मकवानपुर । बागमती प्रदेशमा मंगलबार थपिएका नवनियुक्त ५ मन्त्री र १ राज्यमन्त्रीले साँझ पद र गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाललाई सपथ गराएका हुन् ।
त्यसैगरी कृषि तथा पशुन्छी राज्यमन्त्री इन्द्रमाया गुरुङलाई मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख शर्माकाे उपस्थितिमा सपथ गराएका हुन् । मुख्यमन्त्री पाण्डेले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका हुन् । यससँगै प्रदेशमा ११ मन्त्री र १ राज्यमन्त्री भएका छन् । मंगलबार थपिएका मन्त्रीहरु क्रमश खड्का, दाहाल र ढकाल नेकपा माओवादी केन्द्रका हुन् भने नेकपा एकीकृत समाजवादीबाट हुँमागाई र मानन्धर मन्त्री र गुरुङ् राज्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघि बागमती प्रदेशमा मुख्यमन्त्री पाण्डे नियुक्त हुँदा पहिलाे चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री नियुक्त भएका थिए ।
यस्तै, दोस्रो पटक मन्त्रिपरिषद् विस्तारमा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । बागमतीमा गत मंसिर १५ गतेको मन्त्रीपरिषद् निर्णयबाट मन्त्रालयकाे संख्या ८ बाट बढाएर १४ पुर्याइएको थियाे ।

चन्द्रकला गुरागाई दाहाल
बर्ष पिच्छे महिला हिंसा प्रतिराेधि आवाज उठे
सचेतना पक्कै हाेलान सबै महिला एक भई जुटे।।
एक्काईसाै शताब्दीमा किन यस्तो कुरा
दाईजो काे कारणले राेपेका छन् छुरा।।
परिवारकै बलात्कृत हिंसा जन्य रुप
आफु आफु सल्लाह गरि पार्छन् गुपचुप।।
तालिम गाेष्टी महिला अनि राष्ट्रपति महिला
याे सबै नभए नि अलिक कम थियोे पहिला।।
अशान्तिकाे माहोलमा राजदरबाकाे के काम
जहाँ हुन्छ सुन्दर सान्त त्यही स्वर्ग धाम।।
झल्झलीकाे प्रमाण देखि वकिलकाेमा किन धाउने
कयौं यस्ता आमाहरुले निसाफ यहाँ कहिले पाउने ।।
हिंसाकाे बीउ भेटे हुन्थ्याे उखेलेर फाल्नु
ज्यानमारालाई जन्म कैद पर्छ जेल हाल्नु ।।
सुस्मिता का आमा जस्तै अरुका नि झरे आँसु
आमा शब्द आफै काफी त्यही शब्द फेरि सासू।।
मेन्छ्यायम गाउँ पालिका १ तेह्रथुम
मकवानपुर । बागमती प्रदेशकाे मन्त्रिपरिषद विस्तार भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ मन्त्री र १ राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री र १ राज्यमन्त्री थपिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री भएका छन् । यसै गरी इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।
मंगलबार मन्त्रिपरिषद विस्तार गर्दा नेपाली कांग्रेसका सांसदहरु भने समेटिएका छैनन् । हाल बगमती मन्त्रिपरिषद ५ सदस्यीय रहेकामा मंगलबार ६ जना थप भएका छन् । केही समय अघी बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्याइएको थियाे ।
मकवानपुर । अखिल नेपाल महिला संघ (समाजवादी) बाग्मती प्रदेश कमिटी अध्यक्षमा मुनु सिग्देल चयन भएकी छन् । अनेमसंघकाे सोमबार काठमाडौंमा बसेको बैठकमा कमिटी घोषणा तथा सपथ ग्रहण गरिएको थियो ।
संघले सिग्देलको अध्यक्षतामा १ सय ५१ सदसीय प्रदेश कमिटी घोषणा गरेको हो । घोषित प्रदेश कमीटीकोे उपाध्यक्षमा शान्ता पौडेल र कमला श्रेष्ठ, सचिवमा सङिता पाख्रिन, उपसचिवमा शान्ता पाख्रिन र कोषाध्यक्षमा पार्वती सिलवाल छन् ।
बैठकमा अनेमसंघ समाजवादीको अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष जयन्ती राईले सदस्यलाई सपथ गराएकी थिइन् । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी राइले नेकपा एमालेमा ओलीको स्वेच्छाचारी र व्यक्तिवादी शैली हावी भएकाले आफूहरुले बिद्रोह गरेको बताइन् । ‘अहिले पनि महिलाहरु अनेक प्रकारका समस्या र हिंसाबाट पीडित छन्, अनेमसंघ (समाजवादी)ले महिलाका सबै प्रकारका विभेद र हिंसाका विरुद्ध अगुवाइ गर्दे महिलालाई राजनीतिक रुपमा संगठीत गर्नुपर्छ,’ राइले भनिन् ।
यसैगरी बैठकमा पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशका इन्चार्ज केदार न्यौपाने र बाग्मती प्रदेशका पार्टी अध्यक्ष सावित्रा भूसालले पनि सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनीहरुले पनि पार्टी निर्माण र महिलाका विषयमा प्रशिक्षण तथा घोषित कमिटीलाई शुभकामना दिएका दिए ।
कमिटी १ सय ५१ सादसीय रहेको जानकारी दिदै अध्यक्ष सिग्देलले संघले गर्ने कार्ययोजना समेत प्रस्तुत गरेकी थिइन् । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा अनेमसंघ कोषाध्क्ष मिना ज्ञावली, पार्टी केन्द्रीय सदस्य तथा अनेमसंघ प्रचार विभाग प्रमुख चमिना भट्टराई, केन्द्रीय सदस्य भागवती नेपाल, चुनु केसी, शान्ता पाख्रिन, शान्ता पौडेल लगाएतको उपस्थित थियो ।
गीताश्री शर्मा
मैले मेरै हातहरू
हो ! धेरै हेरें, धेरै पटक मसारें
हेराएँ ज्योतिषीलाई पनि
भने, विद्या रेखा लामु छ,
धेरै पढेर ठूलो मान्छे बन्ने योग छ !
तर,
मैले आफैं नियाल्दा कतै देखिनँ
हत्केलामा भएका सबै रेखाहरू
एक एक गरेर हेर्दा पनि मैले
पटक्कै चिन्नै सकिनँ
विद्या,भाग्य रेखा एउटै देखिनँ।
मेरा हत्केला भरी
अनगिन्ती छन् रेखाहरू
कुन चाहिँ हो धेरै पढ्ने रेखा?
कुन कर्मका ? कुन आयुका ?
भाग्यको कस्तो हुन्छ ?
सन्तान, श्रीमान र सिन्दूर परेको कुन आकारको हुन्छ ?
यी नै रेखाहरू माझ
चार पाँच दशक सम्मै खोजिरहेकी छु
मानवताका रेखाहरू
तर ठम्याउन सकिरहेकी छैन
मेरै हत्केला भित्रका रेखाहरू।
यी रेखाहरूलाई कतै
जात देख्छु सभ्यता देख्दिनँ
अनुहार देख्छु आधुनिकता देख्दिनँ।
हात दली दली मुसारेर हेर्छु
चश्माको पावर मिलाई मिलाई नियाल्दा पनि
हस्तरेखामा हुने समाज देख्छु
तर त्यहाँ पनि समानता पाउँदिन
कहिले काहीँ त उदेक लाग्छ !
त्यो नाकको डाँडीमा चश्मा झुण्ड्याउनेले देखेको
मेरो शिक्षा-दीक्षा, भाग्य-अहोभाग्य, शान्ति-प्रशान्ति
लगन-बिहा, मिलन-बिछोड, उकाली-ओराली
अहँ कतै भेटिनँ, कतै पाइनँ ।
किन चिनिनँ मैले?
मेरै हातमा भएका अनगिन्ती धर्सामाझ
मैले खोजेका रेखाहरू?
अन्धविश्वास, परम्परा, रुढिवादी, कालचक्र
धामीझाँक्री, मशान, बुट्टी-ताबिज
लछेप्रै जताततै भेट्छु
तर !
स्त्री-पुरुष,धनी-गरीब, उँचो-निचो, छोरा-छोरी
समान भएको हस्तरेखा कतै पाउँन सकिनँ ।
यदि हस्तरेखाबाट
मान्छे चिन्न सक्ने भए ,
मान्छे मान्छे नै हो भन्ने किटान गर्न
मतदान अघि नेताको हात
साबुन-पानीले धोइदिएर
सही-गलतको सही निर्क्यौल अवश्य हुने थियो
तर ,
मकै ज्योतिषीले बाहेक अरूले
कसैका हातमा देखेनन्
नेता बन्ने रेखाहरू।
आजसम्म यही हो
जनता र देशको भविष्य
यस्तो हुन्छ भनेर कोरिएका
पाइएनन् हातहरू।
खोजी धेरै गरें,
मेटिन लागेका हस्तरेखादेखि
भरभराउँदा, कलकल गर्ने , खेलाइरहूँ जस्ता
हातहरूमा पनि
तर किन चिनिएनन् त!
बलत्कारी, अत्याचारी, निर्दयी र
घुसखोरी, भ्रष्टाचारी र अन्यायी रेखा ।
किन भन्न सकेनन् ?
हात हेरेर भविष्य बताउनेहरूले?
परिपक्व, दूधको दूध, पानीको पानी
जलेवाले जस्तो छुट्याउन
सकेनन् किन ?
हे दाता ! हे विधाता !! हे परमेश्वर !!!
यदि हस्तरेखाहरू तिमी कोर्छौ भने
नकोर अब
दाइजो नपाउँदा कतै
छोरीचेली जिउँदै जलाउने हातका रेखाहरू।
नबनाऊ अब
न्याय दिन नसक्ने हस्तरेखा
हे दयानिधन! हे करूणाराशि!
सम्पूर्ण चराचर जगतका
अमानवीय हातका रेखाहरू नबनाएर
कोरा कागज जस्तो राखिदिनू
ता कि आफैँ कोर्न सकुन !
अनि आफैँ हेर्न सकुन्
आउने पिँढीहरूले
आफ्नै हातका रेखाहरू।
गान्तोक, सिक्किम