मकवानपुर । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभवले मकवानपुरसहितका बागमती र कोशी प्रदेशमा वर्षा भइ रहेको छ ।
बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट चक्रवात अर्नब जमिनमा प्रवेश गरेको थियो । बिहीबारबाट नेपालको कोशी र बागमती प्रदेशमा हल्का वर्षा भएको छ । उक्त चक्रवातको असर आज शुक्रबार अझै बढी रहने मौसमविदले बताएका छन् ।
त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ । आज भने पानीको मात्रा थप बढ्ने र धेरै क्षेत्रमा फैलिने सम्भावना छ । नेपाल जल तथा मौसम विज्ञान विभागका अनुसार ‘अर्नब’ चक्रवात कमजोर भइसके पनि सोको प्रभावले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको छ ।
शुक्रबार अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ । यसको असर शनिबारदेखि क्रमश: कमजोर बन्दै जाने पूर्वानुमान छ । यसको प्रभाव रहँदासम्म उच्च हिमाली भेगमा हिमपात र तराई–पहाडमा वर्षा गराउने भएकाले उच्च सतर्कताका साथ रहन मौसम पुर्वानुमान बिभागले अनुरोध गरेको छ ।
‘अर्नब’ चक्रवातका कारण नेपालको हिमालदेखि तराईसम्मै प्रभाव देखिने भन्दै सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । विशेष गरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुने भन्दै थप सजग हुन भनिएकाे छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न भनेको छ । यदि ट्रेकिङमा गइसकेको भए सुरक्षित ठाउँमा बस्न भनिएको छ ।
यसैगरी किसानहरुलाई यही कात्तिक १४ गतेसम्म धान तथा अन्य बाली नकाट्न पनि सुझाव दिइएको छ ।
अहिलेको प्रणालीको प्रभावले कात्तिक १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना पनि छ ।
वर्षा र हिमपातका कारण अघिल्लो दिनको तुलनामा चिसो बढेको महसुस भएको छ । जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई भनेको छ ।
यातायात व्यवसायीहरुलाई सम्बन्धित जिल्लाको प्रहरी र प्रशासनसँग समन्वय गरेर मात्र गाडी चलाउने/नचलाउने निर्णय गर्न भनिएको छ ।
यस्तो छ शुक्रबारदेखि आइतबारसम्मको मौसम पूर्वानुमान
२०८३ कात्तिक १३ गते (शुक्रबार)
दिउँसो: देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थान र बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हावाहुरीको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
राति: देशभर अधिकांश बादल लाग्नेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
२०८३ कात्तिक १४ गते (शनिबार)
दिउँसो: कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
राति: देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/ चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
२०८३ कात्तिक १५ गते (आइतबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा हल्कासम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कात्तिक १६ गते (सोमबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्कासम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपाको देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया लीला खत्री रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपु्रका अनुसार इपाबाट भीमफेदी हुँदै हेटौंडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा खत्रीलाई उक्त बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक खत्रीको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएकाे छ ।
बस चालक भीमफेदी ७ काेगटे बस्ने ४३ वर्षीय राजु आचार्य सम्पर्कमा रहेकाे बताइएकाे छ । दुर्घटनाकाे सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा खुकुरी प्रहारबाट ४ जना घाइते भएका छन् । आइतबार हेटौंडा–४ हुप्राचौरस्थित अन फ्रेस जुस पसलमा ४ जनामाथि खुकुरी तथा रड प्रहार भएको हाे । छ।
जुस पसलमा बसिरहेका बेला मास्क र हेल्मेट लगाएर आएका व्यक्तिहरूले आक्रमण गर्दा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकले जनाएकाे छ ।प्रहरीका अनुसार आक्रमणबाट हेटौंडा–३ बसामाडीका ३१ वर्षीय जन्मसिंह मुक्तान, ३१ वर्षीय अंकित राई, ३० वर्षीय बुद्धि पाख्रिन र ३२ वर्षीय सुमन रुम्बा घाइते भएका छन्।
मुक्तानको टाउको र बायाँ हातमा चोट लागेको छ भने राईको टाउकोमा चोट लागेको छ। त्यसैगरी, पाख्रिनको टाउकोमा चोट लागेको र रुम्बाको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। घाइतेमध्ये मुक्तान र पाख्रिनलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ। अन्य दुई जनाको अवस्था सामान्य रहेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार हुप्राचौरस्थित अन फ्रेस जुस पसलमा जुस खाने क्रममा सामान्य विवाद भएपछि दुई पक्षबीच झैझगडा भएको थियो। सोही क्रममा एक समूहले रड तथा धारिलो हतियार प्रहार गरी फरार भएका हुन् । प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंका गरिएका हेटौंडा–१३ का शिव लामा, हेटौंडा–१२ का मिथुन लामा र अशोक स्याङ्तानसहित अन्य फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ९ मा माेटरसाइकल कारमा ठोक्किदा १ जनाकाे मृत्यु भएकाे छ ।
शनिबार बिहान महेन्द्र राजमार्गमा हेटौडा बजार तर्फबाट रातोमाटे तर्फ जाँदै गरेको बा ७५ प ६२७२ नम्बरकाे मोटरसाइकल रातोमाटे तर्फबाट हेटौडा बजारतर्फ आउँदै गरेको बा.प्र.०१-०२८ च १५३२ नम्बरको कारमा ठक्कर खाएकाे हाे । उक्त माेटरसाइकल अनियन्त्रित भई उक्त कारलाई ठक्कर दिएकाे बताइएकाे छ ।
उक्त दुर्घटनामा माेटरसाइकलमा सवार हेटौंडा १३ वनस्पति बस्ने २४ वर्षीय सुकराम लोप्चन घाइते भएकाेमा सन्चो अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । उनलाई हेटौंडा अस्पतालबाट भिडियो एक्सरेकाे लागि सन्चो अस्पताल लगिएकाेमा स्वास्थ्य अवस्था विग्रिएकाेले त्यही उपचार गरिएकाे थियाे । उपचारकाे क्रममा शनिबार बेलुका लोप्चनलाई डाक्टरले मृत घोषणा गरेका हुन् ।
उक्त दुर्घटनामा माेटरसाइकल चालक हेटौंडा १३ वनस्पतिका २६ वर्षीय प्रकाश थापा मगर घाइते भएका छन् । उनकाे दाहिने हात र दाहिने खुट्टामा चाेट लागेकाेमा अवस्था सामन्य रहेकाे बताइएकाे छ । कार चालक मोरङ विराटनगर ४ बस्ने ३५ वर्षीय शिवप्रसाद खतिवडालाई केही पनि नभएकाे बताइएकाे छ ।
प्रहरीका अनुसार माेटरसाइकलसहित चालक थापा मगर र कारसहित चालक खतिवडा इलाका प्रहरी कार्यालय पशुपतिनगरकाे नियन्त्रणमा रहेकाे छ ।