मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवर्धन गर्ने उद्धेश्यले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटस्सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा मेगा बैंक नेपाल लिमिटेड., बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटस्का तर्फबाट सोमबार हस्ताक्षर भएकाे हाे।
सम्झौतापश्चात् मेगा बैंकले रोराङ्ग गाउँपालिका, धादिङ्गका साना किसान, व्यवसायीका साथै व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
उक्त कार्यक्रममा बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले सेवाग्राहीहरुलाई आ–आफ्नो पक्षबाट बेनिघाट रोराङ्ग गाउँपालिकाका उद्यमीहरुलाई सहुलियतपूर्ण ब्याज अनुदान कर्जा सेवा प्रदान गर्ने सिलसिलामा भरपुर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा बैंकले गाउँपालिका तथा उद्योग वाणिज्य संघसँग आवद्ध साना किसान, लघु, घरेलु तथा साना उद्यमीहरुलाइ प्राथमिकताका साथ बैंकको मलेखु, धादिङ स्थित शाखा कार्यालयबाट सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने बैंकका तर्फबाट विभागीय प्रमुख पुण्यप्रसाद खनियाले जानकारी दिएका छन्।
मकवानपुर । हेटौंडाको हुप्रचौरमा जारी हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा बौद्ध, चाहविल, भनिमण्डल र सानो गौचरण भेट्रान्स विजयी भएका छन् ।
मंगलबार भएको पहिलो खेलमा बौद्ध भेट्रान्स काठमाडौले एविसी भेट्रान्स पोखरालाई १–० गोल अन्तरले पराजित गरेको हो । बौद्ध भेट्रान्सको तर्फबाट खेलको ३० औ मिनेटमा पासाङ्ग लामाले गरेको गोलनै निर्णायक गोल बन्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच पासाङ्ग लामा भएका थिए ।
दोस्रो खेलमा अभिषेक चर्च नवलपरासी र चाहविल भेट्रान्स काठमाडौं बिचको खेलमा चाहविल भेट्रान्स काठमाडौले अभिषेक चर्च नवलपरासी लाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको १० औ मिनेटमा अजब श्रेष्ठले गरेको गोल नै चाहविल भेट्रान्स काठमाडौका लागी निर्णायक बनेको थियो भने चावहिलकै राजेश शाही म्यान अफ द म्याच भएका थिए ।
त्यस्तै तेस्रो खेलमा एक्स भेट्रान्स पोखरा र भनिमण्डल भेट्रान्स काठमाडौंबीचको खेलमा भनिमण्डल काठमाडौ २–० गोल अन्तरले विजयी भएको छ । भनिमण्डल भेट्रान्स काठमान्डौका लागी शुक्र तामाङले चौथो मिनेटमा र डम्वर बिक्रम शाहले १५ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शुक्र तामाङ भएका थिए ।
त्यस्तै चौथो तथा अन्तिम खेल अन्तर्गत सानो गौचरण काठमाडौं र मोरङ भेट्रान्सबीच खेलमा सानो गौचरण काठमाडाैंले मोरङ भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच नरेश श्रेष्ठ भएका थिए । सानो गौचरणका लागी ३८ औं मिनेटमा नितिन गुरङ र ३९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गरेका थिए ।
माघ ७ गते बुधबार बगरभाई खलक पोखरा र हाम्रो वीरगञ्ज भेट्रान्सबीच पहिलो खेल हुने र दोस्रो खेल हेटौंडा भेट्रान्स सुपर र सिमरा भेट्रान्स बीच हुने आयोजकले जनाएको छ । भोली नै क्वाटर फाइनलका खेलहरु सञ्चालन गरिने कार्यक्रम संयोजक कविन साँगामीले बताए ।
नकआउट चरणमा खेलाइएको खेल प्रतियोगिताको माघ १० गते फाईनल खेल हुनेछ । प्रतियोगितामा विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन ।
मकवानपुर । मकवानपुर प्रहरीले ३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतको २०६८ फागुन २९ गतेको फैसलाबाट लागु औषध हिरोइन मुद्दामा कैद ताेकिएकाे व्यक्ति गत माघ ४ गते पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
मकवानपुर जिल्ला अदालतले लागु औषध हिरोइन मुद्दामा १० महिना १७ दिन कैद तोकी फरार रहेका प्रतिवादी हेटाैडा उपमहानगरपालिका १ का वर्ष २९ का सुदिप भन्ने सुजित लामालाई हेटाैडा १ स्थित चौकीटोलबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।
यसै गरी मकवानपुर जिल्ला अदालतको २०७३ साउन २५ गतेको फैसलाले लागु औषध मुद्दामा २ महिना कैद र २ हजार जरीवाना तोकिएकाेमा फरार रहेका प्रतिवादी हेटाैडा उपमहानगरपालिका १० बस्ने बर्ष २२ को युनिक लामालाई माघ ६ गते मंगलबार हेटाैडा ४ बजार क्षेत्रबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालत पठाउने कार्य भइरहेको रानाले बताए।
यस्तै ज्यान मार्ने उद्योगमा फरार अभियुक्त मकवानपुर मनहरी गाँउपालिका ४ मसिने बस्ने वर्ष २० को गोबिन्द तितुङलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशबाट थुनामा राख्न कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको रानाले जानकारी दिए ।
मकवानपुर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणकाे लागि खुला गरेकाे ८ अर्ब रुपैयाँ बराबरको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेकाे छ ।
बैंकले जारी पूँजीको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर गत माघ २ गते शुक्रबारदेखि निष्काशनमा ल्याएको छ। त्यस मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
सोमबार साँझ ५ बजेसम्ममा ११ लाख ७७ हजार ९ सय २० वटा आवेदनबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता शेयर खरिद आवेदन सो बराबरको शेयर माग भएको हो। उक्त आवेदन सर्वसाधारण निष्काशन गरेको ७ करोड ५८ लाख ४० हजार कित्ताको १.८७ गुणा बढी हुन आउछ।
बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
बैंकले ठूलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले शेयर पाउने पक्का छ। पछिल्लो समय आईपीओमा आवेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ। अझै डिम्याट खाता खोल्नेको संख्या पनि दैनिक तिब्र रुपले बढ्दैछ।
हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।
यस्तै बैंकको आइपीओ खुलेको तेस्रो दिन पनि बैंक र क्यापिटलहरुमा भिडभाड उत्तिकै देखिएको छ। बैंकको शेयर खुल्नुभन्दा केहि दिन अघिदेखि नै सुरु भएको यो भिड अझै कम भएको छैन्।
बैंकहरुमा सिआरएन नम्बर लिने र शेयर भर्नेहरु बढी देखिन्छन भने क्यापिटलहरुमा डिम्याट खाता खोल्नेहरुको भिड बढी छ। शेयर खुलेको पहिलो दिन नै बैंकहरुमा शेयर खरिदको लागि आवेदन दिनेहरुको भिड बढेको थियो। डिम्याट खाता खोलेका तर मेरो शेयर लिइनसकेकाहरुले बैंकबाट आवेदन दिँदा बैंकमा भिडभाड बढेको हो।
पछिल्लो समय औसतमा दैनिक १० हजार भन्दा बढीले डिम्याट खोलिरहेको सिडिएससिको तथ्याँकले देखाउछ। सामान्य अवस्थामा बैंकहरुले तत्कालै सिआरएन नम्बर दिने गरेकोमा अहिले भिडभाढ बढी भएकोले केहि बेंकहरुले सिआरएन सम्बर लिन समेत केहि दिन लाग्ने बताउन थालेका छन्।
मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको छ ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ ।
डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताए ।