मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा पहिलाे पटक नमूना मतदान अभ्यास गरिएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन लक्षित नमूना मतदान अभ्यास गरिएकाे प्रदेश निर्वाचन कार्यालयले जनाएकाे छ ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी आइतबार गाउँपालिका कार्यालय झुरझुरेमा नमूना मतदानको आयोजना गरेको हो ।
निर्वाचनमा मतदातालाई स्पष्टता दिन तथा मतदान केन्द्रसम्म पुग्ने, मतदान कति ठाउँमा दिने, कसरी मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्नेलगायत जागरुक बनाउन नमुना मतदानको आयोजना गरिएको प्रदेश निर्वाचन कार्यालय बागमतीका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिए । उनले नमुना मतदानबाट मतदाताहरुलाई मत बदर हुनबाट जोगाउन मद्दत गर्ने समेत बताए ।
नमुना मतदानमा महिला र पुरुष गरी ५३ जना मतदाता सहभागी भएका थिए । नमुना मतदानका क्रममा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मात्रै मतगणना गरिएको थियो । जसमा खसेको ५३ वटा मतमा ५२ सदर भएको र १ वटा मत बदर भएकाे पोखरेलले बताए । नमुना मतदानकाे अभ्यास साेमबार बकैया गाउँपालिकामा गरिने बताइएकाे छ ।
यसैगरी, मकवानपुरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएकाे छ । गत शुक्रबारबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएकाे निर्वाचन अधिकारी पाेखरेलले जनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयले मकवानपुरको १० वटा स्थानीय तहको १ सय २ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको हाे ।
मकवानपुरमा मतदाता शिक्षा कार्यक्रमका लागि स्थानीय तहहरुसँगकाे समन्वयमा वडा तहमा कर्मचारी परिचालन गरी मतदाता शिक्षा सुरु गरिएको पोखरेलले जानकारी दिए । वडा–वडामा खटिएका स्वास्थ्य स्वयंसेविकाहरुले मतदान केन्द्रसम्म पुग्ने, मतदान गर्ने, मतपत्र पट्याउने, मतपत्र मतपेटिकामा खसाल्नेलगायतकाे जानकारी मतदातालाई जानकारी दिने छन् ।
यस पटकको निर्वाचनमा ४ प्रकारको मतपत्रकाे प्रयाेग हुने निर्वाचन आयाेगले जनाएको छ । मतदाताले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तथा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान पहिले गर्नुपर्नेछ । त्यसपछी प्रदेशसभाको प्रत्यक्षतर्फ र प्रदेशसभाको समानुपातिकतर्फ मतदान गर्नुपर्नेछ । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र रातो रंग र समानुपातिकतर्फको मतपत्र कालो रंगको हुनेछ ।
गत स्थानीय तहकाे निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुदाँ बदर मतकाे संख्या बढी भएकाेले यस पटक बदर मत कम गर्न मतदाता शिक्षा प्रभावकारी हुने बताइएकाे छ ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा क’ की उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा तेब्बर बजेट ल्याउने बताएकी छिन् । नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज माेक्तानले भीमफेदी गाउँपालिकाकाे चुनावी कार्यक्रममा गठबन्धनले बोलेको पुरा गरेर बिकास गर्नेमा मतदातालाई ढुक्क हुन आग्रह समेत गरिन् ।
‘हामी (प्रदेश सरकार)ले यो गाउँपालिकामा २ अर्ब ८८ करोड बजेट हालेका छौ,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी उनले भनिन्, ‘अब फेरी हाम्रो गठबन्धनको प्रदेश सरकार बन्यो भने डबल हैन, तेब्बर बजेट गाउँपालिकामा आउँने छ ।’ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिलाई अबिश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको भन्दै गठबन्धन सरकारले आमनागरिकको समस्या समाधानमा पहल गरेको उनको दाबी छ ।
यसैगरी चुनावी कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले गठबन्धनको सबै प्रतिनिधिले जनतालाई विश्वासघात नगर्ने भन्दै ढुक्क भएर गठबन्धनलाई मतदान गर्न आग्रह गरिन् । ‘हाम्रो गठबन्धनका उम्मेदवारले विश्वासघात गर्नुहुन्न, तपाईहरु ढुक्कले गठबन्धनलाई भोट हाल्नुहोस्,’ उनले भनिन् । मकवानपुरकै मुख्यमन्त्री भएरपनि एमालेका डोरमणि पौडेलले ३ बर्षमा आफ्नै वडा हेटौंडा ११ मा एउटा पुलबाहेक कतै बजेट नहालेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले जितेमा विकास र आर्थिक समृद्धीका लागि भूमिका खेल्ने दावी गरिन् ।
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर-२ को प्रदेशसभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गरिब निमुखा जनतालाई सुरक्षित आवासको व्यवस्था गर्न १० हजार घर बनाउने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापती तथा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका बानियाँले गठबन्धनकाे सरकार बनेमा ५ वर्षमा १० हजार घर बनाइने बताएका हुन् ।
भीमफेदी गाउँपालिका–९ बाघमारामा गठबन्धनकाे चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले प्रदेशमा गठबन्धनको सरकार बनेपछि गरिब, निमुखा तथा पिछडिएका वर्गलाई सुरक्षित आवास बनाइदिने बताएका हुन् । ‘आर्थिक अवस्था कमजोर भएकै कारण नाना, छाना र खानाबाट आम प्रदेशवासी बञ्चित हुनुपर्ने छैन । निर्वाचनपश्चात बागमती प्रदेशमा गठबन्धनको सरकार बन्छ । हामी ५ वर्षको अवधिमा १० हजार घर बनाउने योेजनमा छौं ।’ उनले भने ।
नेकपा एमाले सरकारमा छँदा पूर्वाधार विकासको कामलाई उपेक्षा गरे पनि गठबन्धनको सरकार आएसँगै १० महिनाको अवधिमा अर्बौं बजेट क्षेत्र नम्वर २ कै लागि विनियोजन गरिएको उनले बताए । उनले विश्व स्वास्थ्य संगठनले गाँजालाई लागूऔषधको सूचीबाट हटाइसकेको अवस्थामा गठबन्धनको सरकारले नेपालमा उत्पादित गाँजालाई औषधिका रुपमा विदेश निर्यात गर्ने र गाँजा ओसारपसारको मुद्धामा परेकाहरुलाई विधेयक बनाएर जेलबाट निकाल्ने बताए ।
कांग्रेस भीमफेदी–९ का सभापति राजकुमार पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, गठबन्धन अनुगमन समितिका जिल्ला संयोजक माईकल रामचन्द्र अर्याल, माओवादी केन्द्रका जिल्ला सदस्य आत्माराम मोक्तान, कांग्रेस क्षेत्रीय प्रवक्ता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुरमा आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाकाे निर्वाचन लक्षित प्रचार प्रसार कार्यक्रम तीव्रताका साथ भइरहेका छन् । मकवानपुरका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरुले चुनावी कार्यक्रममा मतदातालाई रिझाउन विभिन्न आश्वासन दिदै आएका छन् ।
लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले मकवानपुरकाे विकासका लागि गठबन्धनका उम्मेदवारलाई भाेट मागि रहेकी छिन् । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री समेत रहेकी डिनाले मकवानपुरको विकासमा कुनै योगदान नपु¥याएका, आन्दोलनमा दमन गरेका र चुनाव आएपछि अर्को पार्टीबाट टिकट लिएर आश्वासन मात्रै बाँड्न आउनेहरुलाई मतदाताले चिन्न जरुरी रहेको बताएकी छिन् ।
चुनावी अभियान अन्तर्गत आइतबार बकैया ११ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ‘अहिले यही क्षेत्रबाट उम्मेदवार भएकाहरु कति पटक मन्त्री भए ? यहाँको विकासमा के योगदान पु¥याए ? त्यो सम्झिएर मत हाल्नुहोला । ‘यो पटक गठबन्धनलाई जिताएर पठाउनुहोस् यस क्षेत्रको समस्या समाधान गर्ने जिम्मेवारी हाम्रो भयो’ उनले भनिन् ‘नेकपा एमालेको झुटा आश्वासन र फोस्रो नारामा नअल्मलिनुहाेस् । प्रतिगमनकारी र व्यवस्था विरोधीहरु मिलेर घरघरमा झुटो आश्वासन र भ्रम बाँड्न आएको भन्दै उनले त्यस्तालाई परास्त गर्ने बेला आएको बताइन् ।
डिनाले आफ्नो कार्यकालमा मकवानपुर क्षेत्र नम्बर १ लाई पूर्ण बिजुलीयुक्त बनाउने, हात्तीसुँढे–शिखरपुर–मन्थली सडक कालोपत्रे गर्ने र शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाइन् ।
चुनाव चिन्ह किनेर आएकालाई भोट नदिऔं
यसै गरी गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले अर्काको पार्टीको चुनाव चिन्ह किनेर आएका व्यवस्था विरोधीहरुलाई परास्त गर्ने बेला आएको बताएका छन् । यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उनले बताएका छन् ।
बकैया ११ मा भएको चुनावी सभामा एमालेकाे चुनाव चिन्ह लिएर उम्मेदवार भएका कमल थापालाई इङ्गित गर्दै उनले व्यवस्था र संविधान विरोधी तत्वलाई चिन्नुपर्ने र साइजिङ गर्नुपर्ने बेला आएको बताएका हुन् । ‘हामीले यहाँको माटो, भूगोल र समस्या बुझेका छौं । हामी व्यवस्था परिवर्तनका लागि हातेमालो गरेको नेपाली कांग्रेस लगायतका दलसंग सहकार्य गरेर अब अवस्था परिवर्तनका लागि आएका छौं’, छिन्तुले भने, ‘गठबन्धन महिलामैत्री, आदिवासी जनजातीमैत्री रहेको छ । सबै खाले उम्मेदवार हामीसंग रहेको छ । तपाईंहरुले अब ठीक र बेठीक छुट्याउनुपर्ने समय आएको छ ।’
चुनाव चिन्ह समेत अर्काको किनेर आएका व्यवस्था र संविधान विरोधीहरुलाई ठेगान लगाउने बेला आएको छ’ उनले भने । जनआन्दोलनका दमनकारीसँग विकासका कुनै एजेण्डा नै नरहेको भन्दै उनले व्यवस्थालाई परिवर्तनमा एक भएका गठबन्धनका उम्मेदवारलाई अब जनताको अवस्थालाई परिवर्तनका लागि मतदान गर्न अनुरोध गरे । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रित सदस्य विजय गौतम, नेकपा (एस)का केन्द्रीय सदस्य घनप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुरमा भएकाे सवारी दुर्घटनामा घाइते भएका पुरुषको मृत्यु भएको छ । गत चैतमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिकामा भएको दुर्घटनामा घाइते भएका प्रकाश मोक्तान रहेका छन् ।
गत चैतमा मनहरी–८ सिमपानीमा ज्यामिरेतर्फ जादै गरेको ना १ ह ५६८२ नम्बरको अटोले ना ५१ प २०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार मनहरी–९ मगरचोक बस्ने ३२ वर्षीय लाल मोक्तान र राक्सिराङ गाउँपालिका–४ बस्ने ३६ वर्षीय प्रकाश घाइते भएका थिए । उनीहरुको उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज लगिएको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार प्रकाशको उपचार सम्भव नभएपछि घरमा ल्याईएकोमा उनको शनिबार मृत्यु भएको हो । अटो चालक अंगभंग मुद्दामा मुद्दा चलाएपनि धरौटीमा छुटेको कार्कीले बताए ।
सवारी दुर्घटनामा २ जना घाइते
मकवानपुरमा सवारी दुर्घटना २ जना घाइते भएका छन् । शनिबार मकवानपुरकाे मनहरी गाउँपालिका र बकैया गाउँपालिकामा भएकाे सवारी दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।
पूर्व पश्चिम सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका–७ बिजौनामा भारतीय एम्बुलेन्सको ठक्करबाट मोटरसाइलमा सवार एक जना घाइते भएका छन् । शनिबार बिआर–०५ पि २०५७ नम्बरको एम्बुलेन्सले प्रदेश ३–०२–००९ प ४८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा पर्सा ठोरी बस्ने २५ वर्षीय दिनेश सापकोटा घाइते भएका हुन् । उनको उपचारको लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको बकैंया गाउँपालिका–५ मा ना.३ ख.६५५ नम्बरको ट्रकको ब्रकेफेल भएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ट्रक चालक बारा कोल्बी नगरपालिका– १ बस्ने ५१ को शंकर चौधरी घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते चौधरीको प्राथामिक स्वास्थ्य केन्द्र छतिवनमा उपचार भइरहेको छ । चिउरा/भुसा बोकेको उक्त ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकबाट करिब ३० मिटर तल खसेको थियो ।