मकवानपुर । ४ मंशिरकाे प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचन नजिकिदै गर्दा मकवानपुरमा उम्मेदवारहरुले घरदैलाे तथा प्रचार प्रसारकाे कार्यक्रमलाई तीब्र पारेका छन् । हरेक दिन विहानैदेखि वेलुकासम्म नै उम्मेदवारहरु आआफ्नाे क्षेत्रका घरदैलाेमा मतदातासँगै रहने गरेका छन् ।
चुनावी प्रचार प्रसारमा हरेक गाउँ तथा बस्ती पुग्ने गरेका उम्मेदवार तथा दलका नेताहरुले निर्वाचन पछी नाक मुख नदेखाउने गरेकाे आराेप स्थानीय मतदाताहरुले लगाउने गरेका छन् । तर मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार वतौला र क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) मा उम्मेदवारी दिएका विष्णु प्रसाद ढकालले चुनाव जितेपछी जनताका हरेक समस्यामासँगै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गतका कार्यक्रममा उनीहरुले जनतासँगै रहने प्रतिवद्धता व्यकत गर्ने गरेका छन् । साेमबार मकवानपुरकाे भीमफेदी गिाउँपालिकामा घरदैलो तथा सभामा दुवै जना उम्मेदवारहरुले चुनाव जितेर गएपछी काठमाडौं र हेटौंडा केन्द्रीत भन्दा पनि यस क्षेत्रका नागरिकका हरेक समस्यामा सधै हातेमालो गरेर अगाडी बढ्ने बताएका हुन् ।
बर्तौला र ढकालले भीमफेदी गाउँपालिका वडा नम्बर–१ को किसेडी, २ नम्बर वडाको कालिकाटार, ३ नम्बर वडाको केरावारी, ४ नम्बर वडाको चिउरी बगैचा लगायतका क्षेत्रमा घरदैलो र टोल टोलमा भएका सभालाई सम्बाेधन गर्दा स्थानीय वासिन्दाहरुले अघिल्ला निर्वाचनमा विजयी भएका उम्मेदवारहरु जितपछी आफ्ना क्षेत्रमा खासै नफर्किएको तथा विकास निर्माण र जनताकाे आधारभूत आवश्यकतामा समेत ध्यान नदिएकाे बताएका थिए । अहिलेका उम्मेदवारहरु चुनावका बेलामा घरमा आएर समस्या सुन्न आए जसरीनै नियमित आउने र स्थानीयका समस्या समाधान गर्न पहल गर्ने हाे भने मात्र मतदान गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

युवा उम्मेदवार गाउँ पुग्दा फुलमालाले स्वागत
मकवानपुर निर्वाचन क्षेत्र नं. २ को एमाले तर्फबाट प्रतिनिधि सभा सदस्य युवा उम्मेदवार महेश बर्तौला मकवानपुरगढी गाउँपालिकाका गाउँ पुग्दा स्थानियले फुलमालाले स्वागत गरेका छन् । स्थानीयले युवा उम्मेदवार माथि बिकास, समृद्धि र परिवर्तनको अपेक्षा राखेका छन् । आफ्नाे क्षेत्रबाट पटक पटक सांसद हुनुभएका बिरोध खतिवडा जसरी नहराउन आग्रह समेत गरेका छन् । नेकपा एकीकृत समाजवादीका खतिवडा उक्त क्षेत्रबाट गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।
युवा उम्मेदवार बर्तौलाले मकवानपुर गढी गाउँपालिका क्षेत्रको आमभन्ज्याङ्ग, डुम्रेकुना, सुकौरा र बुढिचौरमा चुनावी सभामा सम्बोधन गरेका थिए । बर्तौलाले स्थानीयबासी समक्ष आफूले देश र जनताको पक्षमा काम गर्ने बताए । जनताको बिश्वास जोगाइराख्ने र जनताको चाहना बिपरित कुनै काम नगर्ने समेत उनले बिश्वास दिलाएका थिए । उम्मेदवार बर्तौलाले आफुले चुनाव जितेर सहिद बासुदेव मार्ग र बस्ती संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
नेकपा एमालेकाे विद्यार्थी संगठन अनेरास्ववियुमा लामो समय बिद्यार्थी राजनिती गरेर अहिले पार्टी राजनितिमा सक्रिय रहेका बर्तौला उम्मेदवार मनाेनयन गरे पछी मकवानपुरगढी ६ कञ्चनथलीमा रहेकाे जनआन्दालनका मकवानपुरे शहीद वासुदेव घिमिरेकाे घर पुगी उनका पिताबाट आशिर्वाद लिएका थिए ।
मकवानपुर । संघीयता खारेजीलाई पहिलाे प्राथमिकतामा राखेर आवाज उठाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गुन्जन बहादुर न्याैपानेले बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ का उम्मेदवार न्यौपानेले निर्वाचनको लागि ७ बुँदे संकल्प सार्वजनिक गर्दै आफू नष्ट हुन्छु तर भ्रष्ट हुन्न भनेका छन् ।
उम्मेदवार न्यौपानेले सोमबार हेटौंडामा आयाेजना गरेका पत्रकार सम्मेलनमा सात बुदे संकल्प सहितकाे घेाषणा पत्र समेत जारी गरेका छन् । सम्मेलनमा न्याैपानेले याैनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि अरु सरह मानव भयकाेले उनिहरुकाे व्यक्तित्व विकास गर्ने बताए ।
उम्मेदवार गुञ्जनले आफू लामो समयदेखि धार्मीक र सामाजिक कार्यमा सक्रिय रहेको बताए । २०४७ सालदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै उनले पहिलो पटक उम्मेदवारी दिएकाे बताएका छन् । यसअघि लामो समयदेखि पार्टीको जिम्मेवारीमा रहँदा संसदकाे उम्मेदवार बन्ने अवसर नपाएकोमा यसपटक पार्टीले दिएकाे अवसरकाे सदुपयाेग गर्ने बताए । आफू सांसद बन्नको लागि नभइ जनताको काम गर्नको लागि उम्मेदवार बनेको बताए ।
चुनावी प्रचार प्रसारकाे क्रममा आफ्नाे क्षेत्रमा घरदैलो कार्यक्रम गर्दा यसअघी निर्वाचनमा जितेका प्रतिनिधिहरुले आश्वासन मात्र दिएकाे तर विकास निर्माणका कार्य नगरेकाे जनगुनासो गर्ने गरेकाे समेत न्याैपानेले बताए । पहिलाे पटक उम्मेदवार बनेकाेमा हारजीत जे भए पनि अर्को पटक यही पदमा उम्मेदवार नबन्ने समेत उनले कार्यक्रममा उद्घाेष गरे ।
गुञ्जनले सार्वजनिक गरेको ७ संकल्पः
१. सर्वसुलभ सुविधा सम्पन्न हेटौडा अस्पताल स्तरोन्नतिमा पहिलो अठोट् । सर्वसुलभ प्राविधिक समेतका विश्वविद्यालय निःशुल्क +२ सम्म विद्यालयका लागि नीति निर्माणमा जोड ।
२. बेरोजगारलाई सीप र प्रशिक्षण । हेटौंडाका औद्योगिक क्षेत्रमा मकवानपुरको लगानी, मकवानपुरेलाई रोजगारी । सबै जातजाति, भाषाभाषीको हितमा राज्यको चासो र लगानी। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको विकासमा पहलकदमी।
३) खुला क्षेत्र सहितको स्मार्ट, अपाङ्गमैत्री, प्रदुषण नियन्त्रित मकवानपुर । तामाङ सहित सबै जातिको लिपि भाषा अध्ययन प्रतिष्ठान बनाउने । समृद्ध नेपाली सभ्यता विश्वमा चिनाउने ।
४) उद्यमशिलता बिकास बैंक स्थापना र कम ब्याजदर तथा सहज ऋण लगानी। मकवानपुरका नागरिक सबैको उद्यम र आयमा बृद्धि ।
५) संघियता खारेजीमा पहल र बेथिति बिरुद्धको पहरेदारी। मितव्ययी लोककल्याणकारी सरकार सञ्चालन नगरे राप्रपाको खबरदारी।
६) वन जंगल, सार्वजनिक जग्गा र नदी तट क्षेत्रबाट आम्दानी । समृद्धिको लागि कृषिमा मुलुकको प्राविधिक र प्रारम्भिक लगानी। सम्पूर्ण धार्मिक क्षेत्रको संरक्षण बिकास हाम्रो जिम्मेवारी ।
(७) स्वस्थ्य, शिक्षित, सुखि र समृद्ध मकवानपुर । योग, आयुर्वेद र प्राकृतिक उपचार पद्वतिलाई जोड । निःशुल्क दिर्घरोग परीक्षण राष्ट्रको अभिभारा । दिर्घरोगीलाई औषधि निःशुल्क लाभान्वित जनता सारा ।
मकवानपुर । मकवानपुरकाे भीमफेदी कारागारका ९८ जना कैदीबन्दीले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने कारागारका जेलर तिर्थराज पौडेलले जानकारी दिए ।
उनका अनुसार कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्थाको तयारी सुरु गरिएको छ । कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।
अस्थायी मतदान केन्द्र तथा अस्थायी मतदाताकाे व्यवस्था गरिएकाेले मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय,बागमती हेटौडाले जनाएको छ । कार्यालयका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकार प्रयोग गर्न पाउने छन् ।
मकवानपुर । मकवानपुरको मनहरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी नयाँबस्ती बस्ने २९ वर्षीय अबिनाश गोले रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–६ सुनाचुरीमा काकरभिट्टाबाट काठमाडौं तर्फ जादै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको गाेलेकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेका छन् ।
मकवानपुर । भेटेरेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र हेटौंडाले स्थानीय तहको सिफारिसमा मात्र किसानलाई सहुलियत प्रदान गर्ने भएको छ । केन्द्रले आर्थिक वर्ष २०७९/०८० को लागि स्वीकृत कार्यक्रम तथा प्रथम चौमासिक समीक्षा गर्दै उक्त कुराको जानकारी गराएको हो ।
मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका कृषि तथा पशु शाखा प्रमुख, योजना शाखा प्रमुख स्थानीय तहका वडा अध्यक्षहरुको उपस्थितिमा समीक्षा तथा जानकारी कार्यक्रम भएको हो ।
केन्द्रबाट चालु आर्थिक वर्षमा किसानको लागि पशु तथा पन्छि व्यबसाय गर्न प्रदान गरिने बिउ पुजि सहुलिएन ऋण प्राप्त प्रक्रियाको जानकारी गराइएको निमित्त प्रमुख ब्रज किशोर ठाकुरले बताए ।
कृषकहरुलाई स्थानीय पालिका र बिज्ञ केन्द्रबाट प्रदान गरिने सहुलियतमा दोहोरोपना आए पछि यस वर्षदेखि स्थानीय तहको सिफारिसमा मात्रै सहुलियत प्रदान गरिने गरि कार्यबिधि बनाइएको बिज्ञ केन्द्रका योजना शाखा प्रमुख डा. आभाष कोइरालाले बताए ।
केन्द्रले किसानको लागि प्रदान गरिने कार्यक्रम बारे सूचना यसै साताबाट जिल्लाको सम्बन्धित स्थानीय तहबाट प्रकाशन गरिने तयारी भएकाले सम्बन्धित किसानहरुलाई सेवा लिन केन्द्रका पशु सेवा प्राबिधिक प्रदीप सापकोटाले बताए ।