मकवानपुर । प्रतिनिधी सभाकाे विशेष अधिवेशन बैशाख २७ गते साेमबार बस्ने भएकाे छ । मन्त्रिपरिषद्काे बैशाख १९ गतेकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी हुन् ।
‘प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको विशेषअधिवेशन राष्ट्रपतिले आह्वान गर्नु भएको छ ’ राष्ट्रपति कार्यालयकाे विज्ञप्तीमा भनिएकाे छ ।
प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । हाल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
२७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ भने नेपाली काँग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ पार्टी छाडेका ४ जना पदमुक्त भएपछि०, जनता समाजवादी पार्टीको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १–१ सिट रहेको छ । जसमध्ये नेपाली काँग्रेसका २ जना र जनता समाजवादी पार्टीका २ जना निलम्बित छन् ।


जब महामारी र प्रतिकूलता आइपर्छ तब दुःख, कष्टको महसुस हुनु स्वाभाविक हो। यस्तो समयमा मन धेरै अत्तालिन्छ त्यसैले मनलाई शान्त कसरी राख्ने त्यो नै दुःख मुक्तिको उपाय पनि हो। किनकि मन आत्तिँदैमा समस्याको समाधान हुँदैन। बरु दुःखमा पनि मन शान्त राख्न सके समाधानका उपाय थाहा लाग्दछ। गतवर्षभन्दा फरक तरिकाले फैलिएको कोरोना भाइरसले छिट्टै आक्रमण गर्ने लक्षण देखिएको छ। छिमेकी मुलुक भारतमै अकस्मात तिब्र गतिमा फैलिएको आँकडाबाट महसुस गर्न सकिन्छ अब केवल सकेसम्म घरभित्रै एकान्त र शून्यतामा समय बिताउनु बुद्घिमानी हुनेछ। त्यसका लागि एकान्तपन के हो, शून्यता र निराकारलाई कसरी जीवनशैली बनाउने र यसबाट आन्तरिक लाभ के हुन्छ अनि यो महामारीमा धैर्यता र समझको विकास कसरी हुन्छ ? केही आयामलाई जान्ने र व्यवहारमा उतार्ने कोशिस गरौं :
शून्यता र एक्लोपनको जीवन
एक्लै त बस्नै सक्दिनँ। एक्लै बस्दा त बिरामी परेजस्तै लाग्छ। एक्लै हुँदा नरमाइलो लाग्छ। यस्ता अभिव्यक्तिहरू प्रायःजसोबाट सुन्नमा आइरहन्थे। भिडभाड, घुमघाम, भेटघाट र कुराकानी गरेर समय बिताउन मन लाग्छ धेरैलाई। यसको अर्थ रमाइलो पनि अरूबाट लिनुपर्छ, अरूबाटै पाइन्छ, एक्लै रमाउन सकिन्न भन्ने धारणा बसिसकेको छ। बहिर्मुखी भएको छ स्वभाव, एक्लै रमाउने र अन्तर्मुखी हुने कला विकास भएको छैन। तर, विगत एक वर्षदेखि कोरोनाको कारण अस्तित्वमा यस्तो परिस्थिति आयो कि– घरमा भिड सहर शून्य छ, मानिस आफ्नै घरमा कैदी भए, पैसा सस्तो लाग्छ बरु आज जिन्दगी महंगो भएको छ। अस्तित्वको नियम पनि गजबको छ एक्लै बस्नुलाई सजाय सम्झने मानिसलाई आज एक्लै बस्न पाए म खुसी हुने थिएँ, रोग मुक्त हुने थिएँ र जीवन पाउने थिएँ कि भन्न बाध्य बनाइदिएको छ। कस्तो महामारी सृजना भएको होला जसको उपचार केवल एक्लै हुनु र टाढा हुनुमा छ। यसमा विमति जनाउनासाथ अस्पतालको शै¥यामा पुग्नुपर्ने अवस्था आउन सक्छ।
बाहिरी आकर्षणबाट माथि उठ्न सकेमा मात्र स्व–बोधमा जान सहज हुन्छ। स्व–बोध र आत्मसत्ताको अनुभूति गर्न पाउनु जत्तिको ठूलो उपलब्धि र सिकाइ अरू के होला जीवनमा ?
एकान्तवास र ध्यानको अभ्यास
हामी एक्लै बस्न नसक्नुको कारण हामीमा ध्यानको अभ्यास छैन। ध्यान भनेको नोकरीबाट अवकाश पाएपछि अभ्यास गर्ने हो, उमेरमा परिश्रम नै गर्नुपर्छ। उमेरमै अर्थात् शरीरमा ऊर्जा हुँदैमा ध्यान गरेर समय खेर फाल्नु हुँदैन। यो समय त कमाउने या आर्जन गर्ने समय हो, धन संकलन गर्ने, भविष्यका लागि केही संग्रह गर्ने समय हो भनेर पढालेखाहरूबाट नै सुन्न पाइन्छ। अर्कोतिर संसार हेर्न बानी परेका हामी ध्यान भनेको आँखा बन्द गरेर एकाग्र हुनु हो जुन कठिन अभ्यास हो भन्ने गरेको सुनिन्छ। ध्यान आँखा बन्द गरेर भित्र हेर्नु मात्र होइन, बन्द आँखाले भित्र हेर्दा जुन निराकार देखिन्छ त्यसमा स्वयंको स्वभाव र गुणवत्ता थाहा पाउने अभ्यास पनि हो। यो अन्तर्मुखी हुने अभ्यासले बौद्घिक तथा मानसिक विकारहरूलाई परास्त गर्ने मात्र होइन, जीवनमा अनुशासन कायम राख्नसमेत मद्घत गर्दछ।
जब प्रतिकुलता र महामारी फैलन्छ तब हाम्रो मन अशान्त, चिन्तित र भययुक्त बन्छ। यो भय र चिन्तामुक्तको उपचार नै ध्यान हो। ध्यानको अभ्यासले मानसिक प्रवृत्तिलाई नियन्त्रण गर्न मद्घत गर्दछ। नकारात्मक सोच र व्याकुलतालाई निर्मुल गर्दछ। स्वासको माध्यमबाट अन्तर्मुखी हुने अभ्यासले थाहा नपाइकन निराशा, तनाव र अस्थिरतालाई शान्त बनाउँछ र शून्यतामा पनि कति गहिराइ छ भन्ने बोध दिलाउँछ। जीवनलाई सहजता, संयमता र धैर्यताको शीलले कसरी अगाडि बढाउने त्यो कला प्रदान गर्दछ।
एक्लोपन सन्तुलनको विज्ञान
ओशो भन्नुहुन्छ– अरूलाई ध्यान दिनु प्रेम हो र स्वयंलाई प्रेम गर्नु ध्यान हो। त्यसैले ध्यान र प्रेम मेरा दुई सूत्रलाई जीवनमा उतार्नेले जीवनमा कष्ट होइन उत्सवको अनुभूति लिन सफल हुन्छ। केही प्रतिशतलाई छोडेर, हामी किन ध्यानको अभ्यासमा डुब्न सक्दैनौं त ? के हामी अरूलाई ध्यान दिन या प्रेम दिन सक्षम छैनौं ? हामी स्वयंलाई प्रेम गर्न जान्दैनौं ? हुन पनि सक्छ हाम्रो धारणाले त प्रेम अरूबाट पाउने हो र स्वयंलाई त किन प्रेम गर्नु पर्यो भन्ने संस्कारबाट नै विकसित भएका छौं अधिकांश हामी। संसारको सफलताकै भागदौडमा हाम्रो मन र विचार यति प्रवाहमान भइरहेको हुन्छ कि भावनात्मक सन्तुलनबाट हामी पर पुगिसकेका हुन्छौं। मनले जितिसकेको हुन्छ, भावना, करूणा, संवेदनशिलताको सट्टामा कठोरता, स्वार्थ र लोभीपनाको विकास भएको हुन्छ। एकान्तमा ध्यानको अभ्यास बढाउदै जाने हो भने मन स्थिर, विचार शान्त, स्वभाव सहज र जीवनमा सन्तुलनको अवस्था अनुभूति हुन थाल्दछ। आन्तरिक शान्ति, प्रेम, करूणा विकसित भएको स्वयं महसुस गर्न सकिन्छ। बाहिरी आकर्षणबाट माथि उठ्न सकेमा मात्र स्व–बोधमा जान सहज हुन्छ। स्व–बोध र आत्मसत्ताको अनुभूति गर्न पाउनु जत्तिको ठूलो उपलब्धि र सिकाइ अरू के होला जीवनमा ? किनकि बाहिरको मिहिनेतले भौतिक सफलता त हात लाग्छ नै। भौतिक सफलतासँगै ध्यान स्वयं घटित हुन्छ त्यो जरुरी छैन। ध्यानको अनुभूतिका लागि आफूलाई समय दिएर २४ घन्टाको समयमा केही क्षण छुट्टयाउनै पर्ने हुन्छ। समय छैन भनेर बहाना गर्नेले यो महामारीको समय र जीवनको मूल्य अनि आन्तरिक सुख र सन्तोष खोजिरहेको अवस्थालाई ध्यानको अभ्यासमा लगाउनु उपयुक्त समय आएको छ।
एकान्तपनलाई सहज बनाउने तरिका
घरको एउटा निश्चित कोठा या कुनै कुनामा जहाँ अरूको हल्ला सकभर नआओस्। बाहिरको होहल्लाले मनलाई बाहिरै लैजाने हुँदा एकान्त ठाउँले ध्यानमा केन्द्रित हुन मद्घत गर्दछ। वास्तवमा ध्यानको लागि यहि नै समय भनेर छुट्टयाउनु पर्दैन, जुन समय फुर्सद निकाल्न सकिन्छ त्यो नै उपयुक्त समय हुन्छ तैपनि बिहानको आफ्नो नित्य कर्महरू सकेर, विचार शान्त भएको समय ध्यानको लागि उपयुक्त समय हुन्छ। दिनभरको कर्म सकेर साँझ घर फर्केपछि केही समय छुट्टयाएर एकान्तमा ध्यानमा बस्नु उपयुक्त हुन्छ। वातावरण शान्त र सौम्य हुन सकेमा ज्यादै नै प्रभावकारी हुन्छ। ध्यानका लागि तयारी हुने भाव आउनासाथै विचार शिथिल, शरीर सहज र मन शान्त बन्दछ। सुरुसुरुमा ध्यानको अभ्यास गर्दा कस्तो आसन लगाउने आदि जिज्ञासा उत्पन्न हुन सक्दछ। सुखासन, जसरी बस्दा सुख र सहज हुन्छ त्यो आसन नै उपयुक्त आसन हो। शरीरलाई बिस्तारै निस्कृय बनाउने, शिथिल बनाउने, हातमा ज्ञान मुद्रा बनाउने, मेरुदण्ड सिधा हुनेगरी पदमासन लगाउने या सहज बस्ने, आउंदै जादै गरेको स्वासलाई ध्यान दिने, स्वास सहज हुन दिने, केवल जागृत रहने र भित्र डुब्ने यही नै ध्यानमा प्रवेश गर्ने विधि हो। ध्यानको विधिमार्फत ध्यानमा प्रवेश गरिन्छ। विधिमार्फत प्राप्त हुने शून्यता, निर्विचार, अन्तराकाशको फैलावट, अनन्तताको महसुसजस्ता बोध नै ध्यानको अनुभूति हो। जसले शान्त, सहज र ग्रहणशील बनाउँछ।
अन्नपूर्णपाेष्टबाट
मकवानपुर। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएका छन् । पछिल्लो परिस्थितिकाे जानकारी लिदै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आइतबार बिहान टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
सीसीएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताए । कुनै गम्भीर विषय भएमा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले जिल्लाको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालहरुमा बढिरहेको, अस्पतालमा बेडको अभाव भएको, मेडिकल डाक्टरहरुको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालको रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराएका थिए । उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सिसिएमसीका तर्फबाट सम्बोधन गरिने बताएका हुन् ।
उपप्रधानमन्त्री पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्न समेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । उनले नेपाल–भारत सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्थापनका विषयमा पनि जानकारी लिएका छन्।
मकवानपुर । अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले मकवानपुर सहित देशभर पहाडी भूभागमा पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बर्षा भइ रहेको छ । मकवानपुरमा पछिल्लाे समय बढेकाे गर्मीलाइ भइरहेकाे बर्षाबाट राहत मिल्ने भएकाे छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/ हावाहुरी सहित बर्षा भएको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख १९ गते आइतबार दिउँसो देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ। आइतबार राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।
यस्तै बैशाख २० गते सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना महाशाखाले जनाएकाे छ। साेमबार राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।
बैशाख २१ गते मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना महाशाखाले जानकारी दिएकाे हाे। मंगलबार राती देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुइ स्थानहरुमा मध्यम बर्षाको समेत सम्भावना छ ।
यसै गरी देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेकाे छ।