मकवानपुर । अहिले देशभर पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाले आज देशभर मौसम बदली रहने तथा केही प्रदेशहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ।
बुधबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सवैमा अनुरोध समेत गरेकाेछ।
- शान्ति अर्याल अधिकारी
१.
कति निर्दयी छ दैंव पनि ,साथ छुटाएर लान्छ
असह्य पिडा दिन्छ, सबैको मुटु फुटाएर लान्छ
अपत्यारिलो चोट दिई ,उठाई लान्छ धर्तीबाट
किन डाह लाग्छ उसलाई, खुशी टुटाएर लान्छ ।
२.
फुल ठान्थे जिन्दगीलाई काँढा बनायो
रहर त होईन विवशताले टाढा बनायो
भुल्नै पर्ने बाध्यता छ जिन्दगी को सामु
बिर्सु भन्छु झन् झन् माया गाढा बनायो ।
३.
छिपाउँन खोज्छु मान्दैंन आँखा आँशु नै चुहाउँछ
किन दुखाउँछ मुटु जसले पनि चोट नै खुवाउँछ
सोँच्दै छु फेरी एकान्त बसी के लेख्यो भाबीले
सायद मेरो आँखामा हजुर आँशु नै सुहाउँछ ।
४.
दिन पक्कै फिर्छ होला चुनौतीलाई मोल्न सकेँ
पिठो पनि बिक्छ भन्छन् कुरा मिलाई बोल्न सकेँ
बजेट छर्छन कनिका झै बिकास कहिले हुने होला?
बेरोजगारलाई रोजगार मिल्थ्यो उधोग धन्दा खोल्न सकेँ ।
५.
हाम्रो हातमा छैन् जिवन साँचो अर्कै चलाईदिन्छ
मै हु ठान्ने जो कोहीलाई पनि छिनभरमै गलाईदिन्छ
आखिर किन गर्नु तछाड मछाड मानवता नै बिर्सिएर
एक अञ्जुली पानी चढाई निर्वस्त्र जलाईदिन्छ ।
पाल्पा हाल पाेर्चुगल
- प्रा. डा. सबिना श्रेष्ठ
कोभिड-१९ ले गर्दा बालबालिका स्कुल जान पाएका छैनन् । उनीहरू अनलाइन कक्षा लिइरहेका छन् । जसकारण उनीहरूमा ‘स्क्रिन टाइम’ बढिरहेको छ । मोबाइल, ल्यापटप, कम्प्युटर र ट्याबमा उनीहरू समय बिताउन थालेका छन् ।
स्क्रिनमा लामो समय बिताउँदा सामान्य अवस्थामा जति आँखा झिम्किन्छ त्यो अनुसार झिम्किन पाउँदैन । आँखा झिम्किन नपाउने बत्तिकै आँखामा आँसु फैलिन पाउँदैन र, आँखा सुख्खा हुन्छ । जसले आँखा चिलाउने पोल्ने, बिझाउने र आँसु आउने आदिजस्ता समस्या देखिन थाल्छन् ।
सबैसँग कम्प्युटर र ल्याप्टप हुँदैन । धेरैले मोबाइलबाटै कक्षा लिइरहेका हुन्छन् । मोबाइल, कम्प्युटर, ल्यापटप सबैको स्क्रिनबाट निस्किने रेजले पनि बालबालिकाको आँखालाई असर गर्छ । जसको कारण उनीहरूमा ‘रिफ्राक्टिभ एरर’ अर्थात् दृष्टिदोषको समस्या देखिन्छ । त्यसमा पनि मायोपिया भन्ने दृष्टिदोष उनीहरूमा देखिन्छ ।
केही बालबालिकामा जन्माजात नै दृष्टिदोषको समस्या हुन्छ । कतिपयमा भने स्कुल जान थालेपछि यो समस्या देखिन थाल्छ । मायोपिया १०-११ वर्षको उमेर भएपछि सुरु हुन्छ । गर्मी महिनामा केही बालबालिकामा आँखा चिलाउने समस्या पनि देखिन्छ । तर, यो १४-१५ वर्षको उमेर भएपछि आफै निको भएर जान्छ ।
मायोपियाको समस्या आजकाल धेरै बालबालिकामा हुने देखिएको छ । उनीहरूले टाढाको वस्तु धमिलो देख्छन् । जसले गर्दा आजभोलि धेरै बालबालिकालाई सानै बेलामा चस्मा लगाउनुपर्ने देखिएको छ ।
यो समय धेरै बालबालिका घरमै ग्याजेट्ससँग बिताइरहेको हुनाले आगामि दिनमा मायोपियाको समस्या झनै बढ्ने संभावना छ । मायोपियाको समस्या हुँदा बालबालिकालाई आँखा खुम्चाएर हेर्ने, टाउको दुख्ने, टाढाको वस्तु हेर्न गाह्रो हुने हुन्छ । मायोपियाबाट बालबालिकालाई बचाउन ग्याजेटको कम प्रयोग गर्न लगाउनुपर्छ ।
धेरै अभिभावक बच्चाले सानै उमेरमा चस्मा लगाउनुपर्दा चिन्तित देखिन्छन् । आँखाको समस्या देखिदा ६ महिनाको बच्चालाई पनि चस्मा लगाउनु पर्ने हुन्छ । दुई वर्षसम्मको उमेर ‘भिजट डेभलप’ हुने उमेर हो । त्यो समयमा देखिएको समस्यालाई बेवास्ता गरियो भने पछि समस्या हुन्छ । चस्मा लगाउनुपर्ने बच्चाहरूमा आठ वर्षभित्र चस्मा लगाउन सकेको खण्डमा पछि गएर आँखा अल्छी हुने हुँदैन । सानैमा पावरवाला चस्मा लगाइदिँदा भोलि झन् धेरै पावरवाला चस्मा लगाइदिनुपर्ला भन्ने चिन्ता पनि केही अभिभावकमा छ । तर, यो चिन्ता लिनुपर्ने विषय होइन ।
सानोमा समस्या समाधान नगर्दा ठूलो भएपछि विभिन्न उपाय लगाउदा पनि आँखालाई बनाउन सकिदैन । त्यसको लागि बालबालिकाको आँखा ६ महिनादेखि वर्षदिनभित्र जचाइराख्नुपर्छ ।
त्यो बाहेक पनि उनीहरूको आँखा बेलाबेलामा असामान्य रुपमा हल्लिरहको छ, डेडो छ, खुम्च्याएर हेर्छ, नौलो ठाँउ जाँदा अभिभावको हात समाउँछ, बाटो नदेखेर ठोक्किन्छ, लड्छ भने आँखामा समस्या छ भनेर बुझ्नुपर्छ । धेरै बालबालिका आफूलाई भएको समस्याबारे जानकार नभएर ‘कम्प्लेन’ गर्न नसक्ने भएकाले उनीहरूकोे हाउभाउ बुझेर उनीहरूको समस्याबारे थाहा पाउन सकिन्छ ।
कोभिडले गर्दा धेरै बालबालिका घरबाहिर निस्किन पाएका छैनन् । बाहिर निस्किन नपाउने बित्तिकै उनीहरू पहिला जस्तो आउटडोर गेम खेल्दैनन् । घरभित्रै अनेक थरिका ग्याजेटमा समय बिताउँछन् । जुन बालबालिका बाहिर गएर खेल्दैनन् उनीहरूमा आँखाको समस्या देखिएको छ ।
यो रिसर्चले पनि देखाएको कुरा हो । नेपालमा सरकारी र निजी विद्यालयका बालकालिकामा एउटा अध्ययन गरिएको थियो । जसमा सरकारी विद्यालयमा पढ्ने बालबालिकाभन्दा निजी विद्यालयमा पढ्ने बालबालिकामा धेरै आँखाको समस्या देखिएको थियो ।
अहिलेको अवस्थामा ‘अनलाइन कक्षा नलिनू’ भन्न मिल्दैन । अनलाइन कक्षा नलिदा शैक्षिक सत्र नै खेर जाने खतरा हुन्छ । त्यसैले, कक्षा हुँदा कम्प्युटरमा बसेपनि त्यसपछिको समय भने बालबालिकालाई स्क्रिनबाट टाढा राख्नुपर्छ । कम्प्युटरको गेमभन्दा बाहिरी गेमहरू खेलाउनुपर्छ । यस्तो समयमा बाहिर गएर खेल भन्न पनि मिल्दैन । तर, घरमै पनि उनीहरूलाई कौसीतिर निकालेर अन्य गेम खेलाउन सकिन्छ । (बाल आँखा रोग विशेषज्ञ डा. श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित ।) इकाजबाट साभार
मकवानपुर । देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेकोले हल्का वर्षाकाे सम्भावना रहकाे छ । हाल पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाेले अन्य केही स्थानमा समेत सामान्य वर्षा हुने तथा केही स्थानहरूमा सामान्यतया माैसम सफा रहने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेकाे छ ।
यसै गरी प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
मकवानपुर । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यकाे जवाफ दिएकाे छ । ओलीद्वारा पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित गर्दै वक्तव्य जारी भएकाे ठहर गर्दै नेपाल खनाल पक्षले वक्तव्यद्वारा नै जवाफ दिएकाे हाे । पार्टी र सम्बद्ध सबै जनसंगठनहरुको संगठनात्मक संरचना तथा जिम्मेवारी २०७५ साल जेठ २ गते अगाडिको स्थितिमा कायम गरी सञ्चालन गर्ने गरी हुनु पर्नेमा ३ गते पूर्व भन्दै अलमल्याने गरी भाषा प्रयाेग गरिएकाे नेपाल खनाल पक्षले ठहर गरेकाे छ ।
आफू पक्षीय स्थायी कमिटीका पदाधिकारी तथा सदस्यहरुको बैठकको निर्णय सार्वजनिक गर्दै खनाल–नेपाल पक्षले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरण २०७५ साल जेठ ३ गते भएकोले सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित हुने फैसला भएकाेले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्र रुपमा कायम हुनुपर्नेमा जाेड दिएकाे छ ।
यस्तै नवौं राष्ट्रिय महाधिवेशनको निर्णय तथा पार्टी विधान विपरीत २०७७ साल फागुन २३ गते पछि (फागुन २८ गतेको निर्णय समेत) का सबै निर्णयहरु खारेज गर्ने पनि जारी वक्तव्यमा उल्लेख गरिएकाे छ । यसैगरी प्रधानमन्त्री केपी ओलीबाट केपी ओलीबाट जारी वक्तव्यका बुँदाहरुको सूक्ष्म, गहन र यथार्थपरक विश्लेषण गर्नु पर्ने भन्दै साे सम्बन्धमा ६ बुँदे वक्तव्य जारी गरिएकाे हाे ।
नेपालद्वारा जारी वक्तव्यमा प्रतिनिधि सभा विघटन गर्ने लगायतका संविधान सम्मत नरहेका निर्णयहरु फिर्ता गरिनुपर्ने लगायतका केपी ओलीबाट जारी वक्तव्यका बुँदाहरुलाइ जवाफ दिइएकाे छ ।
यस्तो छ वक्तव्य
मिति : २०७८ जेष्ठ २४ गते
प्रेस वक्तव्य
यही जेठ २३ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कमिटीका अध्यक्ष केपी ओलीद्वारा सार्वजनिक रुपमा जारी वक्तव्यप्रति हाम्रो ध्यान गएको छ । उहाँले वक्तव्यको आरम्भमा नै “पार्टी एकताको महत्व र खाँचोलाई गहिरो गरी बुझेको” कुरा गर्नुभएको छ । यस्तो बुझाई रहेको भए हामीले गत चैत्र २ गते र त्यसपछि अनेक पटक नेकपा (एमाले) को एकतालाई कायम गर्न गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) पुनर्जीवित भएकोले पार्टीलाई समग्ररुपमा नेकपा (माओवादी केन्द्र) संग एकीकरण हुनु अघि २०७५ साल जेठ २ गतेको अवस्थामा क्रियाशील बनाऔं भनी अगाडि सारेको उचित प्रस्ताव उहाँबाट अस्वीकृत हुने थिएन होला । हाम्रो निरन्तरको चाहना बमोजिमको पार्टी एकता माथि कुठाराघात हुने थिएन होला । पार्टी विधान मिचेर हामीलाई कथित कार्वाई गर्ने, वार्ता र कार्यदललाई तत्काल परिणाममुखी बनाउनु पर्छ भन्ने हाम्रो कुरा नमान्ने कार्य अध्यक्ष केपी ओलीबाट हुँदैनथ्यो होला । त्यसैगरी उहाँले वक्तव्यमा सर्वोच्च अदालतको फैसलाबाट दुई पार्टीको एकीकरण भंग नभई नाम फेर्न समय दिइएको र आफुले पहल गरेको तर्क गर्नुभएको छ । यदि त्यसो हो भने पार्टी अध्यक्ष रहनुभएका केपी ओलीद्वारा पार्टीको विधिवत् बैठक बोलाएर नेकपा (माओवादी केन्द्र) संगको एकीकरणको विषयमा के गर्ने भन्ने छलफल किन नगराएको त ? के यति गम्भीर विषय कुनै दुईजनाको मात्र सरोकार र कुराकानीको विषय हुनसक्छ ? त्यसैगरी वक्तव्यमा उहाँले पार्टी एकताका आधार, सिद्धान्त र नीति, मूल्य र मान्यताहरु भएको कुरा स्वीकार गर्नुभएको छ । यस्तो स्वीकारोक्ति यथार्थ हो भने गत फागुन २८ गते र तत्पश्चात् पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र निर्णय, पारित विधान, नियमावली र आचारसंहिता विपरीत गरिएका निर्णयहरु एकमुष्ट खारेज गरिएको कुरा वक्तव्यमा किन आएन ? पार्टी पुनर्जीवित भएपछि सहजरुपमा एकीकरण पूर्वको स्थिति कायम गरी सञ्चालन गर्नुपर्नेमा त्यसको विपरीत अध्यक्ष ओली स्वयंबाट पार्टी विधान विपरीत गुटबन्दीपूर्ण किसिमले एकपछि अर्को कार्य गरिएकोले पार्टीमा आजका समस्याहरु सिर्जना भएको स्पष्टै छ । हामी शुरुदेखि नै एकताको पक्षमा थिर्यौ र अहिले पनि छौं । तर अध्यक्ष केपी ओलीबाट नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, नीति र कार्यदिशा छाड्नुका साथै पार्टी विधानको उल्लंघन गर्ने काम भएपछि पार्टीमा समस्या उत्पन्न भएको हो । उहाँले केन्द्रीय कमिटीका सदस्यहरुको ठूलो हिस्सालाई कुनै जानकारी नदिई आफ्नो गुटको बैठक गरेर राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई पार्टी विधान विपरीत भंग गर्ने, पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीबाट हटाउने र कथित कार्वाई गर्ने तथा राष्ट्र र जनताको हित प्रतिकूल पटक–पटक नेपालको संविधान मिच्ने र देश कोरोना महामारीले आक्रान्त भएको बेला प्रतिनिधि सभा विघटन गरी अर्बौ रुपैयाँ खर्च हुने निर्वाचनको घोषणा गर्ने जस्ता कार्य हुँदा पनि हामीले धैर्यका साथ पार्टी एकताका लागि प्रयास गरि रह्यौं । यस्तो पृष्ठभूमि र यथार्थको स्मरण गर्दै केपी ओलीबाट जारी वक्तव्यका बुँदाहरुको सूक्ष्म, गहन र यथार्थपरक विश्लेषणबाट निम्नलिखित कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ः
१) हाम्रो तर्फबाट मिति २०७८ वैशाख ७ र २६ गते मा दुई–दुई पटक लिखितरुपमा नेकपा (एमाले) को एकता र प्रभावकारितालाई कायम राख्न केपी ओलीलाई ठोस प्रस्ताव पठाइएको थियो । त्यसमा हामीले स्पष्टरुपमा ––
क. पार्टी र सम्बद्ध सबै जनसंगठनहरुको संगठनात्मक संरचना तथा जिम्मेवारी २०७५ साल जेठ २ गते अगाडिको स्थितिमा कायम गरी सञ्चालन गर्ने,
ख. नवौं राष्ट्रिय महाधिवेशनको निर्णय तथा पार्टी विधान विपरीत २०७७ साल फागुन २३ गते पछि (फागुन २८ गतेको निर्णय समेत) का सबै निर्णयहरु खारेज गर्ने,
ग. यस विषयमा सहमति भएकै दिन पार्टी स्थायी कमिटीको बैठक बोलाई उक्त सहमतिको अनुमोदन गर्ने,
घ. सोही बैठकबाट एउटा कार्यदल गठन गरी त्यसले राष्ट्रिय महाधिवेशन, विभिन्न तहका अधिवेशन र पार्टी सदस्यता लगायतका संगठनात्मक विषयहरुका बारेमा सात दिनभित्र सिफारिश प्रतिवेदन दिनेगरी निर्णय गर्नुपर्ने उल्लेख गरेका थियौं,
ङ. त्यसैगरी केन्द्रदेखि स्थानीय तहसम्म स्पष्टीकरण, निलम्बन र सदस्यता खारेजी लगायतका सबै कावाईहरु बदर गर्ने,
च. पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्ने,
छ. पार्टीमा सहज स्थिति भएपछि विगतमा भए गरेका कामकुराहरुको उपयुक्त समयमा समीक्षा गर्ने सहमति हुनुपर्ने स्पष्ट गरेका थियौं ।
ज. प्रधानमन्त्री केपी ओलीबाट प्रतिनिधि सभा विघटन गर्ने लगायतका संविधान सम्मत नरहेका निर्णयहरु फिर्ता गरिनुपर्ने,
विषयलाई पनि हामीले प्रष्टरुपमा उल्लेख गरेका थियौं । यी कुनैपनि कुराहरुको सम्बोधन नगरी कुनै वार्ता नभई एकताको लागि गरिएको वहाँको आव्हान साँच्चिकै एकताको पक्षमा नभई केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट पे्रेरित देखिन्छ ।
२) अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको छ । यही बुँदामा, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरण २०७५ साल जेठ ३ गते भएकोले सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित हुने फैसला भएकाले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको छ । साथै नेकपा (एमाले) २०७५ साल जेठ २ गते पूर्वको स्थितिमा कायम हुने कुरा नगरी “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा” उभिएका व्यक्तिहरुलाई “आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने” कुरा गर्दै यथार्थमा पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ । यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न । यो अस्वीकार्य छ ।
२) बुँदा नम्बर २ मा मातहतका पार्टी कमिटी र जनसंगठनहरुलाई २०७५ साल जेठ २ गते अगाडिको स्थितिमा कायम गरी क्रियाशील गर्ने कुरा पनि मानिएको छैन । “मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा” फर्कने कुरा गरी मन लागेकोलाई कायम गर्ने र नलागेकोलाई हटाइदिने मनसाय राखिएको छ । यस्तो जालझेलपूर्ण भनाई पार्टी एकता कायम गर्ने असल नियत भएको ठहरिन्न ।
३) राष्ट्रिय महाधिवेशन र अन्य तहका अधिवेशन र सदस्यताबारे मौनता साधेर आफुखुशी गर्ने आशय रहेको देखिन्छ । कार्यदल गठन गरिने कुरा गरिएपनि त्यसले केकस्ता काम गर्नेछ भन्ने कुरा उल्लेख गरिएको छैन । त्यसैगरी अहिलेसम्म स्वेच्छाचारी किसिमले पार्टी विधान विपरीत गरिएका कथित कार्वाई फिर्ता लिने कुरा वक्तव्यमा छैन । बुँदा नम्बर ५ मा “यसबीचमा भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्वाई गरिने छैन” भन्ने अल्मल्याउने भाषा प्रयोग गरिएको छ ।
४) प्रतिनिधि सभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णयलाई सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुुनुपर्ने पूर्वशर्त राखिएको छ । उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ ।
५) हामीले पार्टी एकता, देशमा राजनीतिक स्थायित्व र जनताको हितलाई सर्वोपरी राख्दै सर्वोच्च अदालतको फैसला तथा नेकपा (एमाले) को नवौं महाधिवेशनको निर्णय र पार्टी विधान अनुरुप पार्टी संगठनलाई पूर्ववत् सञ्चालन गरौं भनी राखेको प्रस्ताव अत्यन्त रचनात्मक छ । तर त्यसप्रति केपी शर्मा ओलीको सकारात्मक दृष्टिकोण र व्यवहार रहेको पाइएन । अहिले उहाँबाट भनिएको “रचनात्मक योगदान” सर्वप्रथम उहाँबाटै आरम्भ हुनु उपयुक्त हुनेछ । अन्यथा आफुले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन ।
६) समग्रमा पार्टी अध्यक्ष ओलीबाट अगाडि सारिएका कुराहरु पार्टीको एकतालाई अक्षुण्ण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप छैनन् । उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ । अतः पार्टी विधान अनुरुप पार्टीलाई एकताबद्ध बनाउने वहाँको सोच नै नरहेको देखिएकोले अध्यक्ष केपी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रुपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं ।
फेरी पनि जोड दिएर भन्न चाहन्छौ कि हामी सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहँदै आएका छौं र अन्तिम घडी सम्म यस सम्बन्धमा हाम्रो सकारात्मक प्रयास जारी रहने छ । अहिले पनि हामी त्यही चाहन्छौं र नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने सबै प्रकारका षडयन्त्रहरु पराजित हुनुपर्छ भन्ने दृढ मान्यता राख्दछौं । यही मान्यता र विश्वासका साथ हामीले अनेकौं घात–प्रतिघात सहँदै पार्टी एकताका लागि अन्तिमसम्म पार्टीमा नै रहेर आफ्नो प्रयास अघि बढाई रहेका छौं । हामीले बाध्यात्मक स्थितिमा मात्र वैकल्पिक मार्ग अवलम्बन गर्ने दृष्टिकोण राखेका छौं । अतः छलछाम र षडयन्त्रपूर्ण किसिमले कुरा गरेर राष्ट्र र जनता तथा पार्टीपंक्तिको भावना अनुरुप पार्टीमा एकता कायम नहुने कुरा स्पष्ट हुँदाहुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अवलम्बन गरिनु दुःख र चिन्ताको विषय हो । यस्तो गलत बाटो परित्याग गरी हामीले यस अघि लिखितरुपमा अगाडि सारेका कुराहरुको विश्वसनीय रुपमा सम्बोधन गर्दै इमानदारीका साथ वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउन सक्ने तर्फ गम्भीर ध्यानाकर्षण गर्दछौं ।
(२०७८ साल जेठ २४ गते सम्पन्न नेकपा (एमाले), स्थायी कमिटीका पदाधिकारी तथा सदस्यहरुको बैठकको निर्णय बमोजिम जारी वक्तव्य )




