मकवानपुर । मकवानपुर जिल्लाकाे मनहरी गाउँपालिकामा आँखा शिविर सञ्चालन गरिएकाे छ । मनहरीकाे वडा नम्बर २ मा शनिबार ८ नं वडामा आइतबार आँखा शिविर सञ्चालन भएको हो ।
मनहरी गाउँपालिकाले आयोजना गरेकाे शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेकाे थियाे । शनिबार मनहरीकाे २ नम्बर वडामा सञ्चालन गरिएकाे आँखा शिविरमा २ सय ३३ जनाले सेवा लिएका थिए । सेवा लिएकाहरुमध्ये २४ जनामा मोतिविन्दु देखा परेको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।
यस्तै आइतबार ८ नम्बर वडामा सञ्चालन भएकाे शिविरमा आयोजीत शिविरमा २ सय ३१ जनाले सेवा लिएको दाहालले बताए । उनीहरुमध्ये १५ जनामा मोतिविन्दु देखा परेको छ । मोतिविन्दुको समस्या देखिएकाहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यकृया गरिने उनले बताए ।
चैत ६ गते २ नम्बर वडाका २४ जना र चैत ७ गते ८ नम्बर वडाका १५ जनाको माेतिविन्दुकाे शल्यक्रियाका लागि आँखा अस्पताल लैजाने तयारी गरिएको छ दाहालले जानकारी दिए । दाहालका अनुसार आगामी दिनमा सबै वडाहरुमा आँखा शिविर सञ्चालन गरिने छ ।
चितवन । नारायणगढ–मुग्लिङ सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार शनिबार राति रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बस ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो । बस टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किँदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षको हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बर नाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता रहेका छन् ।
बस चालक नवलपरासी (सुस्तापुर्व) कावासोती नगरपालिका–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर । मकवानपुरकाे कुलेखानीमा मोटरसाइकल दुर्घटना हुँदा १ जना घाइते भएका छन् । शनिबार कुलेखानी – सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २, सिमखोलामा मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका प्युठ गम्भीर घाइते भएका हुन्।
हेटौंडाबाट काठमाडाैं जाँदै गरेको लु ३४ प ३६०४ नम्वरको माेटरसाइकल दुर्घटना हुँदा चितवनको खैरेनी नगरपालिका वडा नम्वर १ घर भई दाङ रङसिंह दलमा कार्यरत नेपाली सेनाका प्युठ २९ वर्षीय यज्ञबहादुर मगर घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार घाइते मगरलाई उपचारको लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको तथा घटनाको अनुसन्धान भइरहेको छ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा कृशु अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ विमोचन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालकाे कविता संग्रह विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी विमोचन गरेको हो ।
पुस्तक विमोचन कार्यक्रममा सर्जक संजाल मकवानपुर अध्यक्ष निमेष निखिलले कविले समाजलाई सही बाटो पहिल्याउन र देखाउनु पर्नेमा जोड दिए । ‘साहित्य भाषामा अनेक विधा हुन्छन्’ निखिलले भने ‘कविता विधा अरु साहित्य भन्दा फरक हुनुपर्छ।’ साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्याम कुमार बानियाँ र आचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटाले कृशु अर्यालको कविता सङ्ग्रहको समिक्षा गरेका थिए ।
३७ वटा कविता समावेश भएको अर्यालको पुस्तकमा थोरै सम्पादनको खाचो आवश्यक रहेको बानियाँले औल्याएका थिए । अर्यालद्वारा लिखित पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको सापकोटाले बताइन् । पल्लवित पाइला अर्यालको पहिलो कृति हाे ।
स्थानीय पत्रपत्रिकामा प्रकाशित आफ्ना रचनाहरु समावेश गरी पुस्तक तयार गरेको अर्यालले बताइन् । स्कुलकाे माया, शिक्षक तथा हजुरबुवा दुण्डिराज पोखरेलको हौसलाले गर्दा पुस्तक प्रकाशनमा सहयोग मिलेको उनले बताइन् । उक्त पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा हुन् । दृढ स्वभाव भएकी कृशु अर्यालले सानै उमेरदेखि शब्द खेलाउँदै आएकाे विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीले बताए ।
प्रधानाध्यापक सुवेदीको अध्यक्षता तथा सर्जक सञ्जाल अध्यक्ष निखिलको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याल, विभिन्न साहित्य संस्थाका प्रतिनिधि तथा साहित्यकारलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । बागमती प्रदेशसभाको बुधबारको बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित भएको छ। चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरूको व्यवस्थापनका लागि गठित विशेष समितिले तयार गरेको उक्त प्रतिवेदनमा प्रदेशको समग्र विकासका लागि महत्वपूर्ण सुझावहरू समेटिएका छन्।
सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेसका सांसदहरूले प्रतिवेदनमाथि छलफल गरेका थिए। एमाले सांसद केशव प्रसाद पोखरेलले प्रतिवेदनलाई बजेट कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले सरकारलाई प्रतिवेदनमा उल्लेख भएका विषयहरू यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेका छन्।
अर्का एमाले सांसद भरतबहादुर केसीले सरकारलाई सन्तुलित विकास बजेट विनियोजनको निर्देशन दिएको बताए। कांग्रेस सांसद मदुकुमार श्रेष्ठले आर्थिक वर्ष अन्त्य तीर नजिकिँदै गरेकाले प्रतिवेदनका विषयहरू ३ महिनाभित्रै कार्यान्वयन गर्नुपर्ने बताए। छलफल समाप्त भएलगत्तै सभामुख पाठकले प्रतिवेदनलाई निर्णायार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
बागमती प्रदेशसभाको बुधबारकाे बैठक १५ मिनेट सञ्चालन भएर स्थगित गरिएको छ । बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पारित सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएका थिए ।