मकवानपुर । एफसी विजय यूथ क्लब हेटाैडाकाे आयोजनाहेटौंडामा भईरहेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप अन्गरगत शनिबार भएको खेलमा हर्दी युवा समाज चितवन र दुधौली स्पोर्टस् क्लब सिन्धुली विजयी भएका छन् ।
हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा भएको खेलमा हर्दी युवा समाज चितवनले वीरगञ्ज युनाइटेडलाई २–० र दुधौली स्पोर्टस् क्लब सिन्धुलीले वीरगञ्ज युथ एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । चितवनको जीतमा निरज चौधरीले सातौं मिनेटमा र सुरेश कमालले १३ औं मिनेटमा गोल गरेका थिए । चितवनको सुरेश म्यान अफ दी म्याच घोषित भए ।
यस्तै शनिबार नै भएको दोस्रो खेलमा ट्राईबे्रकरमा सिन्धुलीले नतिजा आफ्नो पक्षमा पारेको छ । निर्धारित समय १–१ गोलको बराबरीमा टुंंगिएपछि सिन्धुलीले एकेडेमीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको हो । टाइब्रेकरमा म्यान अफ दी म्याच भएका सिन्धुलीका गोलरक्षक रेम्बो चौधरीले दूईवटा प्रहार बचाएका थिए । सिन्धुलीका लागि टाइब्रेकरमा विक्रम दनुवार, सञ्जय तामाङ, गोपाल लिम्बु र प्रताप राईले गोल गरेका थिए र वीरगञ्ज युनाइटेडका अजय चौधरी र शेष श्रेष्ठले गोल गरेका थिए । वीरगञ्जका कृष्ण शाक्य र आदित्य शाक्यका प्रहार सिन्धुलीका गोलरक्षक रेम्बोले बचाएका थिए । निर्धारित समयमा वीरगञ्जको तर्फबाट आदित्य शाक्यले गोल गरेका थिए । सिन्धुलीका प्रताप राईले बराबरी गोल गरेका थिए ।
एफसी विजय यूथको आयोजना भएको गोल्डकपमा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा एफ.सी रियाले काठमाडौं, विरगञ्ज यूनाईटेड, हर्दि युवा समाज राप्ति, बागमती युवा क्लब सर्लाही, विरगञ्ज यूथ एकेडेमी, दुधौली स्पोट्स क्लब सिन्धुली, सर्लाही जिल्ला फुटबल संघ र एफ.सी विजय यूथ हेटौंडाले सहभागिता जनाएका हुन् ।
प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २३ गते हुनेछ ।
मकवानपुर । संगीत साधक भीम विरागको ८६ औं जन्मजयन्तीको अवसरमा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान मकवानपुरले वरिष्ठ गायिका दावा ग्याल्मोलाई बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरेकाे छ
हेटौँडाका सङ्गीतप्रेमी,समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गर्नुभएको १२ औं बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार बरिष्ठ गीतकार विश्व बल्लभले शनिबार हेटौंडामा भारत दार्जीलिङ निवासी गायिका ग्याल्मोलाई उक्त पुरस्कार प्रदान गरेकाे हुन् । प्रतिष्ठानले एक साङ्गितिक कार्यक्रमका साथ गायिका ग्याल्मोलाई एक लाख नगद राशी सहित पुरस्कार प्रदान गरेकाे हाे ।
शहर भित्र के को हल्ला, फूलको डाली–डाली, किन किन उदास, आँखा भित्र जस्ता चर्चित गीतहरु गायिका ग्याल्मोले स्वर दिएकी छन् । दार्जीलिङमा सन् १९५४ डिसेम्बरमा जन्मिएकी ग्याल्मो विद्यायल क्याम्पसमा गीत आउँदै साङगीतिक यात्रा अगाडी बढाएकी थिइन् । उनी सन् १९७० मा कक्षा १० मा पढ्दै गर्दा नेपालका तत्कालिन राजा महेन्द्रको जन्म दिवसमा दार्जीलिङबाट छनौटमा परि पहिलो पटक नेपालमा आएर आफ्नो प्रस्तुती दिएकी थिइन् ।
उनले कर्म योञ्जन, गोपाल योञ्जन, अम्बर गुरुङ, बसन्त क्षेत्री, बद्रीदुर्गा खरेल, मणिकलाल क्षेत्री, दिव्य खालिङ, शान्ति ठटाल, जितेन वर्देवा, राष्ट्रकवि माधव प्रसाद घिमिरे लगायतका संगीतसष्ट्राहरु संग काम गरिसकेकी छिन् ।
कला प्रतिष्ठानले भीम विराग युवा सङ्गीत पुरस्कार, २०७७ बाट हर्मोनी पोखरालाई सम्मान गरेकाे छ । महिलाहरुको सक्रियतामा सञ्चालित हर्मोनी पोखरालाई २० हजार नगर राशी सहित सम्मान गरिएको हो । नेपाली सुगम संगीत तथा महिला गायनको संरक्षण, सम्बद्र्धन र प्रशिक्षण संगै प्रवर्धन गर्ने उद्देश्यका साथ स्थापना गरिएको हर्मोनी पोखरा एसियाकै पहिलो महिलाहरुद्धारा सञ्चालित संगीत संस्थाको रुपमा रहेको छ ।
२०६४ सालमा स्थापना भएको प्रतिष्ठानले यसअघि अम्बर गुरुङ–२०६४, प्रेमध्वज प्रधान–२०६५, भक्तराज आचार्य–२०६६,फत्तेमान राजभण्डारी–२०६७, शान्ति ठटाल–२०६८, प्रकाश श्रेष्ठ–२०६९, दीप श्रेष्ठ–२०७०, न्हुच्छे बहादुर डंगोल २०७१ (नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र),मीरा राणा–२०७२, कर्म योञ्जन–२०७३ र चेतन कार्की–२०७४ लाई बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरीसकेको छ ।
कार्यक्रम भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष ह्याग्रीव आचार्यको सभाध्यक्षता तथा बरिष्ठ गीतकार विश्व बल्लभको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा कला सहित्य र संगीत क्षेत्रका व्यक्तीत्वहरुको उपस्थिती रहेको थियो ।
अनिल पराजुली
कतार । कतार सरकारले आफ्ना नागरिक सहित सम्पूर्ण आप्रवासीलाई सन् २०२१ को अन्त्य सम्ममा कोरोनाविरूद्ध खोप निःशुल्क वितरण गर्ने भएको छ । कतारको स्वास्थ मन्त्रालयले पत्रकार सम्मेलन गर्दै चार चरणमा यहाँ बसोबास गर्ने सबैलाई कोरोनाविरूद्ध खोप लगाईसक्ने जनाइएको हो ।
कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् । खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारबाट प्रकाशित हुने क्यूएन खबरले जनाएको छ । कतारमा कोरोना भाइरस विरुद्धकोे पहिलो खोप कतार युनिभर्सिटीका भुतपूर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसीलाई लगाइएको थियो ।
फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिनलाई कतार सरकारले प्रयोगमा ल्याएको थियो ।
कतारले पहिलो चरणमा ९ डिसेम्बर २०२० देखि ३१ मार्च २०२१ सम्म कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारी, प्रमुख कर्मचारी र पहिलो प्रतिक्रियाका कर्मचारी (एम्बुलेन्स टिम, गृह मन्त्रालय, रक्षा मन्त्रालय, तेल र ग्यास क्षेत्र, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट र कतार एयरवेज, ७० वर्ष भन्दा माथिका दीर्घकालीन हेरचाहका बिरामी र घर हेरचाहमा रहेका व्यक्तिहरु, भाइरस बाट जोखिम भएका दीर्घकालीन रोग भएका वयस्कहरु, ५० देखि ६९ उमेर समुहका सबै मानिसहरु, अन्य स्वास्थ्यकर्मी,आवश्यक कर्मचारी र ५० प्रतिशत शिक्षा क्षेत्रका कर्मचारीलाई निःशुल्क खोप वितरण गरिने जनाएको छ ।
त्यस्तै अप्रिल १ देखि जून ३०, २०२१ सम्म दोश्रो चरणमा पहिलो चरणमा समावेश नभएका स्वास्थ्यकर्मीहरु, भाइरस बाट बढी जोखिम भएका मन्त्रालय तथा उद्योगका अत्यावश्यक कामदारहरू, खाना, हाउसकीपिंग, यातायात, ट्याक्सी ड्राइभर र सैलुन क्षेत्रका कामदारहरू, बाँकी शिक्षा क्षेत्रका कर्मचारी, पहिलो चरणमा समावेश नभएका विभिन्न रोग भएका व्यक्तिहरू, ४० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई खोप बितरण गरिने भएको हो ।
त्यस्तै जुन १ देखि जुलाई ३१ २०२१ सम्म तेस्रो चरणमा युवा तथा बालबालिका ( बालबालिकाको हकमा खोप प्रयोगका लागि अनुमति आएपछि), पहिलो र दोस्रो चरणमा समावेश नभएका उद्योगमा काम गर्ने कामदारहरुलाई खोप वितरण गरिने छ ।
त्यस्तै अगस्ट १ देखि अक्टोबर ३१, २०२१ सम्म चौथो चरण पहिलो,दोस्रो र तेस्रो चरणमा खोप लगाउन नपाएका वा छुटेका व्यक्तिहरुलाई खोप वितरण गरिने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै गरी आगामी १० दिन भित्र मोडर्ना कम्पनीको खोप पनि कतार आइपुग्नेछ । गत साता देखि संक्रमितको उल्लेखनीय वृद्धिले कतारमा भाइरसको दोस्रो लहर सुरु हुनसक्ने देखिएको यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५० हजार ६२१ पुगेको छ । त्यस्तै कोरोनाबाट कतारमा मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ भने करिब १ लाख ४५ हजार ५५६ संक्रमणमुक्त भएका छन् । कतारले १३ लाख ७९ हजार ६६६ जनाको कोरोना जाँच गरिसकेको छ ।
कतारमा संक्रमित मध्ये धेरैजसो आप्रवासी श्रमिक रहेका छन् । कतार सरकारले खोप ल्याएसँगै कतारमा रहेका नेपालीले पनि चरणबद्ध रुपमा खोप लगाउन पाउनेछन् । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।
मकवानपुर । हेटौंडामा शुक्रबारबाट भिडोल विजय यूथ हेटौंडा गोल्डकप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर– ११ लाई सेन्ट्रल कलेज बीएफसी भरतपुर हराएको छ । घरेलु मैदानमा मकवानपुर ११ लाई सेन्ट्रल कलेज बीएफसी भरतपुरले २ –१ गोल अन्तरले हराएको हो ।
उद्घाटन खेलमा दुवै टिमको मध्यम प्रदर्शन रहेको खेलको ५ मिनेटमा भरतपुरको लागि विदेशी खेलाडी जोनले गोल गरेर अग्रता दिलाएका थिए भने मकवानपुर ११ का रिसी मोक्तानले १५ औं मिनेटमा गोल फर्काएर बराबरी स्थितीमा ल्याएका थिए । म्यान अफ दी म्याच बनेका रन्जित आलेले भरतपुरको लागि ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । सेन्ट्रल कलेज बीएफसी भरतपुरले अब सेमिफाईनलमा एफ सि रियाले काठमाडौं सँग भोली खेल्ने पक्का भएको छ । खेलको दोस्रो दिन आज शनिबार विरंगव युनाईटेड र हर्दि युवा समाज राप्ती भिड्ने छ ।
प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले गरेकी थिईन् । उद्घाटन गर्दै उपमेयर लामाले हालसम्म खेलकुदको विभिन्न संरचना, कभर्डहल, मिनिरंगशाला लगायत जिम क्बल बनाउदै, मेयर कप फुटबल, उपमेयर कप भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताईन् । उनले साथमा खेल, गाँसमा खेल र बाँसमा पनि खेललाई महत्वपूर्ण दिने समयमा विगत ८ महिना देखि खेलकुदको गतिविधि हुन नसकेको भन्दै खेल क्षेत्रले पुनः लय समातेको बताईन् । हेटौंडा उपहानगर खेल क्षेत्रमा सँधै साथ रहेको बताएकी थिईन् ।

एफसी विजय यूथको आयोजना भएको गोल्डकपमा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा एफ.सी रियाले काठमाडौं, विरगञ्ज यूनाईटेड, हर्दि युवा समाज राप्ति, बागमती युवा क्लब सर्लाही, विरगञ्ज यूथ एकेडेमी, दुधौली स्पोट्स क्लब सिन्धुली, सर्लाही जिल्ला फुटबल संघ र एफ.सी विजय यूथ हेटौंडाले सहभागिता रहेकाे छ ।
प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रपैयाँसाहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २३ गते हुनेछ ।
मकवानपुर । रेडियाे मकवानपुर र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना बार्षिकोत्सवको अवसरमा सुरु भएको सप्ताहाव्यापी कार्यक्रम अन्तरत पहिलो दिन शुक्रबार शहीद दिवसको सन्दर्भमा माविस्तरीय कविता प्रतियोगिता भएको छ ।
शहीद शीर्षकमा भएको प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने प्रथम, त्रिभुवन नमूना माविका सुजन ढुङ्गाना द्वितीय, भानु माविका जेनिशा चौलागााइँ तृतीय, शारदा माविका कविना सञ्जेल र बालज्योति मावि पिप्लेका रिजाय कार्की शान्त्वना भएका छन् ।
प्रतियोगितामा जिल्लाको विभिन्न विद्यालयको २३ जना विद्यार्थीहरु सहभागी रहेका थिए । कविता प्रतियोगितामा साहित्यकारद्वय दीपक गौतम र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना भएका विद्यार्थीहरुले क्रमश: नगद ५ हजार, ३ हजार, २ हजार र एकहजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँको प्रमुख आतिथ्यता रहेको थियो । रेडियो मकवानपुरले सामुदायिक रेडियो हुनुको नाताले आफ्नो धर्म निर्वाह गर्दै आएकोमा खुसी स्टेसन म्यानेजर अधिकारीले खुशी व्यक्त गरे । कार्यक्रममा पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, दिव्यतारा सहकारीका व्यवस्थापक रमेशप्रसाद कोइारालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीको २३ औं स्थापना दिवस तथा रेडियोको ११ औं बार्षिकोत्सवको अवसरमा शनिबार राक्सिराङको सरिखेत पलाँसेमा सञ्चो हस्पिटलको प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर, १८ गते मामाघर नेपाललाई खाद्यान्न सहयोग, १९ गते एकल महिला, दलित वा विपन्न परिवारको दुईघरलाई खरको छानामुक्त गर्न जस्तापाता खरिद्का लागि जनही २५ हजार रुपैयाँ सहयोग, २० र २१ गते रेडियो मकवानपुर कप दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र २२ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।