काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आइपिओ) आज साेमबार बाँडफाँट हुने भएको छ । लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात् जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात् ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएको थियो। बाँकी ८० हजार ७०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो।
प्राथमिक शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सोमबार बाँडफाँट गर्ने जनाएको छ। ‘समाज लघुवित्त वित्तीय संस्थाको आइपिओ आज दिउसो बाँडफाँट गरिनेछ,’ सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिम्सिनाले भने । प्राथमिक शेयर बाँडफाँट गर्नु तीन दिन अघि प्रि एलटमेन्ट गर्दै नियामक निकाय नेपाल धितोपित्र बोर्डलाई जानकारी दिनुपर्ने प्रावधान छ । सोही प्रावधान बमोजिम उसले सोमबार बाँडफाँट गर्ने भएको हो । क्यापिटलले शुक्रवार प्री एलटमेन्टको जानकारी दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।
यस अघि क्यापिटलले शनिबार नै बाँडफाँट गर्ने तयारी गरेको थियो । तर, अघिल्लो दिन रिलायन्सको शेयर बाँडफाँट भएको कारण बाँडफाँट सार्नु परेको थियो। पछिल्लो सामय एकै पटक शेयर निष्काशन र बाँडफाँट नगराउन धिताे पत्र बाेर्डले निर्देशन दिएको छ। एकैचोटी शेयर निष्काशन र बाँडफाँट गर्दा मेरो शेयरमा बढी चाप पर्न गई वेबसाइट नै सुस्त हुने भएपछि निष्कासन र बाँडफाँटको रुटिङ अनुसार गर्न थालिएको सिडिएसीको भनाइ छ।
मकवानपुर । महालेखा नियन्त्रकको कार्यालयले २८ उपसचिवहरुको सरुवा गरेको छ । कार्यालयकाे भदाै १२ गतेकाे निर्णयानुसार सरुवा, पदस्थापन भएका तथा काज खटाइएका उपसचिवहरूमा जीवनप्रकाश मोहत्रा, गोकुल बास्तोला, युवराज आचार्य, प्रेमचन्द्र भुषाल, हेमराज पौडेल, जगतप्रसाद भट्ट र काशिनाथ भट्टराई रहेका छन् ।
यसैगरी भवराज जोशी, भुवनप्रसाद काफ्ले, ज्ञानेन्द्रराज ओझा, वासुदेव खनाल, केदारप्रसाद अर्याल, सुकदेवप्रसा बाँस्कोटा, नारायणप्रसाद उपाध्याय र श्यामकृष्ण थापाको पनि सरुवा भएको छ ।
यस्तै रविन कोइराला, मुरारी निरौला, रेशमकुमार खत्री, नवराज घिमिरे, केशवराज सुवेदी, मणिभद्र न्यौपाने, खडानन्द अधिकारी र शिवराम भट्टराईको पनि सरुवा भएको छ ।
कार्यालयका अनुसार रामप्रसाद बिडारी, शिवहरि कोइराला र रामकृष्ण पुडासैनीको पनि सरुवा भएको छ । कमल सापकोटा र रामबाबु पुरीको काज सरुवा भएको छ ।
हेर्नुहाेस
मकवानपुर / बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा द्वन्द्वपीडित समुदाय र मानवअधिकारवादी संस्थाहरूद्वारा देशका पीडित / प्रभावितहरूको न्याय प्राप्तिमा भइरहेको ढिलाइको अन्त्यका लागि माग गरेको छ ।
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस २०२० को अवसरमा पीडित /प्रभावितहरूको संघसंस्था र नेपालस्थित जवाफदेहिता निगरानी समिति,वकालत मञ्च, शान्तिका लागि साझा अभियान (कोक्याप) द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, संचारिका समुह नेपाल, महिला कानून तथा विकास मञ्च, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत ४८ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले ऐक्यवद्धता जनाउँदै पारदर्शी तथा परामर्शयुक्त विधिको प्रयोग गरी संक्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकार तथा सम्बन्धित जिम्मेवार निकायलाई विज्ञप्ति मार्फत आग्रह गरेको हो ।
नेपालमा वि.सं. २०५२ देखि २०६२ सम्म चलेको १० वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वमा बलपूर्वक बेपत्ता पार्ने कार्यको शिकार हुन पुगेका परिवारका सदस्यहरूलाई न्याय दिलाउन आग्रह गरिएको छ । ‘द्वन्द्व पीडितका परिवारको सहनशीलता र अडिगपनाको नेपालका पीडित / प्रभावित समूह र मानवअधिकारवादी संस्थाहरू सराहना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
नेपाल पक्षराष्ट्र भएको महासन्धिहरूसहित अन्तर्राष्ट्रिय कानून अनुसार राज्यहरूले बेपत्ताका परिवार र बेपत्ताका कारण क्षति पुगेका अन्यहरूलाई प्रभावकारी उपचार उपलब्ध गराउनुपर्ने विज्ञप्तिमा भनिएको छ । २०७२ मा सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनमा रहेका गम्भीर मानवअधिकार उल्लङ्घनमा संलग्न पीडक र पीडितहरूबीच मध्यस्थता /मेलमिलाप गराउन सक्ने र आममाफी दिन सक्ने प्रावधानलगायत विभिन्न भागहरू असंवैधानिक र नेपालको अन्तर्राष्ट्रिय दायित्वहरूको विरुद्धमा रहेको निर्णय गरेकोमा वि.सं. २०७७ वैशाख १४ गते सो निर्णय पुनरावलोकन र संशोधन गर्ने सरकारको निवेदनलाई सर्वोच्च अदालतले खारेज गरेको छ ।
आयोगहरूले सत्य र न्यायलाई विलम्ब र वञ्चित गराउने नभई सत्य र न्याय प्रदान गरेको सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय मानवअधिकार कानून र सर्वोच्च अदालतको निर्देशन अनुरूप यससम्बन्धी कानूनको संशोधन गर्न नयाँ परामर्शको थालनी गर्ने, पीडितहरूको सत्य र न्यायको आधारभूत अधिकारलाई सम्मान गर्ने संशोधित ऐन अन्तर्गत नयाँ आयुक्तहरूको नियुक्ति गर्ने, पीडितहरूको परिपूरणको अधिकार अन्तर्गत बलपूर्वक बेपत्ता पार्ने कार्यबाट पीडित र परिवारहरूलाई तत्काल सामाजिक, सांस्कृतिक, आर्थिक, मनोसामाजिक र कानूनी सहायता प्रदान गरिएको सुनिश्चित गर्ने, फौजदारी संहितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन संशोधन गर्ने लगायतको कार्य तत्काल गर्न माग गरिएको छ ।
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्छन् । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गरेका उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गरेका छन् ।
कोभिड– १९ का कारण यो ‘बुद्धभूमि’ नामक गीत आज भर्चुअलरुपमा सार्वजनिक भएको छ । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कनकर्ता दीर्घ गुरुङ रहेका छन्। गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ ।
उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसकेका छन् । उनले आफ्ना ती गीतलाई सङ्कलन गरी गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याएका छन् । उनका ती गीत राष्ट्रियभावले भरिएका छन् । त्यसलगायत कला, सांस्कृतिक, सामाजिक र आर्थिक उन्नतिका लागि पनि उनका गीतले सन्देश दिएका छन् । जनआन्दोलन २०६२/०६३ पछि राजतन्त्रको अन्त्यसँगै उदय भएको गणतन्त्रको शुरुआतमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोज्ने क्रममा गीतको छनोट गर्ने जिम्मा लिएको समितिलाई गौतमद्वारा रचित ‘प्राण प्यारो देश नेपाल’ पठाइएको थियो ।
“जनआन्दोलनपछि परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गीतको विकल्प खोजियो । नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो”, उनले भने, “मैले पनि आफूले रचना गरेको गीत पठाएँ तर उक्त गीत उत्कृष्ट सातभित्र पनि परेन । त्यही गीत मेरो गीतियात्राको प्रारम्भ बन्न पुग्यो ।” त्यसो त उनीआफूमा जीवनको प्रारम्भकालदेखि नै छन्द कविता र गीति लेखनमा रुचि रहेको बताउछन् । विद्यालयस्तरदेखि नै गीतसङ्गीत र कवितामा रुचि राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पूरा भएको बताए ।
राजधानी डेली डट कमबाट