मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा धारणा सार्वजनिक गरेकाे छ । संघले साेमबार विज्ञप्ती प्रकाशित गर्दै भनेकाे छ ‘हेटौडाकाे सडक विस्तार गर्दा मुआब्जा नपाएका घरधनीहरुलाई उचित व्यवस्थापन गर्नु पर्छ ।
हेटौडाकाे राताेमाटेदेखि राप्तिपुलसम्म मापदण्ड अनुरुप २५ मिटर सडक फराकिलाे बनाउने गरी डिभिजन सडक कार्यालय मकवानपुरले प्रकाशन गरेकाे सूचना स्वागतयोग्य रहेको समेत संघ महासचिव राजेन्द्रप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ।
सडक फराकिलो बनाउनुपर्छ तर विकासको नाममा मुआब्जा नपाएका घरधनीहरुको बास नै नहरने गरी सडकमा पुर्याउने कार्य जनताको अभिभावक बन्नुपर्ने सरकार पक्षबाट हुन नहुने विज्ञप्तीमा उल्लेख गरिएकाे छ । प्रदेश राजधानी समेत रहेको हेटौंडा साँघुरो सडकका कारण भीडभाड र दुर्घटना बढी हुने गरेको छ । सडक विस्तार हुनुपर्छ तर बाँकी मुआब्जा वा क्षतिपूर्ति र व्यवसायीको व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक समन्वय र सहकार्य गरिनुपर्ने संघको आधिकारिक धारणा भएकाे महासचिव चौलागाईद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
डिभिजिन सडक कार्यालयले सडक सिमाभित्र पर्ने संरचना हटाउन असार १० गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियाे ।

बिना बुढाथोकी
१.
घरनघाटकाे जिन्दगी मेराे बनाएर गयाै
मायाकाे परिणाम कस्तो जनाएर गयाै
अब मायाकाे बिकल्प अरू राेज्ने छैन,
म रूदा तिमीले खुसियाली मनाएर गयाै ।
२.
चढेर शिखर अरूलाई चढाउन सक्नुपर्छ
पढेर सहजै अरूलाई पढाउन सक्नुपर्छ
आज घाम पानी सहेर भाेलीकाे भविष्य साेच्दै,
हाँस्दै जिन्दगानी अगाडि बढाउन सक्नुपर्छ ।
३.
सुधार्ने गर केही तिम्रो बानी, हेर्न मन छ अझै
बनाई सुन्दर आँखाकाे नानी, हेर्न मन छ अझै
छैन त्यति मन दुखाउने खालकाे काम त कुनै,
तर राम्रो भएको जिन्दगानी, हेर्न मन छ अझै।
४.
अनगिन्ती मायाका रङ्गहरू फिजाएर गयाै
नभिजेका आँसुका परेली भिजाएर गयाै
रहिछाै साच्चै मायामा नाटक गरेकाे तिमीले,
निकाल्न गार्हो मुटुमा काँडा बिजाएर गयाै ।
सिद्ध कुमाख-१ उपल्लो बाँझकाँडा, सल्यान
मकवानपुर । मकवानपुरको बकैयामा ११ घरपरिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासी बकैया ५ ११ घरपरिवारलाई जग्गाधनी पूर्जा वितरण गरेका हुन् ।
बकैया-५ को राजदमार स्थित वडा कार्यालयमा कार्यक्रम गरी बकैया-५ का शुक्रबहादुर बुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार विक, शुसिला विश्वकर्मा, बाबुलाल थिङ, कमलबहादुर थिङ, हस्तबहादुर थिङ र लक्ष्मण थिङलाई जग्गाधनी पुर्जा वितरण गरिएकाे हाे । उनीहरुले ३४० वर्ग मिटर क्षेत्रफल जग्गाकाे पूर्जा प्राप्त गरेका हुन् ।
यसैगरी, बकैया ५ कै कान्छीमाया पुलामीले ३३८.२७२ वर्गमिटर र विनोद वाईवाले १५०.५२ वर्गमिटर क्षेत्रफलको जग्गा प्राप्त गरेको राष्ट्रिय भूमि आयोग मकवानपुरको जनाएको छ । आयोगको गत असार १३ गतेको निर्णय अनुसार उनीहरुले पूर्जा प्राप्त गरेका हुन् । वडामा लगत संकलन भएका ६४ घरपरिवार मध्ये ११ घरपरिवारले मात्रै पूर्जा प्राप्त गरेको र बाँकीको प्रकियामा रहेको बकैया ५ नम्बर वडा कार्यालयले जनाएको छ ।
धनीपुर्जा वितरण कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेल, प्रदेश सामजिक विकास मन्त्री कुमारी मोक्तान, प्रदेश सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । ‘कम्युनिष्ट आन्दाेलनकाे आवश्यकता एमाले पार्टी बलियो हुदाँ पुरा हुन्छ’ नेकपा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले बताएका छन् ।
एमाले केन्द्रीय संगठन विभागका प्रमुख समेत रहेका अधिकारीले नेकपा एमाले, मकवानपुरद्वारा ४५ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आइतबार आयोजित प्रवचन कार्यक्रममा एमाले बलियो हुदाँ कम्युनिष्ट आन्दोलनकाे आवश्यकता तथा समग्र मुलुककै आवश्यकता पुरा हुने बताएका हुन् । ‘नेपाली राजनीतिमा निर्णायक तथा आदर्श पार्टी निर्माण गर्ने अभियानमा एमाले रहेकाे छ’ अधिकारीले भने ‘समाजवादमा पुग्नको लागि संघीय लोतान्त्रिक गणतन्त्रको सुदृढ गर्दै राष्ट्रिययता, विकास र समृद्विको लागि मुलुकमा नेकपा एमालेको नेतृत्व विना सम्भव छैन ।’
नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानमा अधिकारीले भने ‘पार्टी स्थापना गर्नु, पार्टी निर्माणमा बैचारिक आधार खडा गर्नु र लोकतन्त्रको लागि संयुक्त जनआन्दोलनको प्रस्ताव महत्वपूर्ण रहेको थियाे ।’ ‘पुष्पलालकाे संयुक्त जनआान्दोलनको प्रस्तावलाई नेपाली काँग्रेसले नटेर्दा मुलुकमा २०१७ सालमा निरंकुश शासन आएको हाे’ उनले भने ‘प्रस्ताव स्वीकार्दा २०४६ र २०६२/०६३ सालको जनआान्दोलन सफल भयाे । लोकतन्त्र र गणतन्त्रकाे शासन हामीले अभ्यास गर्न पाएका छाै ।’
कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीले दुःख, कष्ट र संकटमा जो टिक्न सक्छ त्यहि नेता हुने पुष्पलालबाट सिक्नुपर्ने बताए । ज्ञवालीले मकवानपुर जिल्लालाई नेकपा एमाले बलियो पार्टी बनाउने र पहिलो बन्ने दावी समेत गरे । एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले पुष्पलालले युवा अवस्थामा विचार, संगठन र संघर्ष कम्युनिष्ट आन्दोलनमा विशेष योगदान रहेको बताए । पुष्पलालले क्रान्तिको शत्रु र मित्र छुट्याएर सही वर्ग विश्लेषण गरेकाेले आजको एमाले पुष्पलालको विरासत भएको रानाले बताए ।
माओवादी र एस परित्याग गरी एमाले प्रवेश
प्रवचन तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र, मकवानपुरका जिल्ला सदस्यहरू दिलबहादुर दोर्जे पाख्रिन, गंगा भट्टराई, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिना, राजप्रकाश भण्डारी, भरत लामिछाने, राजेश्वर दाहाल, जानुका संजेल, विष्णुमाया सापकोटा, गोविन्द देवकोटा, बकैया गाउँपालिका कमिटीका सदस्य कृष्ण बहादुर भोलनलगायत एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देलले जानकारी दिए ।
।
एमाले प्रवेश पछि दिल दोर्जे पाख्रिनले हिजो नौलो जनवाद, समाजवाद भन्दै कुर्सीलाई प्राथमिकता दिएको र माओवादी पार्टीमा विचलन भएकोले व्यक्तिवादी हावी भएको, जनता र मुलुकको भविष्य नरहेको बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य नारायण तिमल्सिनाले पार्टी विभाजन हुनु नेतृत्वको गल्ति भएको र मुहान सफा हुनु पर्ने बताए।
यस अघी नेकपा एमाले मकवानपुरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस हेटौंडा–५ स्थित जिल्ला पार्टी कार्यालय अगाडि रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरी मनाएको हो । दिवसकाे अवसरमा एमाले मकवानपुरले पार्टी कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेकाे थियो ।
पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य ज्ञवाली, केन्द्रीय सदस्यद्वय रामेश्वर राना, कृष्णप्रसाद दाहाल, प्रदेश सदस्यहरु क्रमशः अनन्त पौडेल, रघुनाथ खुलाल, नारायण सापकोटा, सचिव नवीन सिग्देललगायतकाको सहभागिता रहेको थियो ।
मकवानपुर । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको स्मृति दिवसको अवसरमा शनिबार नेपाली कांग्रेस मकवानपुरले चियापान तथा सम्मान कार्यक्रम गरेको छ ।
वीपीको ४१ औं स्मृति दिवसमा काग्रेस मकवानपुरले कांग्रेस पार्टी, भातृ तथा शुभेच्छुक संस्थामा मकवानपुर जिल्लाबाट मनोनित केन्द्रीय सदस्य र बागमती प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई सम्मानित गरेको छ ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा जिल्ला पार्टी कार्यालयमा भएको वीपी स्मृति कार्यक्रममा पार्टी र विभिन्न भातृ एवं शुभेच्छुक संस्थामा मनोनित भएका २३ जना कन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी र सदस्यहरुलाई बधाई सम्मान सहित चियापान कार्यक्रम गरिएको हो ।
कांग्रेस बागमती प्रदेशका संगठन विभाग प्रमुख माईकल रामचन्द्र अर्याल, जिल्ला सभापति लामा, जिल्ला उपसभापति आनन्द कठायतले वीपीले गरेको संघर्ष र योगदानको बारेमा चर्चा गरेका थिए ।
यस्तै लेखक संघ केन्द्रीय सदस्य ह्याग्रिव आचार्य र जिल्ला अध्यक्ष छवि अनित्यले कवितामार्फत वीपीलाई सम्झिएका थिए ।
१९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पन्चायती व्यवस्था ल्याई प्रजातान्त्रिक गतिविधिमाथी पूर्ण प्रतिबन्ध गरे पछि निर्वासित भएका थिए उनी ।
नेपालमा प्रजातन्त्रको पुन: स्थापनाका लागि कठोर संघर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका वीपीको २०३९ साउन ६ गते निधन भएको थियोे ।
वीपी नेपाली राजनीतिमा कुशल राजनितीज्ञका रुपमा चिनिनुका साथै नेपाली साहित्याकाशमा समेत उनको योगदान रहेको छ ।
चियापान तथा बधाई कार्यक्रममा निको अस्पताल प्रालि तमु फार्मेसीले स्वास्थ्य जाँचसमेत गरेको थियोे ।