मकवानपुर । राष्ट्रिय कविता वाचन प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका छात्रा वर्षा महतो विजेता बनेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ८ मार्चका दिन भर्चुअल माध्यमबाट आयोजित कविता वाचन प्रतियोगितामा सहभागी सातै प्रदेशका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै वर्षाले उपाधि हात पारेकी हुन् ।
“नेतृत्वमा महिलाः कोभिड–१९ पछिको विश्वमा समान अवसर” भन्ने विषयमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिलाको संघर्ष, महिला नेतृत्व, कोभिड–१९ को विपदमा महिलाले खेलेको भूमिका आदि विषयमा विद्यार्थीहरुले कविता वाचन गरेका थिए । प्रस्तुत कवितामा मूल्यांकन गर्दै आधुनिककी महतोलाई निर्णायकहरुको टोलीले बिजेता घोषित गरेको हो । निर्णायकहरुमा चर्चित कवि योगेन्द्र यादव, बिमला तुम्खेवा र दीपक रौनियार थिए । महतोको कविता “नारी नई छै केक्रो पर भारि”ले महिलाहरुलाई बोझ होइन बरु सशक्तिकरणको रुपमा चित्रित गरेको निर्णायकको ठहर छ ।
यस्तै जन नमुना माध्यमिक विद्यालय कर्णाली प्रदेशकी पूजा पाठकले महिलाको सुरक्षा, सम्मान र रोजगरः समृद्ध नेपालको आधार” शिर्षकको कविताबाट द्वितीय स्थान हासिल गरिन् । अमर माध्यमिक विद्यालय गण्डकी प्रदेशकी सृजना सापकोटा “नेतृत्व हो नारी को” र दमकदा नवदीप माध्यमिक विद्यालय लुम्बिनी प्रदेशकी सपना भण्डारीले “नेपाल र नारी” शिर्षकको कविताका लागि तेस्रो पुरस्कार हात पारे । शीर्ष तीन विजेताहरुका लागि रचनात्मक क्षमता बृद्धि गराउन कार्यशालामा सहभागी गराइने आयोजकले जनाएको छ ।
कार्यक्रममा मन्तव्य दिँदै यूएनडीपीका आवासीय प्रतिनिधि आयनी मेडागोंगोदा लेबले भने, “हामी रातो बंगाला फाउण्डेशनका साथ युवा कविहरुलाई रचनात्मक क्षमतामा प्रोत्साहित गर्न र लैंगिक समानता सहित समाजको मानसिकता परिवर्तनका लागि प्रोत्साहित गर्न पाउँदा खुसी छौं ।” त्यसैगरी रातो बंगला फाउण्डेशनका अध्यक्ष शान्ता दीक्षितले बाल्यकालको विकासको आवश्यकता र बालबालिकालाई शुरुवाती चरणदेखि नै लैंगिक समानताको बारेमा शिक्षित गराउनुपर्नेमा जोड दिए ।
प्रदेश १ अन्तर्गत जलकल्याण माध्यमिक विद्यालयकी यसोदा सुवेदी र जनता माध्यमिक विद्यालयका नागेन्द्र धिमाल, प्रदेश २ अन्तर्गत जनता मोडल टेक्निकल माध्यमिक विद्यालयका प्रीति ठाकुर र महुन्यल माध्यमिक विद्यालय सुदुरपश्चिम प्रदशकी ललिता जोशी प्रतियोगिताको फाइनलमा पुगेका थिए । विद्यार्थीहरुलाई कविता मार्फत रचनात्मक रुपले आफ्नो विचार व्यक्त गर्न र लैंगिक समानतामा चेतना जगाउन प्रोत्साहित गर्ने उद्देश्यका साथ युएनडिपी र रातो बंगला फाउण्डेशनले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा सातै प्रदेशका विद्यार्थीहरुले भाग लिएका थिए ।
मकवानपुर । १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पुरुष पदयात्रा भएकाे छ । लैङ्गिक समानताको लागि पुरुष सहभागिता संजाल नेपालको आयोजना र मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्धको संजालका साथै स्थानिय संध सस्थाहरुको समन्वय र सहकार्यमा पुरुष पदयात्रा गरिएकाे हाे ।
लैङ्गिक समानता तथा मानब अधिकारको क्षेत्रमा कृयशिल संघ सस्थाको पुरुष प्रतिनिधिहरुको सहभागिता रहेको पदयात्रा हेटौडाको सितल महल चोकबाट शुरु भई कपुर कम्प्लेक्स, मेनरोड हुदै बुद्ध चोकमा पुगि कोण सभामा परिणत भएको थियो । मेन ईंगेज एलायन्सको केन्द्रिय परिषदका सदस्य प्रकाश खतिवडाको सभाध्यक्षता तथा बागमति प्रदेश सभा सदस्य माननिय जुनेली श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईन्सेकका बागमति प्रदेश संयोजक कृष्ण गौतम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक संजालका किरण थापा, हामी दाजुभाइका अध्यक्ष सन्जोग ठकुरी, ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिप न्यौपाने, नारी सीप सृजना केन्द्रकी अध्यक्ष सरस्वती बर्तौला, सिबिन नेपालका कार्यक्रम संयोजक झबिन्द्र ज्ञवाली लगायतले कार्यक्रममा महिला माथि हुने हिंसाको बिरुद्ध तथा लैङ्गिक समानताको लागि पुरुषको भूमिकाको महत्व बारेमा चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि माननिय जुनेली श्रेष्ठले लैङ्गिक समानताको लागि पुरुषको भूमिका अपरिहार्य भएको बताइन् । प्रकाश खतिवडाको संयोजकत्वमा कमल फुयाल, चिरन्जीबि पौडेल, झबिन्द्र ज्ञवाली, दिप न्यौपाने, कुमारी बाईबा, किरण थापा, जमुना तितुङ् निशा लामा, सुरेश श्रेष्ठ, राम मिजार, दिगम्बर रुपाचा र बुद्ध लामा सहितको तेह्र सदस्य रहने गरि मेन ईगेज एलायन्स जिल्ला कार्यसमिति मकवानपुर गठन भएको माननीय जुनेली श्रेष्ठले औपचारिक घोषणा गरेकि छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवगठित संजालका अध्यक्ष प्रकाश खतिवडाले यो अभियानमा एकजुट हुनको लागि आह्वान गरे । कोण सभा पश्चात बुद्ध चोकमा द्धिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न गरिएको नारी सीप सृजना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जिबी पौडेलले बताए ।
मकवानपुर । नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ।
बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो। नेकपाको अन्तिम बैठक हो यो।’ समूहले सर्वोच्च अदालतको आइतबारको फैसलामा गम्भीर असहमति प्रकट गरेको छ ।
सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको बैठकबाट बाहिरिएका नेता झलनाथ खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका छन् । नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।
यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ । यस्तै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।
नेता श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिबाट प्रेरित भएको बताए । ‘सर्वोच्चको फैसला रिट निवेदकको मागदावी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसला हो । ‘पार्टीको नाम सम्बन्धमा परेको रिटमा नामका बारेमा निश्कर्ष निकाल्नुपर्ने, आदेश गर्नुपर्ने यसको उत्तरदायित्व जिम्मेवारी हुँदाहुँदै त्यसभन्दा बाहिर गएर फैसला गरिएको छ’ उनले भने ।
रिट निवेदकको माग दावीअनुसार फैसला भएको भए स्वागत गर्ने भन्दै नेता श्रेष्ठले कुनै राजनीतिक दलको एकता गर्ने वा नगर्ने र एकीकृत पार्टी विभाजन गर्ने फैसलाप्रति गम्भीर असहमति व्यक्त गरेको उनले बताए ।
मकवानपुर । हेटौंडा मेयर कपको उपाधि हेटौंडा–१० ले जितेको छ । सोमबार भएको फाइनल खेलमा हेटौंडा–१८ लाई ५–० गोलअन्तरले हराउँदै वडा नम्बर १० ले उपाधी आफ्नाे पाेल्टामा पारेकाे हाे ।
फाइनल खेलमा वडा नम्बर १० का बिके लामाले ह्याट्रिक गरेका थिए । यस्तै प्रितम स्याङबोले १ गोल गरेका थिए भने १ गोल वडा नम्बर १८ ले आत्माघाती गाेल गरेको थियो । वडा नम्बर १० ले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बनेको १८ नम्बर वडाले नगद १ लाखमा चित्त बुझाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १० का सुमन छुमि घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । फागनु १५ गतेबाट सुरु भएको हेटौंडा मेयर कपको समापन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगितामा हेटौंडाका १९ वटा वडाले सहभागिता जनाएको थिए ।