनताको घर दैलोसम्म पुग्ने बताए । अवसर नपाएर पार्टी त्यागेको आरोप आफुमाथि भएपनि त्यसमा सत्यता नभएको उनले बताए । कांग्रेसमा रहँदा सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत दिए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज मुनु सिग्देल र सुर्यचन्द्र न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा (एस) मकवानपुर अध्यक्ष श्रीधर पोखरेलको सभाध्यक्षतामा भएको हो ।