मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शुक्रबार मनाइँदै गरिएको तमु अर्थात् गुुरुङ समुदायको नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले तमु अर्थात् गुरुङ समुदायमा प्रचलित पन्चांग अनुसार आजदेखि बाँदर वर्गको वर्ष समाप्त भएको छ र चरा वर्गको नयाँ वर्ष शुभारम्भ भएको भन्दै यसका अवसरमा शुभकामना दिएका हुन् ।
‘तमु ल्होछार’ गुरुङ समुदायमा नयाँ वर्षको रुपमा धुमधामका साथ मनाइने पर्व भएको प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ । ‘नववर्ष आरम्भको यस सुखद् घडीमा ल्होछार पर्व मनाउने समुदायका स्वदेश–विदेशमा रहनु हुने दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुप्रति सुख,शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख शर्माको शुभकामना छ ।
मकवानपुर । हेटौडा उपमहानगरपालिकाकाे बजेट आकार बढेकाे छ । गत असारमा सम्पन्न ११ औं नगर सभा अधिवेशनबाट आर्थिक वर्ष २०७९।०८० काे लागि स्वीकृत बजेटमा करिब ३४ कराेड बजेट बढेकाे हाे । उपमहानगरपालिकाकाे विहीबार सम्पन्न १२ औं नगर सभा अधिवेशनमा संसाेधित बजेट व्यक्तव्य मार्फत ३३ कराेड २१ बजेट आकार बढाइएकाे हाे ।
चालु आर्थिक वर्षका लागि स्वीकृत भएको हेटौंडा उपमहानगरपालिकाका बजेटको आकार छ महिना मै बढेको हाे । आर्थिक वर्ष २०७९/८० को लागि गत असार २० गते ११ औं नगर सभा अधिवेशनबाट २ अर्ब ७१ करोड ७९ लाख रुपियाँ बजेट स्वीकृत गरिएकाे थियाे । विहीबारकाे १२ औं नगर सभा अधिवेशनबाट संसोधित बजेटको आकार ३ अर्ब ५ करोड पुगेको छ । संसोधित बजेट बिहीबारको नगरसभाले सर्बसम्मत स्वीकृत समेत गरेको छ ।
संघीय सरकारबाट सरुवा भइ आउने कर्मचारी, आन्तरिक पदपूर्ति भएका करार कर्मचारीको तलब भत्ता र सञ्चालन खर्च, नगरकार्यपालिकाबाट निर्णय भएका कार्यक्रम खानेपानी न्यूनतम महशुल भुक्तानी, इन्जियरिङ कलेज सञ्चालन खर्च तथा गत आर्थिक वर्षबाट दायित्व सरी आएकाे खर्च भुक्तानी लगायतले थप बजेट र अन्य आवश्यक कार्यक्रमहरुका लागि आन्तरिक श्रोत व्यवस्थापन गरी संशोधित बजेट ३ अर्व ५ करोड पु¥याइएको उपमहानगरपालिकाकाे १२ औं नगर सभा अधिवेशनमा नगर उपप्रमुख राजेश बानियाले प्रस्तुत गरेकाे नीति कार्यक्रम एवम् बजेट समिक्षा सहितकाे संसाेधित वजेट वक्तव्यमा उल्लेख छ ।

उपमहानगरले चालु आर्थिक बर्षको हालसम्मको अवधीमा आय तर्फ संघीय सरकार समानिकरण तथा सशर्त अनुदान तर्फ ५५ करोड ४६ लाख ६ हजार, प्रदेश सरकार समानिकरण तथा सशर्त अनुदान तर्फ ३७ करोड ५० हजार, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाडफाँड तर्फ ६ करोड ७ लाख ६८ हजार र आन्तरिक श्रोत कर, राजश्व श्रोत र गत वर्षको समेत गरी ८७ करोड ८७ लाख ८ हजार आम्दानी गरेको बानियाँले प्रस्तुत गरेको वजेट वक्तव्यमा उल्लेख छ ।
उपमहानगरको खर्च तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १७ करोड ५८ लाख ६४ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ८० लाख ५२ हजार, पुर्वाधार विकास तर्फ १३ करोड ६९ लाख ९२ हजार, सामाजिक विकास तर्फ ३० करोड ७४ लाख १२ हजार, आर्थिक विकास तर्फ २ करोड ४० लाख ६४ हजार समेत गरी कुल ६६ करोड २३ लाख ८५ हजार रुपियाँ गरेको जनाएको छ ।
नगर सभामा प्रस्तुत प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको स्वीकृत २ सय ५८ योजना मध्य ४८ वटा सम्पन्न भएको र २ सय १० वटा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् । गत आर्थिक वर्ष २०७८।०७९ मा जिम्मेवारी सरेर आएका योजना मध्य ८४ वटा सम्पन्न भएका छन् ।
हेटौडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन हुने
हेटौडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन हुने भएकाे छ । १२ औं नगर सभाले हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान बिद्ययक, २०७९ सर्बसम्मत पारित गरे पछी प्रज्ञा प्रतिष्ठान गठनकाे लागि प्रक्रिया अघी बढ्ने भएकाे हाे । प्रज्ञा प्रतिष्ठान ऐन बनेपछी प्रतिष्ठान गठन प्रारम्भ हुने बताइएकाे छ । यस अघी मकवानपुरकाे बकैया गाउँपालिकाले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया थालिन गरिसकेकाे छ ।
यस्तै हेटौंडा उपमहानगरपालिकाले जनस्वास्थ्य सेवा विद्येयक, २०७९ समेत स्वीकृत गरेकाे छ । नगरसभाले हेटौंडा उपमहानगरपालिका बाल अधिकार संरक्षण नीति २०७९ समेत पास गरेको छ । हेटौडा उपमहागरपालिका बालबालिका सम्वन्धी ऐन, २०७७ को पहिलो संसोधन विधेयक, २०७९, हेटौडा उपमहागरपालिका शिक्षा ऐन, २०७४ को पहिलो संसोधन
विधेयक, २०७९, हेटौडा उपमहागरपालिका वातावरण संरक्षण ऐन, २०७७ को पहिलो संशोधन विधेयक, २०७९ समेत स्वीकृत गरिएकाे छ ।
२ वटा समिति गठन
यसैगरी उपमहानगरपालिकाकाे १२ औं नगर सभा अधिवेशनबाट स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार २ वटा समिति समेत गठन गरिएकाे छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा भएको व्यवस्था अनुसार हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केशीको संयोजकत्वमा विद्यायन समिति र हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीको संयोजकत्वमा लेखा समिति गठन गरेको हाे । उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको नगरसभा भएको हो ।

हेटौंडाको विकासका लागि एकतावद्ध भएर काम गर्ने संघ र प्रदेश सांसदको प्रतिवद्धता
हेटौंडाको विकासका लागि एकतावद्ध भएर काम गर्ने संघ र प्रदेश सांसदहरुले प्रतिवद्धता जनाएका छन् । हेटौंडा उपमहानगरपालिकाले गरेकाे मकवानपुर जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरुकाे स्वागत तथा बधाई कार्यक्रममा उक्त प्रतिवद्धता जनाइएकाे हाे ।
मकवानपुरबाट निर्वाचित भएका संघ र प्रदेशसभाका सदस्यहरुले हेटाैडाकाे विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रमका मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौंलाले हाम्राे आफ्नै नगरकाे विकासकाे लागि दल तथा गठबन्धन नभनी एक जुट भएर लाग्नु पर्ने बताए । ‘नगरकाे विकासकाे लागि बजेटकाे कमी छैन’ उनले भने– ‘गुणस्तरिय काम हुन जरुरी छ ।’
कार्यक्रममा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–२ को (१) बाट निर्वाचित प्रदेश सभा सांसद इन्द्र बहादुर बानियाँले हेटौंडाका सडक फराकिलो बनाउनुपर्ने बताए । सडक विकाससँग समेत जाेडिएकाेले आवश्यक पूर्वाधार नभएकाे तथा सागुराे सडकका कारण बजार विस्तार समेत गर्न नसिकएकाे भन्दै अहिलेपनि प्रदेशसभाका सदस्यहरु हेटौंडाको राजधानी सार्न लागिरहेकाे उनले बताए । अब राजधानी सार्ने हाेइन उपमहानगरपालिकालाई विकास गरेर महानगर बनाउनुपर्ने तथा प्रदेश राजधानी समेत यहीँ स्थायी बनाउनपहल गर्ने बताए ।

कार्यक्रममा एमालेका तर्फबाट विजयी मकवानपुर क्षेत्र नम्बर–१ को (२) का प्रदेश सांसद एकालाल श्रेष्ठले स्राेतमा धनी प्रदेशकाे एक मात्र उपमहानगरपालिकाले तत्कालिन गर्नुपर्ने काम र दिर्घकालिन कामहरु पहिचान गरी कार्य गर्नु पर्ने बताए । उनले करकाे दर भन्दा दायरा फराकिलाे पार्नु पर्ने बताएका छन् । यस्तै माओवादीका तर्फबाट विजयी मकवानपुर क्षेत्र नम्बर–१ को (१) का प्रदेश सांसद प्रेमबहादुर पुलामीले विकासकाे लागि सबै एकजुट भएर काम गर्नु पर्ने वताए । कार्यक्रममा प्रदेशसभामा मकवानपुरबाट एमालेका समानुपातिक सांसद भारती पाठक, कांग्रेसका समानुपातिक सांसद लक्ष्मी श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे लगायतकाले मन्तव्य राखेका थिए ।
विजयी प्रतिनिधि सभा तथा प्रदेश सभा सांसदहरुलाई नगर प्रमुख मिना कुमारी लामा उप प्रमुख राजेश वाँनियाले बधाई सहित मायाकाे चिना मकवानपुरे ठेकी प्रदान गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य राप्रपाका दिपक बहादुर सिंह तथा प्रदेश सभा २(१ ) का कुमारी माेक्तान उपस्थित थिएनन् ।
उकृष्ट २ वटा वडा पुरस्कृत
यसैबीच हेटाैडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा उत्कृष्ठ वडाकाे रुपमा २ वटा वडालाई नगद सहित सम्मान गरेकाे छ । गत आर्थिक वर्षमा वडाले गरेकाे वित्तिय प्रतिशतकाे आधारमा सम्मान गरेकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर १४ र १५ लाईं उत्कृष्ठ वडाकाे रुपमा सम्मान गरिएको हाे । वडा नम्बर १४ ले गत आर्थिक वर्षमा ९७.३८ प्रतिशत वित्तिय प्रगति हासिल गरी प्रथम भएकाे हाे । साथै वडा नम्बर १५ ले गत आर्थिक वर्षमा ९७.०६ प्रतिशत वित्तिय प्रगति हासिल गरी द्वितीय भएकाे हाे ।
प्रथम र द्वितीय हुने वडालाई सम्मान पत्र तथा क्रमशः नगद २० लाख र १५ लाखबाट प्रतिनिधि सभाका सांसद महेश कुमार बर्ताैला तथा प्रदेश सभाका सांसद इन्द्र बहादुर बानियाले सम्मानित गरेका हुन् ।


मकवानपुर । सिविन नेपाल मकवानपुरले जोखिम परिस्थितिका बालबालिकालाई सहयाेग गरेकाे छ । बालश्रम, बालविवाह तथा आर्थिक अभाव लगायतका जाेखिम परिस्थितको कारण पढाइबाट बालबालिका बञ्चित नहुन् भन्ने उद्देश्यले सहयाेग गरिएकाे सिविन नेपाल मकवानपुरले जनाएकाे छ ।
बालबालिकाले विद्यालयकाे पढाइलाई निरन्तरता दिन मनहरी भीमफेदी कैलाश बकैया गाउँपालिका र हेटौडा उपमहानगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २ सय ४० जना विद्यार्थीलाई सिविन–नेपालद्वारा संचालित बालहेल्पलाइनले शैक्षिक सहयोग एवं न्यानो कपडा वितरण गरेकाे सिविन नेपालका झविन्द्र ज्ञवालीले जानकारी दिए ।
मनहरी गाउँपालिका १६ वटा विद्यालयका २ सय ६ जना, श्रीकृष्ण मावि भैसेमा अध्ययनरत ५ जना, श्री कालिका मावि नामटार कैलाशका ७ जना, बंशगोपाल मावि हेटौंडा ६ चौघडाका ६ जना, नवज्योति मावि हेटौडा ७ नागस्वतीका ५ जना, प्रभात मावि बकैया ४ श्रीपुरका ५ जना, बकैया ५ कर्मप्राप्ती मावि कर्मचुली का ६ जना गरि जम्मा २४० जना विधार्थीहरुलाई सिविन–नेपालद्वारा संचालित बालहेल्पलाइनले शैक्षिक सहयोग एवं न्यानो कपडा वितरण गरिएको बालहेल्पलाइनले जनाएको छ ।
शैक्षिक सामाग्रीहरु विद्यालय पोशाक, स्वीटर, मोजा, झोलासहित स्टेशनरी सामाग्री वितरण गरिएको बालहेल्पलाइनका झबिन्द्र ज्ञवालीले जानकारी दिए । शैक्षिक सामाग्री वितरण कार्यक्रमा स्थानीय जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समिति, शिक्षक तथा अभिभावक समेतको उपस्थिति रहेको थियो । बालहेल्पलाइन १०९८ मा बालबालिकाको लागि शैक्षिक सहयोगको माग भए बमोजिम स्थानीय तह तथा विद्यालयको सिफारिसको आधारमा सहयोगको लागि छनौट गरिएको बताइएको छ ।
राहत, आयआर्जन एवं सिपमूलक तालिम प्रदान
सिविनले बालबालिकाको शिक्षामा सहयोग गर्नुको साथै मनहरी गाउँपालिका २, ६ र ८ नम्बर वडाका ३ जना बालबालिकाका अभिभावकलाइ कृषी खेतीको लागि आर्थिक सहयोग समेत गरेको छ ।
कृषी खेतीकालागि आलुको बीउ, भण्टाको बीउ, सीमी, टमाटर, गाजर, मूला, प्याज, लसुन आदिको बीउ साथै आवश्यक भिटामिन, किटनासक औषधी,औषधी छर्ने पम्प, रसायनिक मल, कुटो कोदालो लगायतका सामागीहरु उपलब्ध गराएको बालहेल्पलाइनले जनाएको छ ।
अभिभावको आय आर्जनमा बृद्धि भई बालबालिकाहरुले अध्ययनलाई निरन्तरताको लागि सहज होस भन्ने उद्देश्यले आयआर्जनमा सहयोग गरिएको बालहेल्पलाइनका ज्ञवालीले बताए ।
त्यसैगरि सिविनले ३४ जना विपन्न तथा विभिन्न कारणले जोखिमपूर्ण अवस्था र विद्यालय छोड्न सक्ने सम्भावना भएका बालबालिकाहरुलाई चामल, दाल, गेडागुडी, नुन ,तेल, साबुन लगायतका खाद्यान्न सामाग्री उपलब्ध गराइएको छ । मनहरी गाउँपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का ६ जना, वडा नम्बर ६ का १६ जना र वडा नम्बर ८ का ६ जना गरि ३४ जना विपन्न तथा विभिन्न कारणले जोखिमपूर्ण अवस्था र विद्यालय छोड्न सक्ने सम्भावना भएका बालबालिकालाई उक्त खाद्यान्न उपलब्ध गराइएकाे बालहेल्पलाइनले जनाएको छ ।
यस्तै सिविन–नेपाल मार्फत मनहरी गाउँपालिका वार्ड न ८ की १७ बर्षिय किशोरीलाई ६ महिने ब्यूटी पार्लर तालिम र मनहरी गाउँपालिका वार्ड न २ की १७ बर्षिय किशोरीलाई १ वर्षे कोर्ष कम्प्युटर तालिम तालिम प्रदान गरिरहेको ज्ञवालीले जानकारी दिए ।
मकवानपुर । संविधानमा भनिए झै शिक्षामा समान हक कहाँ छ ? मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा ६ रूपाचुरी,खरिवाङ्लगायतका बालबालिका बिद्यालय टाढा भएकै कारण बिचैमा पढाइ छोड्न बाध्य छन् । स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारको दायित्व के हो ? कस्लाई भनेर आफ्ना सन्तानको शिक्षा सम्बन्धी हकको रक्षा होला ? यहाँ बालविवाहको अवस्था पनि त्यस्तै डरलाग्दो छ । वडा अध्यक्ष युवराज थपलियासंगको कुराकानी भिडियाेमा हेर्नुहाेस
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाइदै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा १० औं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको हो ।
मन्त्रालयले मातहतका निकाय तथा सरोकारवाला संस्थाहरुसंगको सहकार्यमा दिवस मनाउने जानकारी पुस ८ गते पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । `पोल्ट्री सोको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधार हाम्रो प्रविद्धता’ नारा सहित मन्त्रालयले बागमतीमा पहिलो पटक यस दिवस मनाउन लागेको हो । पुस ११ गतेदेखि १७ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाइने मन्त्रालयका सचिव शरणकुमार पाण्डेले बताए ।
सरकारी स्तरबाट बारा जिल्लाको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको समुद्घाटन २०१७ साल पौष १७ गते भएकोमा उक्त दिनको ऐतिहासिक महत्वलाई दृष्टिगत गरी २०७० सालबाट हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसको रुपमा मुलुकभर विभिन्न कार्यक्रम सहित आयोजना गर्न थालिएको थियो ।
पुस ११ गते १३ वटै जिल्लाका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रहरुमा दिवसको विषयमा पत्रकार सम्मेलन गर्ने, सोही दिन कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट मन्त्रालयमा दिवसको कार्यक्रम समुद्घाटन गर्ने, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा पोल्ट्रीसँग सम्बन्धित संघ संस्थाहरुसँगको अन्तरकृया कार्यक्रम आयोजना गर्ने, पोल्ट्री क्षेत्र सम्बन्धी पम्पलेट तथा ब्रोसर लगायतका प्रसार सामग्री तयारी तथा वितरण गर्ने, पत्रपत्रिका लगायत विभिन्न मिडियाबाट प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।
पुस १२ गते स्थानीय तह तथा पोल्ट्रीसँग सम्बन्धित संघसंस्थाको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् सामुदायिक विद्यालयमा अण्डा तथा मासु उपभोगको महत्व बारेमा स्कुल शिक्षा कार्यक्रम सहित अण्डा खुवाउने कार्यक्रम आयोजना गर्ने, पुस १३ गते गर्भवती महिला, कुपोषण र पुड्कोपना भएका बालबालिकाहरुलाई अण्डा वितरण कार्यक्रम आयोजना गर्ने, नेपाल भेटेरिनरी एशोसियसनको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पुस १४ गते पोल्ट्री कृषकहरुलाई पोल्ट्री व्यवसाय सम्बन्धी सचेतना कार्यक्रम, पुस १५ गते पोल्ट्री क्षेत्रसँग सम्बन्धित र सान्दर्भिक लेख रचना पत्रपत्रिकाहरुमा प्रकाशन गर्ने, १६ गते श्रमिक बजारमा श्रमिकहरुलाई अण्डाको परिकार वितरण गर्ने र पुस समापन कार्यक्रम आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको अर्थतन्त्रमा विशिष्ट योगदान दिँदै आएको पोल्ट्री क्षेत्रको उचित सम्मान र सम्बोधन गर्दै राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सप्ताहव्यापी मनाउन मन्त्रालयले कार्ययोजना तयार गरेको पाण्डेले बताए । पोल्ट्री व्यवसाय वर्तमान अवस्थाको बारेमा समिक्षा गर्ने, पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रबर्द्धन गर्ने, पोल्ट्रीजन्य उत्पादको पोष्टिक महत्वको बारेमा आम उपभोक्तालाई जानकारी गराई दैनिक उपभोगको लागि आकर्षित गर्ने मन्त्रालयको लक्ष्य रहेको बताएको छ ।
प्रदेशभित्रका विभिन्न स्थानमा सञ्चालित पोल्ट्री व्यवसायले मुलुकको कुल मासु तथा अण्डा उत्पादनमा क्रमश: करिब २२ र ६० प्रतिशत योगदान दिदै आएको उनले बताए ।