मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शनिबार संसदीय दलको बैठक बोलाएका छन् । असार १८ गते शनिबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले जनाएको छ ।
समसामयिक विषयमा छलफल गर्न मुख्यमन्त्रीले दलको बैठक बोलाइएको बताइएको छ । बागमती प्रदेशमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डेले संसदीय दलको बैठक बोलाएको बुझिएको छ । पाण्डे मुख्यमन्त्री परिवर्तनको लागि हस्ताक्षर संकलन भएपछि काठमाडौं गएका थिए ।
एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत कात्तिक ११ गते गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा ६ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व छोड्ने सहमती गर्दै मुख्यमन्त्री बनेका थिए ।उनले सहजै सहमती कार्यान्वयन गर्ने नदेखेपछि कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर संकलन कार्य सुृरु गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १ सय ९ सांसदमध्ये माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक गरि ५९ सांसदले समर्थन गरेका थिए ।
मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएकाे छ । विहीबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ–५, चैनपुरमा प्रशासकीय भवन निर्माण कार्यको सुरुवात गरेका छन् ।
अध्यक्ष मल्लले प्रशासकीय भवनकाे शिलान्यास गर्दै निर्माण कार्यकाे शुभारम्भ गरेका हुन् । गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ८ करोड ९९ लाख ३१ हजार रुपैयाँ कुल लागत अनुमान गरिएको थियो । गाउँपालिकाले ठेक्का आव्हान गर्दा जय माता कन्स्ट्रक्सन प्रालिले ६ करोड ४२ लाख १२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको हो ।
गत कात्तिक महिनामै ठेक्का सम्झौता भएको र सम्झौता भएको ३० महिनाभित्र भवन निर्माण कार्य पूरा गर्नुपर्नेछ । शिलान्यास कार्यमा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला, वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले १० परिवारलाई बिऊ बाख्रा बितरण गरेको छ । दिगो आर्यआर्जनमा टेवा पु¥याउने लक्ष्य सहित आदिवासी जनजाती महिलाहरुका लागि उपमहानगरपालिकाले बिऊ बाख्रा बितरण गरेको हाे ।
उपमहानगरका बिभिन्न वडामा रहेका बिपन्न समुदायका आदिवासी जनजाती महिलाहरुलाई प्रतिघर २ वटाका दरले १० परिवारलाई बिऊ बाख्रा बितरण गरिएकाे उपमहानगरपालिकाले जनाएकाे छ । हेटौंडा-८ का कमला गुरुङ र प्रमिला चौधरी, हेटौंडा ११ का माया थापा मगर र उर्मिला गुरुङ, हेटौंडा १३ का उजेली कुमाल र सुनिता मुक्तान, हेटौंडा-१५ का कुमरी तामाङ, हेटौंडा-१६ का बिष्णुमाया प्रजा चेपाङ, हेटौंडा-१७ का निर्मला भुजेल र सरिता राईलाई उपमहानगरका उप प्रमुख राजेश बानियाँले बिऊ बाख्रा हस्तातरण गरेका हुन् ।
उपमहानगरको समाजकल्याण शाखाले २ लाख १५ हजार १ सय रुपैयाँको लागतमा २० वटा बाख्रा खरिद गरी उनीहरुलाई वितरण गरेको हाे । कार्यक्रममा बिऊ बाख्रा हस्तान्तरण गर्दै उपप्रमुख बानियाँले सितैमा पाएको भनेर वेवास्ता नगरी दियो आय आर्जनमा जोडिन आग्रह गरे । उनले उपमहानगरपालिका कृषिको प्रवर्द्धन र विकासका लागि योजना बनाएरै काम गर्ने तयारीमा रहेका भन्दै पालिकाका हरेक वडामा पशु प्राविधिकको व्यवस्था गर्ने बताए ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषल मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगपालिका समाज कल्याण शाखाका अधिकृत भैरबबहादुर कुमालको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ राधाकृष्ण मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
विहीबार दिउँसो कान्तिलोकपथ राजमार्ग अन्तर्गत क्याम्पाडाँडाबाट हेटौंडा बजार आउँदै गरेको ना ५१ प ७३५९ नंबरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००४ प १५९९ नंबरको मोटरसाईकल राधाकृष्ण मन्दिर नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा बागमती प्रदेश ०३-००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ फुर्केचौर का २५ वर्षीय विशाल थापाको उपचारको क्रममा दिउँसो संचो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा ना ५१ प ७३५९ नंबरको मोटरसाइकलका २५ वर्षीय लक्ष्मण आचार्य र हेटौंडा-१८ का २३ वर्षीय सुमन थापा घाईते भएका थिए । थापा र आचार्यको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।