मकवानपुर / कोरोना महामारीको कारण जारी निषेधाज्ञाले दैनिकी गुजार्न समस्यामा परेका एकल महिलाहरू, घरेलु हिंसा प्रभावितहरूको लागि खाद्यन्न सहयोग गरिएको छ ।
माईती नेपाल मकवानपुर, प्रदेश सभा संसद मुनु सिग्देल र हेटौंडा उपमहानगरपालिका उमप्रमुख मिनाकुमारी लामाको समन्वयमा माडवरी एशोसियशन मकवानपुरले मसलन्द सामग्री सहयोग गरेको हो । हेटौंडाको विभिन्न स्थानमा बसोबास गर्दै आएका एकल महिलाहरू घरेलु हिंसा प्रभावितहरू तथा श्रमिक महिलाहरूलाई दाल चामल तेल लगायतको मसलन्द सामग्री वितरण गरिएको हो।
वितरण कार्यक्रम माडवरी एशोशियशनका अध्यक्ष पवनकुमार अग्रवाल, महासचिव अजय अग्रवाल, माडवरी महिला मञ्च निवर्तमान अध्यक्ष मिरा अग्रवाल, माइती नेपाल मकवानपुर प्रमुख माया लामा, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष बासुदेव खतिवडा, हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाईबालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा २० जनालाई मसलन्द सामग्री सहयोग गरिएको माइती नेपाल मकवानपुर प्रमुख लामाले बताइन् ।
कार्यक्रममा माइती नेपाल मकवानपुरकाे मन लामा, सरिता तामाङ्गकाे समेत उपस्थिति रहेकाे थियाे।


मकवानपुर । मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधन कारवाहीमा परेकाे छ । जेठ २० गते विहीबार निषेधाज्ञा उल्लङ्घन गर्ने ३ सवारी साधन कारवाही गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले निषेधाज्ञा उल्लङ्घन गर्ने ५७ जना मानिसलाई होल्ड गरी छाडिएकाे छ । निषेधाज्ञामा अनावश्यक काममा बाहिर निस्केकालाई प्रहरीले सम्झाई बुझाई गरेर फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
त्यस्तै १७ वटा मोटरसाइकल/स्कुटर, अटो, सानो गाडीको कागजपत्र नियन्त्रणमा लिईएकोमा कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ३ वटा सवारी साधनलाई कारवाही गरिएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए । ।
मकवानपुर । नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न अन्तराष्ट्रिय संचार माध्यममा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले ध्यानाकर्षण भएकाे भन्दै विज्ञप्ति मार्फत उक्त कुरा स्पष्ट पारेको हो ।
विहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो ।

मकवानपुर । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ५ सय ३१ पीसीआर परीक्षणमा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टिजेन परीक्षणमा १ हजार गरी ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएकाे छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । जसमध्ये १ लाख १ हजार ८३ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।
मकवानपुरमा थप १ सय ४ जना काेराेना संक्रमणमुक्त
विहीबार मकवानपुरमा थप १ सय ४ जना काेराेना संक्रमणमुक्त भएका छन् । आज होमआइसोलेसनबाट ७४ जना र आइसोलेसनबाट ३० जना गरी थप १ सय ४ जनाले कोरोना जितेका हुन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ६ हजार ७ सय १९ जना पुगेका छन् ।
यस्तै विहीबार जिल्लामा थप ९६ जनामा कोरोना भाइरस पुष्टि भएकाे छ । आज २ सय १३ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा थप ९६ जनामा संक्रमण पुष्टि भएकाे हाे । यो संगै मकवानपुरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ४४ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा हाल २ हजार २ सय २१ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । जसमा २ हजार १ सय १५ जना घरमा र १ सय ६ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।
मकवानपुरमा हालसम्म कोरोनाको कारण ९८ जनाको मृत्यु भएको छ ।