मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ स्थित पशुपतिनाथ माविको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । २०७२ को भूकम्पका कारण क्षतिग्रस्त विद्यालयमा नेपाल सरकारले दातृनिकाय एसियाली विकास बैंकको ऋण सहयोगमा ९ वटा कक्षाकोठा भएको भवन निर्माण गरिएको थियो ।
लोपोन्मुख वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयकाे नवनिर्मित विद्यालय भवन साेमबार हस्तान्तरण गरिएको छ । पशुपतिनाथ मावि व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय भवन सम्पन्न प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमलाई हस्तान्तरण गरेका थिए । इकाई प्रमुख गौतमले विद्यालय भवन मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई हस्तान्तरण गरेका हुन् । यस्तै पालिका अध्यक्ष उप्रेतीले पशुपति मावि व्यवस्थापन समितिका अध्यक्ष गौतमलाई साँचो र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
विद्यालयकाे भूकम्प प्रतिरोधी भवन ३ करोड ८ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हाे । यसैगरी विद्यालयका थप १३ वटा कक्षाकोठालाई पौने २ करोड रुपैयाँ लागतमा प्रबलिकरण गर्ने कार्य भइरहेकाे बताइएकाे छ ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले मन्दिरको सत्तलमा कक्षा संचालन गरी स्थानीय बालबालिकालाई शिक्षा प्रदान गरेको स्मरण गर्दै भवन निर्माण पछी विद्यालयकाे शैक्षिक क्षेत्र उज्ज्वल रहने विश्वास व्यक्त गरे । विद्यालयमा करिब ५ सय बालबालिका अध्ययन गरिरहेका छन् । विद्यालयमा लोपोन्मुख वनकरिया, सिमान्तकृत चेपाङ र तामाङ् समूदायका बालबालिका अध्ययनरत छन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेल, मनहरी गाउँपालिकाका शिक्षा प्रमुख हरिचन्द्र सापकोटा, स्रोत शिक्षक पूर्णभद्र भुषाल, समाजसेवी भरत पराजुली, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु चन्द्रबहादुर न्यौपाने, बालमुकुन्द ढकाल, रामहरि बिष्ट, पवन खड्का, पुर्षोत्तम बिष्ट, शिक्षक अभिभावक संघका संयोजक ऋषिराम गौतम, भवन निर्माण कार्यमा संलग्न इन्जिनियर मुकेश जैसवाल, सन्दिप बिष्टलगायतको सहभागिता रहेको थियो ।
मकवानपुर/ आसन्न स्थानीय तहको निर्वाचनमा दलको प्रचारमा नलाग्न राष्ट्रसेवक कर्मचारीलाई मकवानपुरका मुख्य निर्वाचन अधिकृत एबम् जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले आग्रह गरेका छन् । चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राष्ट्रसेबक कर्मचारीको ठुलो जिम्मेवारी रहेको बताउँदै उनले मतदातालाई घात हुने र आचरसंहिता विपरीत हुने भएकोले दलको प्रचारमा नलाग्न कर्मचारीलाई आग्रह गरेका हुन् ।
आज जिल्ला प्रशासन कार्यालय मकवानपुरले आयोजना गरेको कार्यालय प्रमुखहरुको बैठकमा निर्वाचन आचारसंहिताको पालना र निर्वाह गर्नुपर्ने भुमिकाबारे जानकारी दिंदै उनले यस्तो बताएका हुन् । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले राष्ट्रसेवक कर्मचारीले कुनै पनि राजनैतिक दलको प्रचारप्रसार गर्न र बिभिन्न कार्यक्रममा भाग नलिइ तटस्थता हुनुपर्नेमा बताए । “लोकतन्त्रमा आ—आफ्नो बिचार सबैको हुन्छ तर कर्मचारीको भूमिका निर्वाह गर्दा निर्वाचन आचारसंहिता पालना गर्नैपर्छ” उनले भने । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष गराउनु सबैको साझा दायित्व रहेको बताए ।
स्थानीय तहको निर्वाचनलाई उत्साहजनक बनाउन उनले आग्रह गरे। प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले स्थानीय निर्वाचनको तयारी लगभग सकिएको बताए । जिल्लामा निर्वाचनमा खटीने कर्मचारीको बिबरण संकलन, मतदानस्थलको निरिक्षण, अनुगमन र सम्बन्धित निकायहरुसँग समन्वय र छलफल भैरहेको उनले बताए।
जिल्लाका निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशक्त प्रहरी सहित विभिन्न संस्थानका कार्यालय प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको बैठकमा सहभागीहरुले निर्वाचनका बिषयमा जिज्ञासा राखेका थिए । मकवानपुरमा कूल मतदाता करिब ३ लाख १० वटा स्थानिय तह रहेको मकवानपुरमा कूल मतदाता संख्या २ लाख ९५ हजार ५ सय ५० जना रहेको छ । बिगतको तुलनामा यसपटक जिल्लामा ३९ हजार ९ सय ४६ जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जसअनुसार ईन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४ सय ९५, कैलाश गाउँपालिकामा १४ हजार ६ सय २०, थाहा नगरपालिकामा ३२ हजार ३ सय १६, बकैया गाउँपालिकामा ३० हजार १३, बागमती गाउँपालिकामा २२ हजार ९०, भिमफेदी गाउँपालिकामा १७ हजार ४ सय ९०, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय ५०, मनहरी गाउँपालिकामा २६ हजार ७ सय ५१, राक्सिराँग गाउँपालिकामा १५ हजार ८ सय ७३ र हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४ सय ७३ रहेको निर्वाचन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
२०७४ सालको स्थानियतहको निर्वाचनमा मकवानपुरमा २ लाख २७ हजार ७ सय मतदाता रहेका थिए । स्थानिय तहको निर्वाचनका लागि मकवानपुरको १ मतदान स्थल सारिने र १ थपिने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका —४ स्थित बासुदेशसभागृहको मतदानस्थल हेटौंडा उपमहानगरपालिका—४ भुटनदेबी माध्यमिक बिद्यालयमा सारिने निर्णय भएको निर्वाचन कार्यालयले जनाएको छ ।
बासुदेबसभागृह भत्काएर नयाँ भवन निर्माण कार्य भैरहेकोले मतदानस्थल सारिएको हो । त्यसैगरी मनहरी गाउँपालिकामा १ मतदानस्थल थप्ने निर्णय भएको छ । मनहरी—६ मा मतदानस्थल थपिने बताइएको छ ।
मकवानपुर। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका प्रमुखमा ३ जनाकाे नाम सिफारिस गरिएकाे छ । नगर प्रमुखमा १ महिला र २ पुरुष सहित ३ जनाको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ।
सोमबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले नगरप्रमुखमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो। त्यसैगरी बैठकले उपप्रमुखमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरेकाे छ । नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले बताएका छन्।
नगर प्रमुखमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडानगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका थिए। पराजुली हेटौंडानगर निवर्तमान सभापतिका साथै प्रभावशाली नेताका रुपमा चिनिन्छन्। नगर प्रमुखको प्रमुख दाबेदार पराजुलीनै रहेको कांग्रेस नेता कार्यकर्ताले बताएका छन्। साथै नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ।
मकवानपुर । साहित्यकार एवम् अनुवादक सिर्जना शर्मा हेटाैडामा सम्मानित भएकी छिन् । पारिजातको २९ औं स्मृति दिवसमा साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्था हेटाैडाको संयुक्त आयोजना भएकाे कार्यक्रममा सोमबार शर्मालाई परिजात स्मृति सम्मानबाट सम्मानित गरिएकाे हाे ।
परिजात स्मृति सम्मान समर्पण तथा रचना वाचन कार्यक्रममा शर्मालाई नगद १५ हजार ५ सय ५५ राशी सहित सम्मानित गरिएकाे छ । कार्यक्रम बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले हेटौंडा–१० स्थित पारिजातको अर्धकदको शालिकमा माल्यार्पण गरि शुभारम्भ भएकाे थियाे । सम्मानित सिर्जनाले पारिजातले गरेका कृति र रचनाका बारेमा चर्चा गरेकी थिइन् ।
कार्यक्रममा साहित्य क्षेत्रमा पारिजातको योगदानको स्मरण गरिएको थियो । बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष रिजाालको प्रमुख आतिथ्य तथा साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएकाे कार्यक्रममा पारिजातका कविता वाचन गरिएकोे थियो ।
मकवानपुर । हेटौँडा उपमहानगरपालिका १८ स्थित गुम्बाडाँडामा २५ फीटको बुद्धको मुर्ती अनाबरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले २५ फीटको ढुंगाकाे मुर्ती अनावरण गरेका हुन् ।
१ करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मुर्ती निर्माण गरी अनाबरण गरिएको हो। समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, कमलचन्द्र सुमनको सक्रियतामा हेटौँडा १८ गुम्बाडाँडामा बौद्ध मुर्ती निर्माण गरीएको थियाे । धार्मिक महत्वको मुर्ती अनावरण हुँदा गुम्बाडाँडामा धार्मिक पर्यटन सम्वन्धी गतिविधी बढ्ने १८ नम्बर वडा अध्यक्ष अनिल बानियाँले बताए ।
सम्पूर्ण कुमार लामाको अध्यक्षतामा भएको मुर्ती अनावरण कार्यक्रममा मकवानपुरका समाजसेवी एवम् मुर्ती निर्माण ब्यवस्थापन समितीका उपाध्यक्ष ज्योतीरत्न बज्राचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।