मकवानपुर । विभिन्न घटनामा मकवानपुरका २ जनाकाे मृत्यु भएकाे छ । १ जनाकाे भीरबाट लडेर र अर्का १ जना हाेटलमा लडेर मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्लाकाे इन्द्रसरोवर गाउँपालिका ३ बस्ने ५० वर्षीय शर्मिला डिम्डुङग इन्द्रसरोवर ४ पौवा स्थित डाँडाबाट लडी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । २२ मंसिरमा स्थानीय चन्द्र बहादुर डिम्डुङगको श्रीमति शर्मिला कुलेखानी जान्छु भनी घरबाट हिडेकाेमा बेलुकासम्म घर फिर्ती नभएपछी खोजतलास गर्दा उक्त डाडाँबाट ५० फिट तल खसि पौवाखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।
यसैगरी बारा जितपुर सिमरत उपमहानगरपालिका वडा नम्बर २२ अमलेसगञ्ज स्थित क्वीक २० हाेटलमा काम गर्ने १ जनाकाे साेही हाेटलमा लडेर मृत्यु भएको छ । २३ मंसिर विहान मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी बस्ने ५५ वर्षीय बिजय थिङ होटलमा लडी घाइते भएका थिए । थिङलाई उपचारको लागि सीएमसी चुरेहिल अस्पताल हेटौडा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर । नेपाली कांग्रेस र नेकपा एमालेको बागमती प्रदेश संयन्त्रको बैठकले प्रदेश सरकारले गरेको निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्दै जनचाहना अनुरुप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
दुई दलीय संयन्त्रको आइतबार काठमाडौंमा बसेको बैठकले गत ११ असोज १३ असोजसम्म आएको बाढीपहिरोबाट प्रदेशभित्र क्षति संरचनाको पूर्ननिर्माण र विस्थापितलाई पूर्नस्थापनाको लागि आवश्यक बजेट ब्यवस्था गरि तत्काल कार्यान्वयन गर्न बागमती प्रदेश सरकालाई निर्देशन दिईएको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरु दुई दलको आपसी सहमतिमा टुग्याउनुका साथै समस्याग्रस्त सहकारीको पहिचान गरि कोहीपनि सदस्य पीडित नहुने ब्यवस्था गर्न निर्देशन दिएको सचिव नेपालले बताए ।
बैठकले स्थानीय तहको उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, पर्यवेक्षक, मतलदातालगायतलाई प्रदेशस्तरीय दुई दलीय संयन्त्रले धन्यवादसहित आभार प्रकट गरेको छ । बैठकमा कांग्रेसको तर्फबाट सभापति बानियाँ, मूख्यमन्त्री बहादुर सिंह लामा र उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट प्रदेश इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल र संसदीय दलका नेता जगन्नाथ थपलियाको सहभागिता रहेको थियोे ।
काठमाडौं । प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मुस्कान ढकालको निर्देशन रहेको प्रेम भावको गीतको भिडियोमा रमेश विश्वकर्मा, कविता नेपाली, दीपज्योति थापा, प्रकाश सुनार, दीपक पराजुली, पार्वती पराजुलीलगायतको अभिनय छ । उत्तम हुमागाईं र टिमको छायांकन रहेको गीतको भिडियोमा विकास दाहालको सम्पादन छ ।
भिडियो सुमी पराजुलीको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
मकवानपुरका घरबारी तथा खेत यती बेला ताेरी फुलेर पहेंलपुर भएकाे छ । तोरी फुलेपछि वातावरण निकै मनमोहक देखिएको छ। तोरीको फूलले माहुरीलाई आकर्षित गर्ने गर्छ । मौरीले यो मौसमकाे ताेरीकाे फूलबाट मह बनाउने गर्छ जुन स्वास्थ्यकाे लागि समेत लाभदायक मानिन्छ ।
तोरीकाे बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन प्रयोग गरिन्छ। तोरी नेपालको मूख्य तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती हुने गर्छ ।

काठमाडौं । विभिन्न कारण अभिभावक विहिन हुन पुगेका बालबालिकालाई बाल मन्दिरहरूमार्फत् संरक्षणमा राखी अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बाल संगठनको कामको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रसंशा गरेका छन् ।
बालबालिकाको हक हितका लागि कार्य गर्ने सबैभन्दा पुरानो, ठुलो र शसक्त सस्था नेपाल बाल संगठनद्वारा आयोजित पुनर्मिलन तथा पुनर्ताजगी कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले शनिबार बाल संगठनकाे प्रसंशा गरेका हुन् । बाबुआमा तथा अभिभावक नभएका, विभिन्न कारण आफन्त नभएका, परिवारबाट अलग भएका, परिवारले त्याग गरेका, जोखिममा रहेका तथा बाबुआमासँग भएर पनि कैद जीवन बिताइरहेकाकाे संरक्षक बनेकाे बालबालिकाको सरोकारको संगठनकाे यो महत्वपूर्ण कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुसी लागेको प्रदेश प्रमुख देवकाेटाले बताए ।
पूर्व रास्ट्रपति बिद्या देवी भण्डारीसमेतको उपस्थिति रहेकाे कार्यक्रममा उनले भने “भिन्न परिस्थितिबाट आएका नानीबाबुको खानपान, बास, स्नेह, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, परामर्श, भबिष्यको गोरेटो देखाउने यी सब कार्य कुनै चानचुन कुरा होइनन् ।” बालबालिकाहरूमा असीमित क्षमता हुने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले बाज चराजस्तो गगनमा बिचरण गर्ने थुप्रै बालबालिका पालुवा निमोठिएको बिरुवा जसरी बाँचिरहेका बताए ।
राज्यको मात्र मुख नताकी अबोध नानीबाबुको भबिष्य कोर्न लागिपर्ने नेपाल बाल संगठन तथा बाल मन्दिर र बालबालिकाको क्षेत्रमा काम गर्ने सम्पुर्ण सँस्था र सरोकारवाला सबैमा उनले हार्दिकता व्यक्त गरे । “नेपालको संविधानले मौलिक हक अन्तर्गत बालबालिकाको हकसम्बन्धी व्यवस्था उल्लेख गरेको स्मरण गर्दै बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक तथा संवेगात्मक विकासमा सबैले पहल गर्नुपर्छ” उनले भने ।
“बालबालिकाको आधारभूत आवश्यकता, प्रतिभा पहिचान र प्रस्फुटनमा गरिने मन ,धन ,वचन र कर्मको लगानी सबैभन्दा महत्वपूर्ण कार्य हाे” प्रदेश प्रमुख देवकाेटाले भने “राज्य र मनकारी दाताहरूले नेपाल बाल संगठन र बाल मन्दिरको नाममा अर्पेको भौतिक सम्पतिको बारेमा कता कता नरमाइला कुरा सुन्न परेकोले दुख लागेको छ ।” सम्बन्धित निकायले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए । “समयको खेलले आफन्तसँग बिछोडिए पनि मिलनका दिनले पर्खने छ” उनले भने “आज यो पुनर्मिलनको पलको साक्षी बन्दा ममा बेग्लै अनुभुती भएको छ, म भावुक भएको छु ।”
२०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले ६ दशक पार गरेको छ । नेपाल बाल संगठनको स्थापना पश्चात बालमन्दिर भवन निमार्ण गरी विभिन्न जिल्लाहरुबाट प्रतिकूल परिस्थितीमा रहेका बालबालिकाहरुको लागि आवास तथा बालमन्दिर विद्यालय संचालन गर्दै आएको अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन् । “समृद्ध राष्ट्रको मूल आधार, सुरक्षा र मुस्कान सहितको बाल अधिकार” भन्ने नाराका साथ संगठनले काम गरिरहेको अध्यक्ष न्यौपानेले बताइन् ।