मकवानपुर । हेटौंडाको कालभैरव भेट्रान्सले चितवन दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान्स फुटबल प्रतियोगिताकाे उपाधी कब्जा गरेकाे छ । कालभैरवले पहिलो सहभागितामै उपाधि जितेको हो ।
शनिबार भएको फाइनल खेलमा बुटवल भेट्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । कालभैरवले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बुटवल भेट्रान्सले ७५ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि उपाधि विजेता निर्धारण गर्न खेल टाइब्रकेरमा धकेलिएको थियो । प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बन्न सफल कालभैरवका रामलाल लामाले दुई बल रोकेसँगै हेटौंडेली टिमले उपाधि कब्जा गर्न सफल भएको हो । कालभैरवका अजन लिम्बु उत्कृष्ट रक्षक घोषित भए । उत्कृष्ट गोलकिपर र रक्षकले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै कालभैरकै नरेश थापा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पार्न सफल भए । उपाधि विजेता तथा उपविजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पनि उपस्थिति रहेको थियो ।
चितवन भेट्रान्सले भरतपुरको कृष्णनगरमा आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । ४० वर्षभन्दा बढी उमेर समूहका खेलाडीको सहभागिता रहेको प्रतियोगिता फागुन ११ गतेबाट सुरु भएको हो ।
कालभैरवका प्रशिक्षक सञ्जीव राजबाहकले पहिलो सहभागितामै उपाधि जित्दा उत्साही बनेको टिमले यही फागुन २४ गतेदेखि पोखरामा बगरभाइ खलकले आयोजना गर्ने भेट्रान्स कपमा पनि सहभागिता सुनिश्चित भइसकेको बताए । कालभैरव भेट्रान्स क्लबका अध्यक्ष मकवानपुर जिल्लाका पूर्व गोलरक्षक सुरेन्द्रलाल श्रेष्ठ रहेका छन् ।
मकवानपुर । नेवाः गुठी खलः मकवानपुरले वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसहित एक दर्जन बढीलाई सम्मानित गरेकाे छ ।
खलःले अाफ्नाे प्रथम साधारण सभाकाे अवसरमा शनिवार हेटौंडामा । सभामुख श्रेष्ठ सहित नेवार समुदायको विकास, मान, सम्मानमा योगदान पु¥याएको भन्दै प्रदेश सांसद जुनेली श्रेष्ठ, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ लगायतलाई सम्मान गरेकाे हाे । विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका नेवारहरूलाई प्रसंशापत्र प्रदान गरिएको कार्यक्रममा ९० बर्ष नाघेका नेवार जेष्ठ नागरिकहरूलाई खादा ओडाएर अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमका विशेष अतिथी एवं सभामुख श्रेष्ठले नेपालको अस्थित्वको लागि रञ्जना लिपि(नेवारी भाषा) र नेपाल सम्बतको महत्वपूर्ण योगदान रहेको भन्दै नेवारी भाषा, संस्कृति संरक्षण गर्न राज्य(सरकार)ले विशेष भुमिका खेल्नुपर्ने बताए । प्रदेश सांसद श्रेष्ठले नेवार समुदायको विकासका लागि आफुले भुमिका खेल्ने भन्दै शंखधर साख्वाः पार्कलाई आकर्षक बनाउनुपर्नेमा जोड दिईन् ।
कार्यक्रमका सभाध्यक्ष एवं नेवाः गुठी खलःका अध्यक्ष अनिल खड्गीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गरेको कार्यक्रममा हेटौंडा १२ मा एक विगाहा चार कठ्ठामा निर्माणाधिन शंखधर साख्वाः पार्कबारे ईन्जिनियर बिन्द्रलाल श्रेष्ठले नक्सा र बिस्तृत योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष बिष्णुगोपाल महर्जन, राष्ट्रिय भूमिअधिकार मञ्च मकवानपुरका अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, नेवारी दोलखा भाषा विज्ञ एवं पत्रकार बालकृष्ण श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन साँगामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पुनः खड्गीकै अध्यक्षतामा नयाँ समिति चयन
यस्तै साधारणसभाले पुनः अनिल खड्गीकै अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा विष्णुलाल श्रेष्ठ र यज्ञबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिवमा देवकुमार श्रेष्ठ, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा रामकुमार श्रेष्ठ, सहसचिवमा अम्बिका देउला, सहकोषाध्यक्षमा शर्मिला श्रेष्ठ रहेका छन् । सदस्यहरुमा विरेन्द्र कक्षपति, सुस्मिता बलामी, लक्ष्मी श्रेष्ठ, राजु श्रेष्ठ, विजयकुमार प्रधान, रूपकराज बज्राचाय, शोभा शाही र कृष्णबहादुर नगरकोटी रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा वडास्तरीय मेयरकप सुरु भएको छ । शुक्रबारबाट हेटौंडा–४ को हुप्रचौरमा सुरु भएको हो । मेयर कपको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले बागमती प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताएका थिए । पौडेलले गौरिटार रंगशालाको निर्माण काम भईरहेको बताएका हुन् ।
प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–११ ले १ नम्बर वडालाई ४–० गोलअन्तरले पराजित गरेको छ। विजेता टोलीको तर्फबाट ललित चौलागाईं र सुमित प्रधानले दुई/दुई गोल गरेका थिए । प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद दुईलाख रुपैयाँ र उपविजेताले नगद एकलाख रुपैयाँ प्राप्त गर्नेछन् । फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सर्वोत्कृट खेलाडी र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई समेत विधागत रुपमा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

हेटौंडाका नगर प्रमुख हरिबहादुर महतको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, फुटबल संघ मकवानपरका बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलकुद विकास समिति हेटौंडाका अध्यक्ष चन्द्र शाहीलगायतको आतिथ्यता थियो ।
मकवानपुर । नेपाल सरकारबाट ५ वर्ष अगाडि घोषित औद्योगिक क्षेत्रहरुको शिलान्यास गरिएकाे छ । बागमती प्रदेशकाे राजधानी हेटौंडा १४ मा अवस्थित मयुरधापमा मयुरधाप औद्योगिक क्षेत्रकाे शिलान्यास गरिएको हाे । शुक्रबार संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भुमिपुजन गरि तयार पारिएको शिलान्यासलाई सार्वजानिक गरे ।
मन्त्री भट्टले राजनितिक स्थिर नभएसम्म औद्योगिक क्षेत्र सहित अन्य क्षेत्रको विकास नहुने बताए ।कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरको रुपमा विकास गरिने बताए । उद्योगको नाममा जग्गा ओगट्ने मात्रै नभइ, उद्योग सञ्चालन गरि नेपालको अर्थतन्त्र परिवर्तनमा सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले आयतमुखीभन्दा निर्यातमुखी नभएसम्म आर्थिक परिवर्तन नहुने बताए । यसैगरी मयुरधाप औद्योगिक क्षेत्र लि.का अध्यक्ष नन्दकिशोर बस्नेतले ६ महिना भित्र बिजुली सहितका अनय संरचना निर्माण गरिने बताए ।
यस औद्योगिक क्षेत्र १३४.८६ हेक्टर (१९९ विगाह १७ कठ्ठा) क्षेत्रफलमा फैलिएको आयोजनामा ६२ वटा प्टलहरु रहेका छन् । प्रतिप्लट ७ देखि १४ रोपनी क्षेत्रफलमा रहेको छ । उक्त क्षेत्रमा हेलिप्याड देखि शसस्त्र गण,पेट्रोल पप्प, विजुली स्टेशन, हेभि गाडी पार्किङ, वाटर ट्याङ्क, स्टाफ क्वाटर,ल्याव लगायत विभिन्न संरचनाहरु निर्माण गरिने छ ।

मयुरधाप औद्योगिक क्षेत्रमा पूर्वाधार विकासको लागि रु ७ अर्ब २ करोड १४ लाख रकम सरकारी क्षेत्रबाट लगानी गरी निर्माण कार्य यथाशिघ्र प्रारम्भ गर्ने लक्ष्य रहेको हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए ।
उक्त औद्योगिक क्षेत्रमा १९९ बिगाहा १७ कठ्ठा सरकारी जग्गा संघीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रको नाममा दर्ता गरी लालपूर्जा पनि हस्तान्तरण गरिसकिएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । मयुरधाप औद्योगिक क्षेत्रमा वि.सं. ०७५ साल कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिसकिएको पनि बताइएको छ ।
निकट भविष्यमा सो औद्योगिक क्षेत्रमा विभिन्न उद्योग स्थापना गरी संचालन हुँदा प्रत्यक्ष अप्रत्यक्ष गरी १० हजार व्यक्तिहरुले रोजगार अवसर प्राप्त गर्ने भएको बताएइको छ ।
मकवानपुर / उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशले पर्यटन प्रबर्द्धनको लागि प्रदेशको ३ वटा गढीमा १ सय ३० किलोमिटर साइकल यात्रा कार्यक्रम गर्ने भएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर साइकल यात्राबारे जानकारी गराएको हो ।
फागुन २२ गते मकवानपुरगढीबाट यात्रा सुरुगरी २४ गते सिन्धुलिगढीमा झण्डोत्तोनल गरि साइकल यात्रा समापन गरिने मन्त्रालयका सचिव डा शिन्धुप्रसाद ढुंगानाले बताए । साईकल यात्राको माध्यमबाट नयाँ गन्तव्यहरुको खोजि हुने तथा ऐतिहासिक पुरातात्त्विक गढिको सम्बर्द्धन,पहिचान, गन्तव्यको रुपमा विकास गर्नमा सहयोग पुग्ने मन्त्रालयको सचिब ढुङ्गानाले बताए ।
नमुना पर्यटन क्षेत्र बनाउने योगदान पुर्याउन मन्त्रालयले साइकल यात्राको क्रममा जोडिने स्थानीय तहहरूसँग समन्वयको लागि अनुरोध गरेको छ । मन्त्रालयले यस कार्यक्रमको लागि ११ लाख ५० हजार बार्षिक कार्यक्रम बाट छुट्याइएको बताईएको छ । बागमती प्रदेशमा रहेको ९ मध्ये ३ वटा गढी छुने गरि ट्रयाक तयार भएकोले हाल ३ वटा गढीको मात्रै यात्रा गरिने छ । साइकल यात्राबाट कुल १ सय ३० किमि यात्रा गरिनेछ भने कम्तीमा १ सय ७० जना साइकल यात्रीहरु सहभागी हुनेछन् ।
यसैगरी आयोजक र सहयोगी गरि अन्य ६० जना सहभागी हुने मन्त्रालयका सूचना अधिकृत नवराज पुडासैनीले बताए । साइकल यात्रा कार्यक्रमबाट गढीहरुको पहिचान तथा प्रबर्द्धनमा वृद्धि हुने, आन्तरिक पर्यटनमा वृद्धि हुने, गढीलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहज हुने सूचना अधिकृत पुडासैनीले बताए ।