मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ मकवानपुरको १० औ जिल्ला अधिवेशन भोलि २८ भदौबाट सुरु हुदैछ । दुई दिनसम्म चल्ने अधिवेशन राष्ट्रिय युवा संघ केन्द्रिय अध्यक्ष क्षितिज थेबेले उद्घाटन गर्नेछन् ।
हेटौडा १३ पदमपोखरीमा हुने अधिवेशनको सम्पूर्ण तयारी सकिएको बिहीबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको थियो । अधिवेशनमा जिल्ला भरबाट २५० प्रतिनिधिले भाग लिने आयोजक कमिटी संयोजक राजेश नगरकोटीले बताए । अधिवेशनले आगामी २ बर्षको लागि ६ पदाधिकारी सहित ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
अबको संगठनको नेतृत्व गर्नको लागि आफू तयार रहेको अध्यक्षका आकांक्षी समेत रहेका आयोजक कमिटी संयोजक नगरकोटीले बताए । आफूलाई संगठनको जिम्मेवारी प्राप्त भएको अवस्थामा हरघरमा युवा संघको सदस्य बन्ने वातावरण बनाउने उनले बताए । जिल्लाको विभिन्न स्थानीय तहबाट प्रतिनिधिको रुपमा आएकाहरूलाई सहजताको लागि आयोजकले पदमपोखरीदेखि हेटौंडासम्म निशुल्क बस सेवा उपलब्ध गराएको नगरकोटीले बताए ।
केन्द्रिय अध्यक्ष थेबेलाई युवा संघले पदमपोखरी गुम्बाचोकमा पहिलो स्वागत गर्नेछ । त्यसपछि झाँकीसहितको मोटरसाइकल र्यालीले बजार प्रवेश गराउदै कार्यक्रम स्थल लगिने तयारी भएको छ । “यसको लागि हेटौंडा १२, १३,१४ का संगठन तथा पार्टी नेतृत्वले व्यवस्थापन गर्नेछ” नगरकोटीले भने । उद्घाटन कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने बताइएकोछ ।
पत्रकार भेटमा पार्टी प्रचार बिभाग प्रमुख उज्वल चौलागाईं, पार्टी उपसचिव आरति पाठक, प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त भएका छन् । बागमती प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बुधबारको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त उपाध्यक्ष पदमा सिन्धुपाल्चोकका नेपाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले आयोगमा २ सदस्य समेत नियुक्त गरेको छ । आयोगको सदस्यमा काठमाडौँका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान नियुक्त भएका छन् । श्रेष्ठ यसअघि पनि आयोगका सदस्य थिए । आयोगमा अझे २ सदस्य रिक्त रहेको छ ।
बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता लामिछानले समाजिक विकास मन्त्रालयको प्रस्ताव र खेलकुद मन्त्रालयको स्वीकृतीमा प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
यसैगरी श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृती प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
मकवानपुर । नेपाली कांग्रेसले मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गर्ने भएको छ । उक्त समिक्षा कार्यक्रमलाई सम्बाेधन गर्न ३० भदाैमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउने भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउने कांग्रेस मकवानपुरले बुधबार पत्रकार भेटघाटमार्फत् जानकारी गराएको हो । ‘पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो फटक हेटौंडामा कार्यक्रम हुन लागेको हो । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापश्चात् जिल्ला जिल्लामा पुगेर समीक्षा गर्ने भएको छ ।
कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण निर्वाचन समीक्षामा समेत ढिलाई भएकाे हाे । विभागले आफ्नो पहिलो कार्यक्रम बागमती प्रदेशको राजधानी मकवानपुरकाे हेटौंडाबाट ३० भदौमा सुरु गर्न लागेको पत्रकार भेटघाटमा बताइएकाे हो । हेटौंडामा हुने उक्त कार्यक्रमको तयारी सुरु भएको कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए ।
कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सबैलाई सहभागिताको लागि निमन्त्रणा गरिएकाे छ ।कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थितिका लागि भनेका छौं’ सभापति लामाले भने । भेलामा स्थानीय तह निर्वाचनको विषयमा समिक्षा र अबको दिनमा तय गरिने मार्ग निर्देशनबारे छलफल हुनेछ बताइएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा फ्रिडम फाइटर्स भेट्रान्स काठमाडौं र सिमरा भेट्रान्स बारा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रोटरी क्लव अफ मकवानपुरको आयोजनामा भएकाे प्रतियाेगिता अन्तरगत बुधबारकाे खेलमा युनिटी भेट्रान्स वीरगञ्जलाई ५–१ गाेलले पाखा लगाउँदै फ्रिडम फाइटर्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । बुधबार भएकाे दोस्रो खेलमा अभिषेक चर्च भेट्रान्सलाई टाइब्रेकरमा हराउँदै सिमरा भेट्रान्स क्वाटरफाइनल प्रवेश गरेको हाे । निर्धारित समयमा खेल एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो ।
रोटरी क्लव अफ मकवानपुरको आयोजनामा भएको उद्घाटन खेलमा नागस्वती भेट्रान्सलाई ट्राइबेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै चितवन भेट्रान्स विजयी भएको थियो । उक्त खेलमा चितवन भेट्रान्सले नियमभन्दा बाहिरका खेलाडी खेलाएको भन्दै नागस्वती भेट्रान्सले प्रोटेस्ट हालेको थियो ।
उजुरीका कारण चितवन बाहिरियाे
२४ भदाैमा प्रतियाेगिताकाे उद्घाटन खेलमा चितवन भेट्रान्स क्लवले नागरस्वती भेट्रान्स क्लबलाई हराएकाे थियाे । नागस्वती भेट्रान्सले चितवन विरुद्ध उजुरी गरे पछि नियम विपरितकाे खेलाडीलाई खेलाइएकाे पाइएकाेले आयोजक कमिटिले चितवनकाे जीतलाई मान्यता दिएन ।
चितवनले ३६ वर्षको एक जना खेलाडीलाई खेलाएकाे पाइएपछि चितवन भेट्रान्स विजयी भएपनि खेलको नियमानुसार नागस्वती भेट्रान्सलाई उद्घाटन खेलको बिजेता घोषित गरिएकाे आयोजकले जनाएकाे छ । नागस्वती भेट्रान्सले २८ भाद्र गते सेमिफाइनल प्रवेशको लागि फ्रिडम फ्राइटर भेट्रान्स काठमाडौंकाे सामना गर्ने भएकाे छ ।
भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको १५ टिमले सहभागिता जनाएका छन् । जलन प्राथमिक उपचार केन्द्र निर्माण सहयोगकाे लागि आयोजना गरिएकाे प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् ।
रोटरी मकवानपुरको आयोजनामा २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता संचालन भएकाे थियाे । हेटौडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।