मकवानपुर/लामो समयको अन्तरालपछि स्थानीय सरकारको उपस्थितीले ग्रामिण क्षेत्रमा भौतिक विकासले फड्को मारेको छ । बाटो, पुल पुलेसा तथा भवन निर्माणमा ग्रामीण बस्तिहरुको विकास देखिन थालेको छ । तर सामाजिक क्षेत्रमा भने अझै आशातित विकास भएको छैन ।
स्थानीय सरकारसँगको समन्वयमा विभिन्न गैससहरुले ग्रामिण बस्तिमा सामाजिक विकासको पाटोलाई उठाउने जमर्को गरेका छन् । नारी सिप सिर्जना केन्द्रले ग्रामिण बस्तिसम्म विपन्न वर्गको आर्थिकस्तरसँगै सामाजिक स्तर उठाउनको जमर्कोको साथ लागु गरेको मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजनाको एक वर्ष सकिएको छ ।
परियोजनाको एक वर्षे म्याद सकिनै लाग्दा केन्द्रले कार्यप्रगतिको समिक्षा गरेको छ ।
कार्य प्रगतिको समिक्षात्मक अनुगमगन कार्यक्रममा मकवानपुरको विकट बस्ति बागमती गाउँपालिका वडा १ मा ७४ वर्षीय भिमनाथ बोलखेले आफूले परियोजना अन्तरगतको कार्यक्रमबाट जीवनपयोगी ज्ञान हासिल गरेको बताए ।
परियोजना अन्तरगत स्थानीय तहको सरोकारवालाहरुसँग समन्वय तथा छलफल कार्यक्रम बागमती गाउँपालिकामा गरिएको छ । छलफल तथा समन्वय कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले सामाजिक विकासमा पालिकाले सोचेजति काम गर्न नसकेको स्वीकार गरे । कार्यक्रममा राष्ट्रिय समावेशी आयोग कार्यवाहक अध्यक्ष विष्णु ओझाले समाबेशिता कार्यन्वयनको सिलसिलामा स्थानीय सरकारले गरेको कामको बारेमा जिज्ञासा राखेकी थिइन् । ‘समावेशीको सवालमा स्थानीय सरकारको कामबारे अध्ययन जरुरी रहेको कार्यवाहक अध्यक्ष ओझाले बताइन् ।
स्थानीय सरकारले स्थानीय क्षेत्रको सामाजिक पाटोको विकास अत्यावश्यक रहेको उनले बताइन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरु, महिला बालबालिका, सिमान्तकृत समुदायको उठानको लागि स्थानीय निकाय र गैससको समन्वय जरुरी रहेको उनले बताइन् । नारी सिप सिर्जना केन्द्रले मकवानपुरको बागमती गाउँपालिकाको वडा १ देखि ५ सम्म सुरक्षित बसाइँसराइको लागि सामाजिक छलफल केन्द्र स्थापना गरेर छलफललाई निरन्तरता दिंदै आएको छ । परियोजना अन्तरगत जिविकोपार्जन उकास्नको लागि २०/२० वटाको दरले २० परिवारलाई कुखुराको लागि बीउ पुँजि वितरण गरिएको केन्द्रकी अध्यक्ष सरस्वति बर्तौलाले बताइन् ।
यसैगरी सबै वडामा १/१ वटाको दरले तरकारी खेतिको लागि टनेल निर्माणमा सहयोग गरेको, वैदेशिक रोजगारबाट फर्केका ५० जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको, ५ जनालाई उच्चस्तरीय मनोसामाजिक परामर्शको लागि रिफर गरिएको, मानव बेचबिखन विभिन्न स्थानमा होर्ड· बोर्डहरु राखिएको केन्द्रका कार्यकारी निर्देशक चिरञ्जिवि पौडेलले बताए ।
केन्द्रले बोयल प्रजातिको बाख्रा पनि वितरण गरेको केन्द्रका कार्यकारी निर्देशक पौडेलले बताए । तरकारी खेती गर्नेलाई मौसमी र बेमौसमी तरकारीको बीउ वितरण गर्ने कार्यक्रम पनि रहेको पौडेलले बताए । तरकारी खेतिको लागि तालिम लिएकाहरुलाई तरकारीको भण्डारण तालिम पनि दिने तयारी गरिएको उनले बताए ।
केन्द्र स्थापना भएपछि मानव बेचबिखन, असुरक्षित बसाइँसराई जस्ता विषयमा आफूहरुले जानकारी हासिल गरेको बागमती गाउँपालिका–१ की शुभद्र राईले बताइन् । ‘काममा ठगी गर्नेहरुको शिकार त पटक पटक भइएकै हो, लहैलहैमा बसाइँसराइले पनि दुख नै पाइने रहेछ’ उनले भनिन् ।
‘महिला मात्रै बिक्री हुने हैन रहेछ, पुरुष पनि बेचिदा रहेछन्, बसाई जहाँपनी सहज बनाउन चाहेमा आफैंले सहज बनाउन सकिने रहेछ, बसाइ ठाउँ नै सुख र दुखको भन्ने हैन रहेछ’ ७६ वर्षीय भिमनाथ बोलखेले भने । ‘मेरै बुहारी धेरै हण्डर पाई, ६ महिनापछि घरमा ल्याईयो, सुरक्षाको कुरा सबैलाई बुझाउनु पर्छ, महिला पुरुषलाई अलग अलग हैनसँगै राखेर कुरो बुझाउनु पर्छ’बोलखेले भने ।
काभ्रे जिल्लामा जन्मेका उनले २९ वर्षको उमेरमा २० ठाउँमा बसाइसरेको र अब कहि नजाने, बरु हाल बसेकै स्थानमा आफ्नो तरिकाले सुखि बनाउने सोच बनाएको उनले बताए । ‘वि.स २०३२ साल यहाँ (बागमती गाउँपालिका–१) आएको हुँ अब कहि जान्न, आफूले कुरो बझे यहाँ सबैथोक छ’उनले भने । परियोजना सञ्चालित वडाहरुमा स्थानीय वन समिति, युवा समूह, आमा समूहहरुमा बेचबिखनबाट बच्नको लागि सचेतनामुलक छलफल कार्यक्रम गरेको छ । समन्वय तथा छलफल कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान गैससहरुले स्थानीय क्षेत्रको सामाजिक विकासमा सहकार्य गरेको प्रति खुसी व्यक्त गरिन् ।
यसैगरी गाउँपालिकाले गर्नुपर्ने काममा सामाजिक संस्थाले अग्रसरता देखाउनु सकारात्मक भएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद सापकोटाले बताए । गाउँपालिकामा हार्डवेयर भन्दा सफ्टवेयरका कार्यक्रम आवश्यक रहेको र अनुदानको कार्यक्रममा अझै प्रभावकारीता नरहेको उनले बताए । समाजलाई सामाजिक पाटोमा अगाडि बढाउन बागमती गाउँपालिका सधै तयार रहेको उनले बताए ।
फिल्ड अनुगमनपछि नारी सीप सिर्जना केन्द्र अध्यक्ष सरस्वती बर्तौलाको अध्यक्षतामा गाउँपालिकामा भएको समन्वय तथा छलफल कार्यक्रममा गाउँपालिकाको वडा अध्यक्षहरु, पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष बर्तौलाले स्थानीय सरकारको समन्वयमा संस्थाले काम गरेको बताइन् ।
गैससको कामलाई स्थानीय सरकारको साथ र सहयोगले जनताको सामाजिक विकासको क्षेत्रमा धेरै काम गर्न सकिने उनले बताइन् । गाउँपालिकाको १,२,३,४ र ५ नम्बर वडामा नारी सिप सिर्जना केन्द्रले अरो इन्टरनेशनको साझेदारीमा सामुदायिक छलफल केन्द्र गठन गरेर छलफल गराउन थालेपछि चेतनासँगै गाउँका समस्याहरु बारेमा छलफल हुन थालेको बागमती १ का स्थानीय कमल राईले बताए । केन्द्रले गठन गरेको छलफल केन्द्रमध्ये एक हो बागमती एकको साहारा सामुदायिक छलफल केन्द्र । छलफलमा मानव वेचविखन रोकथाम र सुरक्षित स्थानागमनको विषयमा चर्चा हुने गरेको छ । पछिल्लो समय मानव वेचिविखनको तरिका फरक भएकोले बेरोजगार रुपमा रहेको ग्रामिण युवायुवतीहरु त्यसको सिकार हुने गरेको भन्दै बैठकमा छलफल हुने स्थानीय सहजकर्ता केवल विश्वकर्मा बताउँछन् ।

छलफलमा गरिब, सिमान्तकृत, कमजोर अवस्थाको महिला पुरुषहरुलाई श्रमिकको रुपमा, वैदेशिक रोजगारी, गैरकानुनी धन्धाको रुपमा विभिन्न रुपमा परिचालित गरेर मानव वेचविखन हुनसक्ने भन्दै छलफल केन्द्र गठन गरेर चलाइएने गरेको उनले बताए । साहारा छलफल केन्द्रको छलफलले केन्द्रकी सदस्य रेबिका राईको लागि तरकारी खेति गर्न टनेल दिनुपर्ने निर्णय गरेपछि उनलाई केन्द्रले टनेल दिएको छ । १२ मिटर लम्बाई ६ मिटर चौडाई भएको टनेल सानो भएता पनि उनको खुसी ठुलो छ । उनले अब आफ्नो टनेलको लागि चाहिने विउ पनि नारि सिप सिर्जना केन्द्रबाट नै पाउनेछिन् ।
मकवानपुर / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ को प्रजा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
कोर ईन्टरनेशल क्यानडाको सहयोग तथा हिमराइट्स मकवानपुरको आयोजना र मनहरी गाउँपालिकासँगको सहकार्यमा शैक्षिक सामग्री सहयोग गरिएको हो । सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण गरिएको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइवाले बताइन् ।
कार्यक्रममा विद्यालयका २७ जना चेपाङ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । यसैगरी मनहरी गाउँपालिका वडा ६ रुपाचुरी स्थित सगरमाथा आधारभुत विद्यालयमा २१ जना बालबालीकाहरुलाई पनि शैक्षिक सामग्री वितरण गरिएको वाइबाले बताइन् ।



‘छोराकै पर्खाइमा आठौँ पटक गर्भवती भई जाँच गराउन आएकादेखि पहिलोपटक गर्भजाँचमा आएकासम्मले पनि लिङ्ग पहिचानबारे जानकारी खोज्छन् ।’ जिल्ला अस्पतालमा गत वर्ष ५६ र यो वर्षको पहिलो दुई महिनामा १२ जनाले गर्भपतन गराएको तथ्याङ्क छ ।
चौतारा/ सिन्धुपाल्चोकका एक दम्पतीले पहिलो सन्तान छोरी भएपछि दुईपटक लिङ्ग पहिचानपश्चात् गर्भपतन गराए । छोराको पर्खाइमा १६ वर्षको जन्मान्तरमा दोस्रो सन्तान पनि छोरी भयो । डाक्टरले गर्भ परीक्षणमा छोरा रहेको बताएपछि दोस्रो सन्तान जन्माएको ती दम्पतीले बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाकी एक महिलालाई दोस्रो सन्तान छोरी हुँदा परिवारले मानसिक हिंसा सुरू गरेपछि सम्बन्धमा दरार सिर्जना भई घटना अदालतसम्म पुगेको छ । अदालतमा सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन छ ।
बलेफी गाउँपालिकाका एक पुरुषले पहिलो र दोस्रो श्रीमतीबाट आठ छोरी भएपछि छोरा जन्मने आशमा तेस्रो विवाह गरे । उनको दसौँ सन्तानको रूपमा छोराको जन्म भएको बताएका छन् ।
यी घटनाले समाजमा महिला र पुरुष बीचमा जन्मदेखि नै भेदभाव रहेको प्रस्ट देखाउँछ । लैङ्गिक असमानता अन्त्यको अनेकन प्रयत्न हुँदै गर्दा छोरीको जन्मदरमा नै कमी हुनुले लिङ्ग अनुपातमा ठूलो खाडल सिर्जित भएको तथ्याङ्कले पुष्टि गरेको छ । गर्भजाँच र जन्मदरको अवस्था हेर्दा राजधानी र सहरी क्षेत्रसँगको सहज पहुँचले विभेदपूर्ण गर्भपतन हुने गरेको सहज आँकलन गर्न सकिने अधिकारकर्मी तथा समाज कल्याण परिषद्की सदस्य नानीमाया थापा बताउनुहुन्छ ।
थापा भन्नुहुन्छ, ‘असुरक्षित गर्भपतनको समस्या जहाँको त्यहीँ छ । छोराको चाहनामा धेरै छोरीहरूको हत्या गरिएको अनेकन उदाहरण त छन् नै ।’
तथ्याङ्कले देखाउँछ खाडल
राष्ट्रिय जनगणना २०६८ मा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । तर सोही जनगणनामा १४ वर्षमुनिका बालबालिकाको लिंग अनुपात विश्लेषण गर्दा बालिकाभन्दा बालकको सङ्ख्या बढी छ ।
सिन्धुपाल्चोक जिल्लामा पछिल्लो तीन वर्ष यता जन्मिएका छोरीको तुलनामा छोराको सङ्ख्या बढी देखिन्छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/०७६ मा ८३५ छोरी जन्मिए भने ८४६ छोरा जन्मिए । त्यस्तै आ.व.०७६/०७७ मा ८६६ छोरी र ९२१ छोरा जन्मिए भने चालु आव ०७७÷०७८ को चार महिनामा ३२९ छोरी र ३८२ छोरा जन्मिएका छन् ।
जिल्लाको सबैभन्दा विकट मानिने जुगल गाउँपालिकामा यो वर्षको चार महिनामा २१ जना छोरी जन्मिँदा ३१ जना छोरा जन्मिएका छन् । त्यस्तै शहरी क्षेत्रको रूपमा मानिने मेलम्ची नगरपालिकामा ५३ छोरी जन्मँदा ८४ छोरा जन्मिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल चौतारामा गत आव ०७६/०७७ मा जन्मिएका २०८ शिशुमध्ये ११२ छोरा रहेको अस्पतालले जनाएको छ । ‘पछिल्ला वर्षमा छोरी जन्माउनेभन्दा छोरा जन्माउनेको सङ्ख्या बढी देखिन्छ’, स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारी भन्नुहुन्छ, ‘पाँच हजार गर्भवतीले गर्भ जाँच गराए पनि सुत्केरी हुन पचास प्रतिशत मात्र आएका छन् ।’
तिवारीका अनुसार मातृ तथा बाल मृत्युदर न्यून हुँदा पनि गर्भ जाँच गराएकामध्ये आधा मात्र सुत्केरी हुन आउनु र छोराको सङ्ख्या बढी हुँदा जन्मदरको समस्या चित्रित गरेको छ ।
गर्भपतनमा वृद्धि
गर्भपतन प्रजनन् अधिकारको विषय हो । हाडनाता करणी, आमा र शिशुको स्वास्थ्य अवस्था असामान्य रहेकोबाहेक अनिच्छित गर्भ १२ हप्तासम्मको पतन गर्न सकिने कानुनी व्यवस्था छ ।
तर भ्रुणको लिंग पहिचान गर्न खोज्ने दम्पती निकै रहेको जिल्ला अस्पतालका डाक्टर अमित प्रजापति बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘छोराकै पर्खाइमा आठौँ पटक गर्भवती भई जाँच गराउन आएकादेखि पहिलोपटक गर्भजाँचमा आएकासम्मले पनि लिङ्ग पहिचानबारे जानकारी खोज्छन् ।’
जिल्ला अस्पतालमा गत वर्ष ५६ र यो वर्षको पहिलो दुई महिनामा १२ जनाले गर्भपतन गराएको तथ्याङ्क छ । त्योभन्दा डरलाग्दो तथ्य त गर्भपतनपछि त्यसबाट सिर्जित समस्या लिएर आउने महिला गतवर्ष २६ र यो वर्षको पहिलो चार महिनामा छ जना छन् । अस्पतालका अनुसार सुरक्षित र असुरक्षित दुवै खाले गर्भपतनपछि भएका समस्या भोगेका बिरामी आउँछन् । विभिन्न समयमा गराइएका गर्भपतनपछिका समस्याको उपचार गराइरहेका बिरामी अझै पनि रहेका र कतिपयले सत्य जानकारी नगराएको पाइएको अस्पतालले जनाएको छ ।
सामाजिक विचलन आउँछ–मनोविद्
धर्मको प्रभावले पनि समाज छोरामुखी हुँदैआएको मनोविद्हरूको भनाइ छ । बौद्धिक र सम्पन्न वर्गले पनि छोरीभन्दा छोराकै आशा बढी गर्ने आम चलन जीवित नै छ । उत्तराधिकारीको रूपमा छोरा नै रोज्ने सामाजिक मान्यतामा सुधार हुन राज्यका कतिपय व्यवस्थामा नै परिवर्तन आउनुपर्ने मनोविद् तथा चौतारा बहुमुखी क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगाल बताउनुहुन्छ ।
‘राज्यले शिक्षा, स्वास्थ्य तथा बुढेसकालको जीवनको सुनिश्चितता गर्ने नीति बनाउँदा मात्र पनि नागरिकले आफ्नो उत्तराधिकारी छोरा नै होस् भन्ने मानसिकतामा कमी हुन्छ ।’ दंगाल भन्नुहुन्छ, ‘नागरिकमा छोराले जीवनको उत्तरार्धमा हेरचाह गर्छ भन्ने मनोविज्ञानलाई परिवर्तन गरी राज्यले सुरक्षा दिन्छ भन्ने आश्वस्त पारे असमान जन्मदरको समस्या निवारण हुन्छ ।’
मनोविद दंगालका अनुसार अनुवांशिक रूपमा प्रति सय छोरामा १०५ छोरी जन्मन्छन् तर चिकित्सकीय प्रविधि (गर्भपतन) ले नै छोरीको तुलनामा छोरा बढी भएको सहज आँकलन गर्न सकिन्छ । बुढेसकालको सहारा मात्र नभई दागबत्ती दिनेदेखि विश्वका कतिपय चामत्कारिक काममा छोरीहरूले अतुलनीय क्षमता प्रस्तुत गरिसक्दा पनि जन्मअघि नै छोरीमाथि विभेद हुनु समाज विकासका लागि अवरोध रहेको सामाजिक शिक्षक सीताराम पराजुली बताउनुहुन्छ ।
दुई सन्तान नै व्यावहारिक
जनसाङ्ख्यिक सन्तुलन कायम गर्न र सुदृढ समाज निर्माणमा नेपाल सरकारले दुई सन्तान अवधारणा अघि सारेको धेरै भइसक्यो । ‘दुई सन्तान ईश्वरका वरदान’ नारा नै कायम ग¥यो, जो सर्वव्यापी पनि छ ।
दुई सन्तान प्राकृतिक, व्यावहारिक र स्वास्थ्य सबै हिसाबले उपयुक्त रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘छोरा वा छोरी जन्मनु प्राकृतिक विषय हो’, विशेषज्ञ डाक्टर रईसा श्रेष्ठ भन्नुहुन्छ, ‘अनेकन प्रभावले छोरा नै जन्मियोस् भन्ने आशा राखेर स्वास्थ्य जाँचमा नआउने भने होइनन्, कुनै पनि व्यक्ति वा पुस्तामा छोरा मात्र वा छोरी मात्र हुन्छ भन्ने होइन । प्राकृतिक जन्मदर कायम गर्न प्रेरित गर्नुपर्छ ।’
अधिकारकर्मी नै विभेदमा
बेचिएर फर्किएका र हिंसामा परी पुनस्र्थापना भएका महिलाहरू समेत महिला भएकै कारण आफू हिंसामा परेको महसुस गर्दै आफ्नो सन्तान छोरा होस् भन्ने चाहन्छन् ।
‘पुनस्र्थापना भएका पीडित महिलाहरू पनि सामाजिक संरचनाकै कारण सशक्त रूपमा परिवर्तनको आवाज बोल्न सक्दैनन्, बरु समाजले जस्तो चाहन्छ त्यस्तै जीवनमा रम्न सिक्छन्’ बेचबिखनमा परेका महिलाहरूको हकहितमा काम गर्दैआएको संस्था शक्ति समूहकी परामर्शदाता हरिकला भट्ट भन्नुहुन्छ ।
सामाजिक संरचनामा आफूलाई अब्बल देखाउन जसरी पनि छोरा जन्माउने प्रयत्नमा लाग्ने र पहिलो सन्तान छोरा जन्मिएपछि दोस्रो सन्तानको चाहना नराख्दा जन्मदरमा कमी देखिए पनि लिङ्ग पहिचानपछि गरिने विभेदपूर्ण गर्भपतन निकै व्याप्त देखिएको छ । पहिलो सन्तान छोरी जन्मिएपछि अधिकांश गर्भवतीले दोस्रो गर्भको लिङ्ग पहिचानमा चाहना राख्ने गरेको जिल्ला अस्पताल चौताराका डाक्टर अमित प्रजापती बताउनुहुन्छ ।
‘गर्भ जाँच गर्न आउनेको तुलनामा प्रसूति गराउन आउनेको सङ्ख्या असाध्यै कमी छ’, प्रजापतीले भन्नुभयो, ‘गर्भपतनको दर बढेको छ तर लिङ्ग पहिचान भए नभएको जानकारी हामीलाई दिँदैनन् ।’
सरकारले महिलाको समान सहभागिता, अवसरको नीति बनाए पनि सुरक्षा र नीति कार्यान्वयनको पाटोमा अझै ध्यान जान सकेको छैन । लिंग पहिचान गरी गरिने गर्भपतन यस्तै अवस्थामा रहे अबको २० वर्षमा छोरा र छोरीको असमान जनसाङ्ख्यिक अवस्थाले सामाजिक असमानतापछि उत्पन्न हुने अनेकन समस्या बढ्ने निश्चित रहेको विश्लेषकहरु बताउँछन् । (गाेरखापत्रबाट)
मकवानपुर/विनाशकारी भुकम्प २०७२ पछि क्षतिग्रस्त भएका संरचनाहरु पुर्ननिर्माणको लागि सम्झौता गर्ने अन्तिम मितिको रुपमा नेपाल सरकारले २०७७ पुस १५ गतेलाई तोकेको छ ।
भुकम्पपछिको ५ वर्षवित्दै गर्दा मकवानपुरमा पुर्ननिर्माणको प्रगति सन्तोषजनक नै भएको पाइएको छ ।
पुनर्निमाण प्राधिकरण स्थापनाको ५ वर्षमा प्राधिकरणले समिक्षा तथा प्रगतिबारे जानकारी सार्वजनिक गरेको छ । जिल्ला आयोजना कार्यान्वय इकाई अनुदान व्यवस्थापन कार्यालयका प्रमुख विमल किशोर केपीका अनुसार हालसम्म पहिचान भएका पुननिर्माण लाभगाह्री संस्या ३४ हजार १ सय ८८ घर मध्ये ३२ हजार ८ सय ५ अर्थात ९३ प्रतिशतले सम्झौता गरेको, ७८ प्रतिशतले दोस्रो र ६५ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरेका छन् ।
हालसम्म २२ हजार १ सय ५ जनाको निजि आवास पुननिर्माण सम्पन्न भईसकेको प्रमुख केपीले बताए । जिल्लामा जोखिमयुक्त बस्तिमा परेका २६ जना मध्ये २२ जनालाई अन्यत्र स्थानान्तरण गरिएको साथै ६ सय २७ लाभग्राही जोखीम वर्गमा परेको, ५ हजार ५ सय ७५ जनालाई साविकै स्थानमा घर निमार्ण गर्न स्वीकृत प्रदान गरिएको, र हालसम्म ६१ भूमिहिन लाभग्राहीले अन्यत्र जग्गा खरिद गरेको उनले बताए ।
जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख प्रमुख बद्रीबहादुर पाठकले विद्यालय व्यवस्थापन समिति मार्फत आर्थिक वर्ष २०७३÷०७५४ देखि आर्थिक वर्ष २०७५÷०७६ को दोश्रो चरणसम्म जिल्लामा प्राप्त २ सय ५२ विद्यालय भवनको ७ सय ९३ कक्षाकोठा मध्ये हालसम्म २ सय ५१ भवनको ७ सय ८९ कक्षाकोठा र ७० वटा शौचालय पूर्णरुपमा निर्माण सम्पन्न भईसकेको बताए । यसैगरी जाईकाको ऋणबाट निर्माण हुदै गरेका जम्मा ४१ विद्यालयमध्ये २७ विद्यालयको २ सय ७८ कक्षाकोठा निर्माण सम्पन्नपछि हस्तान्तरण भैसकेको र १४ विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा रहेको उनले बताए ।
यसैगरी एसियाली विकास बैकको नमूना विद्यालय तर्फ एउटा विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरिएको छ । साथै ३ वटा विद्यालयको ४८ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।
आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम समयमा प्राप्त भएका ६१ विद्यालय भवनको २ सय १७ कोठा, ७९ शौचालय र ८५ विद्यालय खानेपानी व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिमार्फत सम्झौता भई निर्माण कार्य अगाडि बढेको पाठकले बताए । हालसम्म कूल ३ सय ४ विद्यालयको १ हजार२ सय २६ वटा कक्षाकोठा निर्माण सम्पन्न भइ प्रयोगमा आएको र जापान सरकारको ऋण सहयोगमा हालै ११ वटा विद्यालयका १ सय ३२ वटा कक्षाकोठा निर्माणका लागि टेण्डरको प्रक्रिया अगाडि बढेको छ । एसियाली विकास बैकको ऋण सहयोगमा तीन विद्यालय निर्माणका लागि प्रक्रिया अगाडि बढेको उनले बताए ।
निजी आवासतर्फ
यता निजि आवास सम्बन्धी पहिचान भएका पुनर्निमाण लाभग्राही संख्या ३५ हजार १ सय ८८ जना रहेका छन् । अनुदान सम्झौता गरेका पुनर्निमाण लाभग्राही संख्या ३२ हजार ८ सय ५, सम्झौता हुन नसकेका पुनर्निर्माण लाभग्राही संख्या २३ सय ८३, प्रथम किस्ता प्राप्त गर्ने पुनर्निमाण लाभग्राही ३२ हजार ८ सय ५, घर निर्माण गर्न सुरु गरेका लाभग्राही संख्या ३१ हजार ५ सय ५०, दोस्रो किस्ताको लागि प्रतिवेदन दिने लाभग्राही संख्या २७ हजार ४ सय ३ रहेको कार्यालय प्रमुख इञ्जिनियर रविनक पाठकले बताए ।
घर निर्माण सम्पन्न गरेका लाभग्राही संख्या २२ हजार १ सय ५, पहिचान भएका प्रवलिकरण लाभग्राही संख्या १२ हजार ७ सय ४७, अनुदान सम्झौता गरेका प्रवलिकरण लाभग्राही संख्या १ हजार ५ सय ६२, प्राविधिक पुग्नु अगावै बनेका घर संख्या ६ सय २२, रकम फिर्ता गर्ने लाभग्राही संख्या १९, पुनर्निर्माणबाट प्रवलिकरण परिवर्तन भएको संख्या १७ र प्रवलिकरणबाट पुनर्निर्माणमा परिवर्तन भएको संख्या ५ सय १९ रहेको उनले बताए ।
त्यस्तै जोखिम बस्तिमा परेका लाभग्राही संख्या २६, जोखिमयुक्त बस्तिबाट अन्यत्र जग्गा खरिद गरी गएका लाभग्राही संख्या २२, जोखिम वर्गमा परेका लाभग्राही संख्या ६ सय २७, साविककै स्थानमा घर निर्माण गर्न स्वीकृत प्राप्त भूमिहिन लाभग्राही संख्या ५५ सय ७५ र जग्गा खरिद गरेका भुमिहीन लाभग्राही संख्या ६० रहेको कार्यालय प्रमुख पाठकले बताए ।
मकवानपुर/मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले सवारी दुर्घटनामा घाइते भएकाहरुको लागि उपचारको लागि ५० हजार सहयोग गर्ने भएको छ ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकै भएको बोलेरो जीप दूर्घटनाको घाइतेको उपचार गर्न गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शनिबार चुरेहिल अस्पतालमा पुगेर उपचाररत घाइतेहरुको अवस्थाको बारेमा जानकारी लिँदै गाउँपालिकाले उपचारमा ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । नेवारपानीबाट राक्सिराङ गाउँपालिका–१ स्थित ठूलोभावरतर्फ गइरहेको ग १ ज ७२८९ जीप ब्रेक फेल भएर दूर्घटना हुँदा राक्सिराङ गाउँपालिका–१ का २२ जना घाइते भएका थिए ।
घाइतेमध्ये केही उपचार गराएर घर फर्किसकेका छन् भने १६ जनाको चुरेहिल अस्पताल र एकजनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको आइसियुमा उपचार भइरहेको छ भने अन्यको अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर तथा प्रशासनका कर्मचारीसँग भेट गर्दै अध्यक्ष मल्लले घाइतेहरुको उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।
उपचार खर्चमध्ये गाउँपालिकाले अस्पताललाई ५० हजार रुपैयाँ भुक्तानी दिने अध्यक्ष मल्लले बताए । ‘राक्सिराङमा एकैचोटी यति धेरै संख्यामा घाइते हुनेगरी भएको दूर्घटनाप्रति निकै दुःख लागेको छ, गाउँबासीको अप्ठेरोमा गाउँपालिका साथै रहेको छ, उपचार खर्चमध्ये ५० हजार रुपैयाँ हामी बेहोर्छौं’ अध्यक्ष मल्लले भने ।
मल्लसँगै राक्सिराङ गाउँपालिका–१ का वडाध्यक्ष कान्छाराम रुम्बा, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण प्रजालगायत घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए । उनीहरुले घाइते र आफन्तलाई सान्त्वना दिँदै उपचारमा आफूहरुको पनि साथ रहने प्रतिवद्धता जनाएका थिए ।