मकवानपुर । सोनाम ल्होछारमा बागमती प्रदेशमा ३ दिन सार्वजनिक बिदा दिन माग गरिएकाे छ । नेपाल तामाङ घेदुङ संघीय कार्य समितिले बागमती प्रदेशमा सोनाम ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिन माग गरेको हाे ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाउँदै उक्त बिदाको माग गरिएको हो । प्रदेशमा सोनाम ल्होछारलाई मुख्य पर्वको रुपमा मनाउने तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको र यस समुदायले ५ दिनसम्म यो पर्व मनाइने परम्परा रहेकाेले कम्तीमा ३ दिन सार्वजनिक बिदाको माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदमा बिदाकाे विषयमा छलफल गरि निर्णय गरिने प्रतिकृया दिए । ज्ञापन पत्र बुझाउन नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, संघीय कमिटि सदस्य सुनिल मोक्तान, बागमती प्रदेश कमिटिका अध्यक्ष लिलाकुमार घलान, निवर्तमान अध्यक्ष सोमबले तामाङ लगायतको उपस्थिति थियो ।

मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टोलीमा पूर्व कप्तान हरि खड्काविरुद्ध बिशेष अदालतमा बुधबार मुद्दा दायर भएकाे छ । नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक खड्का नेपालका सर्वाधिक गोल कर्ता समेत हुन ।
खड्काले शैक्षिक योग्यता आइ.ए.को प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको प्रमाण पुष्टि हुन आएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे जनाएकाे छ ।
हाल अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभागमा प्रमुख समेत रहनुभएका खड्काले नेपाल प्रहरीको जागिर खान नक्कली शैक्षिक योग्यता देखाएर नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई आफूसमेतलाई लाभ हुने बदनियत राखेको कसुरमा ठहर भएको अख्तियारको दावी छ ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा खड्कामाथि बुधबारनै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको उल्लेख गरिएको छ ।
नेपाल प्रहरीका पूर्व प्र.ना.नि. हरि खड्का उपर शैक्षिक योग्यताको झुठ्ठा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर ।
प्रेस विज्ञप्ति:- मिति २०७८।१०।१२ गते ।
महानगरीय प्रहरी गण नं. २, मा दरवन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत प्र.ना.नि. हरि खड्काको शैक्षिक योग्यता आइ.ए.को प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक योग्यता (आइ.ए.को) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई, प्रहरी सेवामा निरन्तर वहाल रही मिति २०५९।०९।१४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई आफूसमेतलाई लाभ हुने बदनियत राखी गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको प्रमाण पुष्टि हुन आएको हुँदा नेपाल प्रहरीका पूर्व प्र.ना.नि. हरि खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी
मकवानपुर/संविधानमा व्यवस्था भए बमोजिम नै तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न युवाहरुले माग गरेका छन् ।
नेकपा एमालेका भ्रातृ संगठन युवा संघ नेपालले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गर्दै स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने माग गरेको हो। पछिल्लो समय भएको प्रट्रोलिय पदार्थलगायतमा भएको मूल्य वृद्धि र्फिता गर्दै मुल्य बृद्धिमा नियन्त्रण हुनु पर्ने माग पनि राखेको छ । हेटौंडामा प्रदर्शसनी गर्दै प्रदशनकारीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा समेत माग गरेको हो । युवा संघले हेटौंडाको बुद्धचोक प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी समेत गरेको थियो ।
प्रदर्शनपश्चात् बुद्धचोकमा भएको कोणसभामा युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यद्वय आरती पाठक, दिलु घर्ती, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती तथा नगर अध्यक्ष राकेश नगरकोटीले मन्तव्य व्यक्त गरेका थिए । नेकपा एमालेले स्थानीय तहको मिति घोषणा माग गर्दै हाल देशैभर प्रदर्शन गरिरहेको छ । सात्ताधारी नेताहरुले आम नेपालीको हितमा सोच्न छाडेर पदीय लोभमा फस्न थालेको वक्ताहरुको आरोप थियो ।
मकवानपुर । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार सहजै विजयी भएका छन् । फागुन २० गते रिक्त हुने १९ पद अन्तर्गत बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने २ पद रिक्त हुनेमा बुधबार भएको मतदानमा सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार महिलामा गोमादेवी तिमल्सिना र अन्यमा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।
तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट र पौडेल नेपाली कांग्रेसबाट विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेकी छिन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाको महिला उम्मेदवार गिता काफ्लले १ सय ३२ मतभार प्राप्त गरेको मुख्य निर्वाचन प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए छ ।
यसैगरी, सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गर्दा उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गरेका छन् । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् । तिमल्सिना र पौडेलले क्रमश ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् ।
हेटौंडा–८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा १ महिला र १ अन्य पदमा राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको लागि २ मतदान स्थल तयार गरिएको थियो । प्रदेश सभाका सदस्य मतदाताहरुकाे लागि र स्थानीय तहका प्रमुख अध्यक्ष तथा उप प्रमुख उपाध्यक्ष मतदाताहरुकाे लागि छुट्टा छुट्टै मतदान स्थल बनाइएकाे हाे ।
यसअघि विवेकशील साझा पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने बताउँदै आएको थियाे । विवेकशील पार्टी संसदीय दलको मंगलबार काठमाडौंमा बसेको बैठकले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको थियो । साेही अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने उसकाे ३ जना सांसदले मतदान प्रक्रियामा भाग लिएनन् ।
प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने निर्णय गरेको राप्रपाले राष्ट्रियसभाको निर्वाचन अन्तर्गत बागमती प्रदेशमा मतदान गरेका छन। बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझी मतदान गरेका हुन्।
यसैबिच बागमती प्रदेशमा भएको चुनावमा सांसद हिमाली लामाले आफैंले मतदान गरेको तस्बीर खिचेको र प्रमुख निर्वाचन अधिकृत न्यायधिश डिल्लीरत्न श्रेष्ठले मोबाइल खोसेको निहुँमा भएको विवादले केही बेर मतदान स्थल तनावग्रस्त बनेको थियो । माओवादीकै अर्का सांसद राजकाजि महर्जनले प्रमुख निर्वाचन अधिकृत श्रेष्ठ बीच भनाभन भए पछी स्थिती तनावग्रस्त बनेको थियो ।