मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ गौरिटारस्थित धरान–चतरा सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएकोमा एक जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा हेटौडा-१८ हर्नामाडी ब्रदर्श चोक बस्ने बर्ष २८ को आशिस ढकाल रहेका छन । उनको दिउसो १६:१२ बजे डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार दिउँसो ३ बजेर ३५ मिनेटको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ढकाल र हेटौंडा १८ हर्नामाडीका २९ वर्षीय दीपु लामा घाइते भएका थिए ।
मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीका अनुसार घाइते दुबै जनाको शरिर र टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको थियो । घाइते दुबै जनालाई हेटौंडा अस्पतालमा ल्याइएकोमा ढकालको उपचारको क्रममा मृत्यु भएको कार्कीले बताए ।
दुर्घटना पछि फरार बस चालक प्रहरीको सम्पर्कमा आएको र दुर्घटनाको बिषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरण मापदण्डसम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । विहीबार बसेको स्थानीय भू–उपयोग परिषद्को बैठकले जग्गा वर्गीकरण मापदण्डसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको हो ।
स्थानीय भू–उपयोग परिषद्को असोज ३० गतेको बैठकबाट जग्गा वर्गीकरण प्रतिवेदन स्वीकृतिको लागि पेश भएको थियो । प्रतिवेदन स्वीकृतसंगै विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र संघीय भू–उपयोग परिषद्मा पठाइने हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन कानूनबमोजिम स्थानीय पत्रपत्रिका र पालिकाको वेभसाइटमा समेत राखिने उनले बताए ।
नयाँ वर्गीकरण अनुसार अब उपमहानगरको वडाहरुको भू–बनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकतासमेतको आधारमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, साँस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रमा वर्गीकरण हुने प्रवक्ता न्यौपानेले बताए ।
भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धमा स्थानीय भू–उपयोग परिषद्को २०७९ असार ४ गते बसेको बैठकबाट हेटौंडा उपमहानगरपालिका सीमा क्षेत्रभित्रको भू–उपयोग क्षेत्र वर्गीकरण कार्य अघि बढाउने निर्णय गरेको थियो । निर्णय बमोजिम गत असार २० गतेको नगरप्रमुख स्तरको निर्णयबाट जग्गा बर्गीकरणको कार्यलाई सहजीकरण गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । उनका अनुसार कार्यदलले नगरका सबै वडाहरुको समन्वयमा भेला राखी प्रतिवेदन तयार पारी भदौ ८ गते नगरमा पेश गरेको थियो । प्रतिवेदनमाथि सम्बद्ध शाखा र महाशाखाले अध्ययन गरी थप परिमार्जन गरेको थियो ।
कार्यदलले पेश गरेको प्रतिवेदनमाथि सरोकारवाला नगरबासीहरुको राय प्रतिक्रिया वा पृष्ठपोषण लिनका लागि भदौ १७ गते १५ दिने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो । यसैगरी, असोज २६ गते नापी कार्यालय मकवानपुर र मालपोत कार्यालय मकवानपुरलाई प्रतिवेदनमाथि राय प्रतिक्रियाको लागि पत्राचार गरिए थियो । दुबै कार्यालयबाट असोज २८ गते रायसुझावसहित प्रतिवेदन प्राप्त भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
प्रतिवेदनमाथि छुटपुट राय प्रतिक्रिया वा समावेश गर्नुपर्ने विषय भए पेश गर्ने प्रयोजनको लागि तीन दिनको समयावधि तोकी पुनः वडा कार्यालयहरुलाई पत्राचार गरिएको उनले बताए । तीन दिनको सुझावपछि असोज ३० गते बसेको स्थानीय भू–उपयोग परिषद्को बैठकबाट जग्गा वर्गीकरण प्रतिवेदन स्वीकृतिको लागि पेश गरेको थियो ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ख मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका एकालालले ६ हजार ३९६ मतसहित अग्रता बढाएका छन् । उनलाई राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानले ६ हजार ९१ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी सोही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले ५ हजार ५३९ मतसहित श्रेष्ठ र न्यौपानेलाई पछ्याइरहेका छन् ।
यस क्षेत्रमा हालसम्म २० हजार ५३३ मतगणना भएको छ ।
मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अग्रता लिएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै बर्तौलाले अग्रता लिएका हुन ।
८ हजार ७९६ मतगणना हुदाँ बर्तौलाले ४ हजार ८५४ मत प्राप्त गर्दा खतिवडाले ४ हजार ४४३ मत प्राप्त गरेका छन् ।
खतिवडा दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले भने १ हजार १८७ मत प्राप्त गरेका छन् ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– १ मा गठवन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । हाल सम्म यस क्षेत्रमा ११ हजार ५४ मतगणना भएको छ ।
जसमा डिनाले ५ हजार २१७ मत पाएकी छिन् । त्यस्तै सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३ हजार ६९३ मत पाएका छन् । थापा भन्दा डिना १ हजार ५२४ मतले अगाडि छिन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले १ हजार १० मत पाएका छन् । मतगणना जारी छ ।