मकवानपुर । हेटौंडामा स्थानीय तह चौथो शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शहीद स्मृति गोल्डकप फुटबल जेठ १९ गतेदेखि २८ गतेसम्म हेटाैडामा सञ्चालन हुनेछ । प्रतियाेगिता सम्बन्धमा विहीबार पत्रकार सम्मलेन गरेर आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी गराइएकाे हाे ।
हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा हुने फुटबल प्रतियोगितामा स्थानीय,राष्ट्रिय र अन्तराष्ट्रिय क्लब गरेर १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघका सल्लाहकार एवं प्रतियोगिताका संयोजक प्रताप विष्टले फुटबल संघको जिल्ला अधिवेशनको कारण प्रतियोगिता गर्न ढिलाई भएको बताउँदै जेठ १९ गतेबाट हुने गोल्डकपको तयारी तीब्र पारिएको बताए । यसवर्षबाट प्रतियोगिताको विजेता र उपविजेता टोलीलाई प्रदान गरिने पुरस्कारको राशि बढाईएको छ । यसवर्ष प्रतियोगिताको विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने बताए । यसअघि,भएको तेस्रो गोल्डकप विजेताले १० लाख र उपविजेताले ५ लाख हात पारेको थियो ।
यसैगरि,प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले ५० हजार,विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगतामा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब, फेन्च क्लब काठमाण्डौ, कुमारटाल युवा क्लब,सिमरा,सर्लाही बागमती युवा क्लब,विजय युथ क्लब हेटौंडा,चितवन ११ र विदेशी क्लब एबिनियर एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १ करोड १७ लाख ९२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा मकवानपुरको १० वटै स्थानीय तहको आर्थिक सहयोग रहने छ ।
२०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना जिल्ला फुटबल संघ मकवानपुरले गरेको थियो । उक्त संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । यसैगरि,२०७६ मा भएको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
मकवानपुर । थाहा नगरपालिका नगरकार्यपालिका निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन ।
कार्यपालिका सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृतका १ जना निर्वाचित भएका हुन । नगरपालिकाकामा निर्वाचित भएका प्रमुख उपप्रमुख वडा अध्यक्ष र सदस्य रहने नगरसभा सदस्य मध्ये ५ जना महिला तथा दलित अल्पसंख्यक समुदायबाट ३ जना सदस्यको निर्वाचन गरि कार्यपालिकालाई पुर्णता दिनु पर्ने कानुनी प्राबधान छ ।
कार्यपालिका महिला सदस्य ५ जनाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका मात्रै ५ जना उम्मेद्वार निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रितु कार्कीले ३३ मत, अञ्जु श्रेष्ठले ३३ मत, अनिता बलले ३३ मत, चन्द्रमाया थिङले ३३ मत र पवित्रा कार्की ठकुरीले ३१ मत प्राप्त गरी निर्वाचित भएका हुन । त्यस्तै नेकपा एमालेका उर्मिला कामीले १८ मत, सानुमैंया बिश्वकर्माले १८ मत, शर्मिला बस्नेतले २० मत, बिमला पाख्रिनले १८ मत, कान्छीमाया वाईवाले १८ मत प्राप्त गरेका थिए ।
दलित/अल्पसंख्यक ३ जना सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका १ जना निर्वाचित भएका छन् । माओवादीका तर्फबाट रामप्रसाद बिश्वकर्मले ३४ मत, राम दर्जीले ३४ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीका जनक बहादुर कामीले २९ मत प्राप्त गरेका थिए । साथै एमालेका अशोक खाती चनाराले २२ मत प्राप्त गरेका थिए ।
कार्यपालिका महिला सदस्य र दलित/अल्पसंख्यक कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले उम्मेद्वारी दिएको थिएन भने मतदान प्रक्रियामा समेत सहभागी भएको थिएन ।
अब थाहा नगरपालिका नगर कार्यपालिकामा नेकपा माओबादी केन्द्रबाट १४ जना, नेपाली काङ्ग्रेसबाट ४ जना, नेकपा एमालेबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट १ जनाको प्रतिनिधित्व रहनेछ ।
विराेधकाे फरक शैलीः सरकारले हप्तैपिच्छे पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि पछि हेटौंडामा विरोध प्रदर्शन गरिदै । मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा फरक शैलीमा अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल खेलकुद महासंघ , मुस्लिम ईत्तेहाद संघ लगायतका संगठनहरुले सडकको बीच भागमा मूल्यवृद्धि विरुद्ध दाउराकाे आगाेमा चिया बनाएर विरोध प्रदर्शन गरेका हुन् । तस्विरहरुः सहीखबर
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा कार्यालयले महिलाहरूकाे लागि प्रसुती हुँदा लाग्ने एम्बुलेन्स सेवाकाे सुविधा निःशुल्क पाउने भएका छन् । मगलबार बसेकाे वडा समितिकाे पहिलाे बैठकले महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पाउने निर्णय गरेकाे हाे ।
मंगलबारको नव निर्वाचिक वडा अध्यक्ष उद्धब सत्यालकाे अध्यक्षतामा बसेकाे पहिलो बैठकले वडाभित्रका गर्भवती महिलाहरू सुरक्षित रुपमा प्रसुती गराउनका लागि उपमहानगरका जुनसुकै अस्पतालसम्म जानका लागि लाग्ने एम्बुलेन्स शुल्क वडा कार्यालयले व्यहोर्ने निर्णय गरेको हाे ।
बैठकले वडामा सेवा लिन आउने सर्वसाधारणलाई छिटोछरितो सेवा प्रवाहका लागि निःशुल्क हेल्प डेस्क सन्चालन गर्ने समेत निर्णय गरेको छ ।
मकवानपुर । पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेको भन्दै हेटौंडा-९ मा बिरोध प्रदर्शन भएको छ ।
नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटीले सोमबार बिरोध प्रदर्शन गरेको हो । सोमबार साँझ हेटौंडा ९ स्थित गुम्बा चोकमा युवा तथा महिलाहरुको उपस्थितिमा विभिन्न नारासहितको पम्प्लेट सहित प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा ग्यास, पेट्रोल, डिजेल, खानेतेल लगायतका बस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने, हरप्रकारले असफल रहेको परमादेशी सरकारले तुरुन्त राजिनामा दिनुपर्ने, जनताको ढाड सेक्ने काम बन्द गर्नुपर्ने तथा लिपुलेक, लिम्पियाधुरासहितको चुच्छे नक्सा जारी गर्नुपर्ने लगायतका माग गरिएको थियो ।
हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य नरेन्द्र भण्डारीले आग्रह गरे ।
राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटी अध्यक्ष बिबेक दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । यस्तै मूल्यवृद्धिको विरुद्धमा मंगलबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पनि राष्ट्रिय रुपमा एकसाथ बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।