मकवानपुर । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाइसकेको उनले बताए । ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ’ उनले फेसबुकमा लेखेका छन् ‘कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’
उनले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको समेत दाबी गरेका छन् । उनले राजीनामा दिएसँगै अब फेरि देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पुरा गर्ने समेत फेसबुक मार्फत भनेका छन् ।
यसअघि सोमबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार मन्त्री गुप्ता आज राजीनामा बुझाएर हिँडेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
केही हप्ता पहिले मन्त्री गुप्ता र भूमी सम्बन्धी एक विचौलीयाकाे लेनदेन भएकाे सम्वाद वाहिरिएकाे थियो । एक जिल्लामा भूमि आयोगकाे अध्यक्ष बनाउन र साेही जिल्लामा मालपोत कार्यालयकाे प्रमुख परिवर्तनकाे लागि रकम लेनदेनकाे लागि भनिएकाे सम्वाद बाहिरिएकाे थियाे । उक्त सम्वाद बाहिरिए पछि मन्त्री गुप्ताकाे विषयले प्रतिनिधि सभामा समेत प्रवेश गरेकाे थियाे ।
नेकपा एमालेका राजकुमार गुप्ता प्रतिनिधिसभा अन्तर्गत पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए । गुप्ताले २४ हजार २६० मत प्राप्त गर्दा चौधरीले २४ हजार १०९ मत प्राप्त गरेका थिए ।

मकवानपुर । महिनावारी भएको बेला छाउगोठमा बस्दा सर्पले डसेर महिलाको निधन भएको प्रति अनेमसंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वार्ड नं.१ की २८ वर्षिया महिला कमला आउजीको छाउगोठमा सर्पले टोकेर निधन भएपछि संघले यस्तो ध्यानाकर्षण जनाएको हो । आउजीको २७ असारमा निधन भएको थियो ।

“छाउगोठमा सर्पको टोकाइले अकालमा मृत्यूवरण गर्नुपरेको घटनाले अखिल नेपाल महिला संघलाई स्तव्ध तुल्याएको भन्दै अनेमसंघ कैलाली जिल्ला ईञ्चार्ज रुकमणी देवकोटाले विज्ञप्ति मार्फत संघको ध्यानाकर्षण जनाउनु भएको हो ।
कानुनतः अवैध मानिएको छाउपडी प्रथा अझै पनि सुदूरपश्चिमका पहाडी र तराई जिल्लाहरुमा नारीहरुको लागि अभिश्रापको रुपमा रहेको अनेमसंघ कैलाली जिल्ला ईञ्चार्ज देवकोटाले विज्ञाप्तिमा भन्नुभएको छ ।
“मौलिक र मानव अधिकार उल्लङ्घन मात्र होइन राज्यको कानुनको खिल्ली उडाउने गरि संस्कारको नाममा यस्ता कुरीतिहरु समाजमा कायम रहनु अत्यन्तै दुःखद कुरा हो” विज्ञप्तिमा भनिएको छ ।
अनेमसंघले कमलाको निधनप्रति गहिरो शोक प्रकट गर्दै उनका ३ अबोध सन्तानहरुको पालनपोषण र शिक्षादीक्षाको लागी सम्बन्धित निकायसँग माग गरेको छ ।
कुरीति र अन्धविश्वासलाई पूर्णतः नकार्दै र आफ्ना सम्पूर्ण तहका महिला दिदीबहिनीहरुलाई छाउगोठलगायत अन्य कुप्रथा बिरुद्व लाग्न अनेमसंघले अपिल गर्दछ ।
सभ्य र समतामूलक समाज आधुनिक युगको अपरिहार्यता हो । कुरीति र कुसंस्कार विकास र समृद्धिको वाधक हुन् । कुरीति र कुप्रथा बिरुद्व सबै एकजुट हुनुपर्ने बेला आएको विज्ञप्तिमा उल्लेख छ । कुनैपनि नारी कुप्रथाको शिकार भई शोषणमा पर्ने, हेपिने, दुव्र्यवहारको शिकार हुने र अकालमा मृत्युवरणसम्म गर्नुपर्ने प्रवृत्तिको अन्त्यको लागि सबैको तर्फबाट पहल आवश्यक भएको अनेमसंघले जनाएको छ ।
सोचाईं र व्यवहारमा परिवर्तन ल्याई कुप्रथा र सबैखाले शोषणको अन्त्य गर्न अनेमसंघले अहम् भूमिका खेल्ने कुरामा प्रतिवद्धता जनाउँदै यस्ता दुःखद घटना हुन नदिन पहलकदमीको लागी अनेमसंघले राज्यका सम्पूर्ण निकाय, संघ संस्था, राजनैतिक पार्टीलगायत सम्पूर्ण नागरिक समाजलाई आह्वान गरेको छ । (more…)
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार राती हेटौंडा -१० राप्तिरोडमा मोटरसाइकल दुर्घटनामा परी ४५ वर्षीय दिपेन्द्र कुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ।आफैले चलाएको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल हेटौंडाको बुद्धचोकबाट राप्तीरोड हुँदै थानाभर्याङतर्फ जाँदै गर्दा दुर्घटना हुँदा झा घाइते भएका थिए ।
उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-४ घर भएका झा राक्सिराङस्थित कालिका माविको प्रधानाध्यापक पदमा कार्यरत थिए।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा ट्रक (लरी) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार बिहान भारतीय युपी ६२ एटी ०९६२ नम्बरको ट्रक हेटौंडा–१५, रातोमाटेमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
हेटौंडा–१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगकाे लागि कोइला लिएर आएको उक्त ट्रक दुर्घटना हुँदा ट्रक चालक भारतको गाजिपुर जिल्ला पुरैनियाका ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार चालक महेन्द्रलाई घाईते (अचेत) अबस्थामा उद्धार गरी उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाेमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा ट्रकका सहचालक २६ वर्षीय मनोज यादव घाइते भएका छन्। मृतककाे शव हेटौडा अस्पतालमै रहेकाे छ भने दुर्घटना भएकाे गाडी घटनास्थलबाट साईड लगाई राखिएकोले सवारी अवरोध नभएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’…। असार महिना किसानकाे लागि महत्वपूर्ण पर्व नै हुन्छ । अहिले मध्य असार चलिरहेकाे छ । खेतका गराहरु पानीले भरिएका छन् कतै रोपाई सकिए हाेलान् कतै सुरु हुँदैछ ।
आज असार १५ गते । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । आजै धान दिवस पनि हाे । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । असारे भाकामा लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ छुपुछुपु हिलोमा धान रोपिन्छ ।
आज खेतमा काम गरी दही चिउरा खाने खुवाउने गरिन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्छन् भनिन्छ । यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्री स्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एक पटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकामना निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्य वर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ ।