मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले निर्वाचन प्रचारप्रसार कार्यालय स्थापना गरेकाे छ । यसका साथै प्रेस चौतारी नेपाल जिल्ला कमिटीले मकवानपुरको सञ्चार डेस्क समेत हेटौंडामा स्थापना गरिएको छ ।
एमालेले निर्वाचन परिचालन प्रचारप्रसार कार्यालय तथा प्रचार उप–समितिको कार्यालय मकवानपुर स्थापना गरेर आगामी मशिर ४ गते हुने प्रतिनिध सभा तथा प्रदेश सभाकाे निर्वाचन प्रचार प्रसारकाे कार्य काम सुरु गरेकाे हो । दुवै कार्यालयको नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा एमाले निर्वाचन परिचालन कमिटी मकवानपुरका संयोजक अनन्त पौडेलले उद्घाटन् गरेका थिए ।
कार्यालय स्थापना कार्यक्रममा बोल्दै पौडेलले दुवै कार्यालयबाट एमालेका प्रतिनिधीसभा र प्रदेशसभाका ६ जना उम्मेदवारलाई जिताउनका लागि प्रचारप्रसारको कामलाई तिब्रता दिनुपर्ने बताए । एमालेको नेतृत्वमा संघ, प्रदेश र स्थानीय तहको सरकार रहँदा जनता तथा विकासका पक्ष राम्रा काम भएको र अब पनि जनताको निम्ति काम गर्नका लागि एमालेको सरकार बन्नु पर्ने पौडेलले बताए ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभागका प्रमुख धुर्व प्रसाद चौलागाँईं, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाँईं, प्रेस चौतारी बागमती प्रदेशका महासचिब प्रकाश दाहाललगायतकाे उपस्थिति रहेकाे थियाे । प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
मकवानपुर । मकवानपुर प्रहरीले चाँदीका तयारी सामान सहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ ड्राइभर डाँडाबाट चाँदीबाट बनेका १९ किलाे ८ सय ४५ ग्राम गरगहना सहित लालबाबु साहलाई नियन्त्रणमा लिइएकाे हाे ।
असोज २९ गते बिशेष सूचनाकाे आधारमा खटिएकाे प्रहरी टाेलीले हेटौडा तर्फ आउंदै गरेको प्रदेश २-०३-०१८ प ८२४८ नं. को माेटरसाइकल चेकजांच गर्दा माेटरसाइकल चालक पर्सा बिरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ४४ को साहले बोकेको ब्यागमा लुकाई उक्त परिमाणकाे चाँदीबाट बनेको तयारी अबैंध गरगहनाहरु फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
चाँदीका अवैध गरगहना सहित नियन्त्रणमा लिइएका माेटरसाइकल तथा साहलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरीले जानकारी दिएकाे छ ।
मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने बताएका छन् ।
कांग्रेस मनहरी गाउँपालिका ६ सुनाचुरीमा आयोजित वडास्तरीय भेला तथा चुनावी छलफल कार्यक्रममा सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को ख का प्रदेशसभा सदस्य पदका उम्मेदवार बानियाँले कांग्रेस सँधैं दिनदुःखीको सेवामा लागिरहेको बताए । यस क्षेत्रमा कांग्रेसले अघिल्लो प्रदेशसभामा जितेपछि धेरै विकास निर्माणका कार्य गरिएको उनले बताए ।बानियाँले प्रदेश सरकारमा साँढे ३ वर्ष केपी ओली निकट कम्युनिष्ट शासनकालमा केही गर्न नसकेको बताउँदै विगत डेढ वर्षदेखि कांग्रेस मन्त्री मण्डलमा प्रवेश गरेपछि करोडौंको विकास बजेट यस क्षेत्रमा पार्न सफल भएकाले बताए ।
कांग्रेस मनहरी ६ का वडा सभापति बाबुराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महत, कांग्रेस मकवानपुर क्षेत्र नं। २ ख का प्रदेश सभापति एवम् मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी ६ का वडा अध्यक्ष युवराज थपलिया, पुराना तथा अग्रज नेता कुलबहादुर नगरकोटीले सत्ता गठबन्धनको आगामी चुनावकेन्द्रित धारणा राखेका थिए ।
मकवानपुरकाे प्रतिनिधि सभा क्षेत्र नं २ मा क्षेत्रमा कैलाश गाउँपालिका, राक्सिराङ्ग गाउँपालिका, मनहरी गाउँपालिका, तथा हेटौडा उपमहनागरपालिकाकाे १, ३, ११ र १९ वडा पर्दछ । यस्तै प्रदेश सभा २ खमा हेटौडा उपमहनागरपालिकाका ३ र १९ नम्बर वडा सहित कैलाश राक्सिराङ्ग र मनहरी गाउँपालिका पर्छ ।
मकवानपुर। मकवानपुरमा आगामी मंसिर ४ गते हुने निर्वाचनकाे लागि समानुपातिक तर्फकाे मतपत्र आइपुगेकाे छ । प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रमाणीतर्फको मतपत्र आइतबार आइपुगेको हाे ।
मकवानपुरमा समानुपातिक निर्वाचनतर्फ जिल्लाको क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६८ हजार मतपत्रको ठेली आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएकाे छ । यस्तै, क्षेत्र नं. २ तर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तरगत प्रतिनिधि सभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ १ लाख ६९ हजार मतपत्र ल्याइएको २ नं. क्षेत्रका निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
मकवानपुरमा ३ लाख ७३७ मतदाता रहेका छन् । जिल्लामा क्षेत्र नं. १ र २ मा गरी जम्मा ३ सय ६४ वटा मतदान केन्द्रहरु तोकिएको प्रदेश निर्वाचन कार्यालय बागमतीले जनाएको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा आगाेलागि हुँदा घर पूर्ण रुपमा क्षति भएकाे छ । गाउँपालिका वडा नं. ४ कालिखाेलाका काजिमान मोक्तानको घरमा कच्ची घरमा अचानक आगाेलागि भइ घर पूर्ण क्षती भएकाे प्रहरीले जनाएकाे छ ।
माेक्तानकाे जस्ताले छाएको,काठको फलेकले बारेको २ तले कच्चि घरमा असाेज २८ गते दिउँसाे साडे २ बजेकाे समयमा अचानक आगोलागि भई घर पुर्णरुपमा क्षति भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएकाे छ । आगाेलागिकाे खबर प्राप्त हुना प्रहरी टोलि घटनास्थमा पुगी घरमा लागेकाे आगो स्थानीयको सहयोगमा पूर्णरुपमा नियन्त्रण गरिएकाे प्रहरीले बताएकाे छ ।
घरमा काेही नभएकाे अवस्थामा केटाकेटीहरु खेल्नेक्रममा आगोलागि भएकाे हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे छ । आगोलागिबाट मानविय तथा पशुपंछीकाे क्षति नभएको बताइएकाे छ । तर घरमा रहेकाे काठ, अन्नपात, लत्ताकपडा तथा भाडाकुडा करिब ५ लाख बराबरकाे क्षति भएकाे बताएकाे छ ।