मकवानपुर । चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नति गरिने भएकाे छ । कैलाश गाउँपालिकाको मुख्य सडककाे सोमबार शिलान्यास गरिए पछि स्तराेन्नति गरिने भएकाे हाे ।
साढे ७ किलोमिटर उक्त सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालय चितवनकाे कार्यक्रमबाट अमृता/आकृति मालिका/गोले जेभी हेटौंडा–१ ले ठेक्का प्राप्त गरेकाे हाे । भ्याटसहित १४ करोड २१ लाख २९ हजार ५ सय ९० रूपैयाँमा ठेक्का सम्झौता भएको चुनियाँ–नामटार–कालिकाटार सडक स्तरोन्नतिको काम १८ महिनाभित्रै सम्पन्न गर्ने जनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले आफू निर्वाचित भएपछि सडक स्तरोन्नतिका लागि निरन्तर संघ र प्रदेश सरकारसंग पहल गरेको बताउँदै यसको परिणाम स्वरूप पछिल्लो समय बजेट विनियोजन भइरहेको जानकारी दिए । उनले सडक स्तरोन्नतिसहित कालोपत्रेको काम पनि अघि बढाउने दृढता व्यक्त गरे ।
यस्तै, गाउँपालिकाका उपाध्यक्ष बालकुमार ठकुरीले सबैको साथ सहयोगबाट मात्रै स्थानीय क्षेत्रको विकास हुने बताए । उनले सडक निर्माणका क्रममा निरन्तर निगरानी र अनुगमन गर्न स्थानीयलाई आग्रह समेत गरे ।
कैलाश–१० का वडाध्यक्ष सूर्यबहादुर ब्लोनको सभाध्यक्षतामा भएको सडक शिलान्यासमा कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलान, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, निर्माण व्यवसायी सुनिल गोले, स्थानीय कमल अर्याललगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १७ हटियामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा १७ का साइकल यात्री ५० वर्षीय धर्मराज पौडेल रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
आइतबार ५ बजेको समयमा हेटौडा १७ सानोगंगटेस्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट हात्तिसुडेतर्फ जादै गरेको ना.६ प.७१२ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै साईकल यात्री पौडेल लाई ठक्कर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पौडेलको टाउकोमा चोट लागेको तथा अबस्था गम्भिर रहेकोमा हेटौडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा थप उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल र चालक नियन्त्रणमा लिएको तथा थप अनुसन्धान भइरहेको जनाएको छ।
मकवानपुर । निर्धारित समय भन्दा डेड घण्टा ढिला सुरु बागमती प्रदेश सभाको आइतबारकाे बैठकमा प्रदेश मामिला समितिकाे प्रतिवेदन प्रस्तुत गरिएकाे छ । सभामा समितिले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि तयार पारेको प्रतिवेदन प्रस्तुत गरिएको हाे ।
प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त विधेयक प्रदेश सभामा प्रस्तुत गरेका हुन् । उक्त विधेयकमाथि प्रदेश मामिला समितिको आइतबार नै बसेको बैठकमा दफाबार छलफल गरी प्रतिवेदन तयार गरिएको थियो । आइतबारकाे बैठक अपरान्ह ३ बजेकाे लागि बाेलाइए पनि ४ः३० बजे सुरु भएकाे थियाे ।
बैठककाे कारवाही सुरु भएकाे सभामुखले जानकारी दिए लगतै नेकपा एमालेका मधुसुदन पाैडेलले इजरायलमा भएकाे हमासकाे आक्रमणबाट २१ जना नेपाली हताेहाती भएकाे अवस्थामा उक्त आक्रमणमा परेका नेपालीकाे यथार्थस्थिति सार्वजनिक गर्न र घाइते भएका नेपालीकाे उपचारकाे व्यवस्था गर्न प्रदेश सरकार मार्फत संघीय सरकारकाे ध्यानाकर्षण गरेका थिए ।
समितिकाे प्रतिवदेन प्रस्तुत भएसँगै प्रदेश सभाको अर्को बैठक भोलि असोज २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले स्थगित गरेका छन् । शुन्य तथा विशेष समय नरहेकाे आजकाे बैठक करिब ७ मिनेट बसेर सकिएकाे थियाे ।
मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम भएको छ । दुई दिनसम्म हेटौंडामा समिक्षा कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बार्षिक कार्यक्रम र भावी योजनाबारे प्रस्तुती प्रस्तुत गरेका थिए ।
वार्षिक समिक्षामा स्वास्थ्यको सूचकको आधारमा जिल्लाका ३ स्थानीय तहलाई सम्मानित गरिएकाे छ । थाहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । समिक्षा कार्यक्रममा सरकारी, गैरसरकारी संघ संस्था, जिल्ला आयुर्वेद, अस्पताल र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
१० वटै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेकाे समिक्षामा बर्षभरि गरेका कार्यक्रम र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुको बिषयमा छलफल भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उप सचिव हरीकृष्ण फुयाँल,स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भूषाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर प्रमुख डा.ललिता पाण्डे लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत भागरथप्रसाद रौनियारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलालको बिशेष आतिथ्यता तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको सभाध्यक्षतामा समिक्षा कार्यक्रम भएको हो ।
मकवानपुर । मकवानपुर प्रहरीले मनहरीबाट ८ लाख रुपैयाँ, लागुऔषध र माेटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ । असाेज २० गते शनिबार उनीहरुलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
उक्त नगद र लागुऔषधसहित कैलाश गाउँपालिका–८ का ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय राम बहादुर स्याङ्बो, मनहरी गाउँपालिका–४ रमनटार का ३० वर्षीय रामचन्द्र गोले, २० वर्षीय दलबहादुर मोक्तान र पर्सा जिल्लाको ठोरी गाउँपालिका–८ का ३२ वर्षीय जित बहादुर चापागाईलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएकाे गस्तीले मकहरी ६ नयाँबस्तीस्थित कुमार मोक्तानको घर अगाडि बाटोमा रोकिरहेको प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्दा ३ वटा बोरा र कालो कपडाको झोलामा लागुऔषध फेला पारेको थियो ।
मोटरसाइकलबाट कोडिन फोस्पेट ओनरेक्स ६ सय २ बोतल, चरेस २० ग्राम र ८ लाख नगद फेला पारेको थियो । लागुऔषध,नगद माेटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।