मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल बागमती प्रदेशकाे राजधानी हेटौडा आउने भएका छन् । भदौ २४ गते आइतबार हेटौंडामा हुने चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बाेधन गर्न प्रधानमन्त्री आउने भएका हुन् ।
शनिबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालले आइतबार हुने सन्देश सभाको जानकारी दिइएकी हुन् । भुसालका अनुसार हेटौंडा स्थित रोयल पार्टी प्यालेसमा हुने सभाकाे तयारी पूरा भएको छ । दिउँसो १२ बजेबाट सभा सुरु उनले बताइन् ।
सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने तथा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने बताइएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा वीपी काेइरालाकाे अर्धकदकाे प्रतिमा अनावरण गरिने भएकाे छ । जननायक तथा पूर्व प्रधानमन्त्री वीपी काेइरालाकाे अर्धकदकाे प्रतिमा अनावरण गर्न नेपाली कांग्रेस वरिष्ठ नेता शेखर कोइराला हेटौंडा आउने भएका छन् ।
भदौ २४ गते हेटौडा ११ स्थित वीपी बाटिकामा निर्माण गरिएकाे वीपीकाे प्रतिमा अनावरण गरिने कार्यक्रम रहेकाे तथा उक्त प्रतिमा अनावरण गर्न काेइराला हेटौडा आउने नेपाली कांग्रेस मकवानपुरले जनाएकाे छ । कांग्रेस मकवानपुरकाे आयोजना तथा वीपी विचार समाज मकवानपुरको संयोजनमा वीपीकाे १ सय १० औं जन्मजयन्तीकाे अवसरमा प्रतिमा अनावरण कार्यक्रम हुने शुक्रबार हेटौडामा पत्रकार भेटघाट मार्फत जानकारी गराइएकाे हाे ।
वीपी विचार समाज मकवानपुरले २४ गते नै वीपीको विचारको सान्दर्भिकताको विषयमा वीपी विचार विषयक गोष्ठी समेत आयाेजना गर्ने भएकाे छ । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार नेता डा. कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय राजनीति तथा कांग्रेसकाे पछिल्लाे समयकाे रणनीतिको विषयमा जानकारी दिने छन् ।
मकवानपुर । छाँयादेवी स्मृति मानव अधिकार सम्मान–२०८० बाट मानव अधिकारकर्मी तथा उपप्राध्यापक कृष्णप्रसाद दाहाल सम्मानित भएका छन् । नेपाल मानव अधिकार संगठन मकवानपुरले शुक्रबार सम्मान अधिवक्ता समेत रहेका दाहाललाई सम्मान गरेकाे हाे ।
नेपाल मानव अधिकार संगठन मकवानपुरकाे सातौं वार्षिक साधारण सभामा सम्मान कार्यक्रम समेत आयोजना गरी दाहाललाई नगदसहित सम्मान गरिएकाे थियाे । दाहाललाई प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले नगदसहित सम्मान गरेका थिए ।
कार्यक्रममा संगठनका प्रदेश अध्यक्ष एवम् जिल्ला अदालत बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतले महिला विरुद्धको भेदभाव सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । यसैगरी संगठनका कोषाध्यक्ष तेजकुमारी थापाले आर्थिक प्रतिवेदन र अध्यक्ष शर्मिला श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
संगठन अध्यक्ष शर्मिला श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका अधिकृत लोकनाथ घिमिरे, वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, संगठनका संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहाल, संगठनका प्रदेश अध्यक्ष अप्सरा बस्नेत, गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । सामुदायिक विकास तथा सचेतना नेपाल र समृद्धि फाइनान्स हेटौडाले वित्तिय साक्षरता र तिज विशेष कार्यक्रम गरेकाे छ । शुक्रबार सचेतना र समृद्धिले हेटौँडा ५ मा वित्तिय साक्षरता तथा तिज विशेष कार्यक्रम गरेकाे हाे ।
कार्यक्रमका आरती पाठकले हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्दै महीला उद्यमीहरुले काष्ठ हस्तकलाको उत्पादन र विक्रीलाई थप व्यवस्थापन गर्नका लागि वित्तिय साक्षरता कार्यक्रम महत्वपूर्ण रहेको बताइन् । कार्यक्रममा समृद्धि फाइनान्स हेटौँडा शाखाका गम्भीर बतौला, श्रीदा श्रेष्ठ र सम्झना पौडेलले वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण गरेका थिए ।
हेटौँडा ५ का महिला उद्यमीहरुको उपस्थिति रहेकाे कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपाल र समृद्धि फाइनान्स हेटौडाले सहभागीहरुलाई तिजको कोशेली प्रदान गरेकाे थियाे ।
सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, हेटौँडा उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य रन्जिता सिलवाल, समृद्धि फाइनान्सका शाखा प्रमुख निश्चल लम्साल सामुदायिक विकास तथा सचेतना नेपालका सचिब अनन्त कुमार बानिया, कोषाध्यक्ष सर्मिला अधिकारी लगायतको आथित्यतामा भएको थियाे ।
मकवानपुर । नेकपा एमालेले बागमती प्रदेशकाे प्रथम अधिवेशनकाे तयारी थालेको छ । एमालेकाे आगामी असाेजमा काठमाडाैंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनकाे लागि तयारी थालिएको हो ।
आगामी असाेज ८ र ९ गते काठमाण्डाैँमा हुने प्रथम बाग्मती प्रदेश अधिवेशनकाे लागि मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट १ सय २५ बरावर १ जना, मजदुर, पेशागत र उत्पिडित क्षेत्रबाट ५० जना बरावर १ जनाकाे व्यवस्था भएकाे र करिव १ सय जना प्रतिनिधि चयन हुने जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए । पालिकाकाे १०, मजदुर र पेशागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रकाे प्रतिनिधिसभा २ क्षेत्र गरि १३ वटा प्रतिनिधि छनाैट केन्द्र रहने छ । भाद्र २७ गते एकै दिन केन्द्रमा प्रतिनिधि छनाैट हुनेसमेत सचिव सिग्देलले बताए ।
यसैबीच पार्टीलाई बलियाे बनाउनकाे लागि नेता कार्यकर्ताले त्याग गर्न तयार हुनुपर्ने नेकपा एमाले केन्द्रीय पाेलिटव्यूराे सदस्य तथा मकवानपुर ईञ्चार्ज देवी ज्ञवालीले बताएका छन् । नेकपा एमाले मकवानपुरकाे १० औँ जिल्ला कमिटीकाे बैठकलाई सम्बाेधन गर्दै ज्ञवालीले विभिन्न पार्टीबाट प्रवेश गर्नेलाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै पार्टी बलियाे बनाउनु पर्ने बताए । पार्टी कामकाे जिम्मेवारी सहमति र समझदारीका साथ लिनकाे लागि उनले निर्देशन समेत दिए । ‘जनविराेधी शक्तिहरूकाे घेराबन्दीकाे बीचमा राष्ट्र र जनताकाे पक्षमा दृढतापूर्वक उभिएकाे एउटा मात्र पार्टी एमाले हाे’ उनले भने ‘एमालेका नेता, कार्यकर्ता त्यागी हुन आवश्यक रहेकाे र पार्टीलाई पहिलाे बनाउने सारथी बन्नु पर्छ ।’
पार्टी मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे बैठकमा पार्टी केन्द्रीय सदस्यहरू केदार न्याैपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्याैपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, प्रदेश कमिटी सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।