मकवानपुर । ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ कलाकार नीर शाहलाई प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस वर्षकाे लागि उक्त पुरस्कार शाहलाई प्रदान गरिने जानकारी दिएको हो ।
प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले १ लाख राशीको पुरस्कार गीतकार शाहलाई प्रदान गरिने निर्णय भएको जानकारी दिए । मूलतः चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाह २०३२ सालदेखि निरन्तर नेपाली गीत लेखनमा समेत सक्रिय स्रष्टा हुन । उनले नेपाली गीत संगीतमा पुर्याएकाे योगदानको कदर गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर कलम चलाउदै आएका कलाकार शाहका पर्खी बसें आउला भनी.., बादल बनाइदेऊ.., गहिराइमा डुब्दै नडुब .. लगायतका गीत चर्चामा छन् । आगामी माघ १५ गते हेटौँडामा एक विशेष समारोहकाबीच नीर शाहलाई पुरस्कार समर्पण गरिने बताइएको छ । व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालमा पुरस्कारकाे स्थापना गरेका हुन् । २०६४ सालमा अम्बर गुरुङलाई ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिएकाे थियाे ।
त्यसपछि अम्बर गुरुङ- २०६४ प्रेमध्वज प्रधान- २०६५ भक्तराज आचार्य – २०६६, फत्तेमान राजभण्डारी- २०६७, शान्ति ठटाल- २०६८, दीप श्रेष्ठ- २०६९, प्रकाश श्रेष्ठ- २०७०, न्हुच्छेबहादुर डङ्गोल- २०७१, मीरा राणा- २०७२, कर्म योञ्जन- २०७३, चेतन कार्की- २०७४, दावा ग्याल्मो- २०७७, दीपक जङ्गम- २०७८, किरण प्रधान २०७९, राजेन्द्र थापा- २०८० पुरस्कृत भएका छन् । स्थापना हुँदा ५० हजार रुपैंया रहेकाे उक्त पुरस्कारकाे राशी २०६७ सालबाट बृद्धि गरी १ लाख रुपैंया पुऱ्याइएको छ ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा तरङ्ग साँस्कृतिक परिषद्को पहलमा ७ भाद्र २०५९ मा स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रकाे संस्था हाे । देश तथा विदेशमा रही नेपाली वाङमयकाे क्षेत्रमा उल्लेखनीय योगदान पुन्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको प्रतिष्ठानले जनाकारी दिएकाे छ ।
प्रतिष्ठान आफैंले स्थापना गरेकाे भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार (२०७७), भीम विराग राष्ट्रिय साहित्य पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय कला पुरस्कार (२०८०), भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार (२०८१) प्रदान गर्दै आएकाे छ । यसैगरी प्रतिष्ठानले तुलसीमाया – शिवकुमारी सिर्जनशील नारी पुरस्कार ( सस्थापक मुक्तिगोविन्द वैद्य, २०६०), भीम – मथुरा बाल प्रतिभा पुरस्कार (संस्थापक विन्दुगोपाल गोर्खाली, २०६०), कमला भवानी सङ्गीत पुरस्कार (सस्थापक घनश्यामशङ्कर शर्मा, २०६५) प्रदान गर्दै आएकाे छ ।
यस्तै शीला नारी सङ्गीत पुरस्कार (संस्थापक आशीष श्रेष्ठ, २०६५), हर्षनर बज्राचार्य स्मृति स्वर्ण पुरस्कार (संस्थापक ज्योतिरत्न बज्राचार्य, २०६६), विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार (सस्थापक चुनु बानियाँ, २०७०), चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार (संस्थापक रामबहादुर पाख्रिन, २०७१), मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार (संस्थापक देवप्रसाद श्रेष्ठ/दीपकप्रसाद श्रेष्ठ, २०७३), अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार (संस्थापक रोशन सेन गुप्ता, २०७४ ) पुरस्कार समेत प्रदान गर्दै आएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनप्रिय माध्यमिक (प्राविधिक शिक्षालय) ले ४९ औं स्थापना दिवस मनाएकाे छ । स्थापना दिवसको अवसरमा शनिबार विद्याललये रक्तदान कार्यक्रम गरेको छ ।
विद्यालयका शिक्षक, समितिका सदस्यहरू र स्थानीय व्यक्तिलगायत २४ जनाले रक्तदान गरेका अतिरिक्त तथा साँस्कृतिक विभाग संयोजक युक्तलाल विश्वकर्माले बताए । विद्यालयका प्रअ भुपेन्द्र चौलागाईंले रक्तदान गर्दै विद्यालयको सामाजिक उत्तरदायित्व बहनका लागि समेत यस्ता कार्य गर्नुपर्ने बताए । कार्यक्रममा हेटौडा १८ हर्नामाडीका हर्क रम्तेलले आफूले बिसौं पटक रक्तदान गरेको बताए ।
यस्तै स्थापना दिवसकाे अवसरमा शुक्रबार १ सय मिटर दौड, ४ सय मिटर रिले, म्याराथन, लङ्ग जम्प, हाइ जम्पलगायतका खेलकूदका विविध प्रतिष्पर्धा भएका थिए । यसैगरी शुक्रबार नै कविता तथा समीक्षा लेखन प्रतियोगिता सम्पन्न गरेको विद्यालयले आइतबार हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने साहित्य तथा बौद्धिक विभाग संयोजक संप्रस पौडेलले जानकारी दिए ।
‘समय समयमा विद्यालयले साहित्य, कला तथा लेखन शील्प मात्रै नभइ कृषिमार्फत् उत्पादनमूलक कार्यक्रमहरूका लागि कार्यशालामा जोड गरिरहेका छौं प्रअ भुपेन्द्र चौलागाईंले भने ‘कार्यक्रमका लागि साँस्कृतिक, साहित्यिक, सामाजिक सङ्गसंस्था र व्यक्तिहरूसँग सहकार्य गरिरहेका छौं ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास संयोजक तथा १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्य भएकाे कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रमुख कृष्ण घिमिरेको विशिष्ट आतिथ्य थियो । यस्तै जिल्ला रेडक्रसका सदस्यद्वय पिताम्बर बास्तोला र कृष्णबहादुर सापकोटा, इकाइका पदाधिकारीहरू, सामाजिक, राजनीतिक, शैक्षिक व्यक्तित्व तथा शिक्षक, विद्यार्थीहरूको उपस्थिति रह्यो ।
मकवानपुर । बागमती प्रदेशकाे धादिङ जिल्लाकाे रुबीभ्याली गाउँपालिकामा स्वास्थ्य शविर भएकाे छ । प्रदेश स्वास्थ्य मन्त्रालय जनस्वाथ्य कार्यालय धादिङको आयोजना र रुबीभ्याली गाउँपालिकाको ब्यबस्थापनमा समन्वयमा धादिङको विकट क्षेत्रमा रहेकाे रुबीभ्यालीमा ३ दिने स्वास्थ्य शिविर भएको हाे ।
शिविरमा बिभिन्न रोगका बिशेषज्ञ सहितको डाक्टरहरुद्वारा जाच तथा अन्य सेवाहरु प्रदान गरिएको थियो । शिविरमा हार्डजोर्जी तथा नशारोग, स्त्रीरोग सम्बन्धी, भिडियो एक्सरे सेवा, दन्त चिकित्सा सेव, नेत्र चिकित्सक द्वारा आँखा परिक्षण तथा तथा उपचार सेवा, बालरोग उपचार तथा ब्यबास्थापन, जनरल फिजिसियन द्वारा परिक्षण तथा उपचार सेवा,आयुर्बेद सेवा, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने,स्वास्थ्य आमा समुहमा पोषण मुख स्वास्थ्य तथा हातको सरसफाई बारे अन्तरक्रिया कार्यक्रम, विद्यालयको विद्यार्थीहरुको पोषण मुखको सरसफाई तथा हात धुने तरिकाबारे सिकाईरअन्तरक्रिया लगायतका सेवाहरु प्रदान गरिएको थियो ।
कार्यक्रमम ७३० जनाले उपचारात्मक सेवा पाएका थिए भने सेर्तुङ र तिप्लिङका समेत गरी १२५ जना आमालाई स्वास्थ्य शिक्षा दिइएको थियो । त्यसै गरी १०५ जना विद्यार्थीलाई विभिन्न विषयमा स्वास्थ्य शिक्षा प्रदान गरिएको थियो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापाले रुबिभ्याली गाउँपालिका लाई १ थान ग्रामीण अल्ट्रासाउन्ड मेसिन र २ थान अक्सिजन कन्सल्ट्रेटर हस्तान्तरण गरेका छन् । मन्त्री थापाले स्वास्थ्य सेवा दुर्गम देखि सुगम क्षेत्रमा पुर्याउने बताए । ‘स्वास्थ्य सेवा हरेक नागरिकको अधिकार भएको भन्दै यसको बिस्तारमा मन्त्रालयले काम गरिरहेको मन्त्री थापाले भने ।
बागमती प्रदेशका स्वास्थ मन्त्री किरण थापाको प्रमुख आतिथ्यता तथा रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङको अध्यक्षता कार्यक्रम भएको कार्यक्रममा पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य डम्बर तामाङ, रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्की, बागमती प्रदेश स्वास्थ मन्त्रालयका चिकित्सक महाशाखाका प्रमुख डा खगेश्वर गेलाल, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गगन अधिकारीलगायतको सहभागिता थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाकाे वडा नम्बर १९ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएकाे छ । शुक्रबार शुक्रबार हेटौंडा १९ नम्बर वडालाई नवौं स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
वडा कार्यालयबाट करिब १ घण्टाको दुरीमा रहेको ग्रामीण क्षेत्र ज्यामिरेको शेरशेरमा बालमैत्री वडा घोषणा कार्यक्रममा आयोजना गरिएकाे हाे । नगर प्रमुख मिनाकुमारी लामाले १९ नम्बर वडालाई नगरकाे नवौं निकृष्ट बालश्रम मुक्त, बाल बिबाहमुक्त तथा स्थानीय शासनयुक्त वडा घोषणा गरिन् ।
बालमैत्री वडा घोषणा गर्दै नगर प्रमुख लामाले वडाको आधा भन्दा बढी भूभाग ग्रामीण क्षेत्रमा रहेकाे भएपनि कार्यक्रम ग्रामीण भेगमा गर्दा फरक सन्देश दिएको बताइन् । उनले घोषणा मात्र प्रमुख नभएको भन्दै यस्को कार्यान्वयन महत्वपुर्ण भएको बताइन् । ‘घोषणा भएको कार्यले निरन्तर पाउनु महत्वपूर्ण हाे’ उनले बनिन् । नगरकाे विकट क्षेत्रलाईउपमहानगरले सन्तुलित बिकासको अबधारण अघि सारेको उनकाे भनाई रहेकाे छ ।
‘ग्रामीण भेगको कच्चिबाटोबाट डाँडापाखा चड्दै औपचारीक कार्यक्रम पुग्ने कुरा आम मानिसको सोच भन्दा बाहिरकै कुरा हो’ वडाध्यक्ष नरनाथ सुवेदीले भने ‘संघ/सस्था वा सरकारी निकायका औपचारीक कार्यक्रम शहर केन्द्रीत भैरहेको समयमा १९ नम्बर वडाले ग्रामीण क्षेत्रमा कार्यक्रम गरेकाे नयाँ सन्देश दिएको छ ।’
पूर्ण खोपयुक्त, पूर्ण साक्षर, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको १९ नम्बर वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचक पुरा भएकाेले बालमैत्री वडा घोषणा गरिएकाे हाे । ५१ वटा सूचकहरुमध्ये ४४ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९८ प्रतिशत्, ३ वटा सूचक ९५ प्रतिशत र १ वटा सूचक ९० प्रतिशत, १ वटा सूचक ८५ प्रतिशत, १ वटा सूचक ८० प्रतिशतसम्म नतिजा हासिल भएकाेले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हाे ।
वडामा घरधुरी तथ्याङ्ग संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३,३५० रहेको बताइएकाे छ । बालबालिकाकाे संख्या मध्ये १ हजार ७२७ बालक र १ हजार ६२३ बालिका रहेकाेमा ४८.४४ प्रतिशत बालिका र ५१.५५ प्रतिशत बालक रहेका वडा कार्यालयले जनाएकाे छ । यसैगरी १८ वटा बालसमूह र एउटा वडा बाल सञ्जालमा ४५० जना बालबालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ४९१ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेका छन् ।
यसैबीच शेरशेर ज्यामिरे क्षेत्रका लामा गुरुहरुले बालबिवहमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । लामाहरुले वडा बालश्रम र बालबिवाहमुक्त घोषणा भएकोले गाउँमा हुने कुनैपनि बालबिवाहको कार्यक्रममा सहभागी नहुँने प्रतिबद्धता जनाएका हुन् । बालमैत्री घोषणामा बौद्ध धर्मको बिधी अनुसार पुजा गर्दै स्थानीय लामा तथा पोन्बो समुहले २० बर्ष मुनीका बालबालिका बिच हुने बैवाहिक कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता जनाएकाे ध्यूमिग्य छोलिङ गुम्वाका दोर्जे लामाले जानकारी दिए ।
हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अघिकृत सुर्यप्रसाद गौतम, उपमहानगरका प्रवक्ता एवम् १ नम्बर वडाका अध्यक्ष सबिन न्यौपाने, उपमहानगरपालिकाका बिभिन्न वडाका अध्यक्षहरु, सामाजिक संघ/सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
यसअघि नगरका ८ वटा वडा स्थानीय शासनयुक्त घोषणा भएका छन् । हेटौंडाकाे ८,२,७,१७,९,४,१० र ११ वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका हुन् ।
मकवानपुर । बागमती प्रदेशकाे रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिकामा गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना भएकाे थियाे ।
उक्त दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।मृत्यु हुने अन्य एक जना हिराबहादुर कार्कीकाे सनाखत भएकाे छ । *कार्की उक्त गाडी चालक रहेकाे प्रहरीले जनाएकाे छ । मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक कार्कीको पनि घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आमाछोरीकाे मृत्यु भएकाे छ । गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाउने १ जनाकाे सनाखत हुन बाँकी रहेको रामेछाप प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगंगा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की रहेका छन् । अर्का एकजना घाइतेको पनि पहिचान खुलेको छैन ।
दुर्घटनामा घाइते तीनै जनालाई उपचारकाे लागि जिल्ला अस्पताल मन्थली लगिएकोमा थप उपचारकाे लागि काठमाडौ पठाउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ । शुक्रबार दिउँसो १ बजेर ५० मिनेटमा गोकुलगंगा गाउँपालिका–६ स्थित सिमलडाँडा भिरमा उक्त जिप अनियन्त्रित भइ तीन सय मिटर तल खसेको थियो । * सच्याइएकाे अपडेट समाचार– सम्पादक