मकवानपुर । मंसिर ४ मा हुने निर्वाचनका उम्मेदवारसंग नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले शैक्षिक अन्तरक्रिया गरेको छ । मकवानपुरका नेकपा एमालेका प्रतिनिधि तथा प्रदेश सभाका प्रत्यक्ष तथा समाउपातिक उम्मेदवारहरुसँग शैक्षिक अन्तरक्रिया गरिएको हो ।
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का कमल थापा,१ ख प्रदेश सभा एकलाल श्रेष्ठ ,प्रतिनिधि सभा क्षेत्र नम्बर २ का महेश बर्तौला र प्रदेश समानुपातिक उमेदवार नेकपा एमाले केन्द्रिय कमिटिका सदस्य भारती पाठक र अशोक ठकुरीको उपस्थितिमा शैक्षिक अन्तरक्रिया भएको हो ।
अन्तरक्रियामा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले एमालेसंग देशको विकास, समृद्धि र स्वाभिमानका निमित्त सदैव आफू लागेकाले बताए । शैक्षिक लगायतका राष्ट्रिय हितको पक्षमा रही जनताको भावनाअनुरुप अगाडि बढन एमालेको सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउनु पर्ने उनको धारणा थियो ।
यस्तै क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार एकलाल श्रेष्ठले शिक्षा ऐन संसोधन गरी शिक्षकका तमाम खाले समस्याको अन्त्यका लागि आफूले सक्दो प्रयास गर्ने बताए । मकवानपुरलाई शैक्षिक हबको रुपमा स्थापित गर्ने, प्राविधिक विश्वविद्यालय हेटौंडामा निर्माण गर्दै हेटौंडामै रोजगारीको सिर्जना गर्न आफू लागि परेको बताए ।
यसै गरि प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार महेश बर्तौलाले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको हल गर्न आफ्नो उम्मेदवारी रहेको जानकारी दिए । आफू बिद्यार्थी राजनीतिबाट यहा सम्म आएको भन्दै उनले भने नेकपा एमालेका उम्मेदवारहरुको जित पछि शैक्षिक क्षेत्रमा रहेका विकृति हटाउने छौ । उनले शिक्षकका पेशागतरुपमा देखिने समस्याको अन्त्यका लागि शिक्षकहरुसगै रहेर समाधानतर्फ अगाडि बढ्ने बताए ।
साथै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले देशमा दीगो शान्ति र समृद्धिका साथै शिक्षणलाई मर्यादित पेशा बनाउन र शिक्षकका अधिकारहरुलाई सुनिश्चित गर्न एमालेले जित्नु पर्ने जिकिर गरे ।
संगठन अध्यक्ष श्रीराम दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटिका सदस्य रघुनाथ खुलाल, एमालेका जिल्ला सचिव नवीन सिग्देल,जिल्ला सचिवालय सदस्य पद्मा पौडेल, इन्द्र नेपाल र नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य लक्ष्मी गजुरेल लगायतको उपस्थिति रहेको थियो।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार दीपक बहादुर सिंहले आफु भत्ता खान टोपी ढल्काउन र मन्त्री बन्न मात्रै सांसदमा जान नखोजेको बताएका हुन् ।
चुनावी प्रचार प्रसारको घरदैलो तथा कोण सभा गर्दै हेटौंडा ४ र ८ नम्बरमा उम्मेद्बार सिंहले आफु जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नको निमित्त ससदमा जान खोजेको बताएका हुन् । राप्रपा केन्द्रीय सदस्य रहेका सिंहले पार्टीमा अनेक संकट आउँदा चट्टान बनि उभिएको र हेटौंडाको विकासको निमित्त सँधै आवाज उठाउँदै आएको बताए । उनले स्थानीय तहमा जस्तो कुनै पनि कमजोरी नगरी कार्यकर्ताहरुलाई मतदान गर्ने शिक्षा देखि राजेन्द्र लिङ्देनले गरेका राम्रा कामको प्रचार गर्न आग्रह गरे।
यसपटक चुनाव जित्ने धेरै आधारहरु भएको भन्दै बर्तमान अवस्थाबाट जनतालाई बचाउन सके चुनाव जित्ने निश्चित भएको सिंहको भनाई थियो । उनले आफुले चुनाव जितेर गएको अवस्थामा जनताको हित हुने नीति निर्माण गर्न पहल गर्ने , युवा र विद्यार्थीहरुको विषयमा आवाज उठाउँने र मकवानपुरको विकासमा आहोरात्र खट्ने समेत बताए ।
मकवानपुर । मंशिर ४ को निर्वाचनमा उम्मेदवारहरु घरदैलो तथा प्रचार प्रसारमा ब्यस्त रहेका छन । मकवानपुर जिल्लाको २ प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ । राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने नेताहरुको कारण रोचक हुने निर्वाचनमा उम्मेदवार भने एजेन्डा बिहिन प्रचार प्रसारमा ब्यस्त देखिन्छन ।
स्थानीय आबश्यकता र मतदाताको इच्छा एका तर्फ रहेको सन्दर्भमा उम्मेदवारहरु पार्टी वा पार्टी नेताको बखान गर्न कि त प्रतिस्पर्धी उम्मेदवारलाई गाली गर्नै समय खर्चिरहेका छन ।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीको खुलेर प्रशंशा गरेका छन । एमालेको सूर्य चिन्हबाट मकवानपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार थापाले एमाले अध्यक्ष के पी ओली राष्ट्रियता बोक्न सक्ने आँटीलो नेता भएको बताए । नाकाबन्दीको समयमा लिएको चट्टानी अडान र राष्ट्रियताको सवालमा लिएका ऐतिहासिक निर्णयका आधारमा एमाले अध्यक्ष ओली राष्ट्रवादी नेता भएको थापाले बताए ।
शनिबार क्षेत्र नम्बर १ अन्तरगत्को बकैया गाउँपालिकामा आयोजीत चुनावी सभा र भेलामा थापाले केपी ओलीजस्तो एउटा दृढ आडन र राष्ट्रवादी सोच भएको नेतालेमात्र देशलाई संकटबाट मुक्त तुल्याउन सक्ने बताए । एक समय सरकारमा रहेर संगै काम गरेको बताउँदै उनले उक्त समयमा आफूहरुले राष्ट्र र राष्ट्रियताको सबालमा गरेका काम अहिले पनि सम्झन लायक रहेको बताए । थापाले भने ‘केपी ओलीसँग एउटै सरकारमा रहेर काम गर्ने अवसर पाएको थिएँ । हामीले भारतले गरेको नाकाबन्दीलाई परास्त गर्न सफल भयौँ ।’
थापाले ओलीले सरकारमा रहेका बेला गरेका गरेका दुई वटा कामका लागि ओलीलाई सधैँ देशले सम्झिने बताए । मधेशमा देखा परेको पृथकताबादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याउने काम ओली गरेको उनले बताए। त्यसैगरी लिम्पियाधुरा लिपुलेकसहितको नक्सा ल्याएर ओलीले देशलाई गुन लगाएको समेत उनले जानकारी दिए । त्यसै राष्ट्रवादी शक्तिले आउदो चुनाव जित्नुपर्ने उनले बताए ।
अहिलेको निर्वाचनले बिदेशीको इसारामा चल्ने कठपुतली सरकार बन्नबाट रोकेर राष्ट्रवादी सरकार गठन गर्ने अभिभारा एमाले नेतृत्वलाई दिने थापाको भनाई थियो ।
मकवानपुर । मंशिर ४ गते हुने निर्वाचनमा नेपाल परिवारदलले मकवानपुर जिल्लामा नेकपा एमालेलाई सहयाेग गर्ने भएकाे छ । एमालेबाट जिल्लामा उम्मेदवार बनेका प्रतिनिधिसभा तथा प्रदेश सभाका ६ जना उम्मेदवारलाई सहयोग गर्ने दलले जनाएकाे छ ।
शनिबार परिवार दलका तर्फबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि बहादुर लोप्चनले पत्रकार सम्मेलन मार्फत आफ्नो पार्टीले प्रतिनिधीसभा र प्रदेशसभा तर्फ एमालेका उम्मेदवारलाई मतदान गर्ने बताए । परिवार दलभित्र आवद्ध रहेका र बाहिर समेत रहेका आम नागरिकलाई एमाले नै राष्ट्रियताको पक्षमा उभिएको पार्टी भएकाले मतदान गर्न लोप्चनले आग्रह समेत गरेका छन् । परिवार दलले मकवानपुरमा एमालेका उम्मेदवारलाई सहयाेग गर्ने कदम सकारात्मक रहेको एमाले मकवानपुर प्रचार विभाग प्रमुख धुर्व प्रसाद चौलागाईले बताए ।
निर्वाचनमा एमाले तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा कमल थापा, क्षेत्र नम्बर–१ प्रदेशसभा क मा कमल विष्ट, प्रदेश सभा ख मा एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ मा महेश कुमार बर्तौला, क्षेत्र नम्बर–२ प्रदेश सभा क मा विष्णु प्रसाद ढकाल र प्रदेश सभा ख मा लाल बहादुर थापा उम्मेदवार रहेका छन् ।
मकवानपुर । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि दल संबद्ध उम्मेदवार चुनावी सभामा ब्यस्त छन । उम्मेदवारहरु कोणसभा तथा घरदैलो गर्दा समेत दलबल सहित ब्यस्त रहने गरेका छन । कतिपय उम्मेदवारहरु फरक दलका उम्मेदवारलाई गाली गर्नमै ब्यस्त रहेका छन् । अहिले दल मात्र हैन चुनावमा स्वतन्त्र उठेका ब्यक्तिहरुपनि समूह लिएरनै चुनावमा उत्रेका छन् ।
तर मकवानपुरका एकजना दलका उम्मेदवार भने फरक शैलीमा चुनावी अभियानलाई सञ्चालन गरिरहेका छन् । गाँजालाई बैधानिक बनाईनुपर्ने मुल मुद्दाको प्रतिबद्धता सहित चुनावी मैदानमा उत्रिएका छन राप्रपाको तर्फबाट उम्मेदवार राजन मैनाली । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नंबर २ का उम्मेदवार मैनाली गाजालाई बैधानिक बनाईनु पर्ने मुख्य एजेन्डा सहित चुनाव प्रचारलाई समेत फरक शैलीमा सञ्चालन गरिरहेका छन् । उनको कार्यक्रममा अरु दलको जस्तो तामझम देखिदैन भने कुनै मञ्च, सभाध्यक्ष र वक्ताहरु पनि देखिदैन । उनले निर्वाचन आयोगले दिएको उम्मेदवार परिचयपत्रको माला लगाउँदै एउटा हाते माईकको प्रयोग गरि आफ्नो क्षेत्रमा प्रचारमा छन् ।
मैनाली मतदाताले सुन्ने गरि आफ्ना एजेन्डा सुनाउने गर्छन । राजालाई आदर्श मान्ने पार्टीको उम्मेदवार भएपनि मैनालीको चुनाव प्रचारको तरिका भने कम्युनिष्ट झल्कने स्थानीय मतदाताहरुले बताएका छन् । उ बेला रुपचन्द्र विष्टले यसरीनै हाते माईक लिएर टोलटोलमा भाषण गर्दै हिडेको झल्को मैनालीको चुनाव प्रचारले दिएको बताउँछन् स्थानीय मतदाता । मैनालीको चुनावी एजेण्डापनि अन्य दलको जस्तो धेरै थरी छैन् । भौतिक निर्माण, स्वास्थ्य खानेपानी, शिक्षा आधारभुत बस्तु रहेको र त्यो निरन्तर विकास हुँदै जाने भन्दै मैनालीले यो पटक गाँजाको मुद्दालाई प्रमुख बनाएका छन् ।
आफूले उम्मेदवारी दिएको क्षेत्र नंबर २ मा गाँजाको कारण हजारौ युवाहरु अहिले जेलमा छन भने बैध भएको अवस्थामा लाखौ रुपैयामा विक्री हुने गाँजा अहिले गाउलेको लागि ‘नखाउ भने दिनभरीको शिकार। खाउँ भने कान्छा बाहुको अनुहार’ भन्ने उखान जस्तै भएको भन्दै आफूले सो मुद्दालाई महत्वको साथमा उठाएको बताए । गाजालाई बैध बनाउन सके मकवानपुरको मात्र नभएर देशकै आर्थिक अवस्थामा ठुलो परिवर्तन आउने बुझाई मैनालीको छ । नेपालको गाजालाई अबैध बनाउन दबाब दिने अमेरिका सहित पश्चिमाका धेरै मुलुकहरुले गाँजा प्रतिवन्ध फुकुवा गरिसकेको बताउँदै उनले नेपालले पनि अब ढिला गर्न नहुने बताउँछन् ।
जिल्लाको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, मनहरी गाउँपालिकाका केहि स्थानमा गाजको अबैधानिक खेती नै हुने गरेको छ । २ प्रतिनिधि सभा क्षेत्र रहेको ति पालिका जिल्लाको क्षेत्र नम्बर २ मा पर्छ । गाजालाई बैधानिक बनाउने गठबन्धनका उम्मेदवारहरुले समेत चुनावी सभामा बोल्दै आएका छन् । आफ्नो क्षेत्रमा गाजा उत्पादन हुने क्षेत्र रहेकोले मतदाता आकर्षित गर्न उम्मेदवारहरु गाजालाई चुनावी अस्त्र बनाउने गरेको स्थानीय बताउँछन् । गाजा ओसारपसारमा भरिया पक्राउ पर्ने तर मुख्य ब्यक्ति पक्राउ गर्न नसक्दा भरियाहरुले मुद्दा झेल्दै आएका छन् । चुनाव पछि जीत हासिल गर्ने उम्मेदवारले यसलाई कतिको सम्बोधन गर्न सक्छन् त्यो समयले बताउने छ ।