मकवानपुर । विषालु च्याउ खाँदा मकवानपुरमा ६ जना बिरामी परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका–२ औडारमा विषालु च्याउ खाँदा ६ जना बिरामी भएका हुन् ।
उनीहरु मध्ये ३ जना एकै परिवारका हुन् । जंगली च्याउ खादा उनीहरु बिरामी परेका हुन् । राक्सिराङ–२ औडारका स्थानीय २६ बर्षीय विकास चेपाङ्, ६ बर्षीय सन्तोष चेपाङ, २४ बर्षीय सुनीमाया चेपाङ, २७ बर्षीय राजकुमार प्रजा, आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको वडा नम्बर दुईका वडाध्यक्ष बुद्धराम लामाले जनाएका छन् ।
विकास,सन्तोष र सुनीमाया एकै परिवारको भएको बुझिएको छ । च्याउ खाएपछि बान्ता आउनेलगायतका समस्या भएपछि उनीहरुलाई सरिखेत स्वाथ्य चौकीमा उपचार गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले बताए ।
सरिखेतमा सम्भव भएकोले उनीहरुलाई भरतपुर रिफर गरिएको छ । “उहाँहरुलाई आइसियु सहितको उपचार आवश्यक पर्ने देखिएकोले सरिखेत स्वाथ्य चौकीबाट भरतपुर पठाइएको हो” कार्कीले भने । मकवानपुरको राक्सिराङ, खैराङ, सरिखेत क्षेत्रमा जंगली च्याउ खाएर बर्सेनी ज्यान जाने गरेको छ ।
मकवानपुर । हेटौडामा रक फर भिजिविलिटी सांगितिक कार्यक्रम हुने भएकाे छ । हेटौडामा रहेकाे अनभिज्ञ आर्ट काेल्याव्रेसनले दृष्टी विहिनहरुको सहयोगार्थ रक सांगीतिक कार्यक्रम गर्ने भएकाे हाे । ‘रक फर भिजिविलिटी’ नारा सहित अनभिज्ञ हेटौंडाको आयोजनामा लाइभ सांगीतिक कार्यक्रम आयोजना हुने भएकाे हो ।
आगामी साउन २७ गते शनिबार माेटल एभाेकाडाेमा हुने कार्यक्रमको अनभिज्ञले मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । सांगीतिक कार्यक्रममा संकलित रकम ‘आर्ट एकेडेमी’ निर्माणकाे लागि सहयाेग गरिने आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार कन्सर्टमा अभय सुव्वाको सांगीतिक टोली अभय एण्ड दी स्टिम इञ्जिन, ब्लाइण्ड रक्स र दी फ्रिडम ग्रुप्सकाे प्रस्तुति रहनेछ । सांगीतिक कार्यक्रममा १० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेकाे छ ।
यसवर्ष नै अनविज्ञले देशको विभिन्न ५ शहरमा ‘आर्ट एकेडेमी’ स्थापनाका लागि सांगीतिक कार्यक्रम गर्ने तय भएको बताइएकाे छ । आर्ट एकेडेमी दृष्टिविहीन तथा अपाङ्गता भएकाहरुका लागि प्रयोगमा आउने जनाइएको छ ।
कार्यक्रको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । कार्यक्रमका लागि ब्लाइण्ड रक्स नामक गैरसरकारी संस्थाको समेत सहयोग रहेको आयाेजकले जनाएकाे छ ।

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ मा बागमती नदी बस्तीमा पस्दा ६ घर डुबानमा परेका छन् ।
सोमबार रातिबाट परेको अविरल बर्षाका कारण बागमती नदीमा आएको बाढि पाँच पाण्डप बस्तीमा पस्दा ६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक बहादुर कार्कीले बताए ।
प्रहरी चौकी झुरझुरेका प्रहरी सहायक निरीक्षक राधा कृष्ण कार्की सहितकाे टोली र स्थानीयकाे सहयाेगमा अहिले डुबानमा परेका घरका मानिस र मालसमान सुरक्षित स्थानमा सार्न थालिएको बताइएकाे छ ।
बागमती नदीले हेटाैडा धरान सडकखण्ड अन्तर्गत पाच पाण्डवमा कटान गर्दा एक तर्फी मात्र सुचारु रहेको मकवानपर कार्कीले बताए । उक्त सडकखण्डमा भारी सवारी साधनकाे आवागमनमा जोखीम युक्त रहेको प्रहरीले जनाएकाे छ ।
अबिरल बर्षका कारण मकवानपुरको बागमती–५ सिक्रे दोभानमा मंगलबार विहान पहिरो जाँदा अक्कल बहादुर स्याङ्तानकाे घर बगाएकाे छ । स्याङ्तानकाे घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने अक्कल बहादुरसँगै ६ जना बेपत्ता भएका छन् । वेपत्ता भएकाहरुकाे खोजी कार्य भइरहेको मकवानपुर प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण मंगलबार साउन २३ गते बिहान ४ बजेको पहिरोले घर बगाउँदा ७ जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
पहिरोमा परी घाइते सन्त माया स्यांतानलाई स्थानीयले उद्दार गरी स्थानिय स्वास्थ्य सस्थामा लगेकोमा उपचारको क्रममा बिहान ८:३० बजे मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
पहिरोमा परी बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती ४ वर्षीय मिलन पहरी, साढे १ वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका अन्दाजी १६/१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।
बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी रहेको कार्कीले बताए । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–५ स्थायी घर भएका अकलबहादुर स्याङतान मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा बस्दै आएको प्रहरीले जनाएको छ ।
मकवानपुर । २ दिनदेखि परेको निरन्तर वर्षाले हेटौंडाबाट काठमाडौ जाने २ वटा सडक अवरुद्ध भएको छ ।
प्रहरी चौकी भैंसे,मकवानपुरका अनुसार गएराती ८ बजे पहिरो जाँदा मकवानपुर भिमफेदी गाउँपालिका २ ज्यालटार स्थित हेटौडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौ सडकखण्ड अवरुद्ध भएको छ ।
यसैगरी मकवानपुर बकैया गाउँपालिका वडा ११ लामराङ स्थित कान्ती लोकपथ सडक खण्डमा पनि गएरातीको पहिरोले बाटो अवरुद्ध भएको छ ।
दुबै स्थानको जोखिमपूर्ण पहिरो भएकोले सडक विभाग संगको समन्वयमा आज बिहानबाट मात्रै बाटोको अवरोध हटाउन प्रयास थालिने मकवानपुर जिल्लाका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।