मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्काे बिहीबारकाे बैठकले विभिन्न निर्णयहरु गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नुवाकोट म्यागङ गाउँपालिका–४ की लामालाई प्रदेश सिटीइभिटीको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएकी लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य छिन् भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयको सबलीकरणका लागि १० लाख रुपैयाँ अख्तियारी दिने निर्णय गरेको छ । लामिछानेका अनुसार बैठकले प्रदेश औद्योगिक तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ । यसैगरी अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड, तामिल सञ्चालन कार्यविधि, प्रविधि हस्तान्तरण कार्यविधि, प्रदेश नीति तथा योजना आयोगको वार्षिक आयोजना छनौट कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ । बैठकले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक तर्जमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
यसैगरी प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ ।रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेटकाे अख्तियारी दिने निर्णय गरेको लामिछानेले जानकारी दिए । अनुदानका रूपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय गरेको हो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३ जना र प्रदेशमा हालै बढुवा भएका एक जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा निर्माण भइरहेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेटकाे अख्तियारी दिने निर्णय गरेको हाे ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अनुसार भरतपुर महानगरपालिका र बागमती सरकारको साझेदारीमा निर्माण भइरहेको उक्त रंगशाला निर्माणका लागि अनुदानका रूपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय गरेको हो । उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुरले ३० प्रतिशत लागत साझेदारी गर्ने सहमति गरेको थियो ।
बागमती प्रदेश सरकार र भरपुर महानगरपालिका चितवनले रंगशाला निर्माण गर्ने गरी गत २१ कार्तिक २०८० मा सम्झौता गरेका थिए । २३ माघ २०८० काे प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख बजेट स्वीकृत गरेकाे थियाे ।
तत्कालिन प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला निर्माणका समझदारी पत्रमा हस्ताक्षर पछि बजेट जुटाउन स्राेतकाे खाेजीलाई तिब्रता दिइएकाे थियाे । उक्त अवधि अघी रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्ने गरी प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरी तत्काल निर्माण गर्ने गरी सम्झौता भएकाे थियाे ।
भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने छन् । यसअघि रंगशाला निर्माणका लागि २३ असार २०८१ मा बागमती प्रदेश सरकारले १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको थियाे । उक्त रकम भरतपुर महानगरपालिकाकाे नाममा अख्तियारी दिने निर्णय भएकाे थियाे ।
आर्थिक वर्ष २०८०।०८१ वर्षको लागि उक्त रकम रकमान्तर गरी भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएकाे थियाे ।
चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २२ साउन २०७८ बाट पूर्ण रुपमा रोकिएको थियो । अब बाँकी संरचना भने बागमती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउने छन् । महानगरले संघीय सरकारसँग पनि रंगशाला निर्माणकाे लागि रकम माग गरेकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुरगढी पत्रकार समाजकाे अध्यक्षमा रेवतिप्रसाद तिमल्सिना (नवीन) चयन भएका छन् । पत्रकारहरूकाे साझा संस्था समाजकाे बिहीवार गाउँपालिका केन्द्र मक्राञ्चुलीमा भएकाे प्रथम अधिवेशनले तिमल्सिनाकाे नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
तिमल्सिना मकवानपुरमा रहेर एक दशक भन्दा लामाे समयदेखि पत्रकारितामा सक्रिय छन् । मकवानपुरगढीमा छापा सञ्चार माध्यमसमेत सञ्चालन गरिरहेका उनी अनलाइनखबर डटकमकाे मकवानपुर संवाददाता र हेटाैंडाकाे साझाकुरा दैनिकमा कार्यरत छन् । यसैगरी, समाजकाे उपाध्यक्षमा मनाेज देवकाेटा, सचिवमा श्रीराम दहाल अर्जुन, काेषाध्यक्षमा अशाेक बजगाईं, सअसचिवमा भुवन घलान (साेमलाल) चयन भएकाे छन् ।
यस्तै सदस्यहरूमा सञ्जिव सुनार, अञ्जना तामाङ न्यासुर, आँचल घिमिरे र सुमिना चाैलागाईं चयन भएकाे निर्वाचन समिति संयाेजक तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले जानकारी दिए । पुस २०७७ मा स्थापित मकवानपुरगढी पत्रकार समाजमा करिब ४० जना पत्रकारहरू आबद्द रहेका छन् । मकवानपुरमा पत्रकार महासंघ जिल्ला समितिपछि पत्रकारहरूकाे साझा संस्थाकाे रूपमा गठित याे समाज दाेस्राे हाे ।
मकवानपुरगढी पत्रकार समाज सदस्यहरु हालै सम्पन्न पत्रकार महासंघकाे निर्वाचनबाट विभिन्न पदमा निर्वाचित भएका छन् । बागमती प्रदेश उपाध्यक्ष, जिल्लाका उपाध्यक्ष, दुई जना सहसचिव, दुई जना कार्यसमिति सदस्य, केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यमा गरि कुल ८ जना समाजका सदस्य पत्रकार निर्वाचित भएका थिए ।
गाउँपालिका अध्यक्ष दाेर्जे लामा स्याङ्तानले समाजसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै गाउँपालिकाकाे समग्र विकासमा पत्रकारहरूकाे महत्वपूर्ण साथ चाहेकाे बताए । उनले मकवानपुरगढीका पत्रकारहरूले सहयाेगकाे खुलेर प्रशंसा गरे । निवर्तमान अध्यक्ष हुमागाईंले पत्रकारहरूकाे साझा संस्थाकाे रूपमा रहेकाे याे समाजबाट स्थानीय सरकारले धेरै अपेक्षा राख्ने बताउँदै राम्राे पक्षमा साथ दिने र कमिकमजाेरी देखिए सचेत गराउनेसम्मकाे भूमिका निर्वाह गर्न पत्रकारहरूलाई आग्रह गरे ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष दाेर्जे लामा स्याङ्तानकाे प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष सरिता दाहालकाे सभाध्यक्षतामा भएकाे अधिवेशनमा गाउँपालिकाकाे निवर्तमान अध्यक्ष बिदुर हुमागाईं, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे, २ नम्बर वडाका वडाध्यक्ष बखान सिं पाख्रिन, ४ नम्बर वडाका वडाध्यक्ष अर्जुन तिमल्सिनालगायतकाे आतिथ्यता रहेकाे थियाे ।
महासंघमा निर्वाचित ८ जनालाई स्वागत सम्मान
यसैबीच २८ मंसिर २०८१ मा भएकाे पत्रकार महासंघकाे केन्द्र, प्रदेश र जिल्ला समितिकाे निर्वाचनबाट निर्वाचित ८ जना समाजका सदस्यहरूलाई सम्मान गर्दै बधाइ ज्ञापन गरिएकाे छ ।
पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्षमा निर्वाचित हरि हुमागाईं, जिल्ला उपाध्यक्षमा निर्वाचित ध्रुव अधिकारी, सहसचिव शिव वियाेगी चाैलागाईं र सन्नु रिजाल, कार्यसमिति सदस्य श्रीराम दहाल अर्जुन र सञ्जिव सुनार, केन्द्रीय परिषद् सदस्य सुजन विडारी र प्रदेश परिषद् सदस्यमा निर्वाचित बलराम पुडासैनीलाई अध्यक्ष स्याङ्तान, निवर्तमान अध्यक्ष हुमागाईं, उपाध्यक्ष पाख्रिनलगायतले प्रमाण पत्रसहित खादा, टीका लगाएर सम्मान तथा बधाई ज्ञापन गरेका थिए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा ५ राउन्ड हवाई फायर गरिएको छ । हेटौंडा–५ र हेटौंडा–८ को सिमानामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न हवाई फायर गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले हवाई फायर गरि गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाउकाे छ । घटनाकाे विस्तृत विवरण निकुञ्ज मार्फत गर्ने गरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार विशेष सुराकीकाे आधारमा तस्कर पक्राउ गर्न २ वटा सवारीमा ७/८ जना सेनाको टोलीले हेटौंडा आएका थिए । तस्कर भाग्न खोज्दा हवाई फायर गरिएकाे बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्।
बुधबार परेको क्रिसमसको अवसरमा उनले सन्देश मार्फत शुभकामना व्यक्त गरेका हुन् । “बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी दाजुभाई दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा भनिएको छ ।
“हाम्रो देश धर्म निरपेक्ष देश हो । सबै धर्मलाई राज्यले एकै समानले हेरेको छ, हाम्रो धार्मिक सहिष्णुता संसारमै उदाहरणका रूपमा रहेको छ, हामी एक अर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्छ” उनले शुभकामना सन्देशमा भनेका छन् ।
चाडपर्वहरूले अङ्गीकार गरेका विशेषतालाई नेपाली समाज एकतामा बाँधिएको प्रदेश प्रमुख देवकाेटाले बताए । क्रिसमसले नयाँ उर्जा र उमङ्ग ल्याउने अपेक्षा प्रदेश प्रमुख देवकोटाले व्यक्त गरेका छन् ।
हरेक वर्ष डिसेम्बर २५ लाई ईसाई धर्मका अनुयायीहरू येशु खृस्टको जन्मदिनको रूपमा मनाइन्छ । क्रिसमसको बेला गीर्जाघरमा प्रार्थना गर्ने, घर सजावट गर्ने, उपहार आदानप्रदान गर्ने, साङ्गितिक कार्यक्रम गर्ने अनि परिवार साथीसङ्गी भेला भएर शुभकामना बाँडेर र खानपिन गरेर रमाइलो र हर्षोल्लासका साथ मनाइन्छ ।