मकवानपुर । लगातार तीन दिन ओरालो लागेको सुन तथा चाँदीको मूल्य शुक्रबार असाेज ९ गते वृद्धि भएको छ।मंगलबारदेखि बिहीबारसम्म चार हजार १०० रुपैयाँले घटेको सुन र चाँदीको मूल्य शुक्रबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ। पछिल्लो तीन दिन चाँदी २०० रुपैयाँले घटेर एक हजार १२० रुपैयाँमा झरेको थियो। अन्तरराष्ट्रिय बजारमा पनि शुक्रबार सुन र चाँदीको दुबैको भाउ बढेको छ । सो बजारमा सुन प्रति अउन्स एक हजार ८७३ डलरमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने यस दिन प्रतिअउन्स २३ डलर भन्दा बढिमान खरिदबिक्री भइरहेको छ ।
मकवानपुर । पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै निको हुने संक्रमितको संख्या ५० हजार ४११ पुगेको छ। यो कुल संक्रमितको ७२.७ प्रतिशत हो।
नेपालमा पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। २४ घण्टामा एक हजार चार सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६९ हजार तीन सय एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको शरीरको वजनमा भर पर्छ । कति वजन भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः
सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । शरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो शरीरको वजन थाहा पाउनुपर्छ । किनकी शरीरकाे वजन फरक फरक भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी शरीरमा विषाक्त पदार्थको निष्कासन देखि लिएर पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ ।
यसरी पिउनुहोस् पानी
आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।
व्यायामका बेला धेरै पानी
व्यायामका बेला सरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा पानी कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ ।
शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ । शरीरमा २०-२५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउमा ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रसस्त पानी पाइन्छ |
मकवानपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन संघीय सरकार तथा स्थानीय सरकारले गरेको ६ महिनाबढी बन्दाबन्दीको अवस्था झेलेका नागरिकहरु फेरि तर्सिएका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयको निर्णयपछि आफूहरुलाई फेरी चिन्ता बढेको हेटौंडामा मजदुर काम गर्दै आएका कमल लामाले बताए । ‘मजदुरी नगरी परिवार पाल्ने आधार छैन, धेरै कष्ट गरेर विगतका दिन बिताइयो, काम सुरु गरिएको एक साता हुँदैछ, फेरि पनि बन्द हुने हल्ला सुन्दैछु’ उनले भने ‘बाँच्न नसकिने भयो अब यो पाराले ।’ रोग लागेर भन्दा भोक भोकै बस्न परेको कारण आफ्ना बालबालिकाहरु बिरामी पर्ने अवस्थामा पुगेको उनले बताए ।
बुधबार स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्न सिफारिस गरेको छ । नेपालको स्वास्थ्य सेवाले २५ हजारभन्दा बढी सक्रिय संक्रमितलाई व्यवस्थापन गर्न समस्या हुने भएकोले २५ हजार संक्रमित नाघ्नासाथ लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी गराएका हुन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४ रहेको छ । बुधबार बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।
विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकोमा स्वीकृति दिने निकायले कडाइका साथ अनुगमन गरी कारबाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । यसअघि गएको चैत ११ गतेदेखि लगाइएको लकडाउन साउन ६ गते मध्य रातिबाट हटाइएको थियो । बुधबारसम्म नेपालमा १७ हजार चार सय ११ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय चार जना क्वरेण्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।