मकवानपुर । नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई मत नदिए जनताले पाँच बर्ष दुःख पाउँने बताएकी छिन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का उम्मेदवार माेक्तानले आफ्नाे क्षेत्रकाे चुनावी सभामा भनिन् ‘देखेर बुझेपछि मात्र काम गर्ने हो, त्यसैले आज म गाउँको अवस्था बुझ्न गाउँ–गाउँमा पुगिराखेको छु । उनले भनिन् ‘गठबन्धनलाई भोट हाल्न चुक्नुभयो भने ५ वर्ष दुःख तपाईं हामीले पाउँछौ, विकास हुन सक्दैन ।’
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका भएकाे चुनानी कार्यक्रममा बुधबार उनले गठबन्धनलाई अमुल्य भोट दिएर विकास र समृद्धीका पक्षमा साथ दिन आग्रह समेत गरेकी छिन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहकी उनले आफ्नो राजनीतीको मुख्य उद्देश्य नै गरिब निमुखाको जीवनस्तर उकास्नु रहेको भन्दै देश र जनताप्रति सदैव क्रियाशील रहने समेत बताइन् ।
नेपाली काँग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि जमान सिं वाईबा, माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ईन्द्रबहादुर श्रेष्ठ, बागमती प्रदेश परिषद सदस्य विनायक गोले, नेकपा एकीकृत समाजवादीका मकवानपुर सहसचिव जीवन लामा, नेपाली काँग्रेस मकवानपुरकी जिल्ला सदस्य सुमित्रा लामा, ईन्द्रसरोबर गाउँपालिका १ का वडा अध्यक्ष सुवास आले मगर लगायतले आफ्नाे क्षेत्रकाे विकासकाे लागि लोकतान्त्रिक बाम गठबन्धनलाई भोट दिएर जिताउँनुपर्ने बताएका थिए ।
मकवानपुर । आसन्न निर्वाचनकाे लागि मकवानपुरका उम्मेदवारहरु चुनावी सभा तथा घरदैलोमा व्यस्त रहेका बेला उम्मेदवारहरुको पक्षमा अडकलवाजी र अंकगणितकाे जाेड घटाउ सुरु भएकाे छ । पार्टीका नेता कार्यकर्ता तथा स्थानीय समेत बैशाखमा भएकाे स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारले पाएको मत संख्यालाई जोड घटाउ गरेर हार जितको वकालत समेत गर्न थालेका छन् ।
मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा अघिल्लो पटकभन्दा यसपटक फरक गठजोड बनेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट आनन्तराम पराजुली, एमालेबाट जिल्ला अध्यक्ष एकलाल श्रेष्ट र राप्रपाका गुञ्जबहादुर न्यौपाने चुनावी मैदानमा छन् भने केहि साना दल र स्वतन्त्र उम्मेदवाहरु पनि चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि विगतको निर्वाचन र स्थानीय तह निर्वाचनको मतलाई हेर्ने हो भने यस चुनावी क्षेत्रमा कांग्रेस, एमाले र राप्रपाबीच त्रिपक्षिय भिडन्त हुने पक्का छ । राजनीतिक दलहरुको बदलिएको समीकरणका कारण यस निर्वाचन क्षेत्रको चुनावलाई अघिल्लो भन्दा फरक बनाएको चर्चा चल्ने गरेकाे छ ।
यस निर्वाचन क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ गरी १२ वटा वडा पर्दछन् । स्थानीय तह निर्वाचन–२०७९ मा ४२ हजार मत खसेको यस क्षेत्रको वडामा यस पटक ७२ हजार १ सय ६६ मतदाता रहेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) बिच समिकरण भएर सम्पन्न स्थानीय तह निर्वाचनमा ४ वटा वडा अध्यक्षमा कांग्रेस, १ वटा वडा नेकपा (एस ) र १ वटा वडामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए । यस्तै वडा नम्बर ४, ५, १०, १३, १४ र १५ को वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । ६ वटा वडा काग्रेस सहित गठबन्धन र ६ वटा वडा एमाले एक्लैले जितेको छ तर गठबन्धनको मतान्तर बढी रहेको र राप्रपा पनि एकल चुनावी मैदानमा रहेकोले उसलाई चुनाव जित्नको लागि झनै सहज बनाएको तथ्यांकले देखाएको छ ।
२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडाको नगर प्रमुखमा पराजुली झिनो मतान्तरले पराजित बनेका थिए । एमालेका मेयरका उम्मेदवार हरि बहादुर महतले तेइस हजार एकसय २४ मत प्राप्त गर्दा पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरेका थिए । अहिलेका उम्मेदवारहरुमध्ये पराजुली विशेष चर्चामा छन् । उनी विगतको स्थानीय तह निर्वाचनमा हेटौंडाको प्रमुखमा झिनो मतान्तरले पराजित भएकाले उनीप्रति धेरैको साहनुभूति देखिन्छ ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १२ वटा वडा मध्य ४ वटा नेपाली कांग्रेसले १।१ वडामा नेकपा (एस) र माओवादी केन्द्रले जित हात पारेको थियो भने वडा नम्बर १२ मा कांग्रेस एकल चुनाव लडेको थियो जसमा माओवादी केन्द्रका उम्मेदवार भन्दा ३९ मतले कांग्रेसका उम्मेदवार पराजीत भएका थिए । यता हेटौंडाको मेयर र उपमेयर पनि गठबन्धन दलकै नेकपा(एस) र कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । मेयरमा नेकपा (एस)की मिना कुमारी लामाले २३ हजार ७५ मत र उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले ३२ हजार ५ सय ९३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
यता स्थानीय तहको निर्वाचन–२०७९ मा यस क्षेत्रको वडाहरुमा वडाध्यक्षले पाएको मत गठबन्धन दलनै अगाडि देखिन्छ भने एमाले दोस्रो र राप्रपा तेस्रो स्थानमा रहेको छ । दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा रहेको मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १ सय ५५ र क्षेत्र नम्बर २ मा एक लाख ५० हजार ५ सय ७७ मतदाता रहेका छन् । स्थानीय तह चुनावमा यस क्षेत्रमा पर्ने हेटौंडाका वडाहरुमा कांग्रेस सहित नेकपा(एस) र माओवादी केन्द्रका वडाध्यक्षहरुले २० हजार ६ सय ३४, एमालेको वडाध्यक्षले १९ हजार २ सय ४६ र राप्रपाका उम्मेदवारले २ हजार ८ सय ४९ मत प्राप्त गरेका थिए ।
यो तथ्यांक हेर्दा लोकतान्त्रिक बाम गठबन्धन १ हजार ३ सय ८८ मतले एमालेभन्दा अगाडि छ भने गठबन्धन १७ हजार ७ सय ८५ मतले राप्रपा भन्दा अगाडि रहेको देखिन्छ । स्थानीय तहको निर्वाचन पछि थपिएको मतदाताको मतले को विजयी हुन्छ भन्ने कुरा चाहि मंसिर ४ मा सम्पन्न निर्वाचन पछिको मतगणानालाई नै कुर्नुपर्नेछ ।
मकवानपुर । आसन्न निर्वाचनमा मकवानपुरका उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन् । सत्ता गठबन्धन नेकपा एमाले राप्रपा, अन्य दल तथा स्वतन्त्रबाट उम्मेदवार रहेकाहरु आफ्नो क्षेत्रमा प्रचार प्रसारका कार्यक्रममा एकले अर्को उम्मेदवारलाई आरोप समेत लगाउँने गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधि सभा उम्मेदवार दिपकबहादुर सिंहले गठवन्धको तर्फबाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाबाट स्थानीय मतदाताले केहिपनि आस गर्न नसकिने बताएका छन् । चुनावी प्रचार प्रसारमा सिंहले भने ‘उपाध्ययको काम काठमाडौं बसेर सेटिङ मिलाएर पैसा कमाउन मात्र रहेको छ ।’
बकैया गाउँपालिकामा भएको चुनावी कार्यक्रममा सिंहले दुई पटक समानुपातिक र एक पटक केन्द्रको राज्यमन्त्री भैसकेको उपाध्ययले क्षेत्र नंबर १ को ३० प्रतिशत महिलाले पनि नचिन्ने दाबी गरे । उनले भने ‘उहाँ दुई पटक १० वर्षको लागि समानुपातीकबाट माननिय बनिसक्नुभएको छ, एकपटक जलश्रोत मन्त्री बन्नुभएको छ, यो भेगका २०–३० प्रतिशत जनताले पनि उहाँलाई देखेको छैन । महिला दिदिबहिनिहरुले सायद अहिले दुईचार दिन एता देख्नुभएको भएमात्र नत्र आजसम्म देख्नुभएको छैन भन्दै सिंहले भने ‘मन्त्री हुँदा, माननीय हुँदा नदेखेको मान्छे आज स्वयम् उम्मेदवार हुनुभएको छ ।’
‘चुनाव जित्ने, मन्त्री पड्काउने, अलिअलि कमाउने ५ वर्षसम्म ढुक्कले काठमाडौ्रमा बस्ने अनि चुनावको १५–२० दिन अघि आए उहाँले के भन्न थाल्नुभएको छ कि मैले नारी हक र हितको लागि आन्दोलन गरे महिला क्रान्ति गरे भन्नुहुन्छ’ डिनाप्रति कटाक्ष गर्दै सिंहले भने ‘उहाँले महिला तथा बालबालिकाको लागि र यहाँको विकासको लागि के गर्नुभो, यहाँ खहरे र खोलाले सकेको छ, त्यस्को संरक्षणको लागि के गर्नु भो त्यो उहाँले जवाफ दिनुपर्छ ।’ सिंहले उपाध्ययलाई महाअभियोग लागेका प्रधानमन्त्रीको घरमा गएर दलाली काममा लागेको आरोप पनि लगाएका छन् । उहाँले दलाली गरेर महिलाको मात्र हैन मकवानपुरको जनताको शिर निहुरीने काम गर्नुभएको – सिंहले भने ।
यसैगरी राप्रपामा सिंहसँगै रहेर काम गरेका कमल थापा प्रति लक्षित गर्दै एउटा जनजातीको छोरो अध्यक्ष भएको देख्न नसकेर राप्रपा विभाजन गर्दै एमालेको चुनाव चिन्हबाट उठेको आरोप लगाए । थापालाई मकवानपुरको सबै जनजातीले यो पटक बहिस्कार गर्नुपर्ने सिंहको भनाई छ ।
मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले खेलकुद क्षेत्रमा नीतिगत निर्णय गरेर काम गर्ने बताएकी छिन् । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट उम्मेदवार डिनाले मंशिर ४ गतेकाे निर्वाचनपश्चात जिल्लाको खेलकुद क्षेत्र र खेलाडीका लागि नीतिगत निर्णय गरेर देखिने गरी काम गर्ने बताइन् ।
कांग्रेस खेलकुद समन्वय प्रचारप्रसार उपसमितिले हेटौंडामा आयोजना गरेको खेलाडी भेटघाट तथा छलफल कार्यक्रममा डिनाले निर्माणाधीन गौरिटार रंगशालालाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता समेत जनाइन् । ‘खेल जगतलाई नेपाली कांग्रेस र गठबन्धनले महत्वपूर्ण रुपमा हेरेको छ’, उनले भनिन्, ‘देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान पु¥याउने खेलकुद र खेलाडीका लागि नीतिगत निर्णय गरेर अघि बढ्ने छाै । आगामी दिनमा खेल खेलेरै सम्मानपूर्वक बाँच्ने अवस्थाको निर्माण गर्नेछौं उनले भनिन् ।
आवश्यक पूर्वाधार निर्माणमा जोड दिदैं खेलका सबै विधालाई समान महत्व दिएर आवश्यक नीति निर्माण गर्ने डिनाको बताइन् । मकवानपुरका मतदाताको गुनासो र समस्या सुन्न र सकेसम्म समाधान गर्नका लागि नै प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएको उनले जानकारी दिइन् । निर्वाचनको खेलमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी लाग्न खेलाडी एवम् प्रशिक्षकहरुलाई उनले अनुरोध गरिन् । ‘मंसिर ४ गते हुन लागेको निर्वाचनको खेलमा गठबन्धनलाई जिताउनुहोस् । तपाईं खेलकुदकर्मीले कहिल्यै निराश हुन नपर्ने गरी काम गर्नेछौं’, डिनाले भनिन् ।
खेलकर्मीको समस्या समाधान गर्नेछौंः पराजुली
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार कांग्रेसका नेता आनन्दराम पराजुलीले खेलकुदकर्मीको समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । खेलकुद समन्वय प्रचारप्रसार उपसमितिको कार्यक्रममा उनले मंसिर ४ को निर्वाचन पछि बन्ने केन्द्र र प्रदेश सरकारले खेल क्षेत्रलाई विशेष प्राथामिकतामा राखेर काम गर्ने बताएका हुन् ।
मुलुकको विकास र समृद्धिका लागि गठबन्धन बनेको उल्लेख गर्दै उनले खेलकुद सहित सर्वाङ्गीण विकासमा काम गर्ने बताए । ‘हामी गर्नसक्ने काम मात्रै बोल्छौं । अरु जस्तो हावादारी आश्वासन र फोस्रा नारा बाँड्दैनौं’, पराजुलीले भने, ‘खेलसहित स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार विकास लगायतका क्षेत्रमा साझा योजना बनाएर काम गर्नेछौं ।’ खेल क्षेत्रसंग सम्बन्धित जानकारहरुसँगको छलफल र समन्वयमा यस क्षेत्रको समस्या समाधानमा अघि बढ्ने उनले प्रतिबद्धता जनाए । खेलमा आफू जित्न लागिपर्ने खेलाडीहरुले आफैं मैदानमा उत्रिएझैं गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न उनले अनुरोध गरे ।

थापा दाजुभाई एन्फा अध्यक्ष भएर मकवानपुरमा के गरे ? ः शेर्पा
कांग्रेसको खेलकुद समन्वय प्रचारप्रसार उपसमितिका संयोजक एवम् अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनको भाई गणेश थापाले लामो समय एन्फाको नेतृत्व गर्दा पनि मकवानपुरमा खेलक्षेत्रको विकासमा कुनै काम नगरेको आरोप लगाएका छन् ।
‘थापा दाजुभाईले लामो समय एन्फामा नेतृत्व गर्दा पनि मकवानपुरमा फुटबल र अन्य खेलको विकासमा कुनै काम हुन सकेन’, शेर्पाले भने, ‘अहिले ति असफल व्यक्तिहरु नै कोही उम्मेदवार, कोही जिताउने अभियानमा लागेको देखेको छु । आफ्नो पार्टीको चुनाव चिन्हबाट प्रतिपस्पर्धा गर्न नसक्नेले मकवानपुरको विकास गर्लान् भनेर आश गर्नु बेक्कार हो ।’ भूकम्प पीडितको लागि आएको पैसा समेत गणेश थापाले आफू निकटका व्यक्तिहरुलाई बाँडेको उनले आरोप लगाए ।
‘एन्फामा बर्षौं नेतृत्व गर्दा, पटक पटक मन्त्री हुँदा जिल्लाको विकासमा सिन्को नभाँच्नेले अब जितेर मकवानपुरको विकास गर्ला भनेर नसोचे पनि हुन्छ’, शेर्पाले भने, ‘गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय, आनन्दराम पराजुलीसहितका नेताहरुलाई जिताउनुहोस् वहाँहरुलाई खेल क्षेत्रमा कस्तो नीति तथा कार्यक्रम बनाउने भनेर हामी सहयोग गर्नेछौं ।’