मकवानपुर । मेगा बैंक नेपाल लिमिटेडले पाेखरामा क्यूआर कोड सेवा सुरू गरेकाे छ । पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको बैंकले जानकारी दिएकाे छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी सेवाको शुभारम्भ गरेका हुन् ।
यो ब्यवस्थासँगै पोखराका उपभोक्ताहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सामान खरिद गरेको रकम सजिलै क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन । नगद कारोबारलाई बिस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगदरहित कारोबारलाई बढावा दिने नेपाल राष्ट्र बैकको नीति बमोजिम मेगा बैंकले क्यूआर कोड सेवाको बिस्तारलाई तीव्रता दिइरहेको छ । क्यूआर कोडबाट भुक्तानी गर्दा भुक्तानी छिटो छरितो, झन्झटमुक्त तथा सुरक्षित हुने, कारोबार गर्दा कुनैपनि शुल्क नलाग्ने भएकोले व्यवसायी तथा उपभोक्ताहरुको आर्कषण दिन प्रतिदिन बढ्दै गइरहेको मेगा बैंकले जनाएको छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित बैकिङ्ग सेवा संचालन गर्दै आएको मेगा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई डिजिटल माध्यमबाट पूर्णरुपमा सुरक्षित कारोवारको सुविधा प्रदान गर्ने उद्देश्यले टिक बैकिङ्ग, भिडियो अकाउन्ट ओपनिङ्ग, वीच्याट–पे, च्याटबट जस्ता प्रविधिमा आधारित सेवालाई महत्व दिई संचालनमा ल्याएको छ ।
सेवा शुभारम्भकाे अवसरमा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख निर्देशक ईश्वरीप्रसाद भट्टराई, सहायक निर्देशक धनञ्जय पराजुली, मेगा बैंक नेपाल लिमिटेडका प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, प्रदेश कार्यालयका बजार विभाग प्रमुख लेखनाथ गौतम, नायब प्रदेश प्रमुख राजेन्द्र कोइरालाको उपस्थिति थियो ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्रत्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार मंगलबार १ सय १३ जना कोरोना संक्रमित निकाे भएका छन् । याे सँगै हालसम्म काेराेना निकाे हुनेकाे संख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ।
यस्तै मकवानपुरमा एकैदिन थप ५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १३ जनाको कारोना परीक्षणमा थप ५ जनामा संक्रमण देखिएको हो । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका ४ जना र एक जना थाहा नगरपालिकाको रहेका जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ३ हजार ८ सय ९९ पुगेको छ । मकवानपुरमा हालसम्म संक्रमण पुष्टि भएकामा ३ हजार ८ सय ५८ जना संक्रमण निकाे भईसकेको छ । मकवानपुरमा कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरि थाहा नपालिकाका र मनहरी गाउँपालिकाका २/२ रहेका छन् भने बागमती र बकैया गाउँपालिकाका १/१ जना रहेको छन् ।मकवानपुरमा हाल ९ जना सक्रिय संक्रमित हाेम अाइसाेलेसनमै उपचाररत रहेका छन् ।
यस्तै देशभर १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।
मकवानपुर । झलनाथ खनाल–माधव नेपाल समूहले नेकपाकाे बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १ सय ७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको समूहले घाेषणा गरेकाे कमिटीकाे सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । कमिटीकाे सदस्यहरुमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनीलगायत रहेका छन् ।
कार्यक्रममा घोषणा गरिएकाे १ सय ७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइएकाे छ।
मकवानपुर । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले माधवकुमार नेपाल पक्षका तीन जना विद्यार्थी नेताहरूलाई कारवाही गरेको छ।
अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी नेपाल पक्षका आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्। महर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्।
लामासहित नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए। उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मंगलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै आज १ बजे बैठक बस्ने जनाएको हो ।
प्रदेशसभा बैठक आज १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । प्रदेशसभा बैठक बस्नुअघि चैत २४ गते ११ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र उक्त बैठकले प्रदेशसभामा पेश हुने विषयका बारेमा निर्णय गर्ने उनले बताए ।
गत पुस १० गते तत्कालीन नेकपाका ४५ जना सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको थियो । अविश्वास प्रस्ताव गत माघ ९ गते बसेको प्रदेशसभा बैठकमा टेबल भएपनि छलफल हुन सकेन । माघ १९ गते बस्ने गरी स्थगित भएको बैठक बस्न सकेको छैन ।
त्यसयता प्रदेशसभा बैठक विषेश कारण देखाउँदै दुई पटकसम्म स्थगित भएको थियो । चैत १७ गते प्रदेशका पूर्व वनमन्त्री अरुण नेपाल नेतृत्वको टोलीले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने निवेदन संसद सचिवालयमा दर्ता गराएपछि बागमती प्रदेशसभा बैठक बस्ने भएको हो ।
आज हुने बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ताबारे सभालाई जानकारी दिने, यसअघि प्रदेशसभा बैठकमा छलफल भएर प्रतिवेदनसमेत तयार भइ बैठकले पास गर्न बाँकी रहेको प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ का विषयमा छलफल हुन सक्ने प्रवक्ता विनोद अमात्यले बताए ।