मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमाले विजयी भएकाे छ । एमालेका वडा अध्यक्ष उम्मेदवार अनिल कुमार बानियाँ गठबन्धन तर्फका नेपाली काग्रेसका उम्मेदवार रामवावु बानियाँलाई पराजित गर्दै निर्वाचित भएका हुन ।
अनिल बानियाँले १ हजार ८ सय ९८ मतसहित दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु बानियाँले १ हजार ७ सय २० मत ल्याए । यसैगरी ,राप्रपाबाट दामोदर बानियाँले १ सय ४३, स्वतन्त्र सुन्दर दाहालले ९३ मत र जनता समाजवादी पार्टी, नेपालका मोहन थिङले ३७ मत ल्याए ।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भइ एक कार्यकाल काम गरेकाे अनिलसँगै नेकपा एमालेबाट खुल्ला सदस्यमा ताेयानाथ तिमल्सिना र दलित महिला सदस्यमा पुजा मंग्राती विजयी भएका छन् । तिमल्सिना र मंग्राती पनि २०७४ सालकाे निर्वाचनमा निर्वाचित प्रतिनिधि हुन् ।
यसैगरी गठबन्धन तर्फबाट नेपाली काँग्रेसका खुला सदस्य याेगराज खतिवडा र महिला सदस्यमा विष्णुमाया थपलिया निर्वाचित भएका छन् । २०७४ सालकाे निर्वाचनमा वडा अध्यक्ष सहित प्यानलै जितेकाे एमालेले यस बर्ष दुई सदस्य गुमाएको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका ९ मा नेपाली कांग्रेस विजयी भएको छ।
बकैया ९ को मतगणना अन्तिम नतिजा अनुसार कांग्रेसका उम्मेदवार टंकध्वज लोप्चनले ७ सय ३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विर बहादुर भुलोनले ६ सय ५६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी ९ नम्बर वडाको सदस्यमा कांग्रेसको प्यानलेनै जित हासिल गरेको छ। योसँगै बकैयाको ४ वटा वडामा कांग्रेसका उम्मेदवारले हित हासिल गरेको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीना लामाको अग्रता कायमै छ ।
बागमती प्रदेशको १ मात्र उपमहानगरपालिकामा १६ हजार ६ सय ७ मत गणना हुँदा लामाले आफ्ना निकटतम प्रतिष्पर्धी राप्रपाका दीपकबहादुर सिंह भन्दा ३सय १० मतले अघि छिन् । प्राप्त मत परिणाम अनुसार लामाले ५ हजार २ सय ४५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सिंहले ४ हजार ९ सय ३० मत ल्याएका छन् ।
नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ३ सय ८४ मत ल्याएका छन् । अहिले ३,४,५,१६,१७ र १८ नम्बर वडाको गणना भइरहेको छ । हेटौंडामा कांग्रेसले २ र एमालेले एक वडामा जीत हात पारेको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ मा नेपाली काग्रेस विजयी भएको छ । वडाको अन्तिम मतपरिणाम अनुसार काग्रेसका कृष्णप्रसाद बजागाईं ८ सय ५१ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी टिका प्रसाद दाहालले ८ सय १ मत ल्याएका छन् ।
६ नम्बर वडाबाट गाउँपालिका अध्यक्ष पदमा दोर्जे लामा स्याङ्तानलाई ६ सय २३, नेकपा एमालेका विदुर हुमागाईंलाई ९ सय ७१ मत प्राप्त भएको छ । त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकी मानकुमारी पाख्रिनलाई ५ सय ६१ र एमालेकी सन्तु थिङ्लाई ८ सय ५८ मत प्राप्त भएको हो ।
यसअघि मकवानपुरगढी गाउँपालिका वडा नम्वर १,२,७ र ८ मा कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ को पुन: मतगणना भएको छ ।
मतगणनापछि थाहा ७ को मतपरिणाममा विवाद भएसंगै पुन: मत गणना सुरु गरिएको थाहा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । थाहा ७ मा मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बिनायक गोलेले १० मत बढि प्राप्त गरेपछि नेपाली काँग्रेसका उम्मेदवार शिवराज थिङले वडा अध्यक्ष पदको पुन: मतगणना गर्न निवेदन दिएका थिए ।
‘१० मतमा विवाद भएकोका अव अध्यक्ष पदमा मात्र पुन: मत गणना सुरु भएको छ,’ निर्वाचन अधिकृत तिर्थराज भट्टराईले भने ।