मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटरसाईकल र लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटाैडाबाट ३ वटा चाेरीका माेटरसाकल र ४ सय मिलिग्राम खैराे हेराेईन सहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने २६ वर्षीय अख्तर खान र हेटौंडा उपमहानगरपालिका– १० का १९ वर्षीय आर्यान बानियाँ रहेकाे मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले एउटा मोटरसाईकल चोरी भएको सूचनाको आधारमा ३ वटा मोटरसाईकल सहित खैरो हेरोईन बरामद गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
बुधबार दिउँसो हेटौंडाको राप्तीरोडबाट बिजय गौतमको बागमती प्रदेश ०३–००५ प ३४६५ नंको बुलेट मोटरसाईकल चोरी भएको सूचनाको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा गौतमको सहित ३ वटा मोटरसाईकल बरामद गरेकाे हाे । गाैतमकाे बुलेट मोटरसाईकल खान र बानियाँको साथमा भेटिएपछि प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले लुकाएर राखेको अवस्थामा ना ४१ प ५२०८ र बा.प्र.०३–००३ प ७२५२ नं.को पल्सर मोटरसाईकल बरामद गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार दुबै पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी लुकाएर राखिएको अवस्था बरामद गरेको गरिएको हो । उनिहरु बस्ने कोठा चेकजाँच गर्ने क्रममा लागुऔषध खेरौ हेरोईन ४०० मिलि ग्राम फेला परेको प्रहरीले जनाएको छ । चोरीको मोटरसाइकल र लागुऔषध खेरौ हेरोईन सहित पक्राउ परेका खान र बानियाँमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले राजिनामा दिएका छन्। बिहीबार प्रमुख बिष्टले उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजिनामा दिएका हुन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा संलग्न हुन राजिनामा दिएको नगरप्रमुख बिष्टले बताए ।
उनले स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएकोले राजिनामा दिएका हुन । “दल छोडी पद,पद छोडी दल”भन्ने रुपचन्द्र बिष्टको भनाइलाई मनन गर्दै आफुले फेरी पद छाेडी दलकाे लागि राजिनामा दिएको बिष्टले बताए।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य बिष्टले गठबन्धनकाे प्रचारप्रसार तथा चुनावी सभाको सम्बोधन गर्नेछन् बताइएकाे छ । माओवादी केन्द्रका तर्फबाट थाहा नगर प्रमुख पदका आधिकारिक उमेद्वार बिष्णु बिष्ट ‘आदर्श’, कांग्रेसको तर्फबाट उपप्रमुख पदका आधिकारिक उमेद्वार भरत गोपाली लगायतका उमेद्वारकाे पक्षमा मत माग्दै विजयी गराउन उनले प्रचारप्रसारलाई सघाउने छन् । ‘अब आफू निर्धक्क भएर पार्टीको चुनाव प्रचारमा हिड्ने बताउदै गठबन्धन उमेद्वारहरुलाई बिजयी गराउन लागि पर्ने बिष्टले बताए।
बिष्ट नेतृत्वको ५ बर्षे कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको थियो । यही बिकासलाई निरन्तरता दिन र बाँकी रहेका कार्यहरुलाई सम्पन्न गर्न माओबादी केन्द्र लगायत गठबन्धनका उमेद्वारहरुलाई बिजयी गराउन बिष्टले अनुरोध समेत गरे। बिष्टले आफ्नो कार्यकालमा थाहा नगरलाई देशकै उत्कृष्ट स्थानीय तहको रुपमा परिचित गराएका थिए । सोही कार्यकालमा थाहा नगर वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट र बेरुजु फछ्र्यौट गर्ने विषयमा पनि देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित भएको थियो ।
मकवानपुर । नेपाल विवेकशील पार्टी मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नं १७ मा वडा समिति गठन गरिएकाे छ । सुरज थोकरको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरिएकाे हाे ।
गठित वडा समितिमा उपाध्यक्ष कमला विश्वकर्मा, सचिव रविन संजेल र कोषाध्यक्षमा सविना बर्तौला पुजारी रहेका छन् । समिति सदस्यहरूमा रन्जित थोकर, दिपेश बजू, रामप्रसाद गजुरेल, भावना लोप्चन, आयुशा भण्डारी, सुदिप तामाङ, मनिता राई, अपेक्षा राई, र संजिता थोकर रहेका छन् ।
हेटौंडा नगर समितिको अध्यक्ष रविभक्त दाहालको अध्यक्षतामा भएको भेलामा नेपाल विवेकशील पार्टी बागमती प्रदेश अध्यक्ष सिंह बहादुर मोक्तान, संघीय समिति सदस्य कृष्णदेव भण्डारी र मकवानपुर जिल्ला अध्यक्ष नविन विष्टको आतिथ्यता रहेको थियो ।
प्रदेश अध्यक्ष मोक्तान तथा जिल्ला अध्यक्ष विष्टले हेटौंडा १७ का वडाध्यक्षको उम्मेदवार कृष्णदेव भण्डारीलगायतकाे टिमलाई विजयको शुभकामना दिंदै नवगठित वडा समितिलाई संगठन विस्तारकाे लागि पर्न आग्रह गरेका थिए ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले बैशाख २५ गते हेटाैडामा आमसभा गर्ने भएकाे छ । पार्टीले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर २५ गते हेटौंडाको हुप्राचौरमा आमसभा गर्ने भएको हाे ।
आमसभालाई राप्रपाको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएकाे छ । अध्यक्ष लिङ्देनले उम्मेदवारहरु र कार्यकर्ताको हौसला बढाउने गरी आमसभा गर्न लागेकाे बताइएकाे छ ।
सभामा राप्रपाका केन्द्रीय नेताहरु,जिल्ला नेता तथा कार्यकर्ता,मकवानपुरको १० वटै स्थनाीय तहको राप्रपाका उम्मेद्वारहरु सहभागिता रहने राप्रपा मकवानपुरले जनाएको छ । लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित भएयता दोस्रो पटक हेटौंडा आउन लागेका हुन् । लिङ्देन यसअघि गत चैत २७ गते हेटौंडा आएका थिए ।
मकवानपुर । राष्ट्रिय प्रजातान्त्र पार्टीबाट हेटौँडा उपमहानगरपालिकाका मेयर दिपकबहादुर सिंहले पत्रकार सम्मेलन गरि योजना सार्बजनिक गरेका छन। उन्ले आफू मेयरमा विजयी भए भने हेटौँडालाई भ्रष्ट्राचारमुक्त सहर बनाउने बताएका छन् । मेयरमा उम्मेद्वारी दिएपछि पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरि सिंहले आफ्ना योजनाहरु सार्बजनिक गर्दै भ्रष्ट्राचार न्युनिकरणलाई जोड दिएका हुन ।
भ्रष्ट्राचार नहुने वित्तिकै विकासका कामहरु तिब्र ढंगले बढने भन्दै सिंहले आफूलाई मतदान गर्नको लागि अनुरोध गरेका छन् । उनले भने ‘मैले र मेरो परिवारले बेईमानी गरेको पैसा एक कौडी पनि खाँदैन र एक कौडी पनि कसैलाई बेईमानी गर्न दिँदैन् ।’
हेटौँडा उपमहानगरको स्वास्थ्य क्षेत्र निकै कमजोर रहेको भन्दै उनले विशेषज्ञ सेवा सहितको सुविधायुक्त अस्पताल निर्माण गर्ने, हेटौँडाको चक्रपथलाई पुरा गर्ने, घरघरमा बृद्धाभत्ता पुर्याउने ब्यवस्था गर्ने लगाएतका कामहरु गर्ने बताए ।
हेटौँडालाई चार वर्षभित्र महानगरपालिका बनाउने सोच आफूले गरेको भन्दै राप्रपा विजयी भए विज्ञहरु नियुक्त गरि हरेक क्षेत्रको विकासमा आफ्नो पूर्ण ध्यान हुने बताए । उनले हेटौँडालाई सुन्दर, सभ्य, सफा तथा विकासको दृष्टिकोणले देशकै नमुना सहर बनाउने भिजन आफूसँग भएको दाबी गरे । मेयरमा विजयी भए कुनैपनि सरकारी सबारीसाधन नलिने भन्दै आफ्नो सेवासुविधाबापत आएको तलबभत्ता शिक्षा, स्वास्थ्य तथा विकासमा खर्च गर्ने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उपमेयरकी उम्मेद्वार इन्दिरा न्यौपाने डल्लाकोटीले आफूहरु विजयी भए भ्रष्ट्राचार उन्मुलन, घरदैलो सेवा, विकासको कामलाई तिब्रता दिने बताईन् ।