मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाको गर्न पहल थालिएकाे छ । थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न नेकपा एमाले थाहानगर कमिटिले पहल थालेकाे हाे ।
बुधबार मकवानपुरकाे प्रतिनिधि क्षेत्र नम्बर २ सांसद महेश कुमार बर्तौलालाई एमाले थाहानगर कमिटिले ज्ञापनपत्र बुझाउँदै पहल थालेको जानकारी दिएको हो । मकवानपुरको उत्तरी क्षेत्रका पालिकाका नागरिकहरुलाई सेवा पुर्याउने गरी थाहा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको लागि पहल गर्ने सांसद महेश कुमार बर्तौलाले प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले भने–‘नेपालको संविधान, २०७२ ले परिकल्पना गरेको अन्तर तह समन्वय अभावका कारण इलाका प्रशासन कार्यालय स्थापनाका लागि सिफारिस हुन सकेन, अब म यस विषयलाई लिएर लाग्छु स्थापना गरेरै छाड्छु ।’ ‘म नेपाल सरकारको तहमा सकारात्मक परिणाम आउने गरी तुरुन्तै पहल थालनी गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’ उनले भने ‘नागरिकले सहज सेवा लिन पाउनु संघीयताकै मर्म भएकोले पनि इलाका प्रशासन कार्यालय स्थापनामा पहल गर्छु ।’
९ भाद्र सोमबार देशभर २३ इलाका प्रशासन कार्यालय स्थापनाको लागि सिफारिस हुँदा थाहा नगरपालिका नपरेपछि पहल अघि बढाएको एमाले थाहानगर कमिटि अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए । सांसद बर्तौलालाई बुझाइएको पत्रमा २०७१ बैशाख २५ गते नगरपालिका घोषणा पश्चात् नै कार्यालय स्थापनाको लागि एमाले थाहानगरले निरन्तर पहल गर्दै आएको उल्लेख गरिएको छ ।
देशभर २३ जिल्लामा प्रशासन कार्यालय स्थापना गर्ने निर्णय हुँदा पनि थाहा नगरपालिका पर्न नसक्नु स्थानीय सरकारको सक्रियता र निरन्तर दबाबको अभाव मुख्य कारण रहेको ज्ञापनपत्रमा भनिएकाे छ । मकवानपुरको उत्तरी क्षेत्रलाई केन्द्रित गरेर इलाका प्रशासन कार्यालय स्थापनाका लागि वि.सं. २०७३ सालदेखि नै पहल भइरहेको छ ।
एकदशकदेखि पहल हुँदा पनि ९ भाद्रको निर्णयमा थाहा नगरपालिका सिफारिस नहुनुमा यसअघिको प्रयास पूर्णतः असफल सावित भएको छ । सांसद बर्तौलाको प्रतिवद्धताले प्रशासन कार्यालय स्थापनाका लागि आश जगाएको स्थानीय बताउँछन् ।
मकवानपुर । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ। मकवानपुरगढी ५ सिमलटार स्थित बासुदेव मार्गमा माेटरसाइककाे ठक्करबाट सिमलटारकी ७३ वर्षीया सुकुमाया गोलेको मृत्यु भएको मकवानपुर प्रहरोले जनाएकाे छ ।
ज्यामिरे खोलाबाट हेटौंडातर्फ आउँदै गरेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी मकवानपुरगढी गाउँपालिका–५ सिमलटारकी ७३ गोलेलाई ८ भदैमा ठक्कर दिंएकाे थियाे । माेटरसाइकलकाे ठक्करबाट घाइते उनकाे उपचारकाे क्रममा मंगलबार राती मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
ठक्कर पश्चात उनलाई उपचारकाे लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो। गोलेका आफन्तले चितवनबाट हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा ल्याएर उपचार गराएकाेमा उपचारका क्रममा मृत्यु भएको हाे । प्रहरीले मोटरसाइकल चालक मकवानपुरगढी ६ बस्ने २० वर्षीय समिर घलानलाई नियन्त्रणमा लिएको छ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले हिन्दु महिलाहरुले मनाउने पर्व हरितालिका तीजको अवसरमा शुभकामना दिनु भएकाे छ ।
सनातन वैदिक संस्कृतिमा नारी शक्तिको सम्मान र प्रकृतिको संरक्षणका लागि विशेष महत्त्व राख्ने यो पर्वले एकताबद्ध भई अगाडि बढ्न प्रेरणा दिने उल्लेख गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश प्रकाशन गर्नु भएको हो । पौराणिक कथाअनुसार, माता पार्वतीले महादेवलाई पतिको रूपमा पाउनका लागि कठोर तपस्या तथा निराहार व्रत बसेर त्याग गरेको कथासँग तीज पर्वको इतिहास जोडिएको छ ।
हिमालय पर्वतमा घोर तपस्या गरेको र उहाँको यही त्याग र समर्पणबाट खुसी भएर महादेवले उहाँलाई पत्नीका रूपमा स्वीकार गर्नुभएको धार्मिक विश्वास छ । पौराणिक कथाअनुसार माता पार्वतीको यही कठोर तपस्याको सम्मानस्वरूप ‘हरितालिका तीज’ मनाउने गरिन्छ । यो पर्वले भगवान शिव र पार्वतीको अटुट प्रेम र समर्पणको गाथालाई स्मरण गराउँदै नारी जीवनमा पतिको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्ने महत्त्वपूर्ण पर्वका रूपमा स्थापित छ।
‘तीजले पारिवारिक तथा सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउनुका साथै मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्न मद्दत पुर्याउँछ’ उहाँले सन्देशमा भन्नुभएको छ । यस पर्वमा चेलीहरुले जन्म घर गएर आफ्ना दुःखसुख साट्ने, नाचगान गर्ने र मिठो परिकार खाने प्रचलन छ । जसले दिदीबहिनीहरूमा आपसी प्रेम र आत्मीयता बढाउँनेमा प्रदेश प्रमुख देवकोटाले विश्वास व्यक्त गर्नु भएको छ ।
पछिल्ला समय देखापरेका भड्कीलो देखासिकीबाट पर रहेर पर्वको गौरव र मर्यादालाई कायम राख्दै तीज पर्व मनाउन उहाँले सबैमा अनुरोध समेत गर्नुभएको छ । मुलुकको समृद्धि, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्नका लागि यस्ता चाडपर्वहरूको ठूलो भूमिका हुने बताउँदै पर्वले समाजमा रहेका विकृति र विसङ्गतिलाई हटाएर समानता र न्यायमा आधारित समाज निर्माण गर्न सबैलाई प्रोत्साहन गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारका १० लाख रुपैयाँभन्दा माथिका सबै योजना टेन्डर प्रक्रियाबाटै अघि बढाइने बताएका छन् । निर्माण व्यवसायी संघ मकवानपुरले सोमबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री बानियाँले १० लाख माथिका प्रदेशका योजनाहरू टेन्डरमा लाने विषय संसदबाटै पारित गरेर लागू गरिएको बताए । प्रदेशकाे विनियोजित बजेटबाट उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको उनले बताए । ‘उपभोक्ता समितिको काममा समस्या देखिएकाेले प्रदेशको १० लाखभन्दा माथिका सबै काम टेन्डरबाटै हुन्छ’ उनले भने ‘सोही अनुसार मन्त्रालयहरूलाई टेन्डरको तयारी गर्न निर्देशन दिइएको छ ।’
निर्माण व्यवसायीहरू अत्यधिक घटेर ठेक्का हाल्नुपर्ने बाध्यताले घाटामा जाने गरेकाे बताउँदै मुख्यमन्त्री बानियाँले भने ‘लो बिडिङ’ (अत्यधिक घटेर ठेक्का हाल्नुपर्ने) विषयलाई रोक्न सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्छ ।’ उनका अनुसार निर्माण व्यवसायीहरूले बाँच्नकै लागि ६०/७० प्रतिशतसम्म घटेर ठेक्का हाल्नुपर्ने अवस्था रहेकाे छ । मोबिलाइजेसन लिएर बैङ्कको ऋण तिर्नुपर्ने बाध्यता छ । यो समस्या समाधान गर्न ‘एभरेज बिडिङ’ को अवधारणा ल्याउने प्रक्रियामा सरकार अग्रसर हुनुपर्छ । चाँडै नै ऐन संशोधन गरेर सरकारले सो समस्या हल गर्नुपर्छ ।’
मुख्यमन्त्री बानियाँले ‘भ्रष्टाचारमुक्त बागमती प्रदेश’ बनाउने आफ्नो अभियानमा रहेकाले सबैले साथ दिन आग्रह गरे । कामको गुणस्तरमा कुनै सम्झौता नगर्न उनले निर्माण व्यवसायीहरूलाई आग्रह समेत गरे । ‘वार्षिक तीन अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी स्वार्थ नबाझियोस् भनेर छाडेको छु’ उनले भने । ‘अब म स्वतन्त्र रूपमा आम नागरिकको समस्या समाधानमा लाग्नेछु’ उनले भने ‘मैले सुशासनयुक्त प्रदेश निर्माणको अभियान थालेको छु । निर्माण व्यवसायीहरूले पनि त्यसमा सहयोग गर्नुपर्छ ।’ निर्माण भएका संरचनाहरुकाे प्रविधिले सबै कुरा पत्ता लगाउने बताउँदै उनले इस्टिमेटअनुसार काम नगर्ने कर्मचारी र व्यवसायी दुवै कारबाहीको दायरा ल्याइने जानकारी दिए ।