मकवानपुर । मकवानपुरकाे चेपाङ बाहुल्य रहेकाे गाउँमा खोप अभियान सुररु गरिएकाे छ । शनिवार बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान राक्सिराङ गाउँपालिका -५ ताङराङबाट सुरु गरेका हुन् ।
मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा बसाेबास गर्ने अतिसिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने कम पाइएपछि समुदायमै खोप अभियान संचालान गर्न मन्त्री लामा गाउँमै पुगेका हुन् ।
मन्त्री लामाले १३ जिल्लाका अतिसिमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर कम भएको क्षेत्रमा समुदायस्तरमा खोप अभियान संचालन गरिएको बताए । उनले खोप लगाउन स्वास्थ्य संस्थामा पुग्न नसक्नेहरूलाई समुदायमै पुगेर खोप लगाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।त्यसैगरी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले खोपले कोरोनाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गरे ।
खोप लगाउने दर कम रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ, तामाङ एवं धार्मिक अगुवा, टोल विकास संस्था लगायतको समन्वयमा खोप अभियान समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशन अनुसार अभियान संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताए ।
अभियानमा राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, चेपाङ अगुवा एवं धार्मिक अगुवाहरूको सहभागी रहेका थिए ।
मकवानपुर । मकवानपुर जिल्लामा काेराेना भाइरस संक्रमण तीव्र रुपमा फैलिएकाे र सरकारी कार्यालयमा काम गर्ने कर्माचारीलाई समेत काेराेना संक्रमण पुष्टि हुने क्रम बढे पछी सरकारी कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहमा कटाैती गरेका छन् । मकवानपुर जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय मकवनापुरले सेवा प्रवाह कटाैती गरेकाे जनाएकाे छ ।
कोरोनाकाे कारण असहज परिस्थिति उत्पन्न भएको भन्दै मकवानपुर जिल्ला अदालतले नियमित सेवा प्रवाहमा कटौती गरेको छ । जिल्ला अदालतका निमित्त श्रेस्तेदार अमृत घिमिरेले बिहीबार एक सूचना जारी गर्दै अदालतका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकोले माघ ९ गतेदेखि १४ गतेसम्मको सेवाप्रवाह कटौती गरिएको जानकारी दिएका छन् ।
अदालतको बिहीबार बसेको पूर्ण बैठकबाट माघ ९ गतेदेखि १४ गतेसम्म पक्राउ पुर्जी अनुमती, जरुरी पक्राउ पुर्जीको समर्थन र कल डिटेल अनुमती दिने कार्यहरु, पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राख्ने अनुमती (म्याद थप) गर्ने कार्य, अभियोग पत्र दर्ता गर्ने, उपस्थित प्रतिवादीको बयान लिने र थुनछेक गर्ने कार्य हुने जनाएको छ ।
यसैगरी मुद्दा मिलापत्र, फिर्ता र डिसमिस सम्बन्धी कार्य, मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १५५ अनुसारको निवेदन तथा बाल सुधार गृहमा रहेका बालबालिका जिम्मा लिन पाउँ भन्ने निवेदनका कार्यमा मात्र अदालतको कामकारवाही हुने पनि सूचनामा उल्लेख गरिएको छ । सेवा संकुचन गरिएको अवधीमा रोकिएको तारेख, हदम्याद, म्याद समेतको हकमा प्रचलित कानून बमोजिमका सेवा प्राप्त हुने समेत बताइएकाे छ ।
यसैगरी कर्मचारीहरु समेत कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले माघ ९ गतेबाट माघ १४ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले विज्ञप्ति जारी गर्दै नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जानकारी दिएका हुन् । कर्मचारीहरुमा कोरोना संक्रमण भएको र उनीहरु उपचार तथा आइसोलेसनमा बस्नुपर्ने भएको जानकारी दिँदै सेवा बन्द गरिएको हो । कार्यलयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद्, मुद्धा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा नियमित रहने कार्यलयले जनाएको छ ।

मकवानपुर । मकवानपुर जिल्लामा १ सय ९६ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पीसीआर विधिबाट १ सय ७९ जनाको परीक्षण गर्दा १ सय २३ जना र एन्टिजेन विधिबाट १ सय १६ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका संक्रमितमध्ये १ सय ४१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् भने १६ जना थाहा नगरपालिकाका र १५ जना मनहरी गाउँपालिकाका रहेका छन् । यसैगरी मकवानपुरगढीका १ सय २० जना, भीमफेदी र बकैया गाउँपालिकाका ५/५ जना, इन्द्रसरोवर गाउँपालिकाका २ जना, बागमती र राक्सिराङ गाउँपालिकाका १/१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएकाे छ । यो संगै मकवानपुरमा १ हजार ४ सय ४७ जना सक्रिय संक्रमित पुगेका छन् ।
यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा १५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार ३ सय ७४ जना पुगेका छन् । यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ७० जनाको मृत्यु भएको छ ।
जिल्लामा हालसम्म हेटौंडाका १ सय २२ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । उनले भने, ‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु ।’
सम्बाेधनमा उनले स्थानीय तहकाे निर्वाचनकाे बारे ठाेस प्रतिवद्धता भने दिन सकेनन् । तर उनले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।
प्रधानमन्त्री देउवाले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको समेत सम्बाेधनकाे क्रममा दाबी गरेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामहरुबारे जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्णपाठ
मकवानपुर । मकवानपुर प्रहरीले तोकिएकोभन्दा बढी वजन बोक्ने ९७ वटा टिपरलाई कारबाही गरेको छ । प्रहरीको चेकिङ टोलीले शुक्रबार जिल्लाको विभिन्न स्थानबाट उक्त टिपरलाई नियन्त्रणमा लिई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी चेकिङ टाेलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित पूर्वपश्चिम लोकमार्ग, हेटौंडा– १ स्थित तिरतिरेधारा तथा मनहरी गाउँपालिका–६ स्थित पुर्वपश्चिम लोकमार्गमा टिपरकाे चेकजाँच गरेकाे थियाे ।
चेकजाँचकाे क्रममा उक्त टिपरले तोकिएकोभन्दा बढी वजन बाेकेकाे पाइएकाेले नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।